+
+
आफ्नै कुरा :

घरज्वाइँ बसेर भाँडा माझ्दा के बिग्रन्छ ?

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७८ कात्तिक ७ गते १४:०५

भर्खरै दशैं सिद्धियो । महान् चाड दशैं लगायत अन्य चाडमा ज्वाइँलाई ससुरालीमा विशेष महत्व दिने गरिन्छ । र, यो महत्वको निर्धारण दिने दक्षिणा, खुवाइने परिकार एवं गरिने आतिथ्यताले हुनेगर्छ ।

नेपाली समाजमा ज्वाइँलाई उच्च दर्जाको सम्बन्धमा राखिन्छ भन्दा फरक नपर्ला । ज्वाइँहरू पनि ससुराली जाँदा सुटेडबुटेड भएर अलि भलाद्मी जस्तो देखिएर जान्छन् । ढलेको सिन्को समेत उठाउँदैनन् ज्वाइँहरू ससुरालीमा । र, उठाउन दिइँदैन पनि ।

सामान्यतः खाएको थालमा चुठ्ने अनि गफमा मस्त हुने बाहेक अरु थोक गर्दैनन् । ‘ससुराली गैरन्थे दिनका दिन, साली माग्दा सासूले लखेटिन्’ जस्ता अनेक गीतहरूले प्रष्ट हुन्छ ज्वाइँले ससुरालीमा साली जिस्काउन पाउने समेत छूट रहेछ । काम केही गर्न नलाएपछि त मानिस उपद्रो गरिहाल्छ नि ।

तर तिनै ज्वाइँहरू ‘घरज्वाइँ’ बनेर बस्नु परेको खण्डमा आफूलाई हेपिएको र तल्लोस्तरको भएको आकलन गर्ने गर्छन् । के ज्वाइँहरूको कुनै अभिभारा हुँदैन ससुरालीको टेको बनेर बस्न ? वा दुई दिनको पाहुना बन्न मात्र जन्मिएको हुन्छ यो सम्बन्ध ? चिरफार गरौं ।

मेरो छिमेकी दाइ-भाउजूका दुईजना छोरी–छोरी छन् । दुवैको बिहे भइसक्यो । अहिले ज्वाइँको आडभरोसाले नै घर चलेको कथा सुनाउँछिन् भाउजू । पहिला दुवैजना छोरीछोरी हुँदा तेस्रो सन्तानका रूपमा छोरा पाउन दाजुले भाउजूसँग कर पनि गरेका थिए रे ।

अन्य नातागोता र सासूससुराले त झन् कर नगर्ने कुरै भएन । तर भाउजूले अर्को सन्तान पनि छोरी भएमा के गर्ने भनेर प्रश्न फिजारिसकेपछि सबैजना चूप भएका थिए रे । आज आएर ज्वाइँहरू छोरा जस्तै हुँदा वंश धान्न छोरा नै चाहिने रहेनछ भनेर दाजुभाउजू चित्त बुझाउनुहुन्छ । यो कथा घरघरको कथा हुन पनि सक्छ । तर ज्वाइँहरू सबै यस्तै हुन्छन् भन्ने पनि छैन ।

अर्को उदाहरण, मेरा एक जना नाता नै पर्ने अङ्कल अन्टीका दुई जना छोरा नै अहिले बुहारी सहित अष्ट्रेलिया र अमेरिकामा सेटल भइसके । उहाँहरूको छोरी थिएन । अब विदेशमा भएका छोराहरू फर्केर आउने कुनै नामनिशान छैन । अनि बुढेसकालका अङ्कल अन्टीहरू बेसहारा बन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

अन्टी आजकल एकजना छोरी भइदिएको भए बरु छोरीज्वाइँको आडले अलि बढी बाँचिन्थ्यो कि भन्दै गुनासो पोख्नुहुन्छ । छोरीको भ्रूण हत्या गरी गरी छोरा जन्माउनकै लागि प्रयासरत रहने नेपाली ग्रामीण समाजलाई यो उदाहरण, पाठ बन्न सक्छ । छोरी जन्मिंदा टेन्सन थपिने, बिहे गरेर अर्कैको घर जाने जातलाई पढाइदिनुपर्ने, दाइजो दिनुपर्दा सम्पत्ति सिद्धिने जस्ता अनेक कुतर्कनाले गर्दा समाज बिग्रिएको छ । दुःख पाइएको छ ।

छोरी पाएकै कारण सराप र धारे हात खेपेका अनेक आमाहरूले पछि त्यही छोरीज्वाइँकै कारण विश्व भ्रमण गरेका र सुखसयलमा जीवन बाँचेका उदाहरण गाउँशहरमा प्रशस्त छन् । नौलो परिवर्तित समाजमा ज्वाइँहरू पनि छोरा जस्तै हुन्छन् र हुनु पनि पर्छ ।

हाम्रो नेपाली समाजमा पहिला पहिला आफ्नो घर गरेर खान नसक्नेहरू घरज्वाइँ बस्ने चलन थियो । अनि घरज्वाइँको गाउँमा इज्जत हुँदैनथ्यो । समाजमा नै अपहेलित भएर सबैले सहानुभूति दर्शाउने गर्थे । लाहुर हुन जाने र अरब साउदी जानेहरूले समेत खिसीट्यूरी गर्दै गिज्याउने गर्थे । आफ्नो घरमा गधा जस्तै खटिनुपर्ने र घरज्वाइँ बस्दा थोरै काम गर्दा इज्जतका साथ ऐसआराम पाउने हुनाले बस्थे कि खै !

तर घरज्वाइँ बसाउन श्रीमतीको पनि केही न केही जरुर योगदान चैं हुन्थ्यो नै । जोइटिग्रे जस्ता शब्दावली प्रयोग गरेर आत्मपतन नै हुने गरी समेत भन्ने गर्थे । तर मलाई घरज्वाइँ बस्नु त्यति असान्दर्भिक हो जस्तो लाग्दैन ।

मानौं ! हाम्रो रीतिरिवाजमा छोराले बुहारी ल्याउनुको सट्टा छोरीले ज्वाइँ ल्याउने चलन भएको भए ? छोरी पराइ घर होइन छोरा चाहिं पराइ घर गएर घरजम गर्न परेको भए ? के घरज्वाइँ हुनु अझै असान्दर्भिक हुन्थ्यो र ? आजकलको जमाना ‘छ्या छोरी जन्मिछे’ बाट ‘छोरा भन्दा छोरी कम छैन’ भन्ने वाक्यांशमा गएर टुंगिन थालिसक्यो ।

कसैको घरमा छोरी–छोरी छन् भनेर ज्वाइँलाई घरज्वाइँ बनाएर राख्दा न ससुरालीको मानमर्दन हुन्छ न ज्वाइँको इज्जत जान्छ । मारे पाप र पाले पुण्य भनेर छोरी दिने ज्वाइँलाई घरमा छोरा समान राख्दा के बिग्रन्छ ?

अनि ज्वाइँहरू पनि ज्वाइँ जस्तै नपल्टिएर ससुरालीमा बसेर भाँडामाझ्दा के बिग्रन्छ ? जो पुरातन र अन्धतापूर्ण विवेकको आडमा अझै चल्न खोज्छ ऊ अभागी नै रहन्छ । फड्को मार्नेहरू प्रगतिको उँचाइ हासिल गर्छन् ।

छोरी–छोरी जन्माएर आफूलाई कसले पाल्ला भन्ने व्यग्रतामा रहेका अभिभावकहरू त झन् खुशी हुँदा हुन्छ । भगवानले नदिएका छोरा, ज्वाइँ बनेर घरमा भित्रिने भए भनेर । वंश र अस्तित्वको कुरा तपसिलका हुन् । बाँचुन्जेल ‘के छ आमा ? के छ बुवा ?’ भन्दै सन्चो–बिसन्चो हुँदा ढाडस दिने ज्वाइँ पाएपछि, केको वंश र धर्मका कुरा हुन् र ?

छोरा नभएपछि स्वर्गै नतरिने दर्शन स्वीकारेर सधैं असन्तोषी भएर बाँच्ने काम नगरौं । छोराबुहारी हुँदाहुँदै पनि वृद्धाश्रमको चिसो भुइँमा जीवन बिताएकाहरूको पीडा कति होला ? त्यसैले छोरीज्वाइँको मानमर्यादामा कमि नराखौं ।

तपाईंले गरे अरुले सिक्छन् र सिक्दैनन् भने पनि अस्पष्ट भएरै दुःख पाउनेछन् । सम्बन्धमा परिपक्व भएर जिउनु र बुझ्नुहोस् । सानो भएर सम्बन्धका खातिर काम गर्दा आकाशले तपाईंको फोटो खिच्दैन ।

उनीहरूले गर्ने व्यवहारमा शंका नगरौं । घरज्वाइँ बस्नेहरू खानै नपाएर तपाईंको शरणमा आएका नहुन पनि सक्छन् । तपाईंको बुढेसकालको लठ्ठी बन्न घरमा भगवान सरह प्रकट भएका छोरा समान ज्वाइँहरूलाई उचित व्यवहार गरौं । बाहिरी भुलभुलैयाबाट टाढै रहौं ।

र अर्को पक्ष ज्वाइँहरू पनि ससुराली भन्ने बित्तिकै छाडा र उत्ताउला हुनुपर्ने कुनै जरुरी छैन । आफ्नो घर हुँदा चार डोका घाँस काटेर भैंसी दुहुन सक्ने ज्वाइँ बेला मौकाले ससुराली पुगेपछि भुँडी पल्टाएर बस्ने अनि खाटबाट तल्तिर नओर्लने मानव बन्दछ ।

चाडपर्वमा ससुराली जाँदा श्रीमती सँगसँगै गएर किचनमा सघाउन पुग्दा के जान्छ ? ज्वाइँको इज्जत घट्छ कि ? ज्वाइँको दक्षिणा घट्छ ? ज्वाइँ भनेपछि सबैले हाईहाई गर्छन् नै । अझ घरायसी र बाहिरी कार्यमा समेत सघाउ पुर्‍याउने हो भने कति धेरै मान राख्दा हुन् ? हाम्रा ज्वाइँ त यस्ता सिपालु छन् भनेर सासूससुराले कति बखान गर्दा हुन् !

त्यसैले कोही हाँस्छ वा विरोध गर्छ भनेर गर्दै नगरिएका अनौठा अभ्यासहरू गर्नबाट टाढा भाग्नुहुन्न । यी अभ्यासहरूले कोही धेरै काम गर्नेलाई कष्ट परेको भए भार कम गरेर सघाउ पुर्‍याउँछ र जीवन सजिलो बनाउँछ । जसरी वैज्ञानिकका अनौठा र अपत्यारिला लाग्ने उबेलाका आविष्कारले आज हाम्रो जीवन सजिलो भएको छ र त्यही आविष्कार आज दैनिक जीवनमा सामान्य बन्दै गएको छ ।

अझ घरज्वाइँ नै भएर बसेका ज्वाइँहरू त आफूलाई भाग्यमानी सम्झनुपर्छ किनकि आमाबुवा पनि डबल पाएका छन् र आशीर्वाद पनि डबल । ससुरालीको सम्पत्ति खान मात्र होइन सेवाभावले नै आत्मीयता दर्शाउनुपर्दछ ।श्रीमतीका बाआमा नि आफ्नै हुन् भनेर सम्झिनुपर्दछ ।

रगतले मात्र जोडिएका साइनो प्रगाढ हुने भए बालाई आर्यघाटमा जलाउने बेला भइसक्दा समेत बेलायत गएको छोरो किन दागबत्ती दिन टुप्लुक्क आइपुग्दैनथ्यो र ? अरु देशविदेश घुमेर फेसबुकमा फोटा हाल्न त उसलाई फुर्सद मिल्छ तर बाको मुख अन्तिम पटक हेर्न उसलाई छुट्टी मिल्दैन ।

त्यसैले सम्बन्ध कुनै रगतको साइनो वा वंश मात्र होइन एउटा आदत पनि हो । जब जो–कोही परदेशिन्छ, उसलाई रमाइलो, पैसा र आधुनिकताको आदत लाग्छ र बाआमाको माया ओझेल पर्छ । त्यसैले सम्बन्ध विकासशील बनाउन भेट्ने, बोल्ने, सँगसँगै दिन बिताउने, स्पर्श गर्ने जस्ता आदत बसाल्नुपर्छ । जुन घरज्वाइँहरूले गर्न सक्छन् । र गर्नु पनि पर्छ ।

समस्याहरू जो–कोहीको दृष्टिकोणमा गएर अल्झिन्छन् । तर जब दृष्टिकोण सत्य पूर्ण स्वरूपमा ढाल्न खोजिन्छ, सन्तुष्टि त्यहीं मिल्छ । छोरी–छोरी भएर दुःख मनाउ गरिरहेका आमाबाहरूले दृष्टिकोण बदल्नुपर्‍यो र ज्वाइँ पनि छोरा समान हुन्छन् भन्दै उनीहरूलाई अँगाल्न सक्नुपर्‍यो । यति गरियो भने छोरा नहुनुको सुर्ताले बुढेसकालमा पिरोल्दैन ।

र आफ्नो घरमा केही असजिलो महसूस गरेका, केही जीवनमा हार खाएका र व्यवसायबाट धोका पाएका ज्वाइँहरू हुनुहुन्छ भने दृष्टिकोण बदल्नुपर्‍यो र ससुरालीको टेको लाउनु पर्‍यो । यसो गरियो भने घरज्वाइँ बस्दैमा ससुरालीबाट सहयोग लिंदैमा केही बिग्रन्न । बरु घनिष्टता बढ्छ । आत्मीय भइन्छ ।

मोलतोलको तराजुमा ज्वाइँ र ससुरालीको सम्बन्ध घटबढ हुनसक्छ तर मुखले बोलेर गिज्याउनेहरूका लागि यो पोषणयुक्त सम्बन्ध विकसित हुँदै जान्छ । र आजकल भइराखेको पनि छ । आलोचना गर्नेहरू त सतही बाँच्छन् जो भरिन्छन्, उफारिन्छन् र थेचारिन्छन् पनि । तर तपाईं हृदयकेन्द्र छोएर आनन्दयुक्त जीवन बाँच्ने कलामा पछि नपर्नुहोस् ।

तपाईं कतै यो ब्लगको पात्र हुनुहुन्छ र यस्तै सम्बन्धको कल्पना गरिबस्नुभएको छ भने त्यसलाई हुबहु प्रकाशन गर्न पछि नपर्नुहोस् । तपाईंले गरे अरुले सिक्छन् र सिक्दैनन् भने पनि अस्पष्ट भएरै दुःख पाउनेछन् । सम्बन्धमा परिपक्व भएर जिउनु र बुझ्नुहोस् । सानो भएर सम्बन्धका खातिर काम गर्दा आकाशले तपाईंको फोटो खिच्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?