+
+

पाकिस्तानमा महंगी, मन्त्रीले दिए कम खाने सल्लाह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १८:०९
मन्त्री अलि अमिन गुण्डापुर

२५ असोज, काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर र गिलगित–बाल्टिस्तान मामिलाका संघीय मन्त्री अलि अमिन गन्डापुरले नागरिकलाई चियामा चिनी कम हाल्न र रोटी कम खान सल्लाह दिएका छन् ।

पाकिस्तान प्रशासित कश्मीरमा एक सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘चियामा चिनीका सय दाना हाल्ने ठाउँमा नौ दाना कम हाल्दा चिया कम मिठो हुन्छ ?’, उनले भने, ‘के हामी आफ्नो देशको आत्मनिर्भरताको लागि यति योगदान पनि गर्न सक्दैनौं ? रोटीको एक सय गास खान्छौं भने त्यसमा नौ गास कम गर्न सक्दैनौं ?’

सामाजिक सञ्जालमा मानिसहरुले उनको यो भिडियो शेयर गरेर आलोचना गरिरहेका छन् । हालै मात्र पाकिस्तानको सत्तारुढ तहरिक–ए–इन्साफ (पीटीआई) कै राष्ट्रिय सभाका सदस्य रियाज फतयानाले पनि अलि अमिन गन्डापुरको जस्तै सल्लाह दिएका थिए ।

अर्थशास्त्री साजिद अमिनले यस्ता अभिव्यक्ति गरिबलाई मजाक बनाउनु बराबर रहेको बताएका छन् । उनका अनुसार बचत गर्ने सल्लाह वा अभियानले न आजसम्म मह‌ंगीको समस्या समाधान गरेको छ न कहिल्यै गर्न सक्छ ।

विगतलाई हेर्ने हो भने पाकिस्तान मुस्लिम लिग (नवाज) सहितका धेरै पार्टीका नेताले यस्तै अभिव्यक्ति दिइरहेका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफले पनि पाकिस्तानका जनतासँग ‘कम रोटी खाने’ अभिव्यक्ति दिएका थिए ।

सन् १९९८ मा पाकिस्तानले परमाणु परीक्षण गर्दा तत्कालिन प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानले अमेरिका र विश्वका अन्य मुलुकसँग निकै कठिन आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । यस्तोमा उनले टेलिभिजन र रेडियोमा बोल्दै आफ्ना नागरिकलाई केवल खानाको लागि तयार रहन आग्रह गरेका थिए ।

उनको पार्टी धेरैपटक सत्तामा आउँदा पाकिस्तानमा यो अभियान चलाइसकेको छ । पीटीआई सरकारले पनि सुरुआती दिनमा वचत अभियान घोषणा गरेको थियो । यद्यपि सरकारले मानिसलाई खाना कम खाने सल्लाह दिनु उचित हो त ?

सस्टेनेबल डेभलपमेन्ट पोलिसी इन्स्टिच्युट (एसडीपीआई) इस्लामावादका अर्थशास्त्री साजिद अमिनले यस्ता अभिव्यक्ति गरिबलाई मजाक बनाउनु बराबर रहेको बताएका छन् । उनका अनुसार बचत गर्ने सल्लाह वा अभियानले न आजसम्म मह‌ंगीको समस्या समाधान गरेको छ न कहिल्यै गर्न सक्छ । ‘सरकारको काम आम नागरिकको आम्दानी बढाउने र उनीहरुको अवस्थामा सुधार गर्ने किसिमको हुनुपर्छ ।’

पाकिस्तानको महंगी सरकारको नियन्त्रणमा आउन सक्छ त ? यस विषयमा साजिद अमिन यसको लागि अहिले पाकिस्तानमा अहिलेसम्मकै उच्च स्तरमा किन महंगी बढ्यो भन्ने कुरा बुझ्नु जरुरी रहेको बताउँछन् ।

पाकिस्तानमा किन महंगी बढेको छ ?

अर्थशास्त्री साजिद अमिनका अनुसार पाकिस्तानमा पछिल्लो समय महंगी बढ्नुका तीन मुख्य कारण छन्– विश्व बजारमा वस्तुको भाउ बढ्नु, पाकिस्तानी रुपैयाँको मूल्यमा कमी आउनु र सरकारले लागू गरेको नयाँ कर नीति ।

तीन बुँदालाई स्पष्ट पार्दै उनले भने, ‘पाकिस्तानमा सरकारले राजस्व अर्थात् आम्दानीको लक्ष्य हासिल गर्न इन्धनजस्ता वस्तुमाथि कर बढाउने गरेको छ, यसबाट त्यसको भाउमा वृद्धि हुन्छ ।’

त्यस्तै दैनिक उपभोग्य वस्तुमा पनि इन्धनको उपयोग हुन्छ ,स्वाभाविक रुपमा त्यसको पनि भाउ बढ्छ । पाकिस्तानमा हालै मात्र इन्धनको भाउ बढेको छ ।

सरकारले यसलाई नियन्त्रण गर्न सक्दैन ?

साजिद अमिन भन्छन्, ‘यी कारकमा सरकारका कुनै नियन्त्रण छैन ।’ उनकाअनुसार विश्व बजारमा अपेक्षा विपरीत भाउ बढेको छ र त्यसलाई बढाउने वा घटाउने विषयमा पाकिस्तान सरकारको कुनै नियन्त्रण हुँदैन ।

त्यस्तै पाकिस्तानको आयातको शुल्क पनि बढिरहेको छ । साजिदका अनुसार पाकिस्तान एक नेट इम्पोर्टर हो, यसको अर्थ उसको समग्र आयात समग्र निर्यातभन्दा धेरै छ र उसले गहुँ, चिनीजस्ता खाद्य पदार्थ पनि आयात गरिरहेको छ । त्यसैले जबसम्म आयात शुल्क र व्यापार घाटा कम हुँदैन, मुद्राको भाउमा पनि सुधारको अपेक्षा कम छ ।

आम्दानी बढाउन सरकारले इन्धन बिजुली र ग्यासमा कर बढाएको छ । अर्को ऋणको नयाँ किस्ताका लागि पाकिस्तानले एकपटक पुनः अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई आग्रह गर्नुपर्ने अवस्था छ । आईएमएफले पनि सरकारलाई यी वस्तुहरुमा कर बढाउने भन्नेछ ।

सरकारले केही पनि गर्न सक्दैन त ?

साजिद अमिनका अनुसार सरकारले केही गर्न नसक्ने होइन, सरकारले धेरै कदम चाल्न सक्छ । आम नागरिकमा महँगीको असर कम गर्न सरकारले दुई आधारभूत काम गर्न जरुरी रहेको उनी बताउँछन् । उनल मूल्य नियन्त्रण समितिलाई प्रभावकारी रुपमा उपयोगको चर्चा गर्दै भने, ‘सबैभन्दा पहिला स्थानीय स्तरमा प्रशासनिक ढाँचालाई सक्रिय गर्नु जरुरी छ, जुन काम अहिलेसम्म प्रयोग गरिएको छैन ।’

साजिद अमिनकाअनुसार यसको सही प्रयोग गर्ने हो भने यस किसिमको समिति कृत्रिम वृद्धिलाई नियन्त्रण गर्ने काममा निकै प्रभावकारी हुन्छन् । दोस्रो काम कालोबजारी अन्त्य गर्नु हो । उनका अनुसार पाकिस्तानमा सबैभन्दा धेरै महँगी इन्धन वा खाद्य वस्तुकै वरिपरी देखिएको छ ।

पाकिस्तानमा उपभोग्य सामग्रीको मूल्य किसानको खेतबाट बजारमा पुग्दासम्म निकै गुणा बढिसकेको हुन्छ । जसको कारण यसले महंगीको सिर्जना गरेको छ । यसलाई नियन्त्रण गर्ने शक्ति सरकारसँग छ । तेस्रो तरिका उपभोग्य सामग्रीको स्टोर प्रभावकारी रुपमा प्रयोग गर्नु पनि हो । यसको माध्यमबाट सरकार कुनै पनि सीमासम्म महंगी नियन्त्रण गर्न सक्छ ।

महंगी कम हुन सक्ला त ?

साजिद अमिनका अनुसार एकपटक मूल्य वृद्धि भइसकेपछि त्यसलाई पहिलाकै अवस्थामा ल्याउनु निकै कठिन हुन्छ । उनका अनुसार अहिले पाकिस्तानको लागि महंगी ठूलो समस्या हो भन्ने बुझ्नलाई नै धेरै समय लाग्यो । साथै पाकिस्तानले महंगीको कारण के हो भन्ने पत्ता लगाउन पनि धेरै ढिला गर्‍यो ।

यद्यपि सरकारले दुईओटा कामबाट आम नागरिकलाई महँगीको असर महसुस नहुने गरी काम गर्न सक्छ । एउटा सामाजिक सुरक्षा योजनाको दायरा बढाउने र अर्को आम नागरिकको आम्दानी बढाउने । त्यसबाहेकको अर्को उपाय भनेको बचत अभियान चलाउनु नै हो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?