+
+

फल्स कन्ससनेस : अरुलाई लगाएको आरोप ओलीतिरै फर्कियो !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १९:५९

२१ कात्तिक, काठमाडौं । आइतबार पार्टीको कर्णाली प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘फल्स कन्ससनेस’को लामै व्याख्या गरे ।

झण्डै आधा घण्टा सम्बोधन गरेका ओलीले सुरुदेखि नै भ्रमपूर्ण चेतनाको विषय उठाएका थिए । आफ्नो नेतृत्वको सरकार र एमाले पार्टीविरुद्ध पनि भ्रमपूर्ण प्रचार भएको भन्दै ‘सोसल मिडिया वार’मा उत्रिन कार्यकर्तालाई आग्रह गरे ।

तर कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विपक्षी दलका नेता समेत रहेका ओलीमाथि नै ‘भ्रमपूर्ण चेतना’ फैलाएको आरोप लाग्ने अवस्था बनेको छ ।

फल्स कन्ससनेसको ब्याख्या उनकै शब्दमा

सामाजिक प्रवन्धका लागि राज्य व्यवस्था बनेको हुन्छ । तर कहिलेकहिले सामाजिक सुप्रबन्धका नाममा समाजलाई अगाडि जान नदिन अर्थात राज्यसत्ता यथास्थितिमा राख्न, आफ्ना हितहरुको सुरक्षा गर्न शासकहरुले दुई प्रकारका प्रबन्ध गरेका हुन्छन् । एउटा, राज्यको प्रबन्ध गरेका हुन्छन् । कम्प्युटरमा हामी हार्डवेयर भन्छौं नि, त्यस्तै राज्यको प्रबन्ध गरेका हुन्छन्, सेना, प्रहरी, अदालत, जेलमार्फत शासन गर्छ, सत्ता टिकाउँछ र आफ्ना हितहरुको रक्षा गर्छ ।

अर्को, एउटा कन्ससनेसको एउटा पाटो हुन्छ । त्यो भ्रमपूर्ण चेताना विस्तार गर्छ र योजनावद्ध ढंगले राज्यले गलत विचार/चेतनाका लागि विशेष पण्डितहरु तयार गरेको हुन्छ । विशेष माध्यमहरु तयार गरेका हुन्छन् । त्यो आजको समयमा अत्यन्त सशक्त ढंगले टेलिभिजन, रेडियो, आइटीका सेन्टरहरु, सामाजिक सञ्जाल जस्ता अनेक माध्यमहरुबाट एउटा फल्स कन्ससनेस, मान्छेलाई सचेत छु भन्ने लाग्छ । तर सचेत हुन पाएको हुँदैन, सचेत हुन दिइँदैन, मार्फत आफनो हित, आफ्नो समुदायको हित कसरी हुन्छ भन्नेबाट अलग राख्छ, ता कि विद्रोह नहोस्, आन्दोलन नहोस्, परिर्वतन नहोस्, समाजलाई यथास्थितिमा आफ्ना हितहरु अगाडि बढाउन सकोस् ।

आफूहरु सरकारमा हुँदासमेत अदालत आफूहरुविरुद्ध प्रयोग भएको र परमादेश गरेर एउटा प्रधानमन्त्री छुट्टी, अर्को प्रधानमन्त्री जडान गरेको एमाले अध्यक्ष ओलीले बताए ।

सरकारमा हुँदा पनि आफू र आफ्नो नेतृत्वको सरकारविरुद्ध योजनाबद्ध रुपमा भ्रम फैलाएको भन्दै उनले एउटा उदाहरण दिए :

एक नेतालाई पद नभई नहुने, पदका लागि जहिले पनि उप्रदो मच्चाको मम्चाई गरेपछि मैले अलिकति अभिनयका साथ एक ठाउँमा भनेको थिएँ, ‘मलाई त पद नभई भएन भन्छन् । मलाई त पदमै रस बस्यो भन्छन् । एउटा टेलिभिजनले के गर्‍यो भने ‘मलाई त पद नभई भएन, मलाई त पदमा रस बस्यो’ भन्ने काटेर देखाउँछ । अनि सुन्नुभयो, बुझ्नुभयो होइन त ? कि बुझ्नु भएन फेरि हेर्नुस् । फेरि देखाउँछ । अब त बुझ्नुभयो होला नि ! बुझ्नु भएन भने फेरि हेर्नुस् भनेर देखाउँछ । त्यो टेलिभिजनबाट टिकटक आदिमा पनि खुब आएको छ । अर्थात सम्पूर्ण कुरा नसुनेको मान्छेले त मेरै मुखबाट सुन्छ नि । यसरी भ्रम फिजाउँछन् ।

भ्रम फिजाउनेहरुविरुद्ध कला, साहित्य, सांस्कृतिक कार्यक्रममार्फत चेतना फैलाउनुपर्ने उनले बताए । आफूहरुले करोडौं खर्च गरेर टेलिभिजन खोल्न नसक्ने भन्दै ओलीले सामाजिक सञ्जालमार्फत भ्रमहरु चिर्न कार्यकर्तालाई आग्रह गरे ।

आफ्नो आरोप आफैंतिर खनियो

सम्बोधनको अन्त्यतिर एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईमाथि कटाक्ष गरे ।

भट्टराईले आफ्नो छोरीलाई बेलायतमा पढाएको भन्दै उनले एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीले कसरी पासपोर्ट बनाए, कसरी भिसा लगाए भनेर सोधेका थिए । उनले भट्टराईको नाम लिँदै सोधेका थिए, ‘बेलायतको शिक्षा, जहाँ कमसेकम २/४/५ लाख महिनाको खर्च हुन्छ, तपाईंले भूमिगत हिँड्दा छोराछोरी कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले ?’

एमाले अध्यक्ष ओलीको दाबीको भट्टराईले तत्काल खण्डन गरेका छन् । सशस्त्र विद्रोह सुरु गर्नुभन्दा पहिला २०४९ देखि २०५१ सम्म पत्नी हिसिला यमी छात्रवृत्तिमा बेलायत जाँदा छोरी मानुषीलाई सँगै लिएर गएको र सँगै फर्किएको भन्दै उनले त्यसयता छोरी बेलायत गएको प्रमाणित गर्न ओलीलाई चुनौती दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !

अर्थात कार्यक्रममा ओलीले फल्स कन्ससनेस अर्थात भ्रमपूर्ण चेतना फैलाएको जुन आरोप लगाएका थिए, त्यही आरोप उनीमाथि लाग्ने अवस्था बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?