+
+

राज्यशक्ति नै प्रेम र सम्भोगविरुद्ध लागिपरेको देशबाट …

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७८ असोज २७ गते १७:२५

प्रहरी तथ्याङ्कले भन्छ- विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा आठ हजारभन्दा बढी बलात्कार र ३१ सयभन्दा बढी बलात्कार प्रयास भए । यो अवधिमा झण्डै ६० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएका छन् । विकसित देशमा बलात्कार भयो या बलात्कारको प्रयास भयो भनेर हामीले कमै मात्र सुन्छौं/पढ्छौं । किनकि ती देशमा सम्भोगलाई समाजले छोपेर राखेका छैनन् । अझै सिधा भाषामा भन्दा त्यहाँ सेक्स र प्रेमविरुद्ध प्रहरीले हत्कडी लगाउँदैन ।

कुनै रेस्टुरेन्टमा वा रिसोर्टमा, कुनै पार्कमा युगल जोडी भेट्दा प्रहरी हस्तक्षेप गर्दैन । हाम्रोमा व्यापक हस्तक्षेप छ । हाम्रोमा सिङ्गो राज्य शक्ति नै प्रेम र सेक्सको विरुद्धमा लागिपरेको छ । हाम्रोमा सेक्स र प्रेमको बारेमा खुलेर बोल्ने छुट छैन । जुन कुरामा व्यापक बन्देज लाग्छ सबैभन्दा धेरै त्यही व्यापार त्यसैको फस्टाउँछ । नेपालमा भएको यही हो ।

दक्षिण पूर्वी एशियाली देशहरूमा नेपाल पनि एउटा त्यस्तो देश हो, जहाँ सेक्सलाई असमाजिक व्यवहारका रूपमा लिइन्छ । जुन कुरो जति दबाइन्छ, त्यो कुरा त्यति नै विस्फोट हुन्छ । अरु देशको प्रहरी प्रशासन शान्ति सुरक्षामा ध्यान दिन्छन् । सीमा सुरक्षामा ध्यान दिन्छन् ।

हाम्रो देशका प्रहरी प्रशासन रेस्टुरेन्ट र रिसोर्ट अनि होटेलमा छापा मार्दै हिंड्छन् र जोडीहरूलाई समातेर घुस माग्छन् । हाम्रोमा होटेलमा विवाहित जोडीलाई पनि बस्न डर हुन्छ किनभने प्रहरी आयो भने बिहे गरेको प्रमाणपत्र देखाउनुपर्छ । विवाहित जोडीले जिन्दगीभर बिहे गरेको प्रमाणपत्र बोक्नुपर्ने देशमा दैनिक महिलाले बलात्कारको पीडा भोग्नु परिरहेको छ । यो निकै लज्जास्पद र बिडम्बनापूर्ण कुरा हो ।

सेक्सलाई हाउगुजी र भयानक गम्भीर बिषयको रूपमा राज्यले लिइदिनाले यो बिषम परिस्थिति विद्यमान रहेको हो । भित्रभित्र सेक्सको गम्भीर व्यापार फस्टाइरहेको हुन्छ । राज्यले जुन दिन प्रेम र सेक्सलाई अपराध होइन भनेर घोषणा गर्छ र यौनधन्दा गरेर खानेलाई एउटा व्यवसायीको रूपमा मान्यता दिलाउँछ, तब त्यही दिनदेखि स्त्रीमाथि हुँदै आइरहेको ज्यादती र बलात्कारमा ९० प्रतिशतले कमि आउँछ । जति दबाउनु हुन्छ, त्यसको परिणाम त्यति नै भयंकर हुन्छ ।

सरकारले ‘नेपालमा यौन धन्दा नगर, विदेशमा गएर चाहिँ गर’ भनेर विदेश पठाइरहेको छ अघोषितरूपमा । रेमिट्यान्स पठाउने नाममा विदेशमा गएर जेसुकै गर भन्नु सरकारको नालायकीपन हो ।

नेपालमा अहिले बालबालिकाले पनि सामाजिक सञ्जाल चलाइरहेका छन् । यसको प्रभावस्वरूप दश एघार वर्षका केटाकेटीहरू वयस्कता प्रदर्शन गर्न थाल्छन् । जबकी उनीहरूलाई कानूनले बीस वर्ष पार नगरी बिहे गर्न दिँदैन ।

कानूनले बिहे गर्ने उमेर बढाउँदैछ भने बिहे गर्न चाहनेहरू लिभिङ टुगेदरमा बालिग नहुँदै बच्चा जन्माउन थालिसकेका छन् । एकाध बाहेक दश वर्षको उमेरमा फेसबुक चलाउने र च्याट गर्न खप्पिस हुने केटाकेटीले के बीस वर्षको उमेरसम्म बिना सम्भोग बस्न सक्लान् त ? हो, यहीँबाट समस्या सुरू हुन्छ ।

बलात्कारका घटनाहरूमा सोसल मिडिया र साइबर संसारको व्यापक दुरूपयोग भएको पाइएको छ । सेक्स नगर, प्रेम नगर भनेर भन्नु भनेको घुमाउरो तरिकाले लुकीछिपी र बलजफ्ती हुने कामहरूको बढोत्तरीलाई सघाउनु हो । त्यसकारण पनि नेपालमा यदि बलात्कारका घटनालाई कम गराउनु छ भने लुकिछिपी भइरहेको वेश्यावृत्तिलाई कानूनी मान्यता दिन ढिलो भैसकेको छ ।

नेपालको कानूनमा गाजा लागू औषध र अवैध मानिन्छ । जबकी विकसित देशहरूले यसलाई क्यान्सर जस्तो रोगको उपचारका रूपमा अप्नाउन थालिसकेका छन् । कानून सुधारको बाटो हो तर जब कानूनले नै उज्यालो नभएको बाटोमा हिंड्न् बाध्य बनाउँछ भने मानिसहरू त उज्यालो मै रमाउँछन् । अनि कानून एकातिर मानिस अर्कोतिर हुनु स्वाभाविक नै हो ।

बाहिर खाजा राखेर भित्र यौनधन्दा चलाउने राजमार्गका अधिकांश होटेलहरू प्रहरीको पनि आम्दानीको स्रोत हुन् । यस्ता धन्दा टोलका गुण्डा नाइके र राजनीतिक कार्यकर्ताका चुनाव खर्चका आदिम स्रोत हुन् । नेपालका अधिकांश नाम चलेका रिसोर्ट र होटेलमा नाम चलेका नेताहरूको शेयर लगानी छ ।

यिनै नेताहरू फ्रेस हुन तिनै आफूले लगानी गरेको होटेल/रिसोर्टमा जान्छन् र फ्रेस हुन्छन् । यसैलाई वैधानिक गर्दिनुहोस्, कमसेकम ती महिलाहरू त आफ्नो इच्छाले कमाइ गरी जीवनयापन गर्न सक्छिन् । उनीहरू दोहोरो तेहोरो शोषणमा परिरहेका हुन्छन् । इच्छुकले त्यही पेशा अप्नाउलान्, कमसेकम बलात्कृत त हुनुपर्दैन ।

अनाहकमा कतिञ्जेल मरिरहनु निर्मलाहरू ? केही पुरुष र महिलामा काम गर्ने प्रवृत्ति यति बलियो छ कि यसको पूर्ति मात्र वैवाहिक सम्बन्धद्वारा सम्भव छैन । सेक्सको लागि उनीहरूको स्वतन्त्र प्रवृत्ति नि:शुल्क सेक्सद्वारा प्रबलित छ । यो प्रवृत्ति विवाहित पुरुषहरूको वेश्यावृत्ति र विवाहित महिलाहरूको विवाहेत्तर सम्बन्धमा सक्रिय रहन्छ । समाज गतिशील छ ।

यो गतिशीलतालाई न कानूनले रोक्न सक्छ न पुरोहित पाण्डित्यले रोक्न सक्छ । त्योभन्दा त राम्रो कानूनीरूपमा त्यसलाई सहज बनाउँदै जाने । यूरोप अमेरिकी देशमा रिसोर्टमा गएका जोडीलाई प्रहरीले हत्कडी लगाउँदैन । नेपालमा जबरजस्तीलाई छुट छ- प्रेमिल जोडीलाई कारबाही हुन्छ ।

समाजको रूपान्तरण भनेको मानिस धनी हुनु मात्रै होइन । रूपान्तरण त व्यक्तिको सुख र शान्तिसँग पनि सम्बन्धित हुन्छ । मानिस सुरक्षा खोज्छ । उसले गर्ने आफ्नो निजी काममा कसैको हस्तक्षेप चाहँदैन । चोर्ने काम नै किन नहोस् एउटा चोर पनि प्रहरीको हस्तक्षेपलाई नराम्रो भन्छ । आध्यात्मिकहरू आत्मीय सुखका सौखिन होलान् अनि भौतिकवादीहरू भौतिक सुख भोगबिलासका सौखिन होलान् ।

व्यक्तिले व्यक्तिलाई/समाजलाई दुःख र चोट नपुर्याई गरिएका यावत कामहरू गलत होइनन् भन्ने परिभाषा गर्नुपर्छ । अनि मात्रै समाजले अग्रता पाउन सक्छ । हामी प्रेम र सेक्सलाई त अपराधीकरण गर्न लागिपरेका छौं भने त्योभन्दा पुरातनवादी चिन्तन अरु के हुन सक्छ होला र ? स्त्रीले खोलेका ब्युटी पार्लरभित्र पहिले पुरुष प्रवेशमा रोक थियो । अहिले सबैभन्दा पुरुषहरू नै बढी प्रवेश गर्छन् । समय बदलिएको होइन, बदलिएको त हामी हौं । हामी बदलिएपछि मात्रै समय बदलिएको अनुभूति हुने हो ।

ब्रिटानिकाको इन्साइक्लोपीडियाका अनुसार वेश्यावृत्ति भनेको त्यो हो, जो पैसा वा अन्य बहुमूल्य सामग्रीको तत्काल भुक्तानीको बदलामा परिचित वा अपरिचित व्यक्तिको साथ यौन सम्बन्ध राख्नु । अन्य शब्दहरूमा, ‘लाभ को लागि स्थापित हाइब्रिड सेक्स’ लाई वेश्यावृत्ति भनिन्छ । यहाँ माया र भावनात्मक तत्वको कमि त छ तर अन्य पेशा जस्तै यो पनि पेशा हो । यहाँ बलात्कारमा जस्तो व्यभिचार पोखिँदैन र अन्य अनियमित कामुक सम्बन्धहरू भन्दा यो फरक छ । संस्कृत शब्दकोशमा यो पेशा अपनाउने महिलाहरूको लागि विभिन्न संज्ञाहरू दिइएको छ ।

वेश्यावृत्तिको अस्तित्वको सम्बन्धमा फरक फरक मत छन् । सामान्यतः वेश्यावृत्तिको अस्तित्व कम से कम एक हजार वर्ष पहिले ज्ञात छ, तर आर्थिक युगको विकाससँग, वेश्याहरूको स्थिति पनि परिवर्तन भएको छ । यस सन्दर्भमा, समाजवादी युगको विकास भयो र साम्राज्यवादी युगको विकाससँगै महिलाहरूलाई भोगको रूपमा प्रयोग गरियो ।

हाम्रोमा होटेलमा विवाहित जोडीलाई पनि बस्न डर हुन्छ किनभने प्रहरी आयो भने बिहे गरेको प्रमाणपत्र देखाउनुपर्छ । विवाहित जोडीले जिन्दगीभर बिहे गरेको प्रमाणपत्र बोक्नुपर्ने देशमा दैनिक महिलाले बलात्कारको पीडा भोग्नु परिरहेको छ । यो कस्तो लज्जास्पद र बिडम्बनापूर्ण कुरा हो ।

एक महिलालाई एक बिलासी, भोग वस्तु र कामुकताको कठपुतलीको रूपमा व्यवहार गरियो, जब कि उनीहरू आफ्नो कला नाँचगान देखाएर पेशा अप्नाउँछन् तर त्यसलाई नै बिस्तारै स्त्रीको शरीर भोगको रूपमा कथित पुरुषले उपयोग गर्न थाले ।

सामन्ती मानिसहरूले महिलालाई सामाजिक क्रूरता र असमानताको शिकार बनाए । समाजमा भोका सामन्ती, विलासी ब्वाँसाहरूबाट महिलालाई निच बनाउनको लागि उसका आमा बुबाले महिलालाई भगवानको दासी, छोरी, नोकरको नाम दिएर भगवानको शरणमा पठाइदिए । त्यो बेलामा र अहिले पनि देउकी, झुमाका नाउँमा स्त्रीहरू पुकारिन्छन् । त्यहाँ उनीहरूको नाम ‘अप्सरा’, ‘परी’ राखिएको हुन्थ्यो ।

भगवानका कथित अनुयायीहरूले तिनै स्त्रीहरूलाई भोग्या घोषणा गराए ताकि उसको जवानी, रूप, सौन्दर्य त्यहाँ संरक्षित रहनेछ । उसले सम्मान पाउनेछ, तर भगवानका ठेकेदारहरूले त्यहाँ बसेर महिलालाई अश्लीलता र नग्नताको वस्तु बनाइदिए । र, यो अनुष्ठानको नाम दिएर, महिलाको कामुकता रमाइलोको एक विषय बनाइयो र उनलाई भगवानको दासी बनाइयो । भगवानको मूर्तिको सामु नृत्य गर्न लगाइयो । त्यसपछि सेक्स ट्रेड यूनियन र संवाद बनाएर समाजको अगाडि यसैगरी प्रस्तुत गरिँदै आइयो ।

जसरी समाज विकासको बाटोमा अगाडि बढ्यो, त्यहाँ वेश्यावृत्तिमा परिवर्तन भएको थियो । ‘अन्य उद्योगहरू जस्तै यो पेशा, वेश्यावृत्ति (व्यवसायिक यौन) पनि एक उद्योगको रूपमा उभिएको छ । यो सत्य हो कि अन्य उद्योगहरूको विपरित, यो उद्योग कहिल्यै खरीदारहरूको कमिको बारेमा गुनासो गर्दैन । सेक्स बेच्नु वा सेक्सको लागि बेचिनु एक यस्तो कार्य हो जसमा गरीब र अशिक्षित पनि सजिलै प्रवेश पाउन सक्छन् ।

किशोरावस्था र शारीरिक आकर्षण यसको एक मात्र आवश्यक योग्यता हो । ‘वेश्यावृत्ति एक यस्तो पेशा हो जसले निरन्तर यो सुनिश्चित गर्दछ कि गरीब महिलाहरू, भाग्यमानी थोरै बाहेक, सधैं गरीब र निरक्षर रहनेछन् ।’ तर एसियाका धेरै भागहरूमा वेश्यावृत्ति जीविकोपार्जन र बाँच्नको लागि एक सुरक्षात्मक साधनको रूपमा तीव्र गतिमा फस्टाएको छ ।

भारतको वर्तमान बम्बई नगरीमा हजारौं वेश्यालयहरू छन्, जसमा एक लाख भन्दा धेरै वेश्याहरू व्यवसाय गरिरहेका छन् । जबकि मानव अधिकार आयोगको अनुसार, ‘भारतमा लगभग १५ लाख वेश्याहरू छन् । जबकि १ लाखभन्दा धेरै वेश्याहरू मुम्बईमा वेश्यावृत्ति गर्छन् । भारतको अधिकांश वेश्यालयमा नेपाली चेलीबेटी रहेका हुन्छन् ।

त्यही पेशा भारतमा गएर गर्दा छुट र त्यही पेशा नेपालमा गर्दा प्रहरी हिरासतमा पुगिन्छ भने नेपालमा कानूनमा पो सुधार गर्नुपर्ने हो कि यतातिर राज्यको ध्यान जानू जरूरी छ । थाइल्यान्डमा सेक्स टुरिज्मका कारण त्यहाँ वार्षिक रूपमा लाखौं पर्यटन भित्रिन्छन् । त्यसले पनि गरीबी र भोकलाई निर्मुल पार्न मद्दत मिलेको छ । राष्ट्रको आयमा ‘सेक्स टुरिज्म’को निकै महत्त्वपूर्ण हात छ ।

हाम्रोजस्तो विकासोन्मुख देशमा वेश्यावृत्तिलाई बढावा दिनु पनि यस अन्तर्गत एक अपराध हो । यो कुनै पनि माध्यमबाट विज्ञापन वा कुनै पनि प्रकारको यौन सेवाको फोन नम्बरहरू प्रसारण गर्नु गैरकानूनी हुन्छ । त्यस्तैगरी, अनैतिक गतिविधि वा मसाज क्लब, ब्युटीपार्लर वा स्पाको नाममा संगठित वेश्यावृत्ति भने भइरहेको छ ।
यहाँ कानून मान्नेहरूका लागि मात्रै त बन्देज हो, अरुलाई त खुल्ला छ । यदि हामी यस विषयलाई सामाजिक रूपबाट हेर्छौं, तस्करी र वेश्यावृत्ति सभ्य समाजमा कुनै पनि हालतमा स्वीकार्य छैन । तर अझै पनि नेपालमा यौनकर्मी र वेश्यावृत्तिको बजार बढेको छ । खाजा घरमा मात्रै होइन ब्युटी पार्लरभित्र पनि वेश्यावृत्ति भइरहेको छ । हामीले अनुमान र सोचेको भन्दा धेरै फरक छ नेपालमा सेक्स वर्करहरूको गतिविधि । पश्चिमी हावाले हल्लाएको नेपाली युवा युवतीहरूको हाइफाइ यति तीव्रतर गतिमा अगाडि बढी सकेको छ कि कसैले चाहेर रोक्न सकिने अवस्था छैन ।

समाज र समाजको गतिशीलता कानूनको एउटा स्रोत पनि हो । कानून समाज नियमनका लागि बन्छ । समाज कता हिंड्छ, कानून त्यता फर्किन सक्यो भने त्यो कानूनले समाजलाई पनि दिशानिर्देश गर्छ तर समाजकै गतिशीलतालाई कानूनले बग्न दिन्न भने समाज अझै अपराधीकरणको बाटोतर्फ फैलिरहेको हुन्छ र अपराधको अन्त हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?