+
+
आफ्नै प्रसङ्ग :

किन मैले विद्यार्थी राजनीति छोडें ?

विवेक त्रिपाठी विवेक त्रिपाठी
२०७८ कात्तिक ८ गते १७:१५

किन मैले विद्यार्थी राजनीति छोडें भन्ने प्रश्नको उत्तरबाट म आफैं स्पष्ट छु । नेपाली राजनीतिको मूलधारमा प्रवेश गर्न कास्की जिल्ला कास्कीकोट–२४ बाट प्रतिनिधित्व गर्दै कास्की जिल्लाको नेकपा एमालेमा अध्यक्ष पदको उम्मेदवारी दिंदैछु ।

एमालेको पार्टी सदस्य लिएको १० वर्ष भएछ । र, म एक हिसाबले पार्टीको तर्फबाट राजनीतिक दायित्व सम्हाल्न योग्य भएको छु । विद्यार्थी राजनीतिमा बिताएको १५ वर्ष मेरो लागि ठूलो शिक्षाको पाटो बन्यो ।

किन म राजनीतिमा प्रवेश गरें भन्ने प्रश्नको उत्तर दिंदै गर्दा मैले इमानदारीपूर्वक यसको जवाफ दिनुपर्छ । म पनि शक्तिको पुजारी थिएँ । राजनीतिको शक्तिलाई मैले मेरै आँगनमा देखेको थिएँ । पञ्चायतको अन्त्यको कुरा घरमा दैनिक हुने गर्दथ्यो । वास्तवमै राजनीति शक्ति रहेछ, आज पनि महसूस गर्दैछु ।

मेरो बुबा पुजारी भएर पनि कसरी कम्युनिष्ट पार्टीको सदस्य हुनुभयो भन्ने कुराको जिज्ञासा मैले अहिलेसम्म घरमा राखेको छैन । एक धार्मिक मान्छे कसरी कम्युनिष्ट हुनसक्छ ? प्रश्न सोध्न सक्ने अवस्थाभन्दा अगाडि नै म मेरो परिवारका कारण कम्युनिष्ट बनिसकेछु ।

कार्ल माक्र्सको प्रश्न हुने गर्थ्यो – यो समय खुल्ला लडाइँको हो या समाजको क्रान्तिकारी पुनर्गठनको ? म पनि यही प्रश्नको वरिपरि घोत्लने गर्दछु । १५ वर्ष अगाडि हाम्रो घर कास्कीकोटबाट पोखरा आउन कच्ची बाटोमा केही मात्र गाडी चल्दथ्यो । भाडा ६० रुपैयाँ लाग्दथ्यो । तर आफूभित्र अथाह राजनीतिक जलनले म डरलाग्दो जंगलको बाटो देउरालीको ओराली हुँदै विद्यार्थी सहुलियतमा रु.१० मा हेम्जा झरेर पोखरा पुग्दथें ।

यदि युद्ध भयो भने युद्धमा तपाईं एकपटक हार्दा फेरि उठ्न गाह्रो हुन्छ तर तपाईं राजनीतिमा पटक–पटक हारेर पनि बाजी मार्न सक्नुहुन्छ ।

यसबाट मेरो आर्थिक अवस्था के थियो भन्ने प्रष्ट हुन्थ्यो । यसरी दुःख गरेर पोखरा पुग्नुको मेरो अभिप्राय मात्र स्ववियुमा सहभागी हुन्थ्यो । मलाई के स्पष्ट थाहा थियो कि एक जुगमा एक दिन उलटपुलट आउँछ कार्ल माक्र्सले भनेझैं ।

मलाई प्यारो लाग्छ मेरो गाउँ कास्कीकोट र पूरै देश नेपाल । जातीय छुवाछूत, चरम आर्थिक अभाव, अशिक्षा प्रत्यक्ष मैले देख्दै भोग्दै हुर्केको हुँ । सानैदेखि नै वर्गीय चेतना यो समाजले मेरो मगजमा हुर्काएको थियो । यही नै राजनीतिको निम्ति मलाई अग्रसर बनाउने कुरा थियो ।

थाहा छ– मलाई राजनीति फरक छ, भोटको निम्ति हामी कतिसम्म तल झर्छौं भन्ने कुरा आम निर्वाचनले देखाएकै छ । एक असल राजनीतिज्ञको लक्ष्य, दृष्टि र आयाम सम्झौताकै निम्ति हुनुपर्छ । यो मेरो राजनीतिक विचार हो ।

बाईसे–चौबीसे राज्यको पालामा सशक्त राज्यको रूपमा कास्कीकोट पनि उभिएको थियो । नेपालको एकीकरण अभियानमा कास्की नेपालमा गाभियो, त्यो पनि एक सम्झौता थियो । कास्कीकोट नेपाल एकीकरण मात्र नभएर कम्युनिष्ट आन्दोलनको जगको रूपमा रहेकाले मेरो लागि दुवै घटना बाटो जस्तै प्रष्ट छ ।

तत्कालीन माओवादी जनविद्रोहबाट मभित्र एक प्रश्न जन्मिएको थियो । के साँच्ची नै बन्दूकको नालबाटै मुक्ति सम्भव छ ? यस प्रश्नको उत्तरमा, म एक राम्रो राजनीतिज्ञ तब हुनेछु, मलाई यो कुरा स्पष्ट हुनुपर्छ कि जनताको निम्ति दिलोज्यान दिन तयार हुनुपर्छ । किनभने राजनीतिमा हरेक कुरा हुन सक्छ । विद्रोह पनि सत्यको निम्ति हुनुपर्छ ।

हाम्रो गाउँमा प्रत्येक बिहान चिया पसलमा एक हूल मान्छे जम्मा भएर चियासँगै राजनैतिक गफ शुरु गरेका हुन्छन्, जहाँ केन्द्रीय राजनीतिको प्रत्यक्ष प्रभावको कुराकानी सुन्दा मलाई लाग्थ्यो कि देशको बागडोर यहींबाट चल्छ । तर बुझ्दै जाँदा त्यस्तो रहेनछ !

हामी सामान्य मान्छेहरूको पहुँच अझैसम्म पनि नेतृत्वसम्म पुग्ने ठूलो कठिनाइको कुरा रहेछ । जुन कुराले मैले बुझेको लोकतन्त्र व्यवहारमा देखेको नै छैन भन्ने अनुभूति गराइरहेको छ । यसरी कुनै राजनैतिक पार्टीको आधार सही छैन भने वा राजनीतिमा नैतिकता छैन भने त्यो राजनीतिक पार्टी होइन । यो सत्ता कब्जा गर्ने षड्यन्त्र मात्र हो । मैले यसरी बुझें ।

प्रजातन्त्र त आयो तर प्रजातान्त्रिक संस्कार विकास हुन सकेन, जसले गर्दा बेलाबेलामा प्रजातन्त्र माथि नै प्रश्न खडा हुने गरेको छ । यसरी राजनीति लगभग युद्धको रूपमा रोमाञ्चक नै छ र धेरै खतरनाकको रूपमा पनि । यदि युद्ध भयो भने युद्धमा तपाईं एकपटक हार्दा फेरि उठ्न गाह्रो हुन्छ तर तपाईं राजनीतिमा पटक–पटक हारेर पनि बाजी मार्न सक्नुहुन्छ ।

त्यसैले राजनीतिको हृदय विशाल छ । मैले अहिले माओवादी जनयुद्ध लडेको होइन, मैले लड्न खोजेको मुद्दामा राजनीतिमा युवा सोचको हावी हुनुपर्छ भन्ने हो । यो जनताको आधारभूत आवश्यकतादेखि देशको सुरक्षा र लोकतान्त्रिक मान्यतामा आधारित होस् । त्यसैले म नेपाली राजनीतिको मूलधारमा आउन एमाले कास्की जिल्लाको अध्यक्ष पदमा उम्मेद्वारी दिंदैछु, सबै युवा मनहरूको प्रतिनिधित्व गर्दै ।

यो निर्णयका लागि मैले विद्यार्थी राजनीति छाड्नुपर्छ । हामीले यही उमेर पहल नलिने हो भने राजनीतिमा युवा सहभागिताको परिकल्पना मात्रै गरेर केही हुनेवाला छैन ।

(त्रिपाठी राष्ट्रिय युवा सञ्जालका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?