+
+

सर्वोच्चमा कानून व्यवसायीले रोके बहस, न्यायाधीशहरू छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते ८:५७

१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् ।

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो ।

एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । ‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस गर्दैनौं,’ अधिकारीले भने, ‘उहाँ (प्रधानन्यायाधीश जबरा)ले एक-दुईमा राजीनामा नदिए देशभर चरणबद्ध आन्दोलन गर्छौं ।’

त्यसो त प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ । आज बिहान ११ बजे उनीहरू छलफलमा जुट्दैछन् ।

सरकारमा भाग खोजेको, सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको लगायतका आरोप लागेपछि प्रधानन्यायाधीश जबरा एक्लिएका छन् ।

यसअघि सर्वोच्चका सहकर्मी न्यायाधीशहरूले नै उनलाई राजीनामा दिन सुझाउँदै उनले तोकिदिएको इजलासमा नबस्ने निर्णय गरेका थिए । यसैगरी नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्वन्यायाधीशहरुले पनि उनको राजीनामा माग गरेका छन् ।

राजीनामा दिनुपर्ने दबाबमा परे पनि प्रधानन्यायाधीश जबराले भने कसैले राजीनामा माग्दैमा नदिने बताएका छन् । आफूले राजीनामा दिनुपर्ने भए विवादमा परेका अन्य न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?