+
+

राजमार्गमा राजकुमार : दशैंको छेकमा माछाको व्यापार 

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १४:०१

चितवनको इच्छामनकामना गाउँपालिकामा पर्ने चुम्लिङटारको राजमार्ग छेवैमा बिहान ७ बजेदेखि साँझसम्मै भेटिन्छन्, ३८ वर्षीय राजकुमार श्रेष्ठ । एउटा हातमा छाता, अर्काे हातमा पानीको बोतल हुन्छ । साथमा एउटा झोला । झोलाभित्र खाना र खाजाको परिकार । बेलाबेलामा गाडीको धुवाँले माछालाई फोहोर नगरोस् भनेर पानीले माछा भिजाइरहन्छन् ।

यो दैनिकी उनको झण्डै साढे ४ वर्षदेखि नियमित छ । कतै कुनै विशेष काम प¥यो भने उतै जान्छन् होइन भने यही माछाको व्यापार नै उनको गुजाराको पहिलो स्रोत हो ।

राजकुमारको परिवारमा ६ जना सदस्यहरु छन् । २ छोरा र २ छोरीसहित उनको दम्पती । राजकुमारलाई घरधन्दा र खेतबारीको काममा खासै चिन्ता छैन । लगाउने र भित्र्याउने सिजनबाहेक उनी धेरै समय यही सडक किनारामा माछा बेचेर बस्ने गरेको सुनाउँछन् ।

घाम छल्नको लागि हातमा छाता छ । सिमलको जस्तो देखिने एउटा काठमा लटरम्म माछा झुण्ड्याइएको छ । पेट चिरेर खोक्रो बनाएका माछा देखाउँदै उनी भन्छन् ‘गर्मी धेरै छ, दिनभरि राख्दा नकुहियोस् भनेर पेट चिरेर लादी र अरु अंग निकालिएको हो ।’

उनले ४ वर्षसम्म दिनभरि सडक किनारामा बसेर गरेको संघर्ष केवल घरमा नुनतेलको गर्जाे टार्नमा मात्रै सीमित छ । मारेको माछा बेचेर गुजारा चल्दो रहेछ त ? भन्ने प्रश्नमा ठट्यौली स्वरमा राजकुमार भन्छन् ‘अहिलेसम्म चलिरहेको छ र त संघर्ष गरिरहेको छु । नत्र त ४ वर्षसम्म म पनि पलायन भइसक्थेँ नि ।’ तर यसमा आकर्षक कमाइ भने नरहेको उनी बताउँछन् ।

साँझपरेपछि खोलातिर

जब साँझ पर्छ, मलेखुदेखि कुरिन्टारसम्मको त्रिशुली छेउका बस्तीका केहीहरु जाल बोकेरे त्रिशुलीतिर ओरालो लाग्छन् । श्रेष्ठका अनुसार माछामार्ने एउटा जालीलाई ४५०० रुपैयाँसम्म पर्छ । कहिलेकाहीँ भेलले ठूलो काठ बगाएर ल्याएको रहेछ, जालमा काठ प¥यो भने झण्डै १५ दिनको संघर्ष त्रिशुलीले बगाइदिन्छ । अर्थात् जाल बगाएर लैजान्छ । त्यसैले यो पेशा सहज नभएको उनी गुनासो गर्छन् ।

माझीहरु साँझमा नै किन झर्छन् खोलातिर ? उनको सहज उत्तर थियो ‘माछा मार्न आफ्नो समय अनुसार जाने होइन, माछाको समय अनुसार खोला झर्नुपर्छ । दिनभरको मान्छेको होहल्ला र प्रचण्ड गर्मीका कारण माछाहरु दिउँसोमा नदी किनारमा नआउने भएकोले माछा मार्न घाम डुबेपछि झर्नुपर्दाे रहेछ । साँझमा माछा किनारामा आउने भएकाले त्यही मौका छोपेर जाल हान्ने गरिन्छ ।’

नाफा कति ?

त्रिशुलीको किनारामा राजकुमार जस्तै काठमा झुण्ड्याएर माछा बेच्ने झण्डै एक दर्जनजति व्यापारीहरु छन् । सबै सधैं उपस्थित हुन्छन् भन्ने छैन । त्रिशुलीमा मारेको माछा राजमार्गको छेउसम्म उक्लिँदा २÷३ तहमा बिक्री भइसकेको हुन्छ । पहिलो त माछा मार्नेले बेच्छ, त्यसपछि बीचमा कसैले ठेकेदार मार्फत् किन्छन् त कसैले सिधै माछा मार्ने माझीसँगै सम्पर्क गरेर बेच्छन् । त्रिशुलीको माछा उपभोक्तासम्म पुग्दा कम्तीमा ३ ठाउँमा बिक्री भइसकेको हुन्छ । एक दिनमा कति नाफा हुन्छ त ? राजकुमार भन्छन् ‘यकिन यति नै नाफा हुन्छ भनेर भन्न सकिँदैन । दरमा बार्गेनिङ हुन्छ ।’ विभिन्न ठाउँमा माछा बेचेर बस्नेहरूका अनुसार एक दिनमा ३ सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म नाफा हुन्छ ।

फोटो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?