+
+
अग्रपथ :

हिमालय क्षेत्रमा राज्यविहीनता, अल्पविकास र राज्यको परिकल्पना

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ कात्तिक ७ गते १०:१२

राज्य र विकास एकअर्कामा अन्योन्याश्रित शब्द हुन् । विकास भन्नाले भौतिक पूर्वाधार निर्माण, आर्थिक समृद्धि, वातावरणीय दिगोपन, बौद्धिक/आत्मिक उन्नयन, असल सांस्कृतिक परम्पराको संरक्षण, आम नैतिक भावनामा वृद्धि र मानवीय खुशी सबैलाई एकसाथ बुझ्नुपर्दछ ।

राज्य विना भौतिक पूर्वाधार विकास भएको भूगोल संसारमा कहीं छैन । राज्य विना आर्थिक समृद्धि हासिल भएको मानव समाज संसारमा कहीं कतै पाइँदैन । राज्य विनै बौद्धिक/सांस्कृतिक/पर्यावरणीय/आत्मिक/नैतिक  उन्नयन भएको सभ्यता इतिहासमा भेटिंदैन ।

राज्य किन र कसरी जन्मियो ? त्यो भिन्नै बहसको विषय हो । सबै राज्य सञ्चालक वा शासक देश र जनताप्रति किन उत्तिकै जिम्मेवार, संवेदनशील, मैत्रीपूर्ण भएनन् ? यो प्रश्नको पनि एउटा भिन्नै अध्याय बन्न सक्दछ । राज्य कुनै ईश्वर वा पवित्र संस्था हैन । त्यसले अनेक नराम्रा काम पनि गरेको हुन सक्दछ । राज्यबारे नकारात्मक चर्चा गर्न सकिने पर्याप्त पक्ष हुन्छन् ।

तर, राज्य विना मानव जातिको संरक्षण, व्यवस्थापन र उन्नयन संभव हुँदैन । ‘राज्यविहीनता’ (स्टेटलेशनेस) ले ल्याउने विपत्ति र दुर्दशा आफ्नै प्रकारको हुन्छ । त्यसको मूल्य झन् धेरै महँगो हुन्छ ।  राज्यविहीनतामा मानव समाज सुरक्षित नरहने मात्र हैन; आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक विकास प्रक्रियाबाट बाहिर पर्न, कमजोर र अल्पविकसित हुन अनिवार्य हुन्छ । राज्यविहीनताको स्थितिले निश्चित मानव समुदायलाई विश्व प्रक्रियाबाट बाहिर र अगलावमा पार्ने जोखिम हुन्छ । प्रारम्भमा अल्पविकास र अन्ततः त्यसले अस्तित्व संकट सृजना गर्दछ । सामान्यतः राज्यविहीनता शब्दले चार वटा अवस्थालाई बुझाउँछ ।

एक– पृथ्वीको कुनै क्षेत्र वा अंशमा त्यस्तो भूगोल वा जनसंख्या हुनु जसलाई कुनै पनि देशले आफ्नो सिमानाभित्रको भूगोल र जनसंख्या नमान्नु । निश्चित मानव समुदायले फिरन्ते, स्वेच्छिक र प्राकृत जीवन यापन गर्नु । त्यस्तो समुदायसँग राज्य निर्माणको चेतना, भूमिसँग वैधानिक तथा कानूनी सम्बन्ध निर्माणको ज्ञान र प्राधिकारयुक्त सामाजिक संगठनहरू हुँदैनन् ।

दुई– मानव समुदायको त्यस्तो जनसंख्या जो कुनै वैधानिक राज्यको सीमाभित्र कानूनतः अवैधानिक जीवन बाँचिरहेका हुन्छन् । यस्तो  जनसंख्यालाई ‘शरणार्थी’ वा ‘अवैधानिक आप्रवासी’ भन्ने प्रचलन छ ।

तेस्रो– कुनै जातीय, भाषिक, सांस्कृतिक समुदायलाई कुनै राज्यले आफैंभित्र विभेद, तिरस्कार र दमन गर्नु । जस्तो भूटानले नेपाली मूलका मानिसमाथि गरेको दमन, म्यानमारले रोहिंग्या मुस्लिम समुदायमाथि गरेको दमन आदि । यी दमनले नेपाली मूलका भूटानी र रोहिंग्या मुस्लिमलाई राज्यविहीन बनाइदियो ।

चौथो– कुनै भूगोल र जनसंख्या कुनै देश वा राज्यको सीमाभित्र  भएको वैधानिक मान्यता प्राप्त हुनु, राज्यको नियन्त्रण र शासन प्रशासनको क्षेत्राधिकारभित्र पर्नु, जनसंख्याले कानूनतः वैधानिक नागरिक हैसियत प्राप्त गर्नु तर व्यवहारमा त्यस्तो अधिकार सीमित र औपचारिक हुनु । देशको खास क्षेत्रमा नागरिकले प्राप्त गर्नुपर्ने सुविधा सीमित र औपचारिक हुनु । नियन्त्रण, शासन–प्रशासन र दण्डको पाटो क्रियाशील हुनु तर सुविधा, दायित्व निर्वाह, विकास, संरक्षण र मानवीय उन्नतिको पाटोमा राज्यले योगदान गर्न नसक्नु ।

राज्यको ‘केन्द्र’ र ‘परिधीय’ प्रभावबाट कुनै भूक्षेत्र र जनसंख्या धेरै टाढा रहनु, त्यसको मूलप्रवाहीकरण, केन्द्र निर्माण र ‘रिकोज्निसन’ कमजोर हुनु ।

नेपालमा राज्यविहीनताको अर्थ पहिलो, दोस्रो र तेस्रो हैन, चौथो प्रकृतिको हो । नेपालको राज्य निर्माण ऐतिहासिक प्रक्रियाको दृष्टिकोणले मूलतः पहाड केन्द्रित रह्यो । आधुनिक नेपालको राजधानी काठमाडौं र यसको वरिपरि आज जुन भौतिक विकास, अर्थतन्त्र र जनसंख्या संकेन्द्रण भएको छ, यो राजधानी नभएको भए संभव हुने कुरा थिएन ।

भनिन्छ– प्राचीन र मध्यकालको प्रारम्भमा सिंजाको खस साम्राज्य दक्षिणएशियामा मगधपछिकै सबैभन्दा शक्तिशाली, समृद्ध र वैभवशाली राज्य थियो तर त्यही कर्णाली क्षेत्र आज विकासमा धेरै पछाडि छ । मानौं कि आधुनिक नेपालको राजधानी काठमाडौंमा नभएर सिंजामा राखिन्थ्यो भने आजको परिदृश्य उल्टो हुन सक्थ्यो । कर्णालीवासी सबैभन्दा धनी र सुविधासम्पन्न हुन सक्थे र काठमाडौंवासीहरू उनीहरूभन्दा पछाडि परेका हुनसक्थे, जो आज काठमाडौंको तुलनामा देशको अरू भागले सामना गर्नु परेको छ ।

नेपालको हिमाली क्षेत्रमा लामो समयदेखि एक प्रकारको राज्यविहीनता छ भन्दा हुन्छ, जसले एक विचित्र प्रकारको अल्पविकास र पिछडापन सृजना गरेको छ ।

पृथ्वीनारायण शाहको विजय, केन्द्रीकृत तथा एकात्मक राज्यको निर्माण र काठमाडौंकेन्द्रित सत्ता–राजनीति शुरुआत भएपछि मात्र हैन, त्यसअघि पनि नेपाली राज्यहरू पहाडकेन्द्रित नै थिए । अधिकांश साना राज्य पहाडी इलाका ओगटेर बनेका थिए । मधेशको भूभागसम्म फैलिएका राज्यहरू पनि पहाडबाटै संचालित हुन्थे । जस्तै विजयपुर, चौदण्डी, मकवानपुर, पाल्पा र डोटी जस्ता मधेशसम्म सिमाना फैलिएका राज्यहरूको केन्द्र वा राजधानी पनि पहाडमै थियो ।

पहाडकेन्द्रित राज्य निर्माण प्रक्रियाले मधेशलाई मात्र हैन, हिमाललाई समेत अगलावमा पार्‍यो । पहाडबाट शासित र प्रताडित हुँदाहुँदै पनि मधेशका आफ्नै प्रकारका सबलताहरू थिए । विशेषतः पछिल्लो दुई शताब्दीमा तराईका जंगलहरूको फडानी, दक्षिणतिरबाट यातायात र अर्थतन्त्रको जालो र पहुँच निर्माण तथा बसोबास तथा खेतीयोग्य भूमिको कारणले गर्दा मधेश आफ्नै प्रकारले अघि बढ्दै गयो ।

मधेशमा पूर्वको भद्रपुरदेखि पश्चिमको कञ्चनपुरसम्म दर्जनौं शहर बने तर पनि ध्यान दिनयोग्य कुरा के छ भने मधेशको समग्र मानवीय विकास पहाडको भन्दा पछाडि नै रह्यो । आज कर्णालीपछि देशको सबैभन्दा गरीब र अशिक्षित क्षेत्र मधेश भएबाट त्यो ऐतिहासिक यथार्थ पुष्टि हुन्छ ।

पहाडको तुलनामा राम्रो खेतीयोग्य जमीन, मानवीय क्रियाकलाप र गतिशीलताका लागि सहज प्रकारको भूसतह, दक्षिणी अर्थतन्त्रसँगको बाक्लो सम्बन्ध र सहज पहुँचका बाबजूद मधेश आर्थिक, शैक्षिक र मानवीय विकासका दृष्टिले पहाडभन्दा किन पछाडि पर्‍यो ?

यसको ‘को–रिलेशन’ पक्कै राजनीति र राज्यनिर्माण प्रक्रियासँग हुनु पर्दछ/छ । मधेशमा भूमिहीन र सुकुम्बासीहरूको संख्या असाध्यै धेरै भएबाट नेपालको भूस्वामित्व वितरण प्रारम्भदेखि नै अन्यायपूर्ण थियो भन्ने प्रष्ट हुन्छ । पहाड–केन्द्रित राज्यहरूले मधेशको भूमिलाई जागिर, बिर्ता र जमीनदारीको रूपमा प्रयोग गरेको कारणले मधेशको ठूलो जनसंख्या पुस्तौंपुस्तादेखि भूमिहीन र सकुम्बासी हुन बाध्य भयो, जसले गर्दा देशको समग्र आर्थिक तथा मानवीय विकास प्रक्रिया नै पछाडि पर्‍यो ।

तर, पहाडकेन्द्रित राज्यनिर्माण प्रक्रियाको दुष्प्रभाव मधेशमा जस्तै हिमाली क्षेत्रमा पनि उत्तिकै परेको पाइन्छ । सानो जनसंख्या आकार, विकेन्द्रीकृत तथा छरिएको बस्ती, पूर्व–पश्चिम हिमालदेखि हिमालसम्म जोड्ने यातायात, संचार सम्बन्ध र अन्तरक्रियाको अभावले त्यो क्षेत्रमा  मधेशको जस्तो चर्को असन्तुष्टि र आन्दोलन विस्फोट हुन सकेन । तर, जनस्तरमा काठमाडौंकेन्द्रित राज्यप्रति गहिरो अविश्वास, गुनासो र असन्तुष्टि भने व्याप्त पाइन्छ । नेपालको हिमाली क्षेत्रमा लामो समयदेखि एक प्रकारको राज्यविहीनता छ भन्दा हुन्छ, जसले एक विचित्र प्रकारको अल्पविकास र पिछडापन सृजना गरेको छ ।

हिमालयको संक्षिप्त परिचय

तिब्बती पठार र भारतीय उपमहाद्वीपको भौगोलिक सीमा क्षेत्रलाई हिमालय भनिन्छ । यो हिउँ पर्ने र जम्ने क्षेत्र भएको हुँदा संस्कृत भाषामा यसलाई हिमालय अर्थात् ‘हिउँको घर’ भनियो । यसले पश्चिममा हिन्द–कुश र काराकोरमदेखि पूर्वमा म्यानमारसम्म छुन्छ । देशको हिसाबले भन्दा पश्चिममा ताजकिस्तान, अफगानिस्तान र पूर्वमा म्यानमारसम्म छुने भए पनि अधिकांश भाग भने पाँच देश पाकिस्तान, भारत, नेपाल, भूटान र तिब्बत–चीनमा पर्दछ ।

हिमालय क्षेत्रमा पश्चिमको नागापहाडदेखि पूर्वको नाम्चावर्बाबीच १०० बढी ७२०० फिट अग्ला चुचुरा छन् । नदी प्रणालीका हिसाबले सिन्धुदेखि ब्रह्मपुत्रको जलाधार क्षेत्र हिमालय क्षेत्र हो । यो संसारकै सबैभन्दा अग्लो भूभाग हो । विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा यसै क्षेत्रमा पर्दछ ।

हिमालयको पूर्व–पश्चिम लम्बाइ कम्तीमा २४०० किमी छ भने उत्तर–दक्षिण चौडाइ १५० देखि ४०० किमीसम्म छ । कश्मिर–सिञ्जियान सबैभन्दा चौडाइ भएको क्षेत्र हो भने अरुणाञ्चल–तिब्बत सबैभन्दा कम । नेपालको धौलागिरि र अन्नपूर्ण क्षेत्रलाई आधार मानी त्यस पूर्वको भागलाई ‘पूर्वी हिमालय’ र पश्चिमको भागलाई ‘पश्चिमी हिमालय’ भन्ने गरेको पनि पाइन्छ ।

हिमालयमा राज्य

पर्यटकीय राज्यहरु आर्थिक दृष्टिले कमजोर हुने कुनै सम्भावना हुँदैन । अहिले पनि नेपालको उच्च प्रतिव्यक्ति आय भएका ५ जिल्लामध्ये तीन हिमाली जिल्ला छन्- मनाङ, मुस्ताङ र सोलुखुम्बु । बाँकी दुई जिल्ला काठमाडौं र ललितपुर हुन्

हिमालय क्षेत्रमा राज्यको उत्थान र पतनको लामो इतिहास छ । हिमालय क्षेत्रको संसारले नै चिनेको, सबैभन्दा ठूलो, पुरानो र शक्तिशाली उत्तरी राज्य तिब्बत नै थियो । तिब्बत कुनै बेला करीब २५ लाख वर्गकिमी क्षेत्रफलसम्म फैलिएको एक विशाल साम्राज्य थियो । चिनियाँ जनमुक्ति सेनाले चीन अधीनस्थ गरेपछि तिब्बत चीनको एक स्वायत्त प्रदेश बन्यो । तर, तिब्बती साम्राज्यको दक्षिणपूर्वी प्रदेश खामलाई चीनले आधा पारेर सन् १९५५ मा सिचुवानमा मिलायो । खाम स्वायत्त र स्वतन्त्रताका लागि भएको संघर्षलाई ‘खाम्पा विद्रोह’ भनिन्छ । आधुनिक राष्ट्रिय–राज्य निर्माणको निर्मम प्रक्रियामा खाम एक भिन्नै देश वा प्रदेश बन्न सकेन ।

हिमालयमा पश्चिमी राज्यको कथा मूलतः गिलगिट–बाल्टिस्तानको इतिहास हो । यो क्षेत्र अहिले पाकिस्तानमा पर्दछ । यसलाई पाकिस्तानले भिन्नै प्रदेश वा राज्यको मान्यता दिएको छैन । यहाँ पनि स्वायत्तताको आन्दोलन जारी छ । खैबर–पख्तुनख्वा प्रदेशका उत्तरी क्षेत्रलाई समेटेर ‘उत्तरी स्वायत्त क्षेत्र’ भन्ने अर्ध–स्वायत्त प्रशासनिक संरचना बनाइएको छ ।

भारतमा हिमालयको पश्चिमी खण्डमा चार र पूर्वी खण्डमा दुई गरी ६ राज्य, प्रदेश वा केन्द्र शासित प्रदेश छन् । पश्चिममा जम्मु–कश्मिर, लद्दाख, हिमाञ्चल र उत्तराखण्ड छ । आधुनिक भारतमा गाभिनुअघि जम्मु–कश्मिर, लद्दाख, चीनतिरको अक्साई चीनको केही भूभाग र हाल पाकिस्तानतिर परेको कश्मिर समेत एउटै कश्मिर राज्यमा थिए । हिमाञ्चल पुरानो शिमला राज्यको उत्तराधिकार प्रदेश हो भने उत्तराखण्ड पुरानो कुमाउँ–गढवाल राज्यको उत्तराधिकार प्रदेश हो ।

पूर्वी भारतका दुई हिमाली राज्य सिक्किम र अरुणाञ्चल हुन् । सन् १९७५ मा भारतमा गाभिनुअघि सिक्किम स्वतन्त्र देश थियो । अरुणाञ्चल क्षेत्र भने अझै विवादित छ । अरुणाञ्चल क्षेत्रमा इतिहासको कुनै कालखण्डमा पनि बलियो राज्य थिएन, त्यो विभिन्न स–साना हिमाली कविला जातिहरूको स्वतन्त्र विचरण स्थल थियो । चीनको युनान र म्यानमारको कोचिन राज्यले पनि हिमालय क्षेत्रलाई थोरबहुत छुन्छन् । भूटान अझै एक हिमाली राज्यको रूपमा जीवित छ ।

नेपालमा हिमालय

नेपालको १ लाख ४७ हजार ५१६ वर्गकिमी (कालापानी–लिम्पियाधुरा समेत) क्षेत्रफलमध्ये करीब १६ प्रतिशत भूभाग हिमालमा पर्दछ, जबकि तराई–मधेशको क्षेत्रफल कुल भूभागको १४ प्रतिशत मात्र हो । अर्थात् नेपालको हिमालय क्षेत्र तराईभन्दा पनि ठूलो भौगोलिक क्षेत्र हो । यहाँ करीब ७ प्रतिशत अर्थात् २० लाख बढी जनसंख्या बसोबास गर्दछ ।

जिल्लाहरू रचना गर्दा अधिकांश हिमाली क्षेत्रमा भिन्नै जिल्ला बनाइएको छैन । तराईमा भिन्नै तराई जिल्लाहरू छन् तर हिमालमा भिन्नै हिमाली जिल्ला (मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जस्ता केही अपवाद छोडेर) छैनन् ।  पहाडी जिल्लाहरूसँगै जोडेर उत्तर–दक्षिण जिल्ला बनाइँदा नेपालको हिमाली क्षेत्रमा राजनीतिक–प्रशासनिक इकाइ बन्न सकेनन् । फलतः हिमालको समग्र राजनीतिक प्रतिनिधित्व र सहभागिता कमजोर भयो । हिमाली क्षेत्रमा जनसंख्या कम हुने र जिल्लाका दक्षिणी पहाडी क्षेत्रमा जनसंख्या बढी हुने हुँदा जिल्ला राजनीतिमा दक्षिणी क्षेत्रको प्रभाव र वर्चश्व रह्यो ।

जस्तो कि ताप्लेजुङ जस्तो पर्याप्त हिमाली भूभाग भएको क्षेत्रबाट हिमाली क्षेत्रको बासिन्दाले संसदको चुनाव जितेको उदाहरण छैन ।  संखुवासभा, सोलु जस्ता जिल्लाको पनि औसत त्यही स्थिति छ । पश्चिममा डोल्पाको राजनीतिमा अपर डोल्पाभन्दा तल्लो डोल्पाकै भूमिका बढी हुन्छ ।

हिमाललाई तराई, पहाडको मापदण्डबाट हेर्न मिल्ने थिएन । हिमालदेखि हिमालसम्म पूर्व–पश्चिम प्रशासनिक संरचना र भौतिक पूर्वाधार विकास नगरिकन हिमाली क्षेत्रको सम्मानजनक राजनीतिक सहभागिता,  विकास र समृद्धि संभव हुँदैनथ्यो, भएन पनि । हिमाललाई पहाडसँग जोडेर उत्तर–दक्षिण जिल्ला, जिल्ला संरचना र पूर्वाधार मात्र निर्माण गर्नु हिमालय क्षेत्रप्रतिको ठूलो अन्याय थियो ।

राज्य र भौतिक संरचनाको अवधारणा

राज्यको चरित्रले भौतिक संरचना निर्माणको अवधारणालाई प्रभावित गर्दछ । यदि नेपाल लाम्चिलो देश हुँदैनथ्यो भने शायद पूर्व–पश्चिम राजमार्गको कल्पना पनि गरिंदैनथ्यो । दक्षिण मधेशमा हुलाकी राजमार्ग, उत्तरी मधेशमा महेन्द्र राजमार्ग, चुरे क्षेत्रमा चुरे राजमार्ग र पहाडी क्षेत्रमा मध्यपहाडी राजमार्ग पूर्व–पश्चिम कल्पना गरियो । तर, हिमाली क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको कल्पना अझै गरिएको छैन । यदि पूर्व–पश्चिम हिमाली राज्य बनाइन्थ्यो भने हिमाली राजमार्ग पनि शुरुआत भइसक्थ्यो । त्यसले हिमाली क्षेत्रको विकास र आर्थिक जीवनमा ठूलो भिन्नता ल्याउने थियो ।

पूर्व–पश्चिम हिमाली राजमार्ग मात्र हैन, सोही अनुरूप हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संचार र अन्य भौतिक पूर्वाधार निर्माणको पनि एक विशेष योजना बन्न जरूरी छ । त्यसो गर्न सकिए, त्यसले देशको समग्र विकास र अर्थतन्त्रमा नै ठूलो योगदान गर्न सक्दछ ।

कतिपयले हिमालमा किन विकास गर्ने, त्यसलाई संसारभरिकै मान्छेहरूलाई देखाउन, पर्यटकीय दृष्टिले ‘भर्जिन ल्याण्ड’ नै राख्नुपर्छ भन्ने गरेका छन् । यो सही कुरा हैन । विकास विना त्यहाँ मान्छे नै रहँदैनन्, अन्ततः त्यो निर्जन क्षेत्र बन्छ र त्यहाँ आर्थिक क्रियाकलाप पनि हुन सक्दैनन् । हिमाली विकासको आफ्नै मोडल हुनुपर्दछ, वातावरणमैत्री र दिगोपन सहितको तर आधारभूत विकास र सुविधा विना मानव समुदाय त्यहाँ टिक्न संभव हुँदैन । आधारभूत सुविधा विकास गर्न नसके न त पर्यटन व्यवसाय व्यवस्थापन गर्न नै संभव हुन्छ ।

हिमालयमा आर्थिक संभावना

भारतमा उत्तराखण्ड राज्य बन्नुअघि कुमाउँ–गढवाल क्षेत्रको विकास धेरै सुस्त थियो । छिमेकको हिमाञ्चल प्रदेशभन्दा पछाडि थियो । सन् २००० मा उत्तराखण्ड भिन्नै राज्य बनेपछि त्यो क्षेत्रको आर्थिक विकास र भौतिक पूर्वाधार निर्माण यति तीव्र भयो कि प्रतिव्यक्ति आय करीब ३ हजार डलर पुग्यो जबकि बाँकी उत्तरप्रदेशको प्रतिव्यक्ति आय अहिले पनि करीब १००० डलर मात्र छ । ठीक यही कुरा सिक्किम र पश्चिम बंगालको हकमा भन्न सकिन्छ । सिक्किमको प्रतिव्यक्ति आय करीब ७५०० डलर छ भने पश्चिम बंगालको मात्र २५०० डलर ।

हिमालय क्षेत्रमा आर्थिक संभावना हुँदैन, त्यसैले राज्य, प्रदेश वा भिन्नै प्रशासनिक संरचना बनाइनुहुँदैन भन्ने सोच बिल्कुल गलत हो । हिमालय क्षेत्रको मुख्य संभावना पर्यटन नै हो । पर्यटकीय राज्यहरू आर्थिक दृष्टिले कमजोर हुने कुनै संभावना हुँदैन । अहिले पनि नेपालको उच्च प्रतिव्यक्ति आए भएका पाँच जिल्लामध्ये तीन हिमाली जिल्ला छन्– मनाङ, मुस्ताङ र सोलुखुम्बु । बाँकी दुई जिल्ला काठमाडौं र ललितपुर हुन् । मनाङ त काठमाडौंभन्दा पनि धेरै माथि छ । मनाङको प्रतिव्यक्ति आय करीब ३२०० डलर छ जबकि काठमाडौंको करीब २७०० डलर । सिंगो देशको प्रतिव्यक्ति आय मुश्किलले ११०० डलर पुग्दैछ ।

केन्द्रीकृत राज्यसँग हिमाली क्षेत्रको अन्तरविरोध 

हिमाली क्षेत्रमा विद्यमान केन्द्रीकृत राज्य र स्थानीय जनता बीच अन्तरविरोध बढ्दै गएका छन् । हिमालय क्षेत्रको एक महत्वपूर्ण परम्परागत पेशा पशुपालन हो । भेडा, चौंरी लगायतका हिमाली पशुपालनमा फराकिला खर्क र चरन क्षेत्र चाहिन्छ । सरकारले हिमाली क्षेत्रमा निकुञ्ज बनाउने र  पशुपालक किसानलाई चरन र खर्क नदिने, सीमितीकरण गर्ने जस्ता काम गरेको छ । निकुञ्जहरूको सुरक्षा सेनालाई दिइएको हुन्छ । सेनाको भयमा बाँच्न हिमाली किसान बाध्य हुन्छन् ।

अर्को महत्वपूर्ण आर्थिक आधार जडीबुटी संकलन हो । निकुञ्ज क्षेत्रमा जडीबुटी संकलन असहज हुने नै भयो । साथै वन कार्यालय र कर्मचारीले सृजना गर्ने असुविधाले जडीबुटी संकलन झन् जटिल बन्दछ । हिमाली पशुपालन र जडीबुटी संकलन असहज भएपछि हिमाली क्षेत्रका मुख्य परम्परागत आर्थिक स्रोत नै समाप्त जस्तो हुन्छन् । मानिस हिमालय क्षेत्र छोडेर पलायन हुन बाध्य हुन्छन् ।

अर्को ठूलो समस्या देशको एकीकृत भूमि ऐन पनि हो । हिमाली भूमि तराई र पहाडसँग तुलना गर्न मिल्ने कृषियोग्य भूमि हुँदैन । मुश्किलले वर्षमा एक बाली मात्र पाक्ने क्षेत्र धेरै हुन्छन् । तसर्थ हिमाली क्षेत्रमा किसानलाई ठूलो आकारको भूस्वामित्व दिनुपर्ने हुन्छ, ताकि उनीहरूले जंगल, जडीबुटी र ढिलो पाक्ने बाली जस्ता उपायबाट आर्थिक जीवन सहज बनाउन सकुन् । हिमाली क्षेत्रका लागि भिन्नै भूमि ऐन आवश्यक छ । भूमिबारेको संकुचित रैथाने भावनाले पनि त्यहाँ एकीकृत बस्ती विकासमा समस्या आउँछ । हिमाली परम्परा र आवास शैली अनुरूप बस्तीहरूलाई एकीकृत गरी चरन, खेती, वन र जडीबुटीका लागि फराकिलो क्षेत्रफल बनाउन सके हिमाली क्षेत्रको मानव जीवन सहज हुने मात्र हैन, पर्यावरण रक्षा गर्न समेत संभव हुनेछ ।

अर्कोतिर विश्व तापमान वृद्धि र जलवायु परिवर्तनको ठूलो मार हिमालय क्षेत्रमाथि छ । हिमालयमा हिउँको मात्रा घट्ने, हिमनदी सुक्ने वा हिमताल विस्फोटन हुने जस्ता जोखिम सबैले औंल्याएकै छन् । यस्ता समस्याबारे  प्राधिकारपूर्ण अध्ययन, निरुपण र समाधान गर्ने निकाय समेत अहिले छैनन् ।

हिमालयमा राज्यको संभावना

नेपाल बाहेकका सबै हिमाली देशहरूले कुनै न कुनै रूपमा हिमाली क्षेत्रमा प्रदेश बनाएका छन् । भूटान आफैंमा एक हिमाली राज्य हो । हिमाल र पहाडको आर्थिक संभावनालाई तीव्र दोहन गरेर भूटानले दक्षिणएशियामा आर्थिक विकासको नयाँ अध्याय कोर्दैछ । सिक्किमको जीवनस्तर युरोपकै हाराहारीमा पुगिसकेको छ । उत्तराखण्ड र हिमाञ्चलले पनि तीव्र प्रगति गरिरहेका छन् ।

जम्मु–कश्मिर, लद्दाखको आफ्नै राजनीतिक समस्या छ, अन्यथा त्यो क्षेत्र समेत नेपालको हिमाली क्षेत्रभन्दा विकासमा अगाडि छ । पाकिस्तानले गिलिगिट–बास्टिस्तानलाई भिन्नै प्रदेशको मान्यता नदिए पनि स्वायत्तता दिएको छ, भिन्नै प्रदेश रचनाको माग, आन्दोलन र प्रयास पनि त्यहाँ तीव्र छ । राम्रो विकास गर्न नसकेको हिमाली क्षेत्र भनेको भारतको अरुणाञ्चल र नेपालको हिमाली क्षेत्र हो ।

पहिलो संविधानसभाको राज्य पुनर्संरचना समितिले हिमाली क्षेत्रमा पूर्वमा शेर्पालुङ र पश्चिममा जडान राज्यको परिकल्पना गरेको थियो, त्यो हुन सकेन । नेपालमा राज्य पुनर्संरचनालाई केवल राजनीतिक पूर्वाग्रहका रूपमा हेरियो, त्यसको वस्तुगत पक्ष र संभावनाका विभिन्न आयामबाट विश्लेषण गरिएन, त्यो एक ऐतिहासिक भूल र दुर्भाग्य थियो ।

दुई हिमाली राज्य

नेपालमा पूर्वमा एक र पश्चिमका एक गरी दुई हिमाली राज्य हुन हरेक दृष्टिकोणले उपयुक्त हुन्छ । पूर्वको हिमाली राज्यले कञ्चनजंघादेखि गौरीशंकरसम्मको पर्यटकीय संभावनालाई दृष्टिगत गरी भौतिक संरचना, भाषा, संस्कृति र सम्पदाको संरक्षण र विकास गर्न सक्दछ । यो काम गर्ने हो भने यो राज्य विश्वकै एकनम्बर पर्यटकीय ब्राण्डिङ हुन सक्दछ । संभवतः एक दशकभित्रै नेपालकै सबैभन्दा बढी प्रतिव्यक्ति आए भएको प्रदेश वा राज्य हुनेछ ।

सिक्किम र भूटानले तिब्बत ल्हासालगायत उत्तरतिरको संभावनालाई उपयोग गरे जस्तो सिमकोटलाई केन्द्र बनाएर पश्चिममा एक हिमाली राज्य निर्माण गर्ने र त्यसले कैलाश र मानसरोवरको संभावनालाई आफूसँग जोड्न सक्ने हो भने कर्णालीको हिमाली क्षेत्र अहिलेको कमजोर गरीब क्षेत्रको साटो केही दशकमै भारतको हिमाञ्चल जस्तै विश्व ब्राण्डिङ हुन सक्दछ ।

भूगोल र जनसंख्या सम्बन्ध

हिमाली क्षेत्रमा ठूलो भूगोल, सानो आकारको जनसंख्या, सीमित र दिगो भौतिक संरचना हुनु स्वाभाविक कुरा हो । अरू देशको हिमाली क्षेत्र पनि त्यस्तै छ । हामीले नेपालमा पनि त्यही प्रकारले हिमाली क्षेत्रको विकास गर्ने हो ।

अन्यथा हिमालय क्षेत्रको सम्भावनालाई नेपालले प्रयोग गर्न सक्ने छैन । हिमालय क्षेत्रप्रतिको विश्व आकर्षण र रुचिलाई भारत, चीन, भुटान र पाकिस्तानले प्रयोग गर्नेछन् । आफ्नै कुबुद्धिको कारणले नेपाल हेरेको हेर्यै हुनेछ

ताप्लेजुङको फाक्तालुङ गाउँपालिकाको भूगोल मात्र १८५८.५२ वर्गकिमी छ, जो नेपालका केही जिल्लाहरूको भन्दा पनि ठूलो भूगोल हो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको क्षेत्रफल मात्र १५३९.११ वर्गकिमी छ, जो आफैंमा एक जिल्ला बराबर हो । पूर्वी पहाडका हरेक पहाडी जिल्लाको उत्तरी क्षेत्रमा तराईका जिल्लाभन्दा ठूलो वा हाराहारीको क्षेत्रफल भएका गाउँपालिका छन् । ठीक यही अवस्थामा पश्चिम पहाडका हिमाली क्षेत्रको पनि छ । बाजुराको हिमाली गाउँपालिकाको क्षेत्रफल मात्र ८३०.३४ वर्गकिमीको छ जो झण्डै काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला बराबरको हो ।

अहिलेकै जस्तो स्थिति कायम राख्ने, हिमाली क्षेत्रमा राजनीतिक सहभागिता, प्रशासनिक संरचना, भौतिक संरचना, आधारभूत सेवा, सुविधा र अर्थतन्त्रको संभावनाको ढोका नखोल्ने हो भने बसाइँसराइ झनै तीव्र हुनेछ । हिमाली क्षेत्र खाली–खाली जस्तो हुनेछ । देशको जनसंख्या वितरण र क्षेत्रीय विकास झनै असन्तुलित हुनेछ । त्यसको मार देशका अरू भागमा पर्नेछ । त्यसैले हिमाली क्षेत्रमा राज्यको कल्पना गर्दा जनसंख्या तत्वलाई महत्व दिनुुहुँदैन । राजनीतिक मान्यता, पहिचान, सहभागिता र प्रतिनिधित्वको अवसर, अर्थतन्त्रको संभावना र देशको सन्तुलित क्षेत्रीय विकासको अपेक्षासँग त्यसलाई जोडेर हेर्नुपर्दछ ।

भूटानको क्षेत्रफल ३८ हजार ३९४ वर्गकिमी छ तर जनसंख्या करीब ८ लाख मात्रै । सिक्किमको क्षेत्रफल ७ हजार ९६ वर्गकिमी छ, जनसंख्या करीब ६ लाख मात्रै । म्यानमारको कोचिन राज्यको क्षेत्रफल ८९ हजार ४२१ वर्गकिमी छ, जनसंख्या करीब १७ लाख मात्रै । पाकिस्तानको गिलगिट–वाल्टिस्तान सहितको उत्तरी क्षेत्रको क्षेत्रफल ७२ हजार ९७१ वर्गकिमी छ, जनसंख्या १२ लाख मात्रै । अरुणाञ्चलको क्षेत्रफल ८३ हजार ७४३ वर्गकिमी छ, जनसंख्या करीब १३ लाख मात्रै । लद्दाखको क्षेत्रफल ५९ हजार १४६ वर्गकिमी छ, जनसंख्या करिब ३ लाख मात्रै ।

यी उदाहरणले प्रष्ट गर्दछन् कि हिमाली क्षेत्रमा राज्य निर्माण गर्दा जनसंख्याको आकार खासै महत्वको कुरा हैन । नेपालमा मात्र हैन, सबै हिमाली क्षेत्रका देशले यो अवधारणा स्वीकार गरेका छन् ।

हिमालमा आन्दोलन

हिमालमा मधेशमा जस्तो प्रदेश रचनाको चर्को माग र आन्दोलन हुन संभव छैन । किनकि त्यस्ता आन्दोलन गर्न त्यहाँ न सघन बस्ती र जनसंख्या नै छ, न सानो स्वरलाई कसैले सुन्छ; न काठमाडौंकेन्द्रित सत्ता राजनीतिले त्यसबाट कुनै जोखिम, दबाब वा भयको अनुभूति नै गर्दछ । हिमाली क्षेत्रका जनतामा राजनीतिक पहुँच, सचेतनता र आत्मविश्वास पनि कमजोर छ । हिमालदेखि हिमालसम्म भौतिक संरचना नभएको हुँदा हिमाली जनता एकआपसमा जोडिएका छैनन् । तसर्थ उनीहरूको भावना साटासाट र एकीकृत हुन समेत पाएको छैन ।

पूर्व र पश्चिमका थारू र मधेशीहरू हुलाकी र महेन्द्र राजमार्गले जसरी जोडिन पाए, पूर्व र पश्चिमका हिमाली बासिन्दाहरू त्यसरी नै जोडिन पाएनन् । तसर्थ हिमाली क्षेत्रमा कुनै ठूलो राजनीतिक आन्दोलन, माग वा जनविद्रोह होला र त्यसलाई सम्बोधन गर्न राज्य निर्माण गरौंला भन्ने तरिकाले हुँदैन । त्यहाँ राज्य, नीतिनिर्माता र प्रभावशाली राजनीतिक दल आफैंले विवेक पुर्‍याउनुपर्दछ । हिमाली राज्यहरू सृजना गर्दा हुने फाइदाबारे स्वयं राज्य र राजनीतिक दलले जनचेतना विकास र परामर्श विस्तार गर्न जरूरी छ । हिमाली बासिन्दाहरूको आत्मविश्वास बढाउन जरूरी छ ।

अन्यथा हिमालय क्षेत्रको संभावनालाई नेपालले प्रयोग गर्न सक्ने छैन । हिमालय क्षेत्रप्रतिको विश्व आकर्षण र रुचिलाई भारत, चीन, भूटान र पाकिस्तानले प्रयोग गर्नेछन् । हामीसँग हिमालय त हुनेछ, तर त्यसको खासै सार्थक उपयोग हुने छैन । हिमालयले सृजना गर्ने अवसरहरू अन्यत्रै सर्ने छन्, आफ्नै कुबुद्धिको कारणले नेपाल हेरेको हेर्‍यै हुनेछ ।

शेर्पालुङ र सिमकोट

झिनो आवाजमा भए पनि पूर्वमा हिमाली राज्यको माग भइरहेकै छ–शेर्पालुङ । शेर्पालुङ आफैंमा एक अत्यन्त सुन्दर शब्द हो । यसले कुनै जातीय कट्टरतालाई बोध गराउँदैन । न त यो अवधारणाले कुनै सम्पूर्ण जिल्लालाई आफूभित्र समेट्छ ।

राज्य निर्माण, प्रदेश सिमाङ्कन, शासकीय स्वरुप, निर्वाचन प्रणाली, कर्मचारीतन्त्र, भौतिक संचरना र अर्थतन्त्रको ढाँचाबारे एक साहसिक र छलाङमय रुपान्तरण विना देशको समृद्धि सम्भव देखिँदैन । यस्तो रुपान्तरणको एक महत्वपूर्ण आयाम हिमाली क्षेत्रको राज्यविहीनतालाई अन्त्य गर्नु पनि हो

पूर्वी पहाडका जिल्लाहरूको उत्तरतिर रहेका, दर्जनौं जिल्लाभन्दा पनि ठूल्ठूला क्षेत्रफल भएका गाउँपालिकाहरू समेट्दा नै शेर्पालुङभित्र ठूलो भूभाग समेटिन आउँछ । ताप्लेजुङको फाक्तालुङदेखि रसुवाको गोसाइँकुण्डसम्म एक पूर्वपश्चिम हिमाली राज्यको कल्पना गर्ने हो भने त्यसको क्षेत्रफल सिक्किमभन्दा ठूलो झण्डै ११ हजार वर्गकिमी हुन्छ तर जनसंख्या करीब ३ लाख मात्रै । त्यसमा एक शेर्पालुङ राजमार्गको निर्माण गर्ने हो भने ती सबै क्षेत्र बढीमा ८ घण्टाको मोटर बाटोको दूरीभित्र हुन्छन् ।

शेर्पा शब्द ‘स्यारखाम्पा’ बाट बनेको विश्वास गरिन्छ । जसको अर्थ हो– पूर्वी खामबाट आएका मानिस । नेपालको उत्तरपूर्वी क्षेत्रमा तिब्बतको दक्षिणपूर्वी प्रदेश खामको प्रभाव स्वाभाविक थियो । रोचक कुरा के भने तिब्बती भाषा र संस्कृतिबाट प्रभावित भए पनि नेपालका शेर्पाहरूले एक भिन्नै मौलिक भाषा विकास गरेका छन् । पर्वतारोहण पर्यटनसँग जोडिएर एक भिन्नै विश्व पहिचान बनाएका छन् । तिब्बतेली लामा बुद्धिज्मबाट प्रभावित धर्म र संस्कृतिको कारणले शेर्पालुङ नेपालमा ‘मिनी तिब्बत’ जस्तो हुनेछ । तिब्बतको धीत मार्न समेत विश्वभरिका पर्यटकहरू ‘शेर्पालुङ’ आउने छन् ।

पश्चिम हिमाली क्षेत्रमा पहिचानको प्रश्न खासै महत्वका साथ उठेको सुनिंदैन । तथापि त्यो नेपालको विशिष्ट भूखण्ड हो । सबैभन्दा दक्षिणको सुर्खेत भ्याली केन्द्रित कर्णाली राज्यले उत्तरी हिमाली क्षेत्रको विकासमा खासै योगदान गर्न सक्दछ जस्तो लाग्दैन । डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, बझाङ र बाजुराका उत्तरी क्षेत्रहरू समेटेर यहाँ एउटा ठूलो भूगोल र सानो जनसंख्या आकारको राज्य निर्माण गर्दा त्यहाँ पनि एक पूर्व–पश्चिम हिमाली राजमार्ग आवश्यक पर्ने हुन्छ ।

त्यो क्षेत्रको भ्रमण, गहिरो अध्ययन र ज्ञान हासिल गर्ने अवसर नपाएको हुँदा यो पंक्तिकार त्यहाँको वास्तविकता र मनोविज्ञानबारे पूर्वको जति जानकार छैन । तर हिमाली राज्यहरूको विश्व अनुभव, हिमाली क्षेत्रको क्षेत्रीय विकासको अवधारणा र राज्यनिर्माणको वैज्ञानिकताबाट हेर्दा त्यहाँ पनि यस्तो आवश्यकता देखिन्छ ।

पूर्व र पश्चिमबाहेक बीचको हिमाली क्षेत्रमा भने त्यस्ता राज्य जरुरी देखिन्न । काठमाडौं र पोखरा जस्ता केन्द्रहरू स्वयंले नेपालको मध्य हिमाली क्षेत्रलाई गतिशील गर्न सक्दछन् । किनकि यी शहर र मध्य हिमाली क्षेत्रसँग नजिकको अन्तरक्रिया र सम्बन्ध छ । काठमाडौं र पोखरासँग मध्य हिमालको केन्द्र–परिधीय सम्बन्ध निर्माण भएको छ । मनाङ र मुस्ताङको प्रतिव्यक्ति आय देशका जिल्लामध्ये सर्वाधिक उच्च हुनुले यो कुरा व्यावहारिक रूपमा पुष्टि हुन्छ । पूर्व र पश्चिममा जस्तो मध्यहिमाली क्षेत्रहरू राज्यविहीनताको अवस्थामा छैनन् ।

अन्त्यमा

संघीय लोकतान्त्रिक गणतन्त्र भइसक्दा पनि उपयुक्त राज्य निर्माण र बहुआयामिक संभावनाको उपयोग, विमर्श र प्रत्याभूतिबारे पूर्वाग्रह राखिनु देशको दीर्घकालीन भविष्यका लागि दुर्भाग्यपूर्ण हो । चल्तेचलाते तरिकाले देश बन्ने वाला छैन भन्ने कुरा जनआन्दोलन २०६२/६३ पछिका करीब दुई दशकले फेरि एकपटक पुष्टि गरिसकेको छ । राज्य निर्माण, प्रदेश सिमांकन, शासकीय स्वरुप, निर्वाचन प्रणाली, कर्मचारीतन्त्र, भौतिक संरचना र अर्थतन्त्रको ढाँचाबारे एक साहसिक र छलाङमय रूपान्तरण विना देशको समृद्धि संभव देखिंदैन । यस्तो रूपान्तरणको एक महत्वपूर्ण आयाम हिमाली क्षेत्रको राज्यविहीनतालाई अन्त्य गर्नु पनि हो भन्ने कुरा देशका राजनीतिक दल र नीतिनिर्माताहरूले बिर्सन मिल्दैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?