+
+

नमूना नजरपुर, जहाँ माछामासु बर्जित छ

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ असोज २७ गते १८:०१

२७ असोज, काठमाडौं । पूर्वीय शास्त्रमा मद्य, मांस र मदिरासँग जोडिएका कैयौं शास्त्रीय किस्साहरु सुनिन्छ । दर्शनमा पञ्चमकारको कुरादेखि धर्ममा कलिको बास हुने द्युत (जुवातास), मद्य, परस्त्री भोग र हिंसाको प्रसंगलाई समेत मान्दा पनि मद्य, मांस र जुवातास शास्त्रीय रुपमा तमस गुणयुक्त मानिन्छ । तर यी सबैलाई त्यागेर एउटा सात्विक जीवनशैली जिउन सकिन्छ त ? यो प्रश्नको उत्तर खोज्न रौतहट जिल्लाको दक्षिण पूर्वी भागमा रहेको नमूना बस्ती नजरपुरमा पुग्नुपर्छ ।

पूर्वी तराईको रौतहट जिल्लाको चन्द्रनिगाहापुरबाट ६ किलोमिटर दक्षिणपूर्व गएपछि एउटा सुन्दर बस्तीको सीमा प्रारम्भ हुन्छ । बस्तीको नाम हो सन्तपुर । टोलको नाम हो नजरपुर ।

रातो र पहेँलो रंग पोतिएको विशाल प्रवेशद्वारसँगै सुरु हुन्छ एउटा शास्त्रीय एवं नमूना बस्तीको सीमा । यही बस्ती हो जहाँ पछिल्लो ५८ वर्षदेखि कुनै पशुहिंसा नभएको दाबी गरिन्छ । न त कुनै जुवातास जस्ता विकृतिजन्य कार्य नै भएको छ । बस् आत्मिक शान्तिको लागि भजन, बुढेसकालमा एक अर्का छिमेकीसँगको साहारा र शुद्ध शाकाहारी खानपिनले मुलुककै नमूना बनेको छ, नजरपुर ।

५० विगाहा जमिनले सिञ्चिएको यो बस्तीको सीमा प्रवेश गरेपछि चाहे पाहुना हुन् वा स्थानीय सबैलाई त्यहाँको शास्त्रीय कानुन लागु हुन्छ । त्यो हो :

  • धुम्रपान, मद्यपान, जुवातास जस्ता विकृतिजन्य क्रियाकलापमा पूर्ण प्रतिबन्ध ।
  • कुनैपनि पशुपंक्षीको हत्या र माछामासुको सेवन पूर्णतः प्रतिबन्ध ।
  • जातीय, क्षेत्रीय, आर्थिक तथा लैङ्गिक रुपमा विभेद गर्न नपाइने ।
  • खुला दिसापिसाब मुक्त एवं पूर्ण साक्षर ।

यही गाउँभित्र हामीले जातीय भेदभावको समूल अन्त्यको उदाहरण भेट्न सक्छौं । जहाँ दलितका छोराछोरी पनि साँझमा मन्दिरमा बसेर संस्कार र नीति शास्त्रका पाठहरु पढ्छन् ।

ललितपुरबाट बनेको योजनाले बसाएको बस्ती

कुरा वि.सं. २०२० सालको हो । ललितपुरको कटुवा भन्ने गाउँमा रमणदास स्वामीको घरमा एउटा वृहद् भागवत् समारोहको आयोजना गरिएको थियो । एक महिनाको त्यो भव्य पूजामा देशका विभिन्न ठाउँबाट भक्तजनहरु आएका थिए । सोही बसाइमा एउटा त्यस्तो बस्तीको परिकल्पना भयो जहाँ एउटै शास्त्रीय नियम लागू होस् र सबैले आत्मिक शुद्धिको एउटै लक्ष्य भेट्न सकून् । त्यसको लागि जग्गा खोज्ने निर्णय भयो र भागवत सकिए लगत्तै एउटा टोली तराईतिर लाग्यो ।

जग्गा खोज्न जाने टोलीमा थिए जीवनाथ तिमल्सिना, सूर्यनाथ दाहाल, शुकदेव शास्त्री, अम्मरप्रसाद बजगाईं र चुडामणि दाहाल । उनीहरु ललितपुरबाट झरेर चितवन, मकवानपुर हुँदै रौतहटसम्म पुगे । कतै पर्याप्त जग्गा नमिल्ने त कतै मोल नमिलेपछि उनीहरु रौतहटका मुडबरी सुब्बाको घरमा पुगे । अहिले नजरपुर बस्ती बसेको ठाउँमा उनको ४० बिगाहा जग्गा थियो । योजना सुनाइसकेपछि उनले सबै जग्गा बस्ती निर्माणको लागि दिने वचन दिए । त्यसपछि सुरु भयो एउटा नमूना बस्तीको शृंखला ।

सुरुमा त्यो गाउँमा काभ्रेदेखि पूर्वमा झापासम्मका ३५ परिवारले घर बनाए । जोसँग जति सम्पत्ति छ उसैले सोही अनुपातमा जग्गा किने । तर जहाँबाट आएको भए पनि एउटै शर्त थियो, पूर्ण शाकाहारी र विकृतिजन्य कृयाकलापबाट मुक्ति । गाउँमा बस्नको लागि एउटा छुट्टै विधान बन्यो । जसलाई अहिलेसम्म सबैले हुबहु लागू गरिरहेका छन् ।

गाउँको बीचमा रहेको नजरपुर धामका संरक्षक सन्त श्री सुरेन्द्र शास्त्रीका अनुसार यो बस्ती अहिले ५० बिगाहा क्षेत्रफलमा फैलिएको छ, जसमा १५० घर परिवार बसोबास गर्छन् । जसको बीचमा नजरपुर धाम छ । उक्त धाम शास्त्रीकै पिता सूर्यनाथ दाहालले २ कठ्ठा जग्गा दानमा दिएर बनाउन लगाएका थिए ।

यो बस्तीभित्र कुनैपनि सामाजिक विकृतिजन्य गतिविधि र हिंसात्मक क्रियाकलाप गर्न पाइँदैन । यहाँ कुखुरा हाँस, खसीबोका जस्ता घरपालुवा जनावर पाल्न प्रतिबन्ध छ । गाई र भैंसी दुग्ध प्रयोजनको लागि पालिन्छन् । यो यहाँका किसानहरुको आम्दानीको स्रोत पनि हो ।

मन खुसी त संसार खुसी !

मान्छेको मनको खुसी नाप्ने यन्त्र छैन । त्यसैले यो मापनयोग्य पनि चिज पनि होइन । तर यहाँको अनौठो जीवनशैलीले मान्छेलाई चिन्ताको लागि समय नै दिएको हुँदैन । त्यसैले उनीहरु पनि दाबी गर्छन् कि उनीहरु अरु समाजको तुलनामा कम चिन्तित र बेचैन छन् ।

यहाँका सबै परिवारका सदस्यहरु बिहानको ४ बजे उठ्छन् । बस्तीको बीचमा श्रीकृष्णको मन्दिर छ । नित्यकर्म सकेर सबै त्यहाँ भेला हुन्छन् । करिब ६ बजेसम्म त्यहीँ पूजाआजा र भजनकीर्तन चल्छ । उज्यालो भएपछि सबै आ–आफ्नो काममा लाग्छन् । धेरैको काम भनेको गाई वा भैंसी दोएर दूध डेरीसम्म पुर्याउनु हो । धेरैले गाईभैंसी पालेका छन् । कसैले पालेका छैनन् भने डेरीबाट नियमित दूध पाइन्छ । बचेको दूध चन्द्रपुरमा ल्याएर बेच्ने चलन छ ।

दुग्ध व्यापारको काम सकिएपछि सुरु हुन्छ खेतीबारीको काम । ५० बिगाहामध्ये अधिकांश भूभागमा खेती लगाइएको छ । त्यहीँ बिउ उत्पादन र प्रशोधनको लागि आवश्यक सबै उपकरणहरु तयार पारिएको छ । बिउ भण्डारण एवं प्रशोधनको लागि पनि त्यहाँको महिला उद्यम सहकारीले व्यवस्था गरेको छ । दिनभरि यही आसपासमा गरिएका सिर्जनशील काममा खर्चिने गरेका छन् ।

साँझ सबैले घरघरमा खाना खान्छन् । विशेष समारोह छ भने निजानन्द धाममा पनि भण्डारा चल्ने गर्छ । घरमा खाना खाइसकेपछि सबै जना मूल सडकमा टहलिन निस्कन्छन् । चोकचोकमा रहेका विश्रामस्थलहरुमा बसेर एकअर्काको सुखदुःखको कुरा पनि त्यही प्रतीक्षालयमा हुन्छ । यसरी एउटा नमूना बस्तीको जीवनशैली बित्ने गर्छ ।

यहाँ चिन्ता लिने र मानसिक दुःख बेसाउने फुर्सदै नरहेको शास्त्री बताउँछन् । उनका अनुसार कोरोना महामारीको समयमा पनि यो गाउँको जनजीवनमा केही बदलाव आएन । न त कोही यहाँ बिरामी र संक्रमित नै भए । अहिलेसम्म यहाँको कसैलाई पनि दीर्घरोगको समस्या नदेखिएको उनी बताउँछन् ।

अधिकांश उत्पादनमा आत्मनिर्भर गाउँ

यो बस्तीमा ठूलै उत्सवमा पनि पाक्ने भनेको सात्विक खाना नै हो । दशैं नजिकिँदै छ, यहाँ दशैंमा कस्तो परिकार पाक्छ त ? भन्ने प्रश्नमा धामका अध्यक्ष दाता प्रसाद दाहाल भन्छन् ‘दशैं हामी पनि धुमधामका साथ मनाउँछौं तर दशैंमा पनि खाना दुग्धजन्य नै हुन्छ । सेलरोटी बनाउने, पनिर बनाउने वा अन्य तरकारीसँग खाना खाएर दशैं मनाउने गरेका छौं ।’

यहाँ दुग्धजन्य उत्पादन धेरै हुन्छ । निजी र सहकारीबाट सञ्चालित गरेर २ वटा डेरी, ६ वटा किराना पसल छ नजरपुर गाउँमा । यहाँ कुनै पनि पसलमा चुरोट, सुर्ती गुट्का जस्ता कुनै धुम्रपान एवं मदिराहरु बिक्री हुँदैन । त्यहाँ दैनिक उपभोग्य वस्तुहरुबाहेक केही पनि बिक्री हुँदैन ।

तर जे आवश्यक छ त्यसमा बस्ती धेरैहदसम्म आत्मनिर्भर छ । बिउविजन उत्पादन गरेर निकासी गर्ने गरिन्छ, दुग्ध पदार्थलाई सहकारीको डेरीले संकलन गरी चन्द्रपुरसम्म लैजान्छ । यसले गर्दा त्यहाँका स्थानीयलाई आर्थिकोपर्जनमा सहज भएको छ । संरक्षक शास्त्री अहिले गाउँ कहिलेकाहीँ नुन तरकारीमा आत्मनिर्भर नभए पनि अरु दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर रहेको बताउँछन् ।

सजिलो छैन गाउँको सदस्य हुन

यो गाउँमा प्रवेश गर्ने जोकोहीलाई पनि आफ्नो विधान अनुसारको शर्तभित्र बस्न अनिवार्य गरिन्छ । पछिल्लो समय केही दशकदेखि नै नयाँ बस्ती थपिएको छैन । जो यहाँ आएर बस्ने पहिलो पुस्ता थिए, ती कोही पनि जीवित छैनन् ।

अहिले पहिलो पुस्ताको गरिमालाई दोस्रो पुस्ताले डगमगाउन दिएका छैनन् । यहाँको लागि न्यूनतम मापदण्ड भनेको नै शरीरसँगै आत्मिक शुद्धिलाई ध्यान दिनु हो । जुन गाउँका स्थानीयले गाउँ बाहिर रहँदा पनि यो विधान पालना गर्नुपर्छ भन्ने मान्यता छ ।

(रौतहटबाट फर्किएर)

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?