+
+
विचार :

शरीरमाथिको आत्मनिर्णयको अधिकारले पितृसत्ता धर्मराउँछ

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०७८ असोज २५ गते ८:२७

प्राकृतिक सत्ता अन्तिम सत्ता थियो, अन्तिम सत्ता हो र अन्तिम सत्ता हुनेछ । तथापि सिंगो मानव सभ्यताले नै एउटा नयाँ सत्ताको निर्माण गरेको छ । शायद, यो पनि प्राकृतिक सत्ताको एउटा सानो अंश हो । प्राकृतिक सत्ताले शक्तिशाली बनाएका महिलालाई मानवीय सत्ताले ठूलो षड्यन्त्र गर्यो र प्राकृतिक रूपमा नै स्थापित विश्वव्यापी मातृसत्ता पितृसत्तामा रूपान्तरण हुन पुग्यो । एकदिन प्राकृतिक सत्ताका अगाडि मानव सत्ताले आत्महत्या गर्नेछ र प्राकृतिक सत्तामा नै विलिन हुनेछ । यस सत्यका सामु मानवीय सत्ताले ऐतिहासिक सापेक्षतामा नारी जातिलाई दिएको धोका मानवीय मूल्यका दृष्टिले महान् अपराध थियो र आजसम्मको मानवीय सभ्यताले त्यस अपराधको मूल्य चुकाउँदै आइरहेको छ ।

दशैंमा दुर्गा र कालीलाई शक्तिका प्रतीक मानेर आराधना गरिरहेको देख्दै गर्दा मेरो मनमा छटपटी हुन थाल्यो । नारी जातिको महानता, शक्तिको अन्तर्य र सत्ताको ऐतिहासिक अवसानको विषयमा केही थप बुझ्ने, लेख्ने र गम्ने अभिलासा जागेर आयो । वर्षाैदेखि आफ्नो घरको लाइब्रेरीमा रहेका तर विद्यार्थी कालदेखि फेरि कहिल्यै नपल्टाइएका पुस्तकहरूमा आँखा पुगें ।

मानवशास्त्री लुइस मोर्गनको एन्सियन्ट सोसाइटी (१८७६), फ्रेडरिक एंगेल्सको द ओरिजिन अफ द फेमिली, प्राइभेट प्रोपर्टी एण्ड द स्टेट (१८८४), बाखोफनको मातृसत्ता (१८६१), लेटुर्नाेको द डेभलोप्मेन्ट अफ म्यारिज एण्ड फेमिली (१८८८), मक लेननको स्टडिज इन एनसियन्ट हिस्ट्री (१८७६), लब्बकको द ओरिजिन अफ सिलिलाइजेसन (१८७०) आदि ।

समाजशास्त्र तथा मानवशास्त्रको पनि विद्यार्थी हुनुका नाताले यी पुस्तकहरू विद्यार्थीकालमा राम्रैसँग पढेको थिएँ । धुलो लागेका पुस्तक टक्टक्याउँदै पानाहरू पल्टाउन थालें । यी पुस्तकमा कसरी सामाजिक इतिहासले अपमान र षड्यन्त्र गर्दै अन्ततः महिलाहरूलाई दोस्रो श्रेणीको मान्छे बनाउने प्रपञ्च रच्यो, त्यो काल र कलेवरको एउटा चित्र उतारिएको पाइन्छ ।

मातृसत्ताको अवसान

मानव जातिको उत्थानको इतिहास हेर्दा, आदिम कालमा मानिसहरू जंगलमा बस्थे, कन्दमूल खान्थे, रुखका बोक्रा तथा जनावरका छालाको पहिरन लगाउँथे, लाज छोप्नलाई होइन, शरीरको सुरक्षाका लागि । शारीरिक सम्बन्ध मानवीय स्वतन्त्रताको विषय थियो । त्यस समयमा सन्तान उत्पादन कार्यलाई सामान्य प्राकृतिक घटनाका रूपमा बुझिन्थ्यो । त्यस प्रक्रियामा महिला र पुरुषबीचको सम्बन्धका कारणले सन्तान जन्मिएको भन्ने कुरा तत्कालीन समाजलाई थाहा थिएन । सन्तानोत्पादनमा पुरुषको भूमिकाको बोध नहुँदा बच्चाले आमालाई मात्र चिन्दथ्यो । बाबुको कुनै ठेगान हुँदैनथ्यो ।

महिलाहरू आमाका रूपमा सम्मानित थिए । उनीहरूको आदेश सर्वस्वीकार्य थियो । पुरुषहरू कारिन्दाका रूपमा रहन्थे । उनीहरू शिकार खोज्न जाने तथा समुदायको निम्ति अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्ने गर्थे भने उपलब्ध स्रोत साधनको परिचालन सम्वद्ध निर्णय महिलाको हातमा थियो । समुदायको सबैभन्दा जेष्ठ महिलाले समुदायको नेतृत्व गर्थिन्, किनकी उनी सबैकी आमा हुन्थिन् ।

समुदायमा जनसंख्याको वृद्धि हुँदै जाँदा शिकारको खोजमा पुरुषहरू टाढा टाढासम्म जान थाले । त्यहाँ उनीहरूको भेट उनीहरू जस्तै अन्य काबिला समुदायसँग हुन थाल्यो । शिकार अर्थात् स्रोत र साधन प्राप्तिका निम्ति स्वभाविक रूपमा प्रतिस्पर्धाका सन्दर्भमा फरक फरक स्थानमा रहेका उक्त काबिला समूहबीच लडाइँ हुन थाल्यो । लडाइँमा जित्ने समूहले हार्ने समूहको कि अस्तित्व नै सखाप पार्थे कि त दास बनाउने प्रयोजनका लागि आफ्नो समूहमा लिएर आउँथे ।

दासका रूपमा रहेका पुरुषले शक्तिमा आधारित कार्य गर्दथे भने महिलाहरूले जित्ने समूहका पुरुषहरूको यौन दासीका रूपमा रहनु पर्थ्यो । उक्त समूहमा पनि पुरुषहरू बीच बढीभन्दा बढी महिलासँगको सम्बन्धका लागि प्रतिस्पर्धा हुन थाल्यो । शक्तिशाली पुरुषले आफ्ना लागि मात्रै भनेर महिलाहरूको भागबण्डा गर्न थाले । यस प्रणालीले महिलाको यौन स्वतन्त्रताको हरण हुन पुग्यो । समाजको विकास र महिलाको सीमित यौन सम्बन्धका कारण सन्तान उत्पादनमा पुरुषको भूमिकाको मूल्यबोध भयो । बच्चाले बाबुलाई चिन्न थाल्यो । बिस्तारै विवाह प्रणालीको सुरुवात भयो ।

विवाह पश्चात् पुरुषले आफ्नो सापेक्षित अधिक शक्तिका कारण महिलामाथि आधिपत्य सिर्जना गर्दै गयो । बच्चा जन्माउनु, हेरचाह गर्ने लगायतका कारण महिलाहरूले स्रोत साधनको निर्माण र उत्पादनमा अपेक्षित रूपमा पुरुष भन्दा कम पहुँच कायम गर्न पुगे । परिणामस्वरूप स्रोत र साधनको परिचालन तथा निर्णयमा विस्तारै पुरुष शक्तिशाली बन्दै गए । इतिहासमा विवाह प्रथाको सुरुवात र महिलाको स्वतन्त्र यौन अधिकारमा भएको सीमितता नै मातृसत्ता कमजोर हुने महत्वपूर्ण कारण बन्न पुग्यो ।

एंगेल्सका अनुसार मातृसत्ताको पतन नारी जातिको विश्व ऐतिहासिक स्तरको पराजय थियो । पतिले घरमा शासनको बागडोर आफ्नो हातमा लियो, पत्नी अधिकार च्यूत भइन् । दासी बनिन्, पतिको बासना पूर्तिको साधन बनिन् । सन्तान उत्पादन गर्ने सामान्य यन्त्रमा परिणत भइन् ।

यसै सन्दर्भलाई पुष्टि गर्दै बाखोपनले आफ्नो पुस्तकमा लेख्छन्– सुरुमा मानव जातिमा यौन स्वच्छन्दता कायम थियो । यस स्वच्छन्दताले गर्दा पिता को हो भन्ने कुरा निश्चित रूपमा ठम्याउनु असम्भव जस्तै थियो, जसले गर्दा माताको नामबाट मातृसत्ता अनुसार मात्रै वंशावली बनाउने अवस्था थियो र प्राचीन जनजातिहरूमा यही प्रथा प्रचलनमा थियो । यस कारण पनि नयाँ पिंढीका एक मात्र निश्चित जन्मदाताको रूपमा ज्ञात भएका माताहरू उच्च सम्मान तथा आदरका पात्र हुन्थे । एकल विवाह प्रथामा संक्रमण गर्ने कार्यले नारीमाथि पूर्णतः एउटै मात्र पुरुषको अधिकार रहन गयो ।

यो परिघटना मातृसत्ताको अवसान हुने प्रमुख कारण बन्न पुग्यो । इतिहासको कालखण्डमा महिलामाथि पुरुषले आधिपत्य मात्र जमाएन्, प्राकृतिक रूपमा सत्तामा विराजमान महिलाहरू पितृसत्ताको विषरूपी पोखरीमा पौडिन बाध्य भए । पितृसत्ता भनेको पुरुषले महिलालाई गर्ने अन्याय र अत्याचार मात्र होइन, यस विषरूपी पोखरीमा सबैले विष पिएका हुनाले पुरुषले पुरुषमाथि र महिलाले महिलामाथि पनि शोषण र अत्याचार गर्छन् ।

आजको वैज्ञानिक तथा विकसित समाजमा समेत बच्चाको हेरविचारमा पुरुषले अपेक्षित कम स्वामित्व लिनुका साथै महिलाको यौनिक शुद्धतासम्बद्ध पितृसत्तात्मक चिन्तन महत्वपूर्ण समस्याका रूपमा रहेको छ । यसका कारण महिलाहरूले आफ्नो क्षमता विकास र स्रोत, साधनको प्राप्तिमा पुरुषसँग प्रतिस्पर्धा गर्नमा समस्या रहेको देखिन्छ ।

महिला मुक्तिको नयाँ युग

सामाजिक मूल्यले मानवीय मूल्यको क्षेत्राधिकार माथि गरेको हस्तक्षेपले महिलाको अवस्थालाई कमजोर बनाउनमा ठूलो भूमिका खेलेको छ । इतिहासलाई फर्काउन त सकिंदैन । तर इतिहासले गरेको अपमान र षड्यन्त्रलाई सुधार्न सकिन्छ । सम्पत्ति, श्रम, शरीर र सत्तामाथि आत्मनिर्णयको अधिकार र स्वामित्व कायम गर्ने विषय महिला मुक्तिसँग जोडिएका ऐतिहासिक प्रश्नहरू हुन् । यी प्रश्नका उत्तरहरूले नयाँ युगलाई जन्माउने छ ।

मातृसत्ताको अन्त्यका लागि विवाह तथा परिवारले प्रमुख भूमिका खेलेको थियो । इतिहासको जस्ताको तस्तै उत्तर सम्भव छैन, त्यसैले हामी विवाह तथा परिवार संस्थाको अन्त्य गरेर महिला मुक्तिको बाटो निर्माण गर्न सक्दैनौं । महिला वर्गको स्वतन्त्रता नै महिला मुक्तिको प्रमुख आधार हो, तर हरेक स्वतन्त्रताहरू आर्थिक जगमा उभिने भएकाले अर्थ व्यवस्था र तत्कालीन राजनीति, समाज, संस्कृति, चिन्तन र मनोवृत्तिका साथै दक्षता, क्षमता तथा ज्ञानका बीचको द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ ।

यौन सम्बद्ध विषय नैतिकता कसीमा राखेर सीमित गर्ने कार्य महिलालाई कमजोर पार्ने पितृसत्ताको ऐतिहासिक षडयन्त्र थियो, तसर्थ आफ्नो शरीरमाथिको आत्मनिर्णयको अधिकारले पितृसत्ता धरमराउने आधार तय हुन्छ ।

वर्तमान समाज र संस्कृति औपचारिक रूपमा महिला अधिकार र लैगिंक समानताका पक्षमा देखिएको भए पनि पितृसत्तात्मक चिन्तन र मनोवृत्ति अग्ला पर्खालका रूपमा अवरोध गर्न उपस्थित हुन्छन् । प्रकृतिले नै सुम्पिएका विशिष्ट कार्यहरू भन्दा बाहेक महिलाका मात्रै आफ्ना विशिष्ट भनिएका कार्य हुनुहुँदैन । कार्यको विशिष्टीकरणका नाममा हुने विभेद नै लैंगिक विभेदको एउटा आधारभूत पक्ष हो, त्यसैले कार्यविशिष्टीकरणको विद्यमान संरचनालाई भत्काउनु पर्छ र महिलालाई हरेक श्रममाथि पुरुष सरहका अधिकार कायम रहनुपर्छ ।

सम्पत्ति भनेको आफ्नो शक्ति, सिर्जना, क्षमता, श्रम र पसिनामा आधारित हुन्छ र हुनुपर्छ । यस प्रकृतिको सम्पत्तिले मात्र सत्ता सिर्जना गर्ने भएकाले आफ्नो सत्तामा आधारित सम्पत्तिले मात्रै महिला मुक्तिको आधार निर्माण गर्न सक्छ । श्रीमानले किनेको घर र जग्गा श्रीमतीको नाममा हुँदैमा उक्त सम्पत्ति श्रीमतीको कायम भयो भन्न सकिन्न, किनकी उक्त सम्पत्ति माथिको सत्ता श्रीमानकै हुन्छ । त्यसैले स्रोत र साधनमा महिलाको आत्मनिर्णयको अधिकार स्थापना नभई महिला मुक्ति सम्भव छैन ।

महिला अधिकारको अर्काे आधारभूत पक्ष यौन र सन्तान प्राप्तिको स्वतन्त्रता हो । बच्चा जन्माउनका लागि लोग्ने हैन, लोग्ने मान्छे भए पुग्छ भन्ने दर्शनलाई व्यवहारमा रूपान्तरण गर्नु जरुरी छ । यस दर्शनले विवाह भन्ने संस्थालाई अस्वीकार गर्छ । एक दुईजनाले यस संस्थालाई अस्वीकार गर्दैमा यस संस्थाको अस्तित्व त हराउँदैन, तथापि यसले पितृसत्तामाथि भने गतिलो झापड भने प्रहार गर्छ नै ।

एंगेल्स लेख्छन्– एकनिष्ठ यौन सम्बन्धलाई नै नैतिकताको पराकाष्ठा ठान्ने हो भने फित्ते जुकोलाई नै सर्वश्रेष्ठ ठान्नुपर्छ । जसका ५० देखि २०० सम्म देहखण्डहरू मध्ये प्रत्येकमा पुरुष र स्त्री दुवै प्रकारका यौनाङ्गहरू हुन्छन् र जसको सम्पूर्ण जीवन यी भागहरू मध्ये प्रत्येकमा स्वयं आफैंसित मैथुन गर्नमा बित्दछ ।

त्यसकारण यौन सम्बद्ध विषय नैतिकता कसीमा राखेर सीमित गर्ने कार्य महिलालाई कमजोर पार्ने पितृसत्ताको ऐतिहासिक षडयन्त्र थियो, तसर्थ आफ्नो शरीरमाथिको आत्मनिर्णयको अधिकारले पितृसत्ता धरमराउने आधार तय हुन्छ ।

सत्ता भनेको स्रोत र साधनमाथिको पहुँच कायम गर्ने र उक्त स्रोत र साधनको परिचालनप्रति स्वतन्त्र निर्णयको अधिकार हो । सामान्यतः सत्ता राज्य व्यवस्था र राजनीतिक प्रणालीमा आधारित हुन्छ । तर यसको स्वरूप राज्य व्यवस्थामा मात्रै होइन, पारिवारिक प्रणालीमा समेत हुन्छ । राजकीय सत्ता औपचारिकतामा आधारित हुन्छ भने पारिवारिक सत्तामा भावना र संवेदनाको प्राधान्यता रहन्छ । महिला मुक्तिको पहिलो सवाल पारिवारिक सत्तामा आधारित हुन्छ, तथापि महिला मुक्तिका लागि यी दुवै सत्तामा महिलाको सार्थक उपस्थिति अपरिहार्य रहेको हुन्छ । यसका लागि दक्षता, क्षमता, ज्ञान, विवेक र शिक्षा निर्णायक हुन्छन् ।

आजको पितृसत्तात्मक सामाजिक सांस्कृतिक प्रणालीबाट नै विशिष्ट क्षमताको विकास गरी महिलाहरूले अधिकारका लागि निरन्तर क्रियाशील हुने र प्रगतिशील राज्य प्रणालीको विकास गर्न सक्ने हो भने महिला मुक्तिका सन्दर्भमा मानव इतिहासमा एउटा नयाँ युगको आरम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?