+
+

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा ‘सेटिङ’

‘कार्यालयबाट कमजोरी भएको छ, पुनः परीक्षण हुन्छ’

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज २५ गते ९:३४
प्रतीकात्मक तस्वीर

२५ असोज, विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ ।

बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेरील्याण्ड, शिक्षादीप र अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँचमा ‘सेटिङ’ भएको छ । शुक्रबार मेरील्याण्डका शिक्षकले आफ्नै स्कुलको कपी जाँच गरिरहेको फेला परेपछि घटना बाहिर आएको हो ।

परीक्षा बोर्ड विराटनगर स्रोतका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासको मिलोमतोमा सम्बन्धित स्कुलका शिक्षकलाई उत्तरपुस्तिका जिम्मा लगाइएको थियो । बोर्डले अधिकृत समिता राईलाई उत्तरपुस्तिका जाँचको जिम्मा दिएको छ । शुक्रबार राई जाँच केन्द्रबाट बाहिर गएका बेला मेरिल्याण्डका शिक्षकलाई सोही कलेजका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिइएको थियो । ती शिक्षकले पाएको मध्ये आधा कपी जाँचिसकेपछि सेटिङको रहस्य बाहिर आएको हो ।

कार्यालयबाटै कमजोरी भएको छ : राई

अधिकृत राईले आफू खाना खान गएका बेला जानकारी नदिई उत्तरपुस्तिका जिम्मा लगाइएको बताइन् । जाँच केन्द्रमा बढी कपी गएको देखिएपछि आफूले कपी खोसेर जाँच गरेको उनले बताइन् ।

‘म खाना खान गएकी थिएँ,’ राईले भनिन्, ‘आएर हेर्दा मलाई जानकारी नदिई उत्तरपुस्तिका जिम्मा लगाइएको रहेछ ।’ उत्तरपुस्तिका जाँचमा बदनियत राखेको देखिएपछि विषय विज्ञबाट कपी पुनः जाच गर्ने तयारी भएको उनले बताए ।

शिक्षादीप र अरनिकोको कपी पनि सोही स्कुलमा अध्यापन गराउने शिक्षकलाई दिनेगरी लिष्ट तयार भएपनि विवाद भएपछि रोकिएको थियो ।

‘उत्तरपुस्तिका जाँच केन्द्रमा म खटिएको थिएँ तर मलाई जानकारी नदिई उत्तरपुस्तिका जिम्मा लगाइएको रहेछ,’ उनले भनिन्, ‘कार्यालयबाटै कमजोरी भएको छ ।’

असोज १६ गतेबाट सुरु भएको कपीजाँच विवाद बढेपछि दशैंपछि गर्ने भन्दै असोज २३ गतेबाट स्थगित गरिएको छ ।

कपी जाँचमा खटिएका एक शिक्षकका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले उत्तरपुस्तिका जिम्मा लगाउन भूमिका खेलेका थिए । घटना बाहिरिएपछि बतास कार्यालयमा आएका छैनन् । घटनाको विषयमा बुझ्नका लागि पटक-पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रहरी सुरक्षामा रहेको कपी जाँच केन्द्रमा बाहिरका मानिसलाई प्रवेश निषेध छ । आन्तरिक रुपमा छानविन गरिरहेको बताउँदै राईले कार्यालयबाटै कमजोरी भएको बताइन् ।

परीक्षा बोर्डका सूचना अधिकारी भन्छन्– विषय विज्ञबाट पुनः परीक्षण हुन्छ

राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका सूचना अधिकारी दया राईका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले कपी दिएको गुनासो बाहिरबाट आएको छ । आफ्नै विद्यार्थीको कपी काटेको पाइएपछि शिक्षकबाट कपी खोसिएको उनले बताए ।

‘कार्यालबाट कमजोरी भएको छ,’ उनले भने, ‘तर विद्यार्थीलाई भिक्टिम बनाउने कुरा आउँदैन, विषय विज्ञबाट पुनः परीक्षण हुन्छ ।’ घटनाको विषयमा केन्द्रमा पनि जानकारी गराइएको उनले बताए ।

यता मेरील्याण्ड कलेजका सञ्चालक मध्येका एक भेषराज पोखरेल उत्तरपुस्तिका जाँच गर्दाको विषयका बारेमा जानकारी नभएको बताए । कपी जाँच गर्ने विषय बोर्डको आन्तरिक व्यवस्थापनमा रहने बताउँदै उनले कमजोरी भए सच्याउनु पर्ने बताए । विद्यार्थीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?