+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१० वर्षको अनुसन्धान, अर्बौँको लगानी : फेसबुकले किन बन्द गर्यो फेसियल रिकग्नीशन सिस्टम ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १५:५६

२२ कात्तिक, काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुक अहिले मेटा नामबाट चिनिन थालेको छ । अघिल्लो हप्तामात्रै कम्पनीले आफ्नो नयाँ नाम घोषणा गरेको हो । नाम परिवर्तनको एक हप्ताभित्रै फेसबुकले अर्को ठूलो घोषणा गरेको छ, जसले सबैलाई अचम्ममा पारेको छ ।

फेसबुकले पछिल्लोपटक आफ्नो फेसियल रिकग्नीशन फिचरलाई बन्द गर्ने निकै महत्वपूर्ण घोषणा गर्‍यो । यो महिनाभित्रमा फेसियल रिकग्नीशन प्रणालीलाई बन्द गर्ने र करीब एक अर्ब भन्दा धेरै प्रयोगकर्ताका व्यक्तिगत अनुहारका टेम्प्लेट डाटा डिलिट गर्ने फेसबुकले जनाएको छ । यो सँगै अब फेसबुकले फोटो तथा भिडियोमा स्वचालित रुप्ले व्यक्तिको पहिचान गर्ने छैन ।

आर्टिफिसियल इन्टेलिजेन्स युनिटका उपाध्यक्ष जेरोमी पेसेन्टीले आफ्नो एक ब्लगमा लेखेका छन्, ‘फेसियल रिकग्नीशन सिस्टम अहिले चिन्ताको विषय बनेको छ । हामी यसमा परिवर्तन गरिरहेका छौँ । यद्यपि हामी अझैपनि यो सफ्टवेयरलाई एक शक्तिशाली डिभाइसको रुपमा हेर्दछौँ तथापि यो साँचो हो कि जुनसुकै नयाँ प्रविधिले आफुसँग फाइदा र चिन्ता दुबै कुरा एकसाथ ल्याएको हुन्छ । हामी एक सन्तुलन चाहन्छौँ । अहिले त अनिश्चितताको माहौल छ, त्यस्तोमा हाम्रो मान्यता के छ भने फेसियल रिकग्नीशन प्रणालीको प्रयोग अनुचित हो ।’

उनका अनुसार यो परिवर्तन प्रविधिको इतिहासमा अनुहारको पहिचानको उपयोगमा सबैभन्दा ठूलो परिवर्तन मध्ये एक हुनेछ ।

सन् २०१० मा सुरु भएको प्रविधि

फेसबुकले सन् २०१० मा फेसियल रिकग्नीशन प्रणालीको सुरुवात गरेको थियो । फेसबुकले यो प्रविधिले प्रयोगकर्ताहरुको पहिचान गर्दछ ।

जस्तै कुनै प्रयोगकर्ताले आफ्नो फेसबुक टाइमलाइनमा कुनै फोटो शेयर गर्यो र उक्त फोटोमा तपाइँ पनि हुनुहुन्छ भने फेसबुकको फेसियल रिकग्नीशन प्रणालीले फोटोमा तपाइँको पहिचान गरेर नोटिफिकेसन पठाउँदछ कि कसैले तपाइँ समेत भएको एउटा फोटो शेयर गरेको छ । वास्तवमा यो प्लाटफर्ममा शेयर भएका फोटो तथा भिडियोमा रहेका व्यक्तिहरुको स्वचालित रुपमा पहिचान गर्ने प्रविधि हो ।

यसका अलावा फोटो शेयर गर्ने प्रयोगकर्तालाई पनि फेसबुकले ट्याग गर्नका लागि नोटिफिकेसन पठाउँदछ ।

फेसबुकले फेसियल रिकग्नीशन सफ्टवेयरलाई जब सन् २०११ मा युरोपमा सुरुवात गरेको थियो त्यसबेला नै त्यहाँका डाटा सुरक्षा अधिकारीहरुले त्यो प्रणाली अवैध रहेको भन्दै फेसबुकलाई कुनैप्नि व्यक्तिको तस्वीरको विश्लेषण गर्ने तथा कुनै व्यक्तिको अनुहारको प्याटर्न निकाल्नका लागि सम्बन्धित व्यक्तिको सहमतिको आवश्यकता पर्ने बताएका थिए ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्तामध्ये एक तिहाइ भन्दा धेरैले सोसल नेटवर्क सिस्टमद्धारा आफ्नो अनुहारको पहिचान गर्न दिने विकल्प छनोट गर्ने गरेका छन् । यो भनेको झण्डै ६४ करोड जना प्रयोगकर्ता हो ।

फेसबुकमाथि जरिमाना !

फेसबुकका फेसियल रिकग्नीशन सिस्टम सुरुवातदेखि नै विवादमा रह्यो । जब यो फिचरको सुरुवात भएको थियो त्यतिबेला नै कैयन् विज्ञहरुले यसबारेमा चिन्ता व्यक्त गरेका थिए ।

फेसियल रिकग्नीशन सिस्टम कसैका लागि पनि सही नभएको विज्ञहरुको ठम्याई थियो । यो मानिसहरुको गोपनीयता तथा अधिकारको विरुद्धमा थियो । चीनमा सरकारले उइगुर मुसलमानहरुलाई ट्रयाक गर्नका लागि फेसियल रिकग्नीशन प्रणालीको लामो समयदेखि प्रयोग गरिरहेको छ सोही विषयका कारण धेरै पटक विवाद निम्तिइसकेको छ ।

सन् २०१९ मा एक गोपनीयता सम्बन्धी उजुरीलाई लिएर अमेरिकाको संघीय वाणिज्य आयोगले फेसबुकमाथि ५ अर्ब डलर जरिमाना लगाएको थियो । अघिल्लो वर्ष फेसबुकले ६५ करोड डलर तिरेर एक अर्को मुद्दा सल्टाएको थियो जसमा फेसबुकमाथि अमेरिकाको इलिनोइस राज्यको डाटा संकलन कानूनको उल्लंघन गरेको र प्रयोगकर्ताको गोपनीयतामा नोक्सानी पूराएको आरोप लागेको थियो । त्यो जरिमाना पनि फेसबुकको फेसियल रिकग्नीशन प्रविधिसँगै सम्बन्धित थियो ।

यद्यपि फेसबुकले एक दशकअघि नै सुरु गरेको यो प्रविधिको प्रयोग पछिल्लो समयमा क मगर्दै लगेको थियो । सन् २०१९ मा अपलोड गरिएका तस्वीरमा प्रयोगकर्ताहरुका साथीको पहिचान गर्नका लागि फेस रिकग्नीशन सफ्टवेयरको उपयोग गर्ने यो फिचरलाई उसले बन्द गरेको थियो र स्वचालित रुपमा ट्याग गर्ने सुझाव दिने गरेको थियो । त्यहीँ ट्याग गर्ने सुझाव दिने फेसबुकको फिचरलाई लिएर अमेरिकाको इलिनोइसमा फेसबुक विरुद्ध मुद्दा परेको थियो ।

अमेजन, माइक्रोसफ्ट र आइबीएमको बाटो

फेसियल रिकग्नीशन सिस्टम बन्द गर्नेमा केवल फेसबुक मात्र छैन र यसो गर्ने यो संसारको पहिलो कम्पनी पनि होइन । यसअघि अमेजन, माइक्रोसफ्ट र आइबिएम जस्ता कम्पनीहरुले आफ्नो फेसियल रिकग्नीशन सिस्टम बन्द गरिसकेका छन् ।

पछिल्ला केही वर्षहरुमा बायोमेट्रिक डाटा जस्ता फेसियल रिकग्नीशन प्रविधिलाई लिएर निकै विवाद हुने गरेको छ । वास्तवमा पछिल्ला केही वर्षहरुमा गोपनीयतालाई लिएर फेसबुकको निकै बेइज्जती तथा आलोचना भयो । त्यसैले पनि फेसबुकको मातृ कम्पनी मेटा अब भविष्यमा गोपनीयता सँग सम्बन्धित कुनैपनि विवाद झेल्न चाहँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?