+
+

तेस्रो महिनामै ६५ अर्बको निर्यात, आयातमा पनि वृद्धि

अच्युत पुरी अच्युत पुरी
२०७८ कात्तिक ८ गते १९:३०
फाइल तस्वीर

८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो तीन महिनामै ६५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार साउन–असोजसम्म कुल ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०९.५४ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । पाम आयल र भट्टमासको तेलले निर्यातमा भूमिका खेलेको हो ।

निर्यात बढेको यो वर्ष आयात समेत चुलिएको छ । चालु आवको तेस्रो महिनासम्म ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । गत आवको यसै अवधिमा मात्र २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ६३.७३ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।

नेपालको वैदेशिक व्यापार तीन महिनामै साढे ५ खर्ब हाराहारी पुगेको छ । तीन महिनाको अवधिमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ६८.१३ प्रतिशतले बढी हो । गत आवमा मात्र ३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।

तीन महिनामै सवा ४ खर्ब व्यापार घाटा

नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.०३ प्रतिशत रहेको छ । निर्यातको वृद्धिदर उकासिए पनि आयातको तुलनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने मात्र ११.९७ प्रतिशत रहेको छ । जसले गर्दा नेपालको व्यापार घाटा भने निरन्तर चुलिने क्रममा रहेको छ ।

तथ्यांक अनुसार साउनदेखि असोजसम्म नेपालको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ५८.२८ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा नेपालको व्यापार घाटा मात्र २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा केही घट्दा (–२.६१ प्रतिशत) निर्यातको हिस्सामा भने २४.६३ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तो छ तीन महिनाको वैदेशिक व्यापार

  • आयात : ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ (६३.७३ प्रतिशत बढेको)
  • निर्यात : ६५ अर्ब ५ रकोड रुपैयाँ (१०९.५४ प्रतिशत बढेको)
  • व्यापार घाटा : ४ खर्ब १३ अर्ब ४७ रकोड रुपैयाँ (५८.२८ प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ (६८.१३ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ८८.०३ प्रतिशत (२.६२ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : ११.९७ प्रतिशत (२४.६३ प्रतिशतले बढेको)

६० अर्ब बराबरको पेट्रोलियम पदार्थ भित्रियो

विभिन्न प्रकारको पेट्रोलियम पदार्थको आयातमा मात्र तीन महिनाको अवधिमा ६० अर्ब रुपैयाँ विदेशिएको छ ।

विगतमा निर्यात बजारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था यो वर्षको पहिलो तीन महिनामा भने सुधार भएको पाइएको छ ।

यो अवधिमा ४१ अर्ब ९३ करोड रुपैयाँ बराबरको आइरन तथा स्टील आयात भएको छ । ३४ अर्ब रुपैयाँ बराबरको सवारी साधन तीन महिनामा भित्रिएको छ ।

विद्युतीय सामान तथा उपकरणको आयात भने ३७ अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति घिउ तथा तेल र सो जन्य सामग्रीको आयात ४१ अर्ब २६ करोड रुपैयाँ बराबरको रहेको छ । यस्तो वस्तुको निर्यात भने ३७ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको छ ।

साढे १२ अर्ब बराबरको तरकारी जन्य वस्तु आयात

तीन महिनाको अवधिमा नेपालमा साढे १२ अर्ब रुपैयाँ बराबरको तरकारी जन्य उत्पादनको आयात भएको छ । १२ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबारको यस्तो वस्तु आयात भएको हो ।

तरकारीको निर्यात भने मात्र २५ करोड रुपैयाँ रहेको छ । ३ अर्ब १७ करोड रुपैयाँको चिया कफी आयात भएकोमा २ अर्ब ५४ करोड रुपैयाँको यस्तो वस्तु निर्यात भएको छ ।

वैदेशिक व्यापार भारतसँग बढी निर्भर

नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर रहेको छ । सोहीकारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अधिक देखिन्छ ।

नेपालको वैदेशिक व्यापार कुल १३४ मुलुकभन्दा बढीसँग रहेको छ । यसमध्ये नेपालले भारतबाट २ खर्ब ८७ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भने ५२ अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भारतमा भएको छ ।

चीनसँग नेपालले ६७ अर्ब २४ करोड रुपैयाँको आयात र २५ करोड रुपैयाँको मात्र निर्यात व्यापार गरेको छ । नेपालले अमेरिकाबाट ५ अर्ब ३२ करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?