+
+
यात्रा संस्मरण :

छिम्तीदेखि पाँचपोखरीका पाखासम्म छोडिएका पाइला

चुङ्दाक लामा चुङ्दाक लामा
२०७८ कात्तिक १४ गते १२:२७

वर्षको एकपटक मिलेसम्म नेपालको कुनै न कुनै पर्यटकीय भूगोल पुग्ने गर्दछु म । नेपालमा रहेका पदमार्ग सहितको पर्यटकीय गन्तव्यहरू मेरो रोजाइमा पर्ने गर्दछन्  त्यसैको निरन्तरता स्वरूप यो पटकको मेरो गन्तव्य बन्यो काठमाडौंबाट नजिकैको दूरीमा रहेको सिन्धुपाल्चोकमा अवस्थित पाँचपोखरी ।

लगभग ४१०० मिटर उँचाइमा अवस्थित पर्यटकीय गन्तव्य तथा पवित्र धार्मिक स्थल पाँचपोखरी । पाँचपोखरीको लागि हाम्रो ७ जनाको टोली थियो । हामी आतुर र हर्षित थियौं यात्राको लागि ।

दशैंको रमाइलो मौसम अनि सबैजना काठमाडौंलाई छोडेर गाउँघर दशैं मनाउन जाने भएकोले काठमाडौं सुनसान बन्दै थियो । विस्तारै अस्तव्यस्त र भीडभाडबाट टाढिंदै थियो । हामी पनि दशैंको टीकाको अघिल्लो दिन जाने योजनामा थियौं । तर पनि केही साथीहरू टीका लगाएर मात्र हिंड्नुपर्ने भयो । हाम्रो यात्राको प्रारम्भ भने विजयादशमी टीकाको दिन अलि ढिला गरी लगभग दिनको १२:३० तिर मात्र भयो ।

असोजको २८ गते नै सबै बन्दोबस्ती र हामीलाई चाहिने आवश्यक सामग्रीहरूको व्यवस्थापन गरिसकेको हुनाले हामीलाई केही सहज भयो । पाँचवटा (बाइक स्कूटर) मा सरसामान बाँधेर हामी लाग्यौं- पाँचपोखरी । पाँचपोखरी जान शुरूमा हामीलाई मेलम्ची पुग्नु थियो ।

काठमाडौंबाट मेलम्ची पुग्नको लागि दुईवटा सडकमार्ग रहेछन् । एउटा साँखु, जर्सिङपौवा हुँदै जाने र अर्को धुलिखेल जिरोकिलो हुँदै । समयलाई ध्यान दिएर बाटो अलि खराब रहे पनि छिटो पुगिने भएकोले साँखु, जर्सिङपौवा हुँदै हामी अघि बढ्यौं ।

सबै साथीहरूको बाइक स्कूटरको पछाडि धेरै सामान बाँधेकोले बाटोमा खस्ने र समस्या उत्पन्न हुने डर बाटोभरि नै रहिरह्यो। कतिबेला मेलम्ची पुगिएला भन्ने हुटहुटीले जर्सिङपौवाबाट ओरालो झरेको पत्तै भएन ।

भर्खर मात्र बाढीपहिरोले इन्द्रावती थुनिएर तहसनहस पारेको मेलम्ची बजार कस्तो होला भन्ने जिज्ञासाले सताइरह्यो । यत्तिकैमा जर्सिङपौवाबाट केही समयको ओरालो सक्ने बित्तिकै हामीले पक्की सडक भेट्टायौं । जहाँ अर्को बाटो जिरोकिलोबाट पनि त्यहीं पुगिने रहेछ । पक्की सडक भेटेपछि मन केही हर्षित भयो र बाइकको रेस पनि केही बढाएर हामी अघि बढिरह्यौं ।

प्रायः पसल घरहरू बन्द नै थिए । शायद सबैजना दशैंको टीका थाप्न व्यस्त भएर होला । हामी सबैजना यो रुटका लागि नयाँ थियौं । द्विविधा लागेका ठाउँमा खुलेका केही पसल र घरका मानिसलाई ‘भोताङ जाने बाटो कहाँबाट छुट्टिन्छ’ भन्दै सोधेर अघि बढ्दै थियौं ।

यत्तिकैमा हामी बसपार्क र एउटा चोकजस्तो ठाउँमा पुग्यौं । मानिसहरूको चहलपहल केही बाक्लै थियो । त्यहाँ हामीले प्रहरीलाई सोध्यौं- भोताङ जाने बाटो । उनले हामीलाई मजाले नियाल्दै भने- ‘बाइकको सामान खस्न लागेछ राम्ररी कसेर जानुहोला ।’

तल खोला पुगेपछि पक्कीपुल थिएन । बाइक र मान्छे आवतजावत गर्न सामान्य ह्युमपाइपमाथि माटो र ढुङ्गा बिच्छ्याइएको रहेछ । खोला पारि तरेर एकपटक मेलम्ची बजार नियालेर हेर्‍यौं । पक्की घर होटलहरू यत्रतत्र ढलेका रहेछन् । पूरै बजार सुकेको बालुवा र हिलोले ढाकेको जस्तो देखियो । खोला तरेर अलि माथि उक्लेपछि चिया खान बस्यौं ।

‘त्यो लामो रुख खोलाको बीचमा कसरी आयो ?’ तलतिर हेर्दै चिया पसले बाजेलाई सोध्यौं । बाजेले अनुहार मलिन पार्दै भन्नु भो, ‘बाबु पहिले त्यहाँ खेत थियो ।’
यति भनेपछि हामीले प्रष्ट बुझिहाल्यौं मेलम्चीको बाढीले कति तहसनहस पारेको रहेछ भन्ने कुरा । मेलम्चीलाई नजिकबाट नियाल्ने रहर भए पनि समयाभावको कारणले लगभग दिनको ३ बजेतिर त्यहाँबाट इन्द्रावतीको तीरैतीर उकालो लाग्यौं ।

अब यात्रा कच्ची ग्राभेल हुँदै अघि बढ्नु थियो । ठाउँ-ठाउँमा बाटो राम्रोसँग मर्मत गरेर ढलान गरेको भए पनि अधिकांश बाटो कच्ची ग्राभेल नै थियो । त्यसमाथि बाइकमा सामान धेरै बाँधिएको भएर होला केही असहज भने पक्कै भइरहेको थियो । तैपनि पुग्ने बेलामा बाटो ढलान गरेर राम्रो बनाएको रहेछ ।

मनमा कुरा खेलिरह्यो- छिम्तीसम्म पूरै बाटो यस्तै होस् । मनको कुरा कहाँ पूरा हुन्छ र ! भने झैं बाटो झन्-झन् अप्ठ्यारो उकालोतिर मोडियो । हामीसँग दुई विकल्प थिए- धाप हुँदै छिम्ती पुग्ने र अर्को पालिकाको बाटो घुन्सा हुँदै । दुवै बाटो कस्तो छ भनेर हामी बेखबर थियौं ।

तर हामीलाई धाप भएर जानु थियो । किनभने हामीलाई भेट्न कोही कुरेर बस्नुभएको थियो-धापमा विजय धिताल दाइ उहाँकै धिताल गाउँमा । निकै उकालो कटेपछि साँझतिर हामी बायाँ मोडिएर विजय धिताल दाइको घर पुग्यौं ।

उहाँहरूको न्यानो आतिथ्यले मन निकै खुशी भयो । दशैंको मौसम, सबैजना रमाइलो गरेर बसिरहनुभएको रहेछ । धिताल गाउँबाट यसो पारि, तल, दायाँबायाँ नियालिहेरें । कस्तो सुन्दर, कस्तो रमाइलो दृश्य देखियो । लहलह धान झुलेको हरियो खेत अनि बीचबीचमा एक-दुईवटा घर । आँखा हटाउनै मन नलाग्ने दृश्य ।

अनि मनमा जन्मियो एउटा जिज्ञासा- बाढी पहिरो नआएको भए साँच्चै यस्तै सुन्दर खेत, हरिया फाँट, मेलम्ची बजार अनि सलल बगेको कञ्चन इन्द्रावतीले दिने शीतलता, इन्द्रावतीको किनारमा बहने हावाले धानको बाला हल्लाउँदा नाकमा कति मिठासपूर्ण सुवास छर्थ्यो होला !

साँच्चै पाँचपोखरी, भोताङ र बरुवालाई सँगै राखेर मेलम्ची बजार हेर्दा कस्तो हुन्थ्यो होला है त्यो पल ? एकछिन कल्पनामा हराएछु । साँझ छिप्पिंदै थियो । हामीलाई जसरी पनि छिम्ती पुग्नु थियो ।

भेटघाटलाई बिट मार्दै अब हामी फेरि ग्राभेल बाटो हुँदै उकालो चढेर छिम्तीतिर लाग्नु थियो । ढिलो नगरी हामी आफ्नो सवारीलाई अघि बढायौं । साँझ परिसकेकोले उकालो ग्राभेल बाटो पक्कै असहज हुने अनुमान गर्दै अघि बढ्यौं । अनुमान सही नै भएछ । बाटो निकै अप्ठेरो रहेको आभास भयो । यात्रामा दुःख भएन भने त्यो सम्झनलायक हुँदैन भने झैं भयो ।

रात परेर होला हामीलाई सोचेभन्दा निकै गाह्रो महसूस भयो । केही समयको उकालो सकेपछि हामी साँझ ८ बजेतिर रैथाने मन्दिर पुग्यौं । रैथाने मन्दिर कटेपछि अलिपर प्रहरी चौकी रहेछ । हामी तल सडकमा बाइक रोकेर बसेको देखेपछि माथिबाटै हामीलाई कसैले सोध्नुभयो- ‘कहाँ जाने ? कताबाट आएको ?’

हामीले भन्यौं- ‘साथी पर्खेर बसेको, हामी पाँचपोखरी जाने हो । काठमाडौंबाट आएको ।’ केही समयको भलाकुसारीपछि सबैजना आएपछि हामी पुनः बाटो लाग्यौं । रात परेर होला, बाटोमा भेटिएको बजार, गाउँहरू राम्रोसँग देख्न पाएनौं । अन्ततः हामी मानेखर्क हुँदै रातको ९:३० बजेतिर छिम्ती पुग्यौं । मन सारै आनन्द भयो । होटल शंकरमा हामीले पहिले नै खबर गरिसकेका थियौं । होटलको दाइ पर्खेर बस्नुभएको रहेछ ।

रात छिप्पिंदै थियो । खुशीले हामी केही समय सांगीतिक माहोलमा जमिहाल्यौं। चिसो निकै नै रहेको महसूस भए पनि थाकेको शरीरलाई चिसो हावा अनि आफ्नै मूड अनुसारको गीत गाएर बस्दा चिसोको खासै पर्वाह नै भएन । घडीको सुई निकै अघि बढिसकेको रहेछ । होटलको दाइले खाना सेलाउने भएकोले खाइहाल्न भन्नुभयो । भोलि उकालो चढ्नुपर्नेछ । मनमा अनेक कुरा खेलाउँदै खाना खान थाल्यौं ।

यात्रामा हामी आफैं खाना बनाएर टेण्टमा बस्ने भएकोले हामीसँग सामानको तौल निकै बढी हुने नै भयो । यसको लागि छिम्तीबाट सहयोगी लैजानुपर्ने थियो । राति नै पोर्टरको पनि व्यवस्था गरेर भोलिको लागि सबै सरसामान प्याकिङ गर्न थाल्यौं । मनले भनिरहेको थियो- भोलिको लागि शक्ति सञ्चय गर्नुपर्छ । त्यसैले हामी सबै आ-आफ्नो कोठातिर लाग्यौं ।

दिनभरको थकानले होला राति भुसुक्कै निदाइएछ । बिहान उठेर चाउचाउ र अन्डा खाएर हामी आ-आफ्नो रुकस्याक उठाएर ८:३० बजेतिर उकालो चढ्न शुरु गर्‍यौं । पहिलो दुई घण्टा ठाडो उकालो चढ्न हामीलाई निकै नै सकस पर्‍यो । तर विस्तारै हामी एउटा लयमा फर्किंयौं । हिंडाइको गति आउन थाल्यो ।

बाटोमा पाँचपोखरी पुगेर फर्कनेहरूको जमात पनि निकै थियो । केही घण्टाको उकालो यात्रापछि हामी देउराली पुग्यौं । देउराली हुँदै टुपी डाँडामा लञ्च गरेर अघि बढेको हाम्रो पदयात्राको नोश्याम पाटी पुग्ने योजना थियो आज । हल्काफुल्का पानी पर्‍यो । वर्षाले हाम्रो पूर्वनिर्धारित योजना केही बिथोल्यो । हामी चोकर डाँडामा नै रोकियौं ।

चोकर डाँडा पुग्न भने निकै नै उकालो ढुङ्गाको सिंढी चढ्नुपर्ने रहेछ तर गन्तव्य नजिक रहेकोले हामी केही उत्साहित थियौं । चोकर डाँडा पुग्ने बेलामा बाटोमा हामीलाई माथिबाट आएको याक चौंरीले केही समय अवरोध गरे पनि घाम डुब्ने बेलामा हामी सबैजना डाँडो उक्लिसकेका थियौं । रात पर्न लागेको कारण ढिलो नगरी सामान खोलेर कोही टेन्ट टाङ्न कोही किचेनको तयारी गर्नतिर लागे साथीहरू ।

केही समयपछि हामीसँग रहेको तीनवटै टेन्टहरू टाँगिसकेपछि साथीहरू अब रमाइलो गर्दै खाना बनाउनतिर लागे । चोकर डाँडा उँचाइमा रहेकोले होला, चिसो हावा सरर्र चल्ने रहेछ । घाम डुब्ने बेलाको मौसम चोकर डाँडाबाट निकै मनमोहक देखिने । त्यहाँको त्यो रात निकै नै डर र त्रासका बीच बित्यो ।

केही समय अगाडिको त्यो रमाइलो वातावरण, इन्द्रावती खोलाको त्यो मिठासपूर्ण आवाज क्षणभरमै पानी झरी, गड्याङ्गुडुङ् आकाश कराएसँगै सबैजना संयमित र होशियारपूर्वक बस्न विवश बन्यौं । त्यसै पनि हाम्रो टेण्टहरू थोरै बाँकी रहेको समथर भूभागमा थियो। अरु सबैतिर ठाडो भीर ।

त्यसैले पनि डरलाग्नु स्वाभाविक थियो । टेण्ट नै उडाउला झैं गरी चल्ने हावा पानी अनि आकाशमा चम्केको बिजुलीको झिल्को देख्दा मनमा कस्तो डर लागेको थियो भन्ने कुरा शायद शब्दमा पोख्न सकिंदैन । केवल अनुभव मात्र गर्न सकिने रहेछ ।

यो अनुभवको सँगालो भाइ आयुषले आफ्नो जीवनको अविस्मरणीय क्षणको रूपमा दर्ज गरेर राख्लान् शायद । किनभने भाइ आयुष निकैबेर पछि मस्त निद्राबाट ब्युँझिएर मात्र भर्खर थाहा पाउँदै थिए त्यो क्षण । हावाहुरी, पानीझरी, गड्याङगुडुङ् आवाज सहित आगोको झिल्को फाल्दै आकाश कराएको त्यो आवाज अनि हाम्रो टेण्ट टाँगिएको भूगोल सम्झिँदा अहिले पनि मनमा डर जागेर आउँछ ।

केही समय अघिदेखि नुप्पु दाइ मौसमको पूर्वानुमान गर्दै थिए । उनले भीरको डिलमा बसेर तलतल आकाशमा मडारिएको कालो बादलतिर नियाल्दै हातको इशाराले इंगित गर्दै ऊ तलतल, पारितिर ठूलो पानी पर्दैछ भनेर भविष्यवाणी गर्दै थिए ।

आज यता पनि राति ठूलो हावाहुरी र पानी पर्ने आकलन उनको थियो । म पनि कुरामा कुरा थप्दै भन्दै थिएँ- त्यति ठूलो नपर्ला परे पनि असिना पर्ला भनेर । नभन्दै नुप्पु दाइले भने झैं हावाहुरी पानीले हामीलाई लगभग बिहानको २/३ बजेसम्म पिरोलिरह्यो ।

चोकर डाँडामा ट्वाइलेटको सुविधा रहेनछ । हामीलाई निकै समस्या भयो। सम्बन्धित निकायले समग्र पाँचपोखरी पर्यटन विकासको लागि पर्यटकलाई ध्यानमा राखेर ठाउँठाउँमा सार्वजनिक तथा निजी शौचालय बनाउनुपर्ने आवश्यकता देखियो ।

यस्तो लाग्यो- जहाँ मनमोहक दृश्य छन्, त्यो ठाउँमा पुग्न जटिल हुनेरहेछ । फूलको नजिक काँडा भए जस्तै । तब न यात्राहरू सधैं सम्झनयोग्य बन्दा रहेछन् । मनमा केवल याद र त्यो मिठासपूर्ण बातहरू सँगालेर हाम्रा अनगिन्ती पाइला पाँचपोखरीका पाखाभरि छरिआयौं ।

काठमाडौंबाट नजिकैको दूरीमा रहे पनि होटल, लजहरू अझै पनि व्यवस्थित रूपमा अघि बढ्न सकेको रहेनछ । नेपाली पर्यटकहरूको बाक्लै उपस्थिति रहने पाँचपोखरी पदयात्रालाई सम्बन्धित निकाय र सरोकारवाला समुदायले व्यवस्थित रूपमा अघि बढाउन सके समग्र जिल्ला र स्थानीयको लागि एउटा राम्रो आर्थिक स्रोत बन्न सक्ने रहेछ ।

यात्राको तेस्रो दिन । चोकर डाँडाको अनुभव मनमा सँगालेर हामी पाँचपोखरी पुग्ने योजनाका साथ अगाडि बढ्यौं । पहिलो दिनको हिंडाइमा हामीलाई सामान बढी भएको आभास भएर हामीले त्यहाँबाट अर्को एकजना सहयोगी पनि लैजाने निर्णय गर्‍यौं ।

त्यसै होटलका दावा भाइ हामीसँग जान तयार भइहाले । किचनको सामान र बाँकी टेन्ट स्लिपिंग ब्याग दुईजना सहयोगीलाई बोकाएपछि अब हामीलाई सहज हुने नै भयो । लगभग ८ बजेतिर बाटो लागेको हामी दिनको १२ बजेतिर नोश्याम पाटी पुग्यौं ।

बाटोमा देखिएका सुन्दर दृश्य, गुराँसको घना जंगल, अनि बादल ढाकेको त्यो डाँडाकाँडा नियाल्दा नियाल्दै हामीलाई लगभग चार घन्टा जति लागेछ नोश्याम पाटी पुग्न । हामीभन्दा पहिले नै अरु साथी र सहयोगीहरू पुगिसकेका रहेछन् । नोश्याम पाटीबाट माथि पाँचपोखरी नपुगी बाटोमा कतै होटल घर नभएको निश्चित भएपछि साथीहरूले त्यहीं नै लञ्चको तयारी गर्दै रहेछन् ।

हामी पनि पुगेर कोही खाना बनाउन त कोही पानी ल्याउन लागिहाल्यौं । कोही साथीहरू भने युकीलिली बजाउँदै नोश्याम पाटीको चिसो हावा, हुस्सुले ढाकेको तलतलका पहाड, जंगल, अनि तातोतातो कफीको प्यालासँगै संगीतमा झुमिरहेका थिए ।

लाक्पा दाइले भित्र खाना तयार गरिसक्नुभएको रहेछ । हामीले तलबाट ल्याएको चिकेन अनि आलुको मिक्स सुप र नोश्याम पाटीको लोकल रायोको साग सहितको त्यो दिनको लञ्च निकै नै स्वादिष्ट थियो । साथीहरू भोकाएकोले होला- गाइँगुइँ खाना नपुग्ने कुरा गर्दै थिए । दिनको खाना खाएर हिंड्ने बेला लगभग २ बजिसकेको थियो । अब भने हामी सबै सामान प्याक गरी सरासर अन्तिम गन्तव्य पाँचपोखरीतिर अघि लागिहाल्यौं ।

कोही अघि कोही पछि गर्दै केही उकालो केही ओरालो गर्दै यात्रा अघि बढिरह्यो । सबैजना अघि हिंडेकाले नुपु दाइ र म चाहिं अन्तिममा थियौं । मगमग सुनपाती, धुपीको बासना नाकमा ठोकिंदा कताकता टाउको दुखेको आभास भइरहन्थ्यो । हिंडाइको गतिसँगै हामी अब दुई ठूलो ढुङ्गा बीचको सानो गल्ली जस्तो ठाउँमा पुग्यौं । जहाँ छाता ओढेर छिर्न नसकिने भएकोले होला, त्यसलाई छाता अड्किने ठाउँ भनेर पनि बोलाइने गरिएको रहेछ ।

दुवैजनाले केवल सम्झनाको लागि तस्वीर पनि खिचाइहाल्यौं। साथीहरू केही पर मात्र पुगेका रहेछन् । हामीले परैबाट ठूलो आवाजमा बोलायौं । भीरैभीर गहिराइमा भएर होला आवाज ठोकिएर प्रतिध्वनित हुँदा निकै नै रमाइलो सुनिने रहेछ भन्दै थिए दाइ नुप्पु ।

साँझ पर्न थाल्दै थियो । घाम डुब्नै लागेको थियो । ढुङ्गाको सिंढी चढेर हामी लौरेबिना उक्लिहाल्यौं । सबैजना त्यहींनिर थकाइ मारेर बसेका रहेछन् । लौरेबिना भन्नेबित्तिकै मलाई गोसाइँकुण्डको सम्झना मनमा छाइहाल्यो । तर यहाँको लौरेबिनामा सानो टीनको छत हालेर बिसौनी बनाइएको रहेछ ।

अनि सबैजना पाँचपोखरीबाट फर्केर आउँदा आफूले टेकेर लगेको लट्ठी यहाँ आएर छोड्ने कथन निकै प्रचलित रहेछ । त्यहीं भेटिएका नयाँ नेपाली साथीहरू केही गाह्रो भएको महसूस गरी हामीसँग तातोपानी मागिरहेका थिए । तर हामीसँग पनि बाटोमै पानी सकिएकोले दिन असमर्थ बन्यौं । झोलाको साइड पकेटको बोतल निकाली हेरें । अलिकति पानी रहेछ। मैले भनें- ‘छैन यति रहेछ ।’

‘त्यति भए पनि दिनु न’ भनेर ती साथीले हात अगाडि सारे । मनमा लाग्यो- साथीलाई निकै गाह्रो भएको रहेछ । शायद बचेको एक थोपाले मुखसम्म भिजाए होला ।
लौरेबिनाबाट लगभग ३० मिनेट जतिको दूरीमा रहेछ पाँचपोखरी । हामीलाई पनि पुगेर टेण्टहरू गाड्नुपर्ने भएकोले बाटो लागिहाल्यौं । बाटो भने पाँचपोखरीसम्म नै व्यवस्थित गरिएको रहेछ ।

लगभग साँझ ५/६ बजेतिर हामी अब यात्राको अन्तिम गन्तव्य पाँचपोखरी पुगिसकेका थियौं । पाँचपोखरी पुग्नासाथ पानी पर्न थालिहाल्यो । मनमा लाग्यो- पाँचपोखरीले हामीलाई स्वागत गरेको होला !

नुप्पु दाइ र म नजिकैको समथर चौरमा टेण्ट गाड्न सुरसार मात्र के गर्दै थियौं । पानी त झन् ठूलो पो पर्न थाल्यो । केहीछिन हामी अलमलियौं अब टेण्ट कता टाङ्ने ? कि लजमा बस्ने ? हाम्रो सहयोगी भाइ दावाले हामीलाई सुनाइहाले- यहाँ पाटीहरू बनाएको छ । त्यहींभित्र टेण्ट हालौं ।

हामीले पनि त्यही कुरा आत्मसात् गरेर सबै सामानहरूसाथ पाटीतिर लाग्यौं । मन्दिर सहितको पाटीनिर हामी केहीबेर बस्यौं र पानी केही कम भएपछि वरपर रहेको सबै पाटीहरू नियाल्न थालिहाल्यौं ।

पाटी प्रायः सबै गोबरले ढाकेको र केही पाटीभित्र टेण्ट हाल्न सहज नहुने देखेपछि हामीले टेण्ट बाहिरै टाङ्ने निधो गर्‍यौं । नजिकै सानो छाना हालिएको गोठ पनि हामीले पाइहाल्यौं जहाँ हामीलाई किचन बनाउन सहज हुने देखियो । कोही टेण्ट हाल्न त कोही किचनतिर लागिहाले साथीहरू ।

सबैजना मिलेर काम गरेपछि क्षणभरमै हामीले तीनवटा टेण्ट र किचेन सबै तयार पारिहाल्यौं । चिसो निकै रहेकोले हाम्रो पोर्टर दाइलाई दाउरा किनेर ल्याउन अनुरोध गर्‍यौं । दाइले एकहजार रुपैयाँको ५/७ ओटा जति दाउरा लिएर आउनुभयो । दाउरा साह्रै महँगो रहेछ । शायद ४१०० मिटर उँचाइको भूगोल भएकोले हुनुपर्छ ।

रात छिप्पिंदै गयो । चिसो पनि बढ्दै जान थाल्यो । बाहिर छिटपुट वर्षा हुँदै थियो । हिउँ परे त मज्जा आउँछ भन्दै थिए साथीहरू । छेउमा आगो बालेको भएर सबैजना त्यतै झुम्मिंदै थिए । एउटा कुनामा खाना पकाउन व्यस्त थिए केही साथीहरू । अनि हामी भने अब चिसो छल्न कफीको चुस्कीसँगै हातमा युकीलिली बोकेर सांगीतिक रमझममा जमिहाल्यौं ।

रात छिप्पिएसँगै खाना पनि तयार भइसकेछ । आफैंले तयार पारेको टुनाफिश आलु करी अनि भेज सुप सहितको ४१०० मिटर भूगोलको त्यो डिनर शायद सदासदा मनमा छाइरहनेछ । चिसोले गर्दा जुठा भाँडा भोलि नै सफा गर्ने निधो गरी सबै जना आ-आफ्नो टेण्टतिर लाग्यौं ।

ज्यान थाकेर होला कतिखेर निदाइछ, थाहा नै भएन । पाँचपोखरी केही गहिराइमा भएकोले सबै पोखरीहरू एकसाथ देख्न नसकिने रहेछ । यसको लागि भोलि बिहान सबैरे ६ बजे उठेर पाँचपोखरीलाई पूर्णरूपमा नियाल्न हामी भ्यूपोइन्टतिर लाग्यौं । नजिकैको दूरीमा रहे पनि उँचाइ धेरै रहेकोले श्वासप्रश्वासमा समस्या हुन थाल्यो । छोटो दूरी कट्न हामीलाई झण्डै एक घण्टा लाग्यो ।

पाँचपोखरी भ्यूप्वाइन्टबाट नजिकै देख्न सकिने रहेछ दोर्जेलाक्पा, जुगल लगायत अन्य हिमालहरू । तलतिर पाँचवटै पोखरी, कुण्ड प्रष्टसँग देखिने रहेछ । कुण्ड वरिपरि रहेको राता ससाना बुट्यानले गर्दा निकै मनमोहक देखिने रहेछ कुण्ड र वरपरको वातावरण । साथीहरू केही टाउको दुखेको महसूस गर्दै थिए । शायद धूपी, सुनपातीको बासना र उँचाइ पनि लगभग ४१०० मिटर भएर होला ।

केही समयको दृश्य अवलोकन पछि हामी तल झरिहाल्यौं । पानी पर्न शुरु गरिसकेको थियो । सबैजना तल जम्मा भएर मौसम पनि सफा नरहने भएपछि हामी लञ्च गरेर फर्किने सुरसार गर्न थाल्यौं । लञ्च गरेर टेण्टहरू उठाइ फर्कंदा लगभग दिनको १२ बजिसकेको थियो । माथि पानी केही कम परे पनि तलतल झरी निकै नै बाक्लो थियो । त्यस दिन पुनः चोकर डाँडाको बास पछि यात्राको पाँचौं दिन हामी पुनः ठूलो झरीमा रुझ्दै चिप्लो बाटो हिंडेर छिम्ती पुग्यौं ।

पालिकाको बाटो घुन्सा गाउँ हुँदै तिपेनीमा बसेर यात्राको छैटौं दिनमा हामी काठमाडौं आइपुग्यौं । फर्कंदा पालिकाको बाटो रोजेर हामीले सही निर्णय गरेछौं । यात्रा धेरै सहज भयो । तर ठाउँ-ठाउँमा पानी झरीले बाटो निकै चिप्लो र अप्ठेरो बनाएको रहेछ ।

यस्तो लाग्यो- जहाँ मनमोहक दृश्य छन्, त्यो ठाउँमा पुग्न जटिल हुनेरहेछ । फूलको नजिक काँडा भए जस्तै । तब न यात्राहरू सधैं सम्झनयोग्य बन्दा रहेछन् । मनमा केवल याद र त्यो मिठासपूर्ण बातहरू सँगालेर हाम्रा अनगिन्ती पाइला पाँचपोखरीका पाखाभरि छरिआयौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?