+
+

सर्वोच्चमा अनुपस्थित ३ न्यायाधीशको सन्देश : हामी तपाईंहरुको साथमा छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते २०:५५
बाँयाबाट क्रमश: न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल ।

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा अनुपस्थित रहेका तीन न्यायाधीशहरुले अरु न्यायाधीशहरुले सुरुवात गरेको अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

अमेरिका भ्रमणमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अनि खप्तड भ्रमणमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले इमेलमार्फत न्यायाधीशहरुको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।

‘ईश्वर श्रीमानले हामी सबैजनालाई इमेल लेखेर तपाईंहरुले शुरु गरेको शुद्धीकरण अभियानमा भौतिक रुपमा साथ दिन नसकेपनि मेरो नैतिक समर्थन छ भन्नुभयो’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि अभियान जारी राख्नुहोला भन्नुभएको छ ।’ ती न्यायाधीशका अनुसार, खतिवडाले सबै न्यायाधीशहरुलाई इमेल लेखेका छन् । खतिवडा एक कार्यक्रमको सिलसिलामा अमेरिकामा छन् ।

त्यसैगरी दशैंविदामा खप्तडको पदयात्रामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले पनि केही न्यायाधीशहरुलाई इमेलमार्फत अभियानप्रति ऐक्यवद्धता जनाएको अर्का न्यायाधीशले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, छलफलका क्रममा न्यायाधीश डा. आनन्दमोहन भट्टराई इमेलको व्यहोरा पढेर सबैलाई सुनाएका थिए । ‘हामी आएपछि त सामेल भइहाल्छौं, त्यतिञ्जेल यतैबाट हाम्रो समर्थन छ भनेर इमेल लेख्नुभएको रहेछ’ ती न्यायाधीशले भने ।

सर्वोच्च अदालतमा हाल २० जना न्यायाधीश छन् भने एउटा पद रिक्त छ । २० मध्ये प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेक १५ जना मंगलबारको छलफलमा सामेल थिए । सोमबार विदामा बसेका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी पनि मंगलबारको छलफलमा सामेल भएका थिए ।

चारजना न्यायाधीश अहिले विदामा छन् । खतिवडा, सिन्हा र मल्लबाहेक न्यायाधीश तेजबहादुर केसी दशैं विदापछि अदालत फर्केका छैनन् । उनी अदालतमा हाजिर भइनसकेको र कसैसँग पनि सम्पर्क गरेर आफ्नो धारणा व्यक्त नगरेकाले न्यायाधीशहरुले शुरु गरेको अभियानबारे उनको दृष्टिकोण सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?