+
+

बेमौसमी वर्षा पीडित किसानलाई प्रतिहेक्टर ९० हजार रुपैयाँ राहत प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:२०

१० कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षापछिको बाढी, पहिरो र डुबान पीडित धान कृषकलाई प्रति हेक्टर ९० हजार रुपैयाँ राहतको प्रस्ताव गरेको छ । क्षतिको अन्तिम विवरण प्राप्त भएपछि वितरण गर्नेगरी राहत उपलब्ध गराउने प्रस्तावमा सहमति भएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

बाढी, पहिरो र डुबानका कारण किसानले व्यहोरेको क्षति र राहतबारे मंगलबार मन्त्रालयमा सम्पन्न संघ तथा प्रदेशस्तरीय समन्वय बैठकले यस्तो प्रस्ताव गरेको हो ।

बैठकमा सातै प्रदेशका कृषिमन्त्री, सचिव, केन्द्रीय कृषिमन्त्री लगायतको उपस्थिति थियो । ‘किसानले धान फलाउन गरेको लगानीको आधारमा प्रतिकठ्ठाको हिसाबले राहत प्रस्ताव गरिएको छ । एक कठ्ठाको ३ हजार रुपैयाँका दरले लागत पर्ने देखियो, सोही आधारमा राहत वितरण गर्दा प्रतिहेक्टर ९० हजार रुपैयाँ पुग्ने देखिन्छ,’ छलफलमा सहभागी एक अधिकारीले भने ।

बैठकले पीडित किसानलाई एक पटकका लागि सहुलियत दरको कर्जा उपलब्ध गराउने र एक बालीको लागि मल बिउ निःशुल्क उपलब्ध गराउने सहमति पनि गरेको छ ।

यस्तै अनिवार्य बाली बिमा गर्न किसानलाई प्रोत्साहन गर्ने सहमति पनि बैठकमा भएको छ । समन्वय समितिले गरेको नगद राहतको प्रस्ताव सरकारले गठन गरेको गृहसचिव नेतृत्वको उच्चस्तरी अध्यायन कार्यदलमा पेश हुनेछ । कार्यदलले सरकारलाई गरेको सिफारिसको आधारमा किसानलाई राहत उपलब्ध गराइने छ ।

८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति

कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार असोज ३१ देखिको बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको पाकेकोे धानमा क्षति पुगेको छ ।

सातै प्रदेशमा गरेर कुल २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा खेतमा गरेको धानबालीमा बाढीले असर गरेकोमा ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको उत्पादनमा क्षति पुगेको पाइएको थियो ।

कृषि मन्त्रालयका पशुपन्छीतर्फका सचिव गोविन्द शर्माका अनुसार स्थानीय तहमार्फत संघीय मामिला मन्त्रालय, प्रहरीमार्फत गृह मन्त्रालय र कृषि मन्त्रालयले संकलन गरेको क्षतिको एकीकृत विश्लेषण पछि कृषिमा वर्षा र बाढीको यकिन विवरण आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?