+
+

सरकारले उत्पादनमूलक अर्थतन्त्रको निर्माण गर्छ : अर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १०:५४

२६ कात्तिक, पोखरा । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रममा उनले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने जनाएका हुन् ।

‘उद्योग खोल्न के सुविधा चाहिन्छ, त्यो दिन सरकार तयार छ,’ अर्थमन्त्री शर्माले भने, ‘भन्सार छुट चाहियो कि ? विद्युत वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ ।’

उनले देशमा उत्पादित ५ सय मेघावाट विजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गरे ।

हालसम्म ४.७ प्रतिशतमात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उनले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी गराए । अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ ।

बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गरेको जानकारी दिँदै मन्त्री शर्माले भने, ‘अबको केही दिनमै तरलताको समस्या समाधान हुनेछ ।’

‘पोखरा–काठमाडौं २ घण्टामा झार्न छलफल चलिरहेको छ’

अर्थमन्त्री शर्माले पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्न छलफल चलिरहेको बताएका छन् ।

योजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढिसकेको जानकारी दिए । उनले भने, ‘बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्छ ।’

अर्थमन्त्री शर्माले कोभिडले पीडित व्यवसायीहरुको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभाविकारिता अनुगमन थालिएको जानकारी दिए । उनले साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकहरुले नाफामुखी भएर लागु गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गरे ।

उनले बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिडविरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमहरुलाई तीव्रता दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?