+
+

मातातीर्थ दर्शन गरि उक्लने होइन त हाइकिङ ?

अच्युत पुरी अच्युत पुरी
२०७८ कात्तिक १३ गते १८:२८

१३ कात्तिक, काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थित चर्चित तीर्थस्थल मातातीर्थ आम काठमाडौं बासीका लागि नौलो गन्तब्य होइन् । तर, अब तपाई मातातीर्थ कुण्ड दर्शनका लागि जाँदै हुनुहुन्छ भने पुरै एक दिनका लागि समय छुट्याउन सक्नु हुन्छ ।

जहाँ तपाईले धार्मिक मात्र होइन, छोटो रुटको शाहसिक गन्तब्यको समेत मजा लिन सक्नु हुन्छ । यहाँ मातातीर्थ कुण्ड पदमार्ग एवम साइकल मार्ग तयार भएको छ । नगरपालिकाका मेयर धनश्याम गिरीका अनुसार काठमाडौंकै सबैभन्दा व्यस्त पर्यटकीय नगरपालिका चन्द्रागिरीमा थप एक उत्पादन आएको छ । जसले पर्यटक आकर्षित गरि स्थानीयको जिवन स्तर उकास्न ठूलो सहयोग गर्नेछ ।

पुनरुत्थान कार्यक्रम अन्तर्गत बन्यो हाइकिङ रुट

कोरोना भाइरसको महामारीका कारण संसारभर पर्यटन क्षेत्र सबैभन्दा प्रभावित बन्यो । यसमा नेपाल पनि अछुतो रहने कुरै थिएन । नेपालमा पनि पर्यटक मजदुरले काम गुएमा, लामो समयसम्म काम पाएनन् । त्यसपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल पर्यटन बोर्डले स्थानीय तहसँगको संयुक्त प्रयासमा जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना शुरु गरे ।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा कार्यक्रमका राष्ट्रिय परियोजना संयोजक मणी लामिछानेका अनुसार यूएनडीपीले भियतनाममा सिधै रक बाँड्ने गरि सो मुलुकमा लैजान लागेको कार्यक्रमलाई बोर्डले नेपालमा कामका लाग सहायता उपलब्ध गराउन प्रस्ताव ग¥यो ।

सो प्रस्ताव स्वीकार भएसँगै नेपालका १६ सय पर्यटक मजदुरलाई कम्तिमा ४० दिनको रोजगारी दिन सकिने गरि यो कार्यक्रम तयार भयो । नेपाल पर्यटन बोर्डले १० लाख र यूएनडीपीले १० लाख अमेरिकी डलर लगानी गरेको यो कार्यक्रमअन्तर्गत तोकिएको गन्तब्यमा कार्यक्रम अगाडी बढेको छ । यसै कार्यक्रमबाट चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा हाइकिङ रुट र साइक्लिङ रुट तयार भएको हो ।

कति हिड्नुपर्छ ?

आफ्नो सवारी हुने वा नहुने सबैका लागि यो गन्तब्य सहज छ । किनकी यहाँ रत्नपार्कबाट माततीर्थसम्मकै सार्वजनिक बस चल्छ । जहाँ पुगेर मातातीर्थ कुण्डको अवलोकन गर्न सकिन्छ । त्यसपछि हाइकिङ यात्रा शुरु हुन्छ । यहाँ हाइकिङ गर्नेका लागि २.५ किलोमिटर लामो हाइकिङ रुट बनेको छ । जुन काठमाडौं आसपासका अन्य हाइकिङ रुटभन्दा सहज र छोटो पनि हो ।

साइक्लिङमा जानेहरुका लागि भने ६.४ किलोमिटर लामो रुट बनेको छ । जंगलको बीचमा हुने हाइकिङ र बीचबीचबाट देखिने शहरको झलकले यो यात्रा रोमाञ्चक हुन्छ । साइकल टे«ल निर्माणको काम अहिले पनि जारी छ । मातातीर्थ पदमार्गमा ११० जना र साइकल ट्रेल निर्माणमा भने २१४ जना पर्यटक मजदुरले तोकिएको दिन बराबरको रोजगारी पाएको बोर्डले जनाएको छ ।

यो रुट नियमित हाइकिङमा जानेहरुका लागि नयाँ होइन, किनकी मातातीर्थबाट चन्द्रागिरी हाइकिङ रुट यसअघि पनि थियो । तर, व्यवस्थित रुट नभएका कारण अन्य रुट जस्तै व्यस्त भने थिएन । अब भने यो रुट व्यवस्थित बनेको छ । मातातीर्थबाट चन्द्रागिरीलाई गन्तब्य बनाएर जानु पर्ने छैन । किनकी मातातीर्थबाट शुरु गरेको हाइकिङ सोही रुट नजिकै झर्न सकिने गरि डिजाइन गरिएको छ । सोहीकारण आफ्नो सवारी साधन मातातीर्थमा पार्क गरि हाइकिङ सकाएर घर फर्कन सकिन्छ । नगरपालिका प्रमुख गिरीका अनुसार धार्मिक पर्यटकलाई प्रकृतिसँग केही बेर रमाउने वातावरण बनाउन यो रुट महत्वपूर्ण हुने छ ।

मातातीर्थबाट उकालो लागेसँगै पुनः सोही स्थानमा नझरेसम्म जंगलकै बाटोमा हिड्न पाउनु यो रुटको विशेषता हो । उकालो लागेपछि पसलहरु नभएका कारण आवश्यक पानी, हल्का खानेकुरा भने साथमा बोक्नु राम्रो हुन्छ । मातातीर्थ झरिसकेपछि भने आसपासका रेष्टुुरेन्टमा खाना–खाजा पाइन्छ । शहर नजिकैबाट शहरी क्षेत्रको भब्यता अवलोकन गर्न र प्रकृतिमा भरपुर रमाउन यो रुट रोज्न सकिन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?