+
+

कथा : खरदार

सुरेश बडाल सुरेश बडाल
२०७८ असोज २९ गते ८:००

‘ओहो, तपाईं निर्मल हैन ? तपाईं पनि लोकसेवा पढ्न आउनुभाको ?’

मुखमा माक्स लगाएर पिठ्युँमा झोला बोकेर निहुरिँदै पुतलीसडकको पैरवी बुक हाउसछेउको फुटपाथमा हिँडिरहेको मलाई कोट्याएर एउटी हँसिली केटीले सोधी ।

अक्क न बक्क परें म । एकछिन वाल्ल परेर उभिएर उसलाई हेरें । पहेंलो कुर्ताजस्तो टप्समा सपक्क मिलेको जिन्सपाइन्ट लगाएकी थिई उसले । साउन महिना बित्न लागेकोले होला उसका हातमा मेटिन लागेको धमिलो मेहेन्दीको रङ्ग देखिन्थ्यो । सोही हातले निधारमा लत्रिन आएको कपालको स्यानो फुर्को कानमा सिउरेर ऊ हाँसी । उसका गोला गोला ठूल्ठूला आँखा थिए । बेदाग गहुँगोरो अनुहार थियो । बाक्ला तर छाँटिएका आँखीभौं थिए ।

‘चिन्नुभएन होला है ?’ ऊ फेरि हाँसी, ‘निकैबेर घोरिएर हेर्नुभो नि गायकज्यू ।’

‘अँ गाह्रै पर्यो ।’ म लाजले रातो भएको कुरा छेउको किताब पसलको ऐनाले बताइरहेको थियो ।

‘किन चिन्नुहुन्थ्यो र, त्यति धेरै फ्यान छन् तपाईंका ।’ उसको हाँसेरै बोल्ने बानी रहेछ । सायद गालामा डिम्पल पर्ने सबै केटीहरू हाँसेरै बोल्दा हुन् ।

जवाफमा मैले केवल मास्कभित्रैबाट लजालु मुस्कानमात्र दिन सकेँ । मेरा आँखाका भाका पढेपछि मैले बोल्न अप्ठेरो मानेको थाहा पाएर होला उसैले भनी, ‘म हजुरसँग ‘एड’ छु । मेसेज मात्र कहिले पनि नगरेको । त्यही भएर हजुरले चिन्नुभएन ।’

‘लाइक, कमेन्ट पनि गर्नुहुन्न होला नि । त्यही भएर मैले याद नगरेको ।’ बल्ल अलिअलि खुलेर बोलें म ।

तर के थाहा मलाई बेरोजगारीको रापले डामेकाहरू र अनिश्चित भविष्यको त्रासले लखेटेर ढिला आइपुगेकाहरूका निम्ति लोकसेवा सजिलो छैन भनेर ।

‘अँ हेर्नु न लाइक, कमेन्टको त होसै हुँदैन । लोकसेवा पढ्न थालेसी फेसबुक पनि खासै चलाइँदैन । कहिलेकाहीँ मात्र हो हेर्ने । तपाईंलाई नेपाल आइडलमा देखेपछि खोजेर एड गरेको पोहोरै । साँची तपाईं टप फोर्टीभन्दा पनि माथि जानुपर्ने मान्छे हो के । कस्तो मनपर्छ तपाईंको आवाज ।’ उसले बेलिबिस्तार लगाई । मलाई भने नमीठो अतीतले चस्स घोचेर ल्यायो । केवल उसको कुरामा अँअँ भनेर मुस्कुराएँ ।

फुटपाथमा हिँड्नेहरूलाई बाटै नदिएर पनि के गफ गर्नुजस्तो लागेर होला ‘मेसेजन्जरमा गफ गरौंला है’ भन्दै मसँग बिदावारी भएर ऊ पद्मोदय मोडबाट भृकुटीमण्डपको बाटो लागी । म भने पुराना स्मृतिहरू ताजा गर्दै लोकसेवा तयारी गर्ने इन्स्टिच्युटतिर लागें ।

नेपाल आइडलको हेटौंडाको अडिसनमा तीनैजना जजलाई खतरा इम्प्रेसन पारेपछि मेरो चर्चा चुलिएको थियो । लगभग भाइरल नै भएको थिएँ म केही दिन । तर टप फोर्टीबाटै आउट भएपछि भने मेरो चर्चा पनि सेलाउँदै गएको थियो । भन्नेहरूले त ‘यसपालिको आइडल तपाईं नै हो’ भनेर पनि भन्थे । तर बेलाबेलामा सताउने स्वास्थ्य समस्याले पर्फर्मेन्सकै दिन अप्ठ्यारो पारेको थियो । दुर्भाग्यवश म आउट हुन पुगें ।

मलाई बिदा गर्दा इन्दिरा जोशीले आँखाभरि आँसु पारेकी थिइन् । मेरो त सपनामा अल्पविराम लागेको थियो । जीवन बाँच्नु भनेको केवल बाँच्नु मात्र रहेनछ । आफ्नो खुसीमा बाँच्नु रहेछ । मलाई आफ्नो सपनाको बाटो हिँड्नका खातिर पनि केही समय अझै सङ्घर्ष गर्नु थियो । तर सपनाको बाटो पहिल्याउने गोरेटोसम्म पुग्न पनि खाली पेट र रित्तो खल्तीले भाँजो हाल्ने रहेछ ।

कसैले देख्ला कि भनेर, देखेपछि चिन्ला कि भनेर धक लाग्थ्यो । तर मैले लगाएको मास्कले पनि मेरो अनुहारलाई छेक्न सकेन । न त बोकेको झोला र हिँडेको बाटो अनि परिवेशले कसैलाई थाहा नदिई लोकसेवा पढ्ने मेरो उद्देश्यलाई लुकाएर राख्न सक्यो ।

मेरो लोकसेवाको पढाइ मनको पढाइ थिएन । रत्तिभर मेरो अन्तरआत्माको चाहना थिएन । मलाई त ढाँट्नु थियो परिवारलाई । किन केही गर्दैनस् भनेर हरेक दिनजसो अत्याउन आउने प्रश्नलाई छल्ने बहानामा मात्र म पुतलीसडकको बाटो भएर लोकसेवाको तयारी कक्षामा पुग्थें ।

कम्तीमा पनि कसैले के गर्दैछस् भनेर सोद्धा ‘लोकसेवाको तयारी गर्दैछु’ भन्न त पाएको थिएँ नत्र त बेरोजगारसँग आम्दानी मात्र हैन कति कुराहरूको जवाफ पनि हुँदैन ।

मेरो सपना त गाउने नै थियो । हरेक रात अनिँदा आँखाहरूले म सांगीतिक दुनियाँमा एउटा चम्किलो तारा बनेर चम्किरहेको पाउँथें । रियालिटी शोहरूमा देखिनु, त्यतिन्जेल केही हप्ताभरि सामाजिक सञ्जालहरूमा भाइरल हुनु अनि त्यस्सै हराउनु । यही नै नियति चलिरहेको थियो मेरो जीवनमा । केही कभर गीतहरू पनि नगाएको हैन । तर पनि भाग्यले मलाई पुग्नेजत्ति ख्याती र सफलता दिइरहेको थिएन ।

संगीत सिक्न भनेर उहिल्यै केही वर्ष र केही हजार रूपियाँ पनि खर्च गरिसकेको थिएँ । गीत रेकर्ड गराउन भनेर पनि धेरै खर्च गरिसकेको थिएँ । तर लाखौँ खर्च गरेर भिडियो बनाउन न त मसँग आत्मविश्वास बाँकी थियो, न त यसले गाएर केही गर्छ भनेर परिवारसँग विश्वास ।

‘केही कामधाम गर्ने भए मात्र, नत्र तँलाई गितांगे बन्नलाई छैन मसँग पैसा’ भनेर पछिल्लोचोटि बाले हकारेपछि अब केही नौलो नगरेसम्म काठमाण्डूमा मैले सङ्घर्ष गर्न सक्दिनँ भन्ने प्रष्ट भैसकेको थियो । बल्ल मेरो ज्ञानचक्षुले छिटो छरितो र दीर्घकालीन आर्थिक सुरक्षाको बाटो देखेको थियो । लोकसेवा ।

तर के थाहा मलाई बेरोजगारीको रापले डामेकाहरू र अनिश्चित भविष्यको त्रासले लखेटेर ढिला आइपुगेकाहरूका निम्ति लोकसेवा सजिलो छैन भनेर ।

****

लोकसेवा पढ्न भनेर जाँदैगर्दा बाटोमा भेटिएकी उषा पनि अब भने त्यही भेट भएको दिनको साँझबाट मसँग च्याटमा बोल्न थालेकी थिई । कुराकानीका सिलसिलाहरू केवल लोकसेवाका नै हुन्थे । मलाई भने मेरो स्वरको प्रशंसक भएर सामाजिक सञ्जालमा जोडिएकी मान्छेसँग गीतहरूका कुरा नै होऊन् जस्तो लाग्थ्यो । तर भविष्यको सुन्दर परिकल्पना गर्दै कठिन अध्ययनको यज्ञमा होमिएकालाई यो जाबो रंगरमाइलोको के चासो ?

तयारी कक्षा पढाउने इन्स्टिच्युटबाट उसको छुट्ने समय र मेरो कक्षा सुरु हुने समय एकै रहेछ । हाम्रा दैनिकीहरू मिल्न आएका थिए तर सपना भने केही अलग थिए सायद । जब सपना मनबाटै देखिन्छ नि, तब त्यसलाई पूरा गर्ने बाटोमा लागिँदो रहेछ । आखिर मनबाट नदेखेको सपनाको जिम्मेवारी लिन नसक्दो रहेछ मान्छे ।

उषा मसँग नजिक भएजस्तो गर्थी । पहिल्यै चिनेको परिचयले पनि हुन सक्छ ऊ मलाई आदर गरेर बोल्थी । तर ऊ जतिबेला पनि पढाइकै मात्र कुरा गर्थी । च्याटमा आउँथी केवल कुनै जिकेका प्रश्न लिएर । फोन गरी भने पनि ऊ आइक्युका प्रश्नहरूको लजिक सोध्न गर्थी । भेट्नका लागि कतै कुनै चियापसलमा बोलाउन पनि उसँग शासन प्रणाली, संविधान वा योजनाका नोटहरू ल्याउने बहाना बनाउनु पर्थ्यो ।

उसलाई लाग्थ्यो हाम्रा सपनाहरू एउटै छन् । त्यसैले त ऊ मसँग बिस्तारै नजिक हुन थालेकी थिई । ऊ त खुल्ला आँखाहरूले पनि कुनै सरकारी कार्यालयतिर नायब सुब्बा भएको सपना देख्थी होला । तर शाखा अधिकृतको कक्षा लिँदैगर्दा पनि मैले कहिल्यै पनि कुनै कार्यालयको घुम्ने कुर्सीमा कोट लगाएर काम गर्दै गरेको सपना देखिनँ । मेरा त सपनाहरूमा पनि हातमा गितार समाएर कुनै ठूलो कन्सर्टमा गाइरहेको चित्र आउँथ्यो । आखिर म केका लागि कक्षा लिँदैछु ? समयलाई सही अर्थमा खर्च गर्दैछु कि यो मूल्यवान समयलाई व्यर्थ मास्दैछु ? मलाई केही थाहा थिएन । तर हरेक दिन उषालाई हेर्ने अभिप्रायले मात्र पनि म कक्षा जान थालेको थिएँ ।

‘तपाईंको क्लास छुट्छ, जानुस् छिट्टो’, ऊ भन्थी । तर मेरो पहिलो क्लास लिने सरकारी सहसचिव आधा घण्टा ढिलो आउँछन् भन्ने बहाना बनाएर म उसँग भृकुटीमण्डपमा चिया पिएर बस्थेँ । हाम्रा दैनिकीहरू लगभग एकैनास बितिरहेका थिए । ऊ आफू बसेको होस्टलका समस्याहरू सुनाउँथी मलाई । भन्थी, अलिक महिना यसरी नै दु:ख गर्ने हो, अनि कसो नआउला त सुखका दिनहरू ?

मेरा सुखका दिनहरू पनि निश्चय नै आउने थियो एकदिन । तर मलाई मेरो सपनाको यात्रामा उषा नै सहयात्री चाहिन्छ भन्ने लाग्न थालेको थियो । यति नजिक बनेर मेरो जीवनमा कोही सुन्दरी आएकी थिइन । उषाको आगमनले मेरो जीवनमा एउटा उज्यालो बिहान आएझैं लागेको थियो । आखिर यति आत्मविश्वासी केटी कसलाई मन नपर्ला र । अझ त्यसमाथि ऊ त मलाई आदर गर्थी, सम्मान गर्थी ।

‘आज पनि होस्टेलमा नुहाउने पानी थिएन ।’ ऊ कुरैकुरामा यसरी बितृष्णा सुनाउँथी ।

‘आज पनि खल्लो तरकारी थियो ।’ ऊ रिसाउँथी । मसँग भुत्भुताउदै भन्थी, ‘अनामनगरतिर राम्रो होस्टल खोज्दिनु न ।’

‘तिमीलाई होस्टलमै किन बस्नु पर्यो त ?’ म भन्थें ।

‘कता बस्नु त । रूम लिएर बस्न पनि जाबो तीन महिनालाई के लिनु, म घर गैहाल्छु ।’

‘तिमीलाई कसले रूम लिएर बस्नु भन्या छ र ।’ म भन्थें ।

‘कता बस्ने त त्यसोभए ?’ ऊ सोद्ध्थी ।

‘मेरो मनमा ।’ म जिस्काउँदै भन्थें ।

एकछिन अट्टहास हाँसेपछि उसले भनी, ‘कति धोका पाएका पीडित आत्माहरूको चिहान होला त्यो मन । होस्, तर्साउँछ होला त्यहाँ त बस्दिनँ ।’

उसको जवाफले कतै भित्र चस्स दुखेर आउँथ्यो । मसँग उसलाई दिने स्पष्टीकरणहरू हुँदैन थिए । ऊ सोच्थी गीत गाएर बनाएका मेरा महिला प्रशंसकहरू सबै मेरा प्रेमिकाहरू हुन् । सामाजिक सञ्जालमा मलाई मायाका शब्दहरू लेख्ने सबै मलाई जीवनमै आएर प्रेम गर्छन् । उसलाई लाग्थ्यो मेरो मन त्यस्तो त्यस्तो चिहान हो जहाँ धेरै मेरा पूर्वप्रेमिकासँगका सकिएका सम्बन्धहरूका अस्तु छन् । तर मैले उसलाई आश्वस्त पार्ने गरेर आफ्नो पहिलो प्रेमको रूपमा उसैलाई बताएपछि भने मेरा आँखामा हेर्दै उसले भनेकी थिई आफ्ना कुरा ।

बिहे गरेँ भने तपाईंजस्तै केटासँग गर्छु । तर अहिले त आफ्नो ध्यान सबै परीक्षामा नै केन्द्रित गर्नुछ मैले ।

‘घर वरिपरि सबै धनीहरू छन् । सबै पैसावाल छन् । अनि सबै जग्गावाल छन् । हाम्रो मात्र त्यस्तो सम्पन्नता छैन ।’ उसले भूमिका बाँध्दै बताएकी थिई, ‘एउटा सानो घर छ हाम्रो । त्यो पनि बाबा दशौँ वर्ष साउदी अरब बसेर बगाएको पसिनाले बनाएको । अहिले त बाबा पनि खुट्टा भाँच्चिएर घरै बस्नुभएको छ । घरको अवस्था देखेर फेरि विदेश जान्छु भन्नुहुन्छ । तर बुढेसकाल लाग्न लागेको रोगी बुबालाई कसरी जानुस् भन्नु । त्यही भएर बाबालाई रोक्यौं हामीले ।’

‘कहिलेकाहीँ अभाव र अनिश्चयको भयले न्याकेर ल्याउँदा बाबा दिक्क मान्नुहुन्छ । जीवनभर दुख गरेर एउटा घर उभ्याउन सकेँ । बाँकी सबै यिनै छोराछोरीलाई पढाउन लागें । अरूका छोराछोरीले पढाइ छोडेर कामधाममा लाग्दा पनि मैले ब्याचलर, मास्टरसम्म नै पढाएँ । यसो भन्नुहुन्छ बाबा । वहाँको आशा र हामीप्रतिको सपनाले पनि कहिलेकाहीँ अति कमजोर बनाउँछ । कतै बाबाको यो मेहनत खेर जाने त हैन ? यही कुराले अर्थोक कुरामा ध्यान नै जाँदैन निर्मलजी ।’ ऊ एक्कासी सिरियस भएर भन्न थाली ।

‘प्रेम प्रस्तावहरू धेरै आए कलेज पढुन्जेल । आजकल विवाहकै कुराहरू पनि चलिरहन्छ । तर मलाई लोकसेवामा नाम निकालेर देखाउनु छ । हाम्रा छोराछोरीले यति कमाउँछन् । यसको घरजम भयो, उसको बन्दोबस्त भयो भनेर हरेक दिन सुनाउन आउने छरछिमेकीलाई एकमुष्ट जवाफ दिनु छ आफ्नै वडा कार्यालयमा जागिर खाएर । तिम्रा छोराछोरीलाई हामीलाई जस्तो नमस्ते गर्छन् ? भनेर सोध्नु छ ।’ ऊ हाँसी । मेरो ओठबाट पनि एउटा टुक्रा मुस्कान फुत्कियो ।

ऊ अझै थप्न थाली, ‘छोरीलाई पढाएर राम्रै गरेछु भनेर गर्व गर्ने ठाउँ दिनुछ बाबालाई । अरबमा गोठालो बनेर सहनु परेको एक एक हेपाइँलाई यता हाकिम बनेर हरेक दिन नमस्ते खाएर मैले चुक्ता गर्नुछ ।’ ऊ निकै आत्मविश्वासी भएकी थिई त्यतिबेला ।

उसका कुराहरूले मलाई ऊबाट टाढा लैजाँदै थियो । तर म पनि हार मान्नेवाला थिइनँ ।

‘तिम्रो सपना अवश्य पूरा हुनेछ उषा । बाको ठेला र आमाको फुटेका कुर्कुच्चा देखेका सन्तानले भविष्यको बाटो सजिलो बनाएरै छोड्छन् किनकि उनीहरूलाई थाहा हुन्छ कुन ठाउँमा कति ठेस हुन्छ भनेर ।’ म उसलाई ढाडस दिएर भन्थें । तर आफैं सङ्घर्षको भूमरीमा फसेको मान्छे, अनिश्चित बहाब बोकेर बगिरहेको जीवनको नदिको मझधारमा फसेको मान्छे, यति धेरै अठोट र दृढसंकल्प लिएर बसेकी मान्छेलाई आफ्नो बनाउन नसक्ने हुँ कि भन्ने भयले निरास बनाउँथ्यो ।

कतै उसको नाम निस्किने हो कि ? यता आफ्नो न मेहनत छ न मन । नाम निस्किँदैन ढुक्क छु । अनि यो छोटो समयमा यति नजिक बनेर हृदयमा बस्न आएकी मान्छे गुम्ने त हैन ? म यहि हिनताबोध र त्रासमा बाँच्न थालेको थिएँ ।

तर एकदिन भृकुटीमण्डपको चिया पसलमा मसँग नजिकिएर उसले कुरैकुरामा भनेकी थिई, ‘बिहे गरें भनेचाहिं तपाईंजस्तै केटासँग गर्छु । तर अहिले त आफ्नो ध्यान सबै परीक्षामा नै केन्द्रित गर्नुछ मैले ।’

उसले बिहे गर्ने त्यो केटा मजस्तै किन ? म नै हुन सक्दिनँ र ? सायद ऊ मायाप्रेमको जन्जालमा अल्मलिएर आफ्नो पढाइ बिगार्न चाहन्न । लोकसेवा नै पढ्न भनेर ऋणधन गरेर काठमाण्डू आएकी ऊ आफ्नो र परिवारको सपना टुट्न दिन चाहन्न । यति त मैले पनि बुझेको थिएँ । तर ऊ मलाई भित्र कतै आफ्नो मनमा राख्न थालेकी छ भन्ने बिश्वासले मेरो मन भाँचिन दिँदैन थियो ।

****

उही अनुहार लिएर झुल्किने दिनहरू बिस्तारै फेरिन थाले । उषा होस्टल छोडेर आफ्नै ठाउँबाट लोकसेवाको जाँच दिन घर फर्किएकी थिई । म त काठमाण्डूमै थिएँ । परीक्षा नजिकिँदै थियो । उषा च्याट अनि फोनमा पनि निकै कम भेटिन थालेकी थिई । मलाई पनि परीक्षा भनेपछि पढ्ने जाँगर आउन थालेको थियो ।

तर मन, बचन र कर्ममध्ये बचनले मात्र पढेको न थिएँ, पहिलो पत्रमै गुल्टिएँ । संवेदनाहरूलाई आवाज दिएर प्रष्फुटन गर्ने बानी परेको मनले जिके र आइक्युका समस्याहरूलाई हल गर्ने दिमागलाई पछाडि छोडेको थियो । मलाई ती राजा र राणाहरूका इतिहासको के अर्थ, अर्थ थियो त उषासँगको सुन्दर भविष्यको । मेरो हातमा गितार, कण्ठमा सुर अनि अँगालोमा उषा भएको कल्पना आउँथ्यो । कुन काम कतिजनाले सक्छन्, कुन लहरबाट गन्दा को कतिमा पर्छ मलाई जान्नु थिएन । मलाई त आफ्नो सपनाको श्रेणीमा आफू नै सबैभन्दा अगाडि उभिनु थियो । उषालाई चाहनेहरूको लहरमा आफूमात्र एक्लो बन्नु थियो । कोठाभित्र कतिओटा कोठाहरू छन् भन्ने प्रश्नको हल जान्नु थिएन । उषाको मनको कोठाभित्र आफू छु कि छैन भन्ने कुतुहुलले ज्यादा पिरोल्थ्यो ।

तर पहिलो पत्रमै असफलता हात लागेपछि मेरो सपनाको मार्ग त दुर्गम हुँदै गएको थियो नै चाहनाको बिन्दु बनेर आएकी उषा पनि परपर लाग्न थालेकी थिई । पहिलो पत्रको जाँच दिन गाउँ गएकी उषासँग आजभोलि च्याट र फोन पनि कम हुन थालेको थियो । मेरा लागि फेरि पनि सपनालाई जीवित राख्न कुनै बिकल्पको खाँचो थियो । पार नपाउने परीक्षाका खातिर अझै घरबाट खर्च मगाउने अवस्था थिएन । अन्धकारमा कतै पर बलेको बत्तीजसरी सपना पूरा गर्नेछु भन्ने आशाको बत्ती त मनमा बलेकै हुन्थ्यो । तर त्यो बत्ती भेट्नका खातिर अन्धाकारको मार्गमा मलाई पिलपिल बाल्ने नै सही तत्कालका एउटा बत्तीको खाँचो थियो ।

यात्राको साथी बनेर त्यही बत्तीको रूपमा एउटा अफर आइपुग्यो । एउटा लाउन्जमा गाउने अवसर मेरा लागि भाग्यले थामेको हातभन्दा फरक थिएन । नत्र त मैले बिदेशिनु नै थियो या कतै कुनै स्कुलमा पढाउनु पर्ने थियो या त गाउँ फर्किएर कुखुरा पाल्नु थियो जुन मेरा लागि कठिन हुने निश्चित थियो ।

अब त हातमुख जोर्ने आधार खडा भएको थियो । बाको कृपाबिना पनि बाँच्न सक्ने भएको थिएँ । अझै भन्नुपर्दा संसार जित्ने आत्मविश्वास पलाएको थियो । उता उषा फोनमा खिन्न भएर आउन थालेकी थिई । उसको मेहनतको रफ्तार दोस्रो पेपरमा गएर लगाम लागेको थियो । म उसलाई ढाडस दिएर भन्थें, ‘मेरो सपना लोकसेवा पढेर जागिर खानु थिएन । गाउनु थियो । गाएरै नाम कमाउनु थियो । एक चित्त भएर त्यो सपना साँचेर हिँड्दा मैले आज कम्तिमा पनि टेक्ने आधार फेला पारेको छु । तिमी पनि आफ्नो अर्जुनदृष्टि परीक्षामा लगाएर बसेकी छौ । एउटा असफलताले अत्तालिनेहरूलाई सपना देख्ने अधिकार हुँदैन, उषा । तिमी अझै मेहनत गर । एकदिन अवश्य सफल हुनेछौ ।’

‘एकदिन सफल हुनेछु त्यो त थाहा छ, निर्मल । तर म फेरि पनि ऋण काढेर काठमाण्डू जान सक्दिनँ । परिवारलाई बोझ थप्न सक्दिनँ । अब त मेरो बिहे नै गर्ने सोचमा हुनुहुन्छ बाआमा । तर मलाई जागिर खाएर आफ्नो बिहे आफैंले गर्नुछ । बालाई ऋणको भारी बोकाएर यो घर छाड्ने मेरो किन्चित रहर छैन ।’ ऊ बेस्सरी टुटेकी थिई ।

‘के यो समस्या हामी दुई मिलेर समाधान गर्न सक्दैनौं र ? मैले हामी बाँच्न सक्ने आधार तयार गरेको छु । हामी बिहे गरौँ न हुन्न ? बरू दुई वर्ष, तीन वर्ष नै लागोस्, तिमी मजाले परीक्षाको तयारी गरौली । तिम्रो सपनाको यात्राको म सारथी बनौंला, तिमी मेरो जीवनको सहयात्री बनिदिन सक्छौ ?’ मैले हिम्मत गरेरै प्रस्ताव गरेको थिएँ ।

‘तपाईंले मेरो विवशताको मजाक बनाउनु भएको हो निर्मल ?’ उसको आवाजमा आक्रोश र पीडाको रस मिस्सिएको थियो ।

‘मलाई गलत नबुझ, बिन्ति । मलाई अझै याद छ तिमीले मजस्तै केटासँग बिहे गर्नेछु भनेकी थियौ । के त्यो केटा म हुन सक्दिनँ र ?’

तर ऊ मौन बनेरै ओझेल परेकी थिई । मलाई आशा थियो उषाले मलाई बुझ्नेछे एकदिन । मैले उसलाई उसको सपनाको बाटोमा होस्टे हैंसे मात्र गर्न चाहेको हु । मेरो भावना चोखो छ । उसको विवशतालाई समातेर उमाथि दया देखाउन खोजेको कदापि हैन । तर त्यस दिनबाट नै उषा मसँग सम्पर्कहरूबाट भाग्न थालेकी थिई ।

दिनभरीको सुताई, साँझ परेपछिको अभ्यास अनि राती एघार बजेसम्मको गाउने कामले म थकित हुन्थें । तर नयाँ जोश र जाँगर पनि भरिएको थियो किनकि केही आफ्नै नयाँ गीतहरू पनि तयार पार्दै थिएँ । अब त आम्दानी र प्रसिद्धि पनि थोरै थोरै गरेर बढ्दै गएको थियो ।

पहिला उसले नै बोलाओस् भन्ने अहम् राखेर बसेको निकै दिनपछि मौनता तोडेर उषा च्याटमा झुल्कीई । सन्चो बिसन्चो र व्यस्तताका कुराहरू साटेपछि उसले मलाई झसंग पर्ने कुरा सुनाई ।

‘मैले बाआमालाई चित्त दुखाउन सकिनँ । मैले बिहे गर्ने भएँ ।’ उसले लेखी ।

मलाई रत्तिभर पत्यार लागेन । तर उसले मसँग नाता जोड्न नसकेको कुराको स्पष्टीकरण दिन थालेपछि भने मेरा अघिल्तिरबाट उसको छायाँ बग्दै बग्दै कतै पर गएर बिलाएको भान भयो ।

उसले लेख्दै गई, ‘तपाईंको सपना धेरै ठूलो छ । मेरो अति सानो । तपाईं नाम र पैसा कमाउनु हुनेछ । धेरै चर्चित बन्नुहुनेछ एकदिन । मेरा लागि त बस् बाआमाले ममाथि गर्नुभएको लगानी खेर गएको छैन है भन्ने मात्र देखाउन पाए आफूलाई सफल भएको ठान्नेछु । कम्तिमा पनि अहिले उहाँहरूको मनबाट पिर त हटेको छ ।’

निकै गह्रुङ्गो मनले सोधें, ‘केटा को हो नि ?’

‘हाम्रै नगरपालिकाको खरदार । बिहेपछि मलाई पढाइमा सघाउने कुरा गर्नुभाको छ । उहाँ पनि अधिकृतको तयारीमा हुनुहुन्छ ।’ उसले भनी ।

‘अनि पढाइमा सघाउने बाचा त मैले पनि गरेको थिएँ त ।’ म लाचार थिएँ ।

‘मान्छेले आफूले सक्नेसम्मको मात्र सपना देख्नु पर्छ, निर्मल । बोक्ने सक्ने भारी र चढ्न सक्ने पहाड मात्र चढ्नुपर्छ । तपाईंको यात्रा निकै लामो छ । तपाईंको आरोहण सगरमाथासम्मको हुनेछ । म त सानो मान्छे, सानै भारी र सानै ढिस्को चढ्ने मात्र आँट गर्न सक्छु । तपाईंको साथमा भए या त म आत्तिएर पछाडि छुट्न सक्छु, या त तपाईंको गतिलाई रोक्नु सक्छु । यो झन् पीडादायी हुने थियो । माइन्ड नगर्नुस् है ।’

****

उषाका कुराहरूले मलाई धेरै पछिसम्म पनि हिर्काइरह्यो । ठूला सपनाहरूको पछि लाग्दा साना लाग्ने रहरहरू छुटेर पनि जाँदा रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?