+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
टिप्पणी :

राजनीतिक गत्यावरोधको चुरो कुरो

विष्णुहरि शर्मा विष्णुहरि शर्मा
२०७८ कात्तिक २७ गते १६:२२

इतिहासमा पढ्ने गरिएको छ कि करोडौं करोड मानिस अर्धपागलहरूलाई महान सम्झने मूर्खता गरिरहेका हुन्छन् । राजनैतिक र धार्मिक आस्थाका कारण मानिसमा एकांकी र एकलकाँटे चिन्तनको विकास हुन पुग्दछ । यसले गर्दा उनीहरू स्वतन्त्रताको धर्तीमा उभिन सक्दैनन् । उनीहरूको स्वाभिमान पराधीन हुन पुग्दछ । ती व्यक्तिहरू धर्म, आस्था, विचार वा पात्रबाट सम्मोहित भएका हुन्छन् । यसले गर्दा आफ्ना इन्द्रीयहरूले बोध गरेको कुरा पनि उनीहरूमा बोल्ने साहस र आँट आउने गर्दैन ।

त्यस्ता व्यक्तिहरू हामी देखिरहेका छौं । कथित धार्मिक गुरु राम रहिम जसलाई लाखौं लाख मानिसले ईश्वरको रूपमा बुझे तर आज गलत कर्मका कारण उनी जेलमा छन् । त्यस्तै आशाराम बापूका अनुयायीहरू लाखौंमा गणना गर्न सकिन्छ । उनी पनि बलात्कारको केसमा जेलमै बसेका छन् । त्यसैगरी रामपालजी महाराजले संसारको सृष्टिकर्ता, कविरदास र उनको निर्देशनमा आफू पृथ्वीमा आएको कुरा गर्दछन् । उनी पनि जेलमै बसेका छन् ।

हाम्रै वरिपरि कथित स्वर्गको टिकटको व्यापार गर्ने व्यक्तिहरू थिए र छन् । भूकम्पको समय चर्चमा प्रार्थना चलिरहँदा पादरीले भने कि नआत्तिनुस्, बाहिर जानुपर्दैन, हामीलाई येसुले बचाउनुहुन्छ । केही क्षणमा भूकम्पले घर भत्कियो, मानिसहरू मरे ।

जर्मन तानाशाह हिटलरलाई लाखौं मानिसले महान सम्झने गल्ती गरे । उनकै कारण दोस्रो विश्वयुद्ध भयो । झण्डै ६ करोड मानिसको ज्यान गएको थियो । हिटलर यति धेरै पागल थिए कि भनिन्छ, उनी ८० किसिमका ड्रगको सेवन गर्ने गर्दथे । त्यस्तै रुमानियाको कम्युनिष्ट तानाशाह चाउचेस्कु माथि लाखौं मानिसले विश्वास गरे तर उनकै कारण रुमानिया तहसनहस भयो र पछि उनलाई जनताले सार्वजनिक स्थानमा गोली ठोकेर मार्नु परेको थियो ।

आज पनि धार्मिक आस्थाका कारण आफ्ना गुरुको दिसालाई प्रसाद सम्झेर सेवन गर्ने मानिस रहेका छन् । शायद तीन वर्ष अगाडि हामीले सुन्यौं कि इसाइ धर्मको समारोहमा के-के मिसाइएको होली वाइन प्रसादको रूपमा वितरण गरियो । हाम्रै देशका दुई ठूला नेताहरूले त्यसको सेवन गरेका थिए ।

यो रोगबाट हामी नेपाली पनि ग्रस्त बनिरहेका छौं । सम्भवतः चार वर्ष अगाडि दुई ठूला पार्टीका दुई सर्वोच्च लिडरले पार्टी मिसाउने भने । त्यसको लागि कुनै गृहकार्य, कुनै विस्तारित बैठक, कुनै राष्ट्रिय सम्मेलनले अनुमोदन गर्न परेन । छलफलको आवश्यकता नै ठानिएन । विचार, विधि, प्रक्रियामा गम्भीरताका साथ प्रवेश गरिएन ।

दुई नेताको महत्वाकांक्षा, सनक र स्वार्थमा हजारौं हजार कार्यकर्ता सम्मोहित बन्यौं, एउटै पार्टी बन्यो, चुनावमा गयौं । ऐतिहासिक परिणाम पनि प्राप्त गर्‍यौं तर आजको दिनमा समीक्षा गर्दा परिस्थिति कसरी गुज्रेको छ ?

पार्टी टुक्राटुक्रा बन्यो, केन्ऽीय सत्ता ढल्यो, देशभरिका प्रादेशिक सत्ताहरू ढले । जनता, कार्यकर्ता निराश बने । देशले ठूलो नोक्सानी बेहोर्नुपर्‍यो । तर आज त्यति ठूलो परिघटनाको बारेमा कसैले जिम्मा लिंदैन, आत्मसमीक्षा गर्ने आवश्यकता नै कसैले ठान्दैन । न त केपी ओली नै आत्मसमीक्षा गर्न तयार छन् । न त माधव नेपाल यसको जिम्मा लिन्छन्, न प्रचण्ड नै आत्मसमीक्षा गर्न तयार छन् । तर हामी फेरि पनि तिनै नेता र नेतृत्व महान, युगपुरुष, दूरदर्शी, सबैभन्दा उन्नत चेतनाका, सबैभन्दा अब्बल दर्जाका ठानिरहेका छौं ।

इतिहासको निर्मम समीक्षा विना नै अर्धपागल बनेर तीव्र रफ्तारमा अन्धकारमा दौडिरहेका छौं । के हामी यो अर्धचेतना र अल्पज्ञानबाट माथि उठ्न सक्दछौं ? के हामीले पुनर्मूल्याङ्कन र पुनर्समीक्षा गर्न आवश्यकता छैन र ? के हामी दासत्व र पराधीनताबाट मुक्त हुन सक्दछौं ?

दासत्व र पराधीनता जमीनदारको मात्रै हुने गर्दैन । कुनै फ्रेमवर्क भित्र बाँधिएको विचारको, नेतृत्वको, धर्मको पनि पराधीनता हुने गर्दछ । मानव जबसम्म त्यहाँबाट निस्केर स्वतन्त्रताको दुनियाँमा र्फकंदैन, तबसम्म मुक्तिको कल्पना गर्न सकिंदैन ।

हामी कुनै न कुनै ब्राण्डको हृयाङओभरबाट थिचिएका छौं । माक्र्सवादको हृयाङओभर या बीपीवादको हृयाङओभर अथवा कुनै न कुनै धर्मको हृयाङओभरले हामीलाई एकांकी र एकलकाँटे बनाएको छ ।

कुनै हिन्दूको मन्दिरमा कुनै इसाइ वा मुस्लिम धर्म मान्ने मानव प्रवेश गर्न नमिल्ने या त्यहाँ प्रार्थना गर्न नमिल्ने वा प्रार्थनामा सामेल हुन नमिल्ने ? कुनै इसाइ धर्मको पादरीले आफ्नो चर्चमा अठार पुराणमध्येका कुनै राम्रा कुरा प्रवचन गर्न नमिल्ने ? कुनै मस्जिदमा इस्लाम धर्म बाहेक अर्को धर्मको राम्रो कुराको वर्णन गर्न नमिल्ने ? त्यसैगरी हिन्दू मन्दिरमा अर्को धर्मको राम्रो कुराको सम्प्रेषण गर्न नमिल्ने ?

जबसम्म हामी ब्राण्डको हृयाङओभर सहित नेतृत्वको देवत्वकरण गर्ने संस्कृतिमा हुनेछौं तबसम्म दासबाट मानव चेतनामा रूपान्तरण हुने छैनौं

कुनै माक्र्सवादी ब्राण्ड बोकेको पार्टीमा अर्को स्वतन्त्र व्यक्ति वा माक्र्सवाद मात्रै मान्ने अथवा बीपीलाई मात्र मान्ने माओवाद नमान्ने व्यक्तिले त्यहाँ प्रवेश नपाउने । यही त हो अल्पज्ञान ! हामी कुनै परिबन्दमा बाँधिन किन जरूरी छ ? संसारभरिका सरकारहरू, अर्थात् राम्रा कुराहरू, संसारभरिका सबै दार्शनिक, वैज्ञानिक, आदर्श पुरुषहरूका राम्रा कार्यको अनुसरण गरौं । केजरीवालको जस्तै सादगी, सदाचार र जनताको हितलाई सर्वोपरि राखौं । सबै ब्राण्ड र हृयाङओभरबाट मुक्त बनौं ।

मार्क्सका योगदानहरूको दर्शन, एंगेल्सको दर्शन, हेगेलको दर्शन, फायरवाखको दर्शन, बुद्धको दर्शन र गान्धीको दर्शन लगायत सबै दर्शन विचार र योगदानहरूको सम्मान गरौं । सबैका सकारात्मक व्यवहारहरूको अनुसरण गरौं । बीपी पढ्दा पुष्पलाल किन नपढ्ने ? मनमोहन पढ्दा गणेशमान किन नपढ्ने ? लेनिन पढ्दा स्टालिन र खु्रश्चेभ किन नपढ्ने, माओ पढ्दा हृवाकोफेङ, तेङ् स्याओ पिङ र सी जिङ पिङ किन नपढ्ने ?

कांग्रेस भन्दा कम्युनिष्ट भनिएकाहरू अर्थात् कथित मालेमा भनिएकाहरू के-कति मानेमा फरक छन् या कम्युनिष्ट भन्दा बीपीका अनुयायी भन्नेहरू के-कति मानेमा फरक छन् ? कुनै पनि मानेमा फरक छुट्याउन गाह्रो छ । अनि यो संकीर्णता, यो जडता, यो हृयाङओभर केको निम्ति ?

मात्र राजनीतिक व्यापारको निम्ति ! हाम्रो अज्ञानताले, समूहको वा आफ्नो निजी स्वार्थले अल्पज्ञानी भइरहँदा हामी सबैको त होइन, कसैकसैको स्वार्थ प्राप्त हुन त सक्ला तर यो चेतनाले भावी पुस्ताको बर्बादी र राष्ट्रको बर्बादीतर्फ हामी गइरहेका हुनेछौं ।

त्यसैले अनावश्यक नेता र नेतृत्वको दलाली, चाकरी र देवत्वकरणको संस्कारबाट माथि उठौं, १८औं शताब्दीको चेतनाबाट मुक्त बनौं । एक्काइसौं शताब्दीको स्वतन्त्र र स्वाभिमान सहितको सभ्य मानव बन्ने कोशिश गरौं । तब मात्र त्यही बिन्दुबाट मात्र नयाँ नेपालको परिकल्पना गर्न सकिनेछ । जबसम्म हामी ब्राण्डको हृयाङओभर सहित नेतृत्वको देवत्वकरणको संस्कृतिमा हुनेछौं, तबसम्म हामी दास चेतनाबाट मानव चेतनामा रूपान्तरण हुने छैनौं ।

यसर्थ वर्तमानमा चलनचल्तीमा रहेका पार्टी र तिनका नेतृत्वहरू शेरबहादुर छान्नुहोस् वा केपी ओली वा प्रचण्डलाई छान्नुहोस् वा अन्य कुनै । त्यसले कुनै आधारभूत तात्विक अन्तर आउने छैन । अहिलेको शासकीय स्वरूप रहँदासम्म, अहिलेकै निर्वाचन प्रणाली रहँदासम्म, अहिलेकै कर्मचारीतन्त्रको फ्रेमवर्कलाई नबदल्दासम्म नयाँ नेपालको परिकल्पना कुनै मूर्ख वा अर्धपागलले मात्रै गर्न सक्दछ । अतः हामी सबै पराधीनता, हृयाङओभर र टेस्टेड भइसकेका ब्रान्डहरूबाट बाहिर निस्कने कोशिश गरौं । पराधीनताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँमा र्फकने हिम्मत गरौं । अनि मात्र नयाँ नेपालको प्रारम्भ गर्न सकिनेछ ।

(लेखक जसपा, नेपालको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?