+
+

एकाएक भाइरल भएको ठोरीको यो सडक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १७:३४
भाइरल रोडमा सेल्फी खिच्दै दुई युवक ।

४ कात्तिक, काठमाडौं । वीरगञ्ज–ठोरी जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको ठोरी गाउँपालिका–२ मा पर्ने सडक अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फेसबुक, टिकटक, इन्स्टाग्राममा यो सडकको तस्वीर र भिडियो देखेपछि यहाँ घुम्न आउने मानिसको भीड बढेको छ । यो ‘भाइरल रोड’मा नेपालका मात्र नभई भारतीय पर्यटकसमेत भिडियो र सेल्फी खिच्न आउने गरेको स्थानीय चिरञ्जीवी सापकोटा बताउँछन् ।

कसरी भयो भाइरल ?

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको ठोरी प्रदेश २ कै रमणीय पर्यटकीय स्थलमध्येको एक हो । यहाँका रेड हिल, ह्वाइट हिल, सिनेही पर्वत, रानीवन, राईधारा, शिकारीवास लगायतका क्षेत्र पर्यटक आकर्षित गर्ने ठाउँ हुन् । यस्तै वनशक्ति मन्दिर, सिद्धेश्वर मन्दिर, बागमोर्चा माई, सीता गुफा धार्मिक रुपमा प्रख्यात छ । यी शक्तिपीठहरुको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

अहिले सामाजिक सञ्जालमा भाइरल बनेको यो सडक ठेकेदार कम्पनीले निर्माण पूरा नहुँदै गत चैतमा हस्तान्तरण गरेको थियो ।

सडक किनारामा रुखका जरामा कलात्मक तरिकाले ढुंगा राखिएका कारण यो सडक चर्चित बनेको छ ।

खोलाले बगाएर ल्याएको रुखका जरामा विभिन्न आकृतिका ढुंगा कलात्मक ढंगले राजमार्ग किनारामा राखिएका छन् ।

कसले सजायो सडक ?

सडक किनारामा रुखका जरा एवं ढुंगालाई कलात्मक ढंगले राखेर सजाउने व्यक्ति हुन् पर्साको ठोरी गाउँपालिका–२ का बुद्धिबहादुर गुरुङ । उनी यसअघि नै तीन महिनामा साइकलमार्फत ५६ जिल्ला यात्रा गरेर चर्चामा आइसकेका व्यक्ति हुन् । हाल उनी गाउँमै अटोरिक्सा चलाएर बसेका छन् ।

स्थानीय खोलाले बगाएर ल्याएको रुखका जरा र कलात्मक ढुंगा संकलन गरी उनले सडक किनारा सजाएका छन् । उनले सडक किनारामा राख्न रुखका जरा छनोट गर्दा विभिन्न जनावर तथा चराचुरुङ्गीका आकृतिसँग मिल्दोजुल्दोलाई छान्ने गरेका छन् । ती जरामा सेतो, कालो ढुंगालाई मिलाएर राखेका छन् । प्रकृतिले दिएको उपहारबाटै आफूले सडक सजाएको गुरुङ बताउँछन् । मानिस, चन्द्रसूर्य, नेपालको नक्सा लगायतका आकृति देखिने ढुँगालाई रुखका जरामा सजाइएका कारण पर्यटकहरु त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो खिच्ने गरेको गुरुङ बताउँछन् ।

भाइरल रोडमा फोटो खिच्दै स्थानीय समेत रहेका शिक्षक श्याम घिमिरे ।

वर्षायामको बाढीले बगाएर भारत पुर्‍याउने रुखका जरा र ढुंगालाई संकलन गरी आन्तरिक एवं वाह्य पर्यटकको मन जित्न सकेकोमा उनी खुसी छन् ।

कसरी आयो सोच ?

राजमार्ग सजाउने स्थानीय बुद्धिबहादुर गुरुङ ।

गुरुङ साइकल यात्राका क्रममा मुस्ताङ पुग्दा विभिन्न आकृतिका ढुंगालाई कलात्मक रुपमा सजाएको देखेका थिए । सोही अवधारणा अनुसार आफूले पनि ठोरीको पहिचानका लागि, सडक किनारालाई सजाउन थालेको गुरुङ बताउँछन् ।

गुरुङले साइकल यात्राको क्रममा प्रयोग गरेका साइकल तथा चढेको मोटरसाइकल समेत राजमार्गबाट देखिने गरी झुण्ड्याएर राखेका छन् ।

पछिल्लो समय टाढाटाढाबाट पनि मानिसहरु आएर यो ठाउँमा सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो खिच्ने गर्दा गुरुङलाई खुशी लागेको छ ।

आफ्नो सानो प्रयासले ठोरीको पहिचान बनेकोमा हौसला मिलेको उनको भनाइ छ । भन्छन्, ‘अहिले यो राजमार्गलाई भाइरल रोडको नामले चिन्ने गरेको छ । जता जान्छु भाइरल रोडकै कुरा आउँछ । यसले आनन्द महसुस हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?