+
+

एयर इण्डिया टाटा समूहमै फर्किंदा के–के फेरिएला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १८:३०
फाइल तस्वीर

२४ असोज, काठमाडौं । नुनदेखि सफ्टवेयरसम्मको व्यापार गर्ने टाटा समूहले ऋणमा डुबेको एयरलाइन्स कम्पनी एयर इण्डियाको शतप्रतिशत स्वामित्व खरीद गरेको छ ।

भारतको निवेश तथा लोक परिसम्पत्ति प्रबन्धन विभाग (दीपम)का सचिव तुहिनकान्त पाण्डेयले टाटा कम्पनीले एयर इन्डिया खरीद गर्न एक खर्ब ८० करोड भारुको बोलकबोल गरेको बताए । सोही बोलीअनुसार उसले एयर इण्डियाको स्वामित्व पाएको हो ।

एयर इण्डियाको खरीद प्रक्रिया आगामी डिसेम्बरमा सकिनेछ । एयर इण्डियालाई खरीद गर्न सात कम्पनीले बोली लगाएका थिए तर टाटा सन्सले स्पाइस जेटको प्रमोटरलाई पछि पारेर हात पारेको हो । मूल्यको हिसाबमा भने टाटा सन्सले एयर इण्डियाको एक खर्ब ५३ अर्ब भारु ऋणको जिम्मा लिनेछ । बाँकी रकम उसले नगद भुक्तानी दिनेछ ।

‘दीपम’का सचिव तुहिनकान्त पाण्डेयका अनुसार एयर इण्डियाको लिलामीमा दुई कम्पनीले मात्र तोकिएको भन्दा धेरै रकमको बोलकबोल गरेका थिए । गृहमन्त्री अमित शाह, अर्थमन्त्री निर्मला सीथारमण, वाणिज्यमन्त्री पियुष गोयल र नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाको समूहले टाटा सन्सलाई विजेता बोलीको अनुमति दिएका थिए ।

हवाई क्षेत्रका विशेषज्ञ हर्षवर्द्धन भन्छन्, ‘टाटालाई यो थाहा छ कि यसलाई पुनः लयमा ल्याउन कम्तीमा पाँचदेखि सात वर्ष लाग्नेछ र कम्पनीमा यो क्षमता पनि छ । साथै सरकारको लागि टाटा कम्पनीलाई एयर इण्डिया दिनु नै सबैभन्दा राम्रो विकल्प थियो ।’

टाटा समूहसँग विमान क्षेत्रको कम्पनी विस्तारामा ५१ प्रतिशत शेयर छ । यो कम्पनीमा सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत शेयर छ । त्यस्तै एयर एसिया लिमिटेडमा टाटा समूहको ८४ प्रतिशतको शेयर छ ।

रतन टाटाले के भने ?

टाटा सन्सका अध्यक्ष रतन टाटाले एयर इण्डिया आफ्नै घर फिर्तीलाई स्वागत गर्दै भनेका छन्, ‘टाटा समूहको लागि एयर इण्डियाको बोली जित्नु ठूलो समाचार हो । एयर इण्डियालाई पुनः सबल बनाउन हामीले धेरै प्रयास गर्नुपर्ने हुन्छ । हामीलाई यसबाट टाटा समूहको हवाई उद्योगमा उपस्थितिले बलियो व्यापारिक अवसर उत्पन्न हुनेछ ।’

उनले अघि भनेका छन्, ‘भावनात्मक रुपमा भन्ने हो भने जेआरडी टाटाको नेतृत्वमा एयर इण्डिया कुनै समय विश्वको सबैभन्दा प्रतिष्ठित एयरलाइन्समध्येको एक थियो । शुरुआतमा जुन साख र सम्मान थियो, टाटा समूह पुनः सोही सम्मान फेरि प्राप्त गराउने मौका मिलेको छ । जेआरडी टाटा अहिले पनि हामीसँग हुन्थे भने उनलाई पनि धेरै खुशी मिल्थ्यो ।’

यससँगै उनले जेआरडी टाटाको एयर इण्डियासँगको फोटो पनि शेयर गरेका छन् ।

सरकारले यसलाई बेच्नु नै थियो’

यस विषयमा हवाई क्षेत्रका विशेषज्ञ हर्षवर्द्धनले भने, ‘एयर इण्डिया भारतले बनाएको सबैभन्दा उत्कृष्ट ब्राण्डमध्येको एक हो तर राष्ट्रियकरणपछि यो कम्पनीमा समस्यामा आउन शुरु गर्‍यो र यसको अवस्था निरन्तर बिग्रिँदै गयो ।’

‘कम्पनीमा समस्या त थियो तर त्यससँगै सरकारले जसरी यसको व्यवस्थापन गर्‍यो, त्यसमा झन् धेरै समस्या थियो । सन् १९८० को दशकपछिको अवस्थामा संगठनमा लालफित्ताशाही बढ्यो र व्यवसायिक प्लेटफर्ममा काम गर्ने अनुमति उसले पाएन ।’

हर्षवर्द्धनका अनुसार प्रधानमन्त्री नरसिंह रावको समयदेखि नै कम्पनीले नयाँ विमान किन्न छाड्यो । यसअघि एकपछि अर्को मन्त्रीले विना कुनै कारण कम्पनीका सबै जहाजलाई उड्न दिएनन् ।

उनी भन्छन्, ‘अहिले टाटाले एयर इण्डियालाई सरकारबाट लिएको छ भने उसले त्यसको लागि पहिला नै तयारी पनि गरेको छ । सरकारले कुनै पनि अवस्थामा यसलाई बेच्नु नै थियो र खरीदकर्ताले यो कम्पनी खरीदको लागि जुन माग राखे त्यसलाई उसले मान्नैपर्ने अवस्था आयो । अर्थतन्त्र बिग्रिरहेको छ र सरकारलाई यो कम्पनी चलाउन सकिँदैन भन्ने थाहा थियो । त्यसैले सरकारसँग बेच्नुको विकल्प थिएन ।’

हर्षवर्द्धनका अनुसार पहिलादेखि नै कम्पनीको अवस्था बिग्रिरहेको थियो तर पछि अवस्था अझै बिग्रियो । यस्तोमा सरकारको बाध्यता बढ्यो ।

अब टाटा कम्पनीले एयर इण्डियालाई फिर्ता ल्याउन सक्ला त ? यो प्रश्नमा हर्षवर्द्धन भन्छन्, ‘टाटालाई यो थाहा छ कि यसलाई पुनः लयमा ल्याउन कम्तीमा पाँचदेखि सात वर्ष लाग्नेछ र कम्पनीमा यो क्षमता पनि छ । साथै सरकारको लागि टाटा कम्पनीलाई एयर इण्डिया दिनु नै सबैभन्दा राम्रो विकल्प थियो ।’

एयर इण्डिया किन यति आकर्षक थियो ?

घाटामा चलेपनि एयर इण्डियाको सम्पत्ति धेरै छ । लण्डनको हिथ्रो एयरपोर्टमा यो कम्पनीको आफ्नै स्लट छ । १३० विमान र हजारौं दक्ष पाइलट कम्पनीसँग छन् । नयाँ सम्झौतासँगै अब टाटा समूहसँग मुलुकको एयरपोर्टमा ४४ सय घरेलु र १८ सय अन्तर्राष्ट्रिय ल्यान्डिङ र पार्किङ स्लट र विदेशमा नौ सय स्लट हुनेछ ।

त्यससँगै एयर इण्डियासँग करोडौं डलरको रियल स्टेट छ । गत वर्षको मार्चमा यसको मूल्यांकन करीब ६ अर्ब डलरको थियो । भारतमा बढ्दो क्रममा रहेको हवाई बजारमा टाटा समूहको सम्भावना धेरै रहेको जानकारहरु बताउँछन् ।

लगानीको शर्तमा छुट

सरकारले यसअघि नै धेरैपटक एयर इण्डियालाई बेच्ने प्रयास गरेको थियो । तर, खरीदकर्ता भेटिएका थिएनन् । त्यसपछि उसले एयर इण्डिया बेच्ने शर्तमा धेरै परिवर्तन गरेको थियो । सन् २००१ मा तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीको सरकारले एयर इण्डियामा ४० प्रतिशतको शेयर बेच्ने प्रयास गरेका थिए ।

त्यतिबेला लुफ्थान्सा, ब्रिटिश एयरवेज र सिंगापुर एयरलाइन्सले यसलाई किन्ने इच्छा देखाएका थिए । तर, सरकारले भारतीय कम्पनीसँग सहकार्य गरेर मात्र यो कम्पनी खरीद गर्न सकिने सरकारले बताएको थियो । त्यससँगै इच्छुक कम्पनी यसबाट पछि हटेका थिए ।

अहिले एयर इण्डियासँग करिब ६ खर्ब भारु ऋण छ । ऋण कम गर्न सरकारले ऋण विशेष इकाई गठन गरेको थियो । २०१८ मा सरकारले ७६ प्रतिशत शेयर बेच्ने बताएको थियो ।

२०२० जनवरीमा शतप्रतिशत शेयर बेच्ने प्रस्ताव ल्याइएको थियो । त्यतिबेलाका नागरिक उड्डयन मन्त्रीले अब सरकारसँग अर्को विकल्प नभएको बताएका थिए । त्यस्तै सरकारले केही शर्त लचिलो बनाउँदै खरीदकर्तालाई सहज बनाएको थियो ।

भारत सरकारका अनुसार एयर इन्डिया खरीद गर्ने कम्पनीको समग्र सम्पत्ति कम्तीमा ३५ अर्ब डलर हुनु जरुरी छ । बम्बई स्टक एक्सचेन्जका अनुसार टाटा सन्सको सम्पत्ति ६५ खर्ब भारु छ ।

टाटा एयरलाइन्स कसरी एयर इण्डिया बनेको थियो ?

१९३२ अप्रिलमा एयर इण्डियाको जन्म भएको थियो । तर यसको नाम भने टाटा एयरलाइन्स राखिएको थियो । यो एयरलाइन्स जेआरडी टाटाले नै स्थापना गरेका हुन् । उनले यसअघि १९१९ मा नै १५ वर्षको हुँदा सौखको रुपमा विमान उडाएका थिए । उनले पाइलटको लाइसेन्स पनि लिएका थिए ।

पहिलो व्यावसायिक उडान गर्दा उनले अहमदाबादबाट मुम्बईसम्म विमान लगेका थिए । यो विमानमा यात्रु नभए पनि २५ किलो चिठ्ठी थियो । त्यतिबेला तत्कालीन बेलायत सरकारले कुनै आर्थिक सहयोग भने दिएको थिएन तर चिठ्ठी पुर्‍याएको खर्च भने दिन्थ्यो ।

दुई जहाजबाट शुरु भएको थियो कम्पनी

भारतमा वर्षा हुँदा विमानस्थलको रुपमा प्रयोग गरिँदै आएको मैदानमा पानी जम्थ्यो । त्यतिबेला कम्पनीको दुई साना हवाईजहाज, दुई पाइलट र तीन मेकानिक थिए । टाटा एयरलाइन्सको लागि सन् १९३३ पहिलो व्यावसायिक वर्ष रह्यो । ‘टाटा सन्स’ को दुई लाखको लागतमा स्थापित कम्पनीले यो वर्ष १५५ यात्रुु र करिब ११ टन चिठ्ठी ओसारेको थियो ।

टाटा एयरलाइन्सका जहाजले एकै वर्षमा समग्रमा एक लाख ६० हजार माइलसम्मको उडान भरेको थियो । बेलायती शाही ‘रोयल एयर फोर्स’का पाइलट होमी भरुचा टाटा एयरलाइन्समा पहिलो पाइलट थिए भने जेआरडी टाटा दोस्रो पाइलट थिए ।

दोस्रो विश्वयुद्धपछि विमान पुनः सेवामा आएसँगै १९४६ जुलाईमा टाटा एयरलाइन्स पब्लिक लिमिटेड बन्यो र यसको नाम एयर इण्डिया लिमिटेड राखियो ।

स्वतन्त्र भएपछि सन् १९४७ मा भारतले एयर इण्डियामा ४९ प्रतिशतको शेयर खरीद गर्‍यो । १९५३ मा सरकारले पूर्ण रुपमा यो कम्पनी अधिग्रहण गर्‍यो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?