+
+

चल्न थाले वीरगञ्जको घण्टाघरका घडी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते ७:३७

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्ज आइसकेपछि घण्टाघर नहेर्ने सायदै होलान । प्रायः सबैले घण्टाघरको छेउछाउमा उभिएर सेल्फी खिच्ने गर्छन् । किनकि घण्टाघरलाई वीरगञ्जको मुुटु भनेर चिनिन्छ ।

नव आगन्तुक पाहुनालाई स्वागत गर्ने थलो नै घण्टाघर बन्छ । घडी भएको टावर माथिबाट वीरगञ्ज नगर क्षेत्रको अवलोकन गर्न सकिन्छ । तर सुरक्षाको कारण घण्टाघर चढ्नमा रोक लगाइएको छ ।

तत्कालीन क्षेत्रीय प्रशासक लक्ष्यबहादुर गुरुङ र स्थानीय जनताको सक्रियतामा घण्टाघर बनेको हो । वि.स. २०३३ सालतिर बनेको स्थानीयको भनाइ छ । तीन वर्ष लगाएर घण्टाघर बनाइएको थियो ।

जापानको योनागो सहरका विद्यार्थीले खाजा खर्च कटाएर रकम जम्मा गरेका थिए । उक्त रकमबाट उनीहरूले वीरगञ्जको घण्टाघरका लागि जापानको प्रख्यात घडी उत्पादक कम्पनी सिकोकोले ४ थान घडी उपहार दिएका थिए ।

जापानको योनागो जेसीजमार्फत काठमाडौं जेसीजले वीरगञ्ज जेसीजलाई घडी हस्तान्तरण गरेका थिए । बनाइसकेपछि ‘वीरेन्द्र प्रभात घडी’ नाम दिइए पनि घण्टाघरको नामले नै परिचित छ ।

वीरगञ्जमा भएका हरेक गतिविधिको साक्षी बन्दै आएको छ, घण्टाघर । समस्या आए पनि घण्टाघरले वीरगञ्जलाई चिनाइरहेको छ । घण्टाघरको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिकाको काँधमा छ ।

घढी बन्द हुन दिन्न : नगर प्रमुख सरावगी

पछिल्लो केही वर्ष यता घण्टाघरको घडीले समय बताउँदैनथ्यो । तर अब घण्टाघरको घडी चल्न थालेको छ । पाँच दिनको सफल परीक्षणपछि धनतेरशको दिन पारेर घडी पुनः सञ्चालन भएको जानकारी गराइएको छ ।

नेपाली युवा उद्यमी मञ्च एनवाइइएफ वीरगञ्जसँगको सहकार्यमा घडी सञ्चालन गराउन सफल भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । त्यसका लागि तीन लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ । नगर प्रमुख विजय कुमार सरावगीले अब घण्टाघरको घडी बन्द हुन नदिने बताए ।

‘मर्मत गर्ने कम्पनीले रिन्युअल चार्ज पाइरहेको थिएन । त्यसले गर्दा घडी मर्मत भएन र चलिरहेको थिएन,’ उनले भने, ‘घडी चालु भएको छ, अब बन्द हुँदैन ।’ महानगरको कार्यपालिका बैठकबाट निर्णय गरेर हरेक वर्ष मर्मत संभार खर्च दिलाउने प्रतिबद्धता उनको छ ।

स्थानीय तह गठन हुनुअघि घडी मर्मत गरेर चलाउने जिम्मा नेपाल टेलिकमलाई दिइएको थियो । उसले मर्मत गराएर केही समय सञ्चालन गरे पनि निरन्तरता दिन सकेन ।

भारतको केरलास्थित टुल एण्ड टाइम इन्जिनियरिङ कम्पनीका नेपाल प्रतिनिधि हृदयराज गौतमका अनुसार कम्पनीले निश्चित रकम लिएर ग्यारेन्टी पिरियड बढाउने गरेको छ ।

प्राविधिक र पार्टस खोज्ने झन्झट कम्पनीले नै बेहोर्छ । टेलिकमले कम्पनीको उक्त अफरलाई स्वीकार नगर्दा समस्या भयो ।

समयको संकेत ध्वनीको माध्यमले पनि दिने व्यवस्था घडीमा थियो । तर त्यसलाई सञ्चालन गर्न भने केही दिन लाग्ने प्रतिनिधि गौतमले जानकारी दिए ।

एनवाइइएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले घण्टाघर वीरगञ्जको पहिचान भएकोले घडी सुरु गर्न अग्रसरता देखाएको बताए । ‘घण्टाघर हेर्दा भौतिक संरचना मात्रै जस्तो देखिन्छ । तर यो गौरवमय स्थान हो, वीरगञ्ज भन्ने वित्तिकै घण्टाघर, शंकराचार्य गेटले चिनिन्छ,’ अध्यक्ष अग्रवालले भने, ‘घडी बन्द हुनुलाई अशुभ मानिन्छ । घण्टाघरको घडी चलेको देखेर नरमाइलो लाग्थ्यो । त्यसैले घडी सुरु गराउन पहलकदमी लिएका हौं ।’

उनले वीरगञ्जको दुवै धरोहरलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिए । ‘सुरक्षाका कारण घण्टाघर चढ्न दिन सकिदैन, तर घण्टाघर परिसरमा छिरेर सेल्फी खिच्न दिन सकिन्छ । त्यो वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि घण्टाघरको मर्मतसंभार आवश्यक छ । यसलाई टुरिष्ट हब बनाउन सहकार्य गर्न तयार छौं ।’

मर्मत सम्भार गरिने

०७२ सालको भूकम्पले घण्टाघरलाई केही कमजोर बनाएको छ । मधेस आन्दोलनपछि २०७३ सालमा घण्टाघरमा ९ लाख रुपैयाँ खर्चेर रंगरोगन गरिएको थियो । घण्टाघरको आवश्यक मर्मत सम्भार भने गरिएको छैन । घण्टाघर परिसरको वाटर फाउन्टेन पनि सञ्चालनमा छैन । चालु आर्थिक वर्ष २०७८/७९ मा महानगरले घण्टाघरको मर्मत संभारका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ ।

नपुगे थप गरेर भए पनि घण्टाघरलाई बलियो बनाउने योजना महानगरको छ । वीरगञ्जको धरोहर घण्टाघरलाई राम्रो बनाउन आवश्यक काम गर्न महानगर तयार रहेको नगर प्रमुख सरावगीले बताए ।

‘घण्टाघरमा थिर बम मल्लको सालिक थियो, पुरानो स्वरुपलाई पुनः स्थापित गर्छौ । विभिन्न कारणले संरचनामा क्षतिहरू भएका छन्, संरक्षण भएन भने धेरै दिन टिक्दैन,’ उनले भने, ‘अब पूर्ण ढंगले काम हुन्छ, २०/२५ वर्ष आयु बढाउने गरी काम गर्छौं ।’ घण्टाघर वरपर तुल ब्यानर लगाउँदा कुरुप देखिएको भन्दै त्यसमा रोक लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment