+
+

हरेकला हजब्बा : सुन्तला बेचेर स्कुल खोले, अहिले पद्मश्री पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ११:२९
Photo Credit : तस्वीर : भारतीय राष्ट्रपति कार्यालयको ट्वीटरबाट

नेपालमा हरेक वर्ष प्रदान गरिने विभिन्न पदकहरु सम्मानभन्दा पनि विवादको विषय बन्छन् । राजनीतिक भागबण्डा र सरकार समर्थित दलका कार्यकर्ताले बढी पाउन थालेपछि हरेक वर्ष पदक बहिस्कार गर्ने होडबाजी चल्ने गरेको छ । तर छिमेकी मुलुक भारतमा सन् २०२० को लागि प्रदान गरिएको पद्म विभूषण, पद्म भूषण र पद्मश्री पदकमा भने केही यस्ता अनुकरणीय व्यक्तित्व पनि परेका छन् जसले नयाँ पुस्तालाई निःस्वार्थ सेवामा लाग्न प्रेरित गर्छ ।

सोमबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले ७ जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पदक दिए । जसमा नेपाली साहित्यमा विशिष्ट योगदान दिएका लीलाबहादुर क्षेत्रीसहित ३ जना नेपालीभाषी पनि छन् ।

‘रियल हिरो’ हरेकला हजब्बा

जसरी नेपालमा पद्मश्री अवार्ड हरेक वर्ष विवादित बन्ने गर्छ, त्यसको ठीक विपरीत यसवर्ष भारतको पद्मश्री अवार्ड थाप्न आउनेहरु भने भिन्न र अनुकरणीय व्यक्तित्वहरु भेटिन्थे । त्यहीमध्येका एक हुन्, कर्णाटकका हरेकला हजब्बा । जसले शिक्षा क्षेत्रमा दिएको अमूल्य योगदानको कदर गर्दै भारत सरकारले पद्मश्री अवार्ड दिने निर्णय गर्‍यो । हजब्बा सीएनएन रियल हिरोको उपाधि समेत पाइसकेका व्यक्ति हुन् ।

भारतको दक्षिणी प्रदेश कर्णाटकको राजधानी ब्यांगलोरबाट ३५० किलोमिटर दक्षिणमा छ, म्याङ्लोर शहर । त्यसको ३५ किलोमिटरको दूरीमा कन्नड गाउँ पञ्चायतमा छ, हरेकला हजाब्बाको घर । नजिकैको म्याङ्लोर शहरको बसपार्कमा सुन्तला बेच्दाबेच्दै २ दशक गुज्रिएको थियो । म्याङ्लोरकै आडमा रहेको भएपनि उनको गाउँ न्यू पडपू बत्तीमुनिको अँध्यारोमा थियो । न त विद्यालय न अरु कुनै सुविधा । त्यही बसपार्कमा बसेर बेचेको सुन्तलाले १९५२ देखि उनी बस्दै आएको न्यू पडपूमा उनको परिवार चल्दै आएको छ । सानो घर, परिवार पाल्नको लागि सुन्तलाको व्यापार उनको दैनिकी त्यसैगरी चलिरहेको थियो ।

सन् १९७८ को कुरा हो । एकदिन यसरी नै उनी बसपार्क नजिक सुन्तला बेचिरहेका थिए । दुई जना विदेशी उनी कहाँ सुन्तला किन्न आए । हजब्बा मातृभाषा कन्नडबाहेक अरु बुझ्दैनन् । हिन्दी पनि बोल्न नसक्ने उनलाई अँग्रेजी भाषा निकै परको कुरा थियो । पर्यटकहरुले सुन्तलाको मोल सोधे । उनले उत्तर दिन सकेनन् । पर्यटक फर्किए । कुरा त एक केजी सुन्तला नबिक्नुको थियो । तर उनको मनमा त्यो घटनाले नराम्रो छाप पार्यो । त्यही नराम्रो छापले उनको जीवनमा ठूलो परिवर्तन आयो । उनी पद्मश्री पुरस्कारबाट सम्मानित भए ।

केहीदिन अघि भारतीय गृह मन्त्रालयबाट हजब्बालाई फोन आयो । उनी रासन लिने लाइनमा बसिरहेका थिए । गृह मन्त्रालयबाट हिन्दी भाषामा उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको समाचार सुनाइयो । तर उनले बुझेनन् । फोन काटियो । उनी अहिले पनि कन्नड भाषाबाहेक अरु बुझ्दैनन् । पछि गृहमन्त्रालयले जिल्ला मेजिस्ट्रेट मार्फत् हजब्बालाई पद्मश्री पुरस्कारको समाचार पठाइयो ।

विदेशी पर्यटकले उज्यालिएको हजब्बाको जीवन

हजब्बाको जीवनीलाई अहिले ब्यांगलोर विश्वविद्यालयका विद्यार्थीलाई पढाउने गरिन्छ । हजब्बालाई केको लागि दिइयो भारतको चौथो ठूलो पद्मश्री अवार्ड ?

सन् १९७८ मा विदेशी दम्पतीसँग सुन्तलाको मोल बताउन नसकेपछि हजब्बालाई लाग्यो ‘हामी धेरै पछि रैछौं, गाउँमा एउटा विद्यालय त चाहिने रैछ ।’ त्यसपछि उनी विद्यालय बनाउने अभियानमा लागे । अभियान सजिलो थिएन । आफ्नो लक्ष्य पूरा गर्न परिवारका धेरै लक्ष्यलाई तिलाञ्जलि दिनुपर्थ्यो । त्यसको लागि पनि उनी पछि हटेनन् ।

सुरुमा सुन्तला बेचेर कमाएको पैसामध्ये केही पैसा बचाएर विद्यालय चलाउने सोच बनाए । कुरा १९८० को दशकको सुरुवात तिरको हो । उनले गाउँकै एउटा मस्जिदमा अस्थायी विद्यालयको रुपमा पठनपाठन सुरु गराए । सुरुमा २८ जना विद्यार्थीहरु पढ्न आउँथे । नजिकैको गाउँ र आफ्नै गाउँमा पनि अलिअलि पढेलेखेकाहरुलाई अध्यापन गराइदिन आग्रह गरे । उनी आफूले जानेको कुरा पनि विद्यार्थीलाई सिकाउँथे, त्योभन्दा बढी उनी विद्यालयको अन्य व्यवस्थापनको काममा बढी खटिन्थे । बिहानै उठेर स्कुल सफा गर्थे । स्कुलमा बिस्तारै विद्यार्थी बढ्न थाले । बिस्तारै पढ्न आउने विद्यार्थी बढ्न थाले । उनले ऋण काढेर र आफ्नो बचतबाट विद्यालयको लागि जमिन किने ।

जमिन किनेपछि उनी विद्यालयलाई आधिकारिकता दिनको लागि दौडधूपमा लाग्न थाले । उनी बिदाको दिन २५ किलोमिटरको दूरीमा रहेको जिल्ला मेजिस्ट्रेटमा गएर विद्यालयको लागि आवश्यक पर्ने सामग्री दिन र विद्यालयलाई आधिकारिकता दिन आग्रह गर्थे । अन्ततः उनलाई पूर्व विधायक दिवंगत यूटी फरीदको विशेष पहलमा विद्यालयको भवन निर्माणको स्वीकृति मिल्यो, साथै विद्यालयलाई पनि आधिकारिकता दिलाइयो । उनको पहलमा खुलेको सो विद्यालयको नाम दक्षिण कन्नड जिल्ला पञ्चायत हाइयर प्राइमरी एण्ड कम्पोजिट हाइ स्कुल राखिएको छ । उनी सो विद्यालयमै उच्च शिक्षा समेत दिलाउन चाहन्छन् । यसको लागि उनले प्रधानमन्त्री मोदी समक्ष समेत प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

५ वर्षअघि नै पद्यश्रीको लागि प्रस्ताव

यसवर्ष भारत सरकारले विभिन्न क्षेत्रका अनुकरणीय व्यक्तित्वलाई चौथो ठूलो पद्यश्री पदक दियो । त्यसमध्येका एक हुन् हजब्बा । हजब्बालाई पद्मश्री पुरस्कार दिनको लागि सन् २०१५ मा नै सिफारिस गरिएको थियो । ठीक ५ वर्षपछि बल्ल २०२० को पद्मश्री पदकबाट उनी सम्मानित भएका हुन् ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?