+
+

फेरि बढ्न थाले नेपालमा विदेशी श्रमिक

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक २८ गते १८:००

२८ कात्तिक, काठमाडौं । नेपालमा यसै पनि रोजगारीको अवसर कम छ, कोरोना महामारी शुरु भएपछि त झन् विदेशमा श्रमिकको माग घटेर विदेशिने नेपाली श्रमिकको संख्या ओरालो लागेको छ । देशभित्र रोजगारीको अवसर पनि खुम्चिन पुगेको छ ।यही समयमा विदेशबाट काम गर्न नेपाल आउने र श्रम इजाजत नवीकरण गर्ने श्रमिकको संख्या बढ्न थालेको छ ।

महामारी शुरु हुनुअघि नेपालमा वर्षमा करिब तीन हजार विदेशी श्रमिक कार्यरत थिए । २०७६ चैतपछि विदेशबाट नेपाल आउने श्रमिक घटेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा दुई हजार ८६ जना विदेशी श्रमिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले देखाउँछ । आव २०७७/७८ मा यो संख्या दुई हजार ३९० पुगेको छ ।

आव २०७६/७७ मा नेपालमा १ हजार १२६ जना विदेशी श्रमिकले नयाँ श्रम स्वीकृति लिएका थिए भने ९६० जनाले पुरानो श्रम स्वीकृति नवीकरण गरेका थिए । आव २०७७/७८ मा १ हजार ९० जना आप्रवासी श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा श्रम स्वीकृति नवीकरण गर्नेको संख्या १३ सय पुगेको छ ।

नेपालमा बढीजसो युरोपियन कामदार गैरसरकारी संघसंस्थामा आवद्ध छन् । संख्या ठूलो नभए पनि उच्च दक्ष जनशक्ति भएकाले उनीहरुले यहाँ काम गरेर लैजाने रेमिट्यान्सको हिस्सा ठूलो छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा २१२ जना नयाँ श्रम श्रमिकले इजाजत पाएका छन् भने २४९ जनाले श्रम इजाजत नवीकरण गरेका छन् ।

महामारी साम्य हुँदै जाँदा देशभित्र दक्ष जनशक्तिको अभाव भएपछि विभिन्न परियोजना, उद्योग र संघसंस्थामा विदेशी कामदार भर्ती हुने र नवीकरण गर्ने क्रम बढेको श्रम विभागले बताएको छ । नेपालका विकासे आयोजनामा इन्जिनियर, विमान कम्पनीमा पाइलट तथा विभिन्न विशेष प्राविधिक दक्षता आवश्यक हुने क्षेत्रमा विदेशी कामदारको माग छ ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार विदेशी दातृ निकाय तथा ठेकदारले सरकारी निकायसँग गरेको सम्झौता, मन्त्रालयगत निर्णयसहित विज्ञापन गर्दा पनि नेपाली कामदार नपाइनु लगायत विभिन्न अवस्थामा विदेशी कामदार नेपाल ल्याउन पाइन्छ । विदेशी कामदार तोकिएका श्रमिक शर्तहरु पूरा गर्दै सात वर्षसम्म नेपाल बस्न पाउँछन् ।

अघिल्लो तीन वर्ष दक्ष श्रमिकका रुपमा श्रम स्वीकृति पाइन्छ भने थप दुई वर्ष विशिष्ट दक्ष श्रमिकका रुपमा नेपालमा बस्न पाइने कानूनी व्यवस्था छ । त्यसपछिको दुई वर्ष भने मन्त्रिस्तरीय वा सचिवस्तरीय निर्णयमा आधारमा मात्रै नेपाल बस्न श्रम इजाजत पाइन्छ । त्यसका लागि हरेक वर्ष इजाजत नवीकरण गर्नुपर्छ ।

विभागका प्रवक्ता गोपकाअनुसार ठूला परियोजनामा व्यवस्थापन हेर्न आजभोलि ठेकदार कम्पनीहरुले विदेशबाटै कामदार ल्याउन थालेका छन् । खासगरी हाइड्रोपावर, ठूला उद्योगमा र एनजीओ/आईएनजीओहरुमा उच्च दक्ष श्रमिक विदेशबाट आउँछन् ।

‘राजमार्ग, सुरुङमार्ग, सिँचाइ र विमानस्थल लगायत प्राविधिक रुपमा जटिल आयोजनामा पनि विदेशी श्रमिक आवश्यक पर्छ,’ प्रवक्ता गोपले भने, ‘महामारी शुरु भएपछि त्यस्ता आयोजनामा आउने श्रमिकको संख्या केही घटेकोमा अब विस्तारै बढ्दै गएको छ ।’

विशेषगरी चीनका निर्माण कम्पनीहरुले उच्च दक्षता चाहिने पदमा आफ्नै देशबाट कामदार ल्याउने गरेका छन् । नेपालमा भारतीय कामदारले श्रम स्वीकृति लिनु नपर्ने भएकाले उनीहरुको संख्या कति भन्ने यकिन छैन । उच्च सीपयुक्त, जोखिमयुक्त र हेयका दृष्टिले हेरिने कामहरुमा लाखौं भारतीय कामदार नेपालमा कार्यरत छन् ।

‘नेपाली श्रमिकलाई भारतमा जस्तै भारतीयहरुलाई नेपालमा श्रम इजाजत लिन नपर्ने सुविधा छ,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता गोप भन्छन्, ‘विशिष्ट किसिमका सेवामा आउने भारतीय श्रमिकले भने इजाजत लिने गरेका छन् ।’

उनका अनुसार नेपालका बैंक र सरकारी परियोजनाहरुमा काम गर्ने भारतीयहरुले भने श्रम स्वीकृति लिने गरेका छन् । यी क्षेत्रमा भारतीय जनशक्ति नगन्य रहेको उनले बताए ।

नेपालमा काम गर्न भारत बाहेकका देशबाट पनि थुप्रै कामदार आउँछन् । चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, क्यानडा, अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रिया, बंगलादेश, बेलारुस, बेल्जियम, भुटान, बोलिभिया, ब्राजिल, बुल्गेरिया, बुर्किनोफासो, कम्बोडिया, क्यामरुन लगायत देशका जनशक्ति कामदार भिसामा नेपाल आउने गरेका छन् ।

चिली, कोलम्बिया, कंगो, कोस्टारिका, चेक रिपब्लिक, इजिप्ट, फिनल्यान्ड, घाना, होन्डुरस, ग्रिस, गिनी, इन्डोनेसिया, इरान, आरल्यान्ड, काजगिस्तान, केन्या लगायत देशका कामदारले पनि नेपाललाई श्रम गन्तव्य बनाएका छन् ।

उत्तर कोरिया, लाट्भिया, मलेसिया, माली, मेक्सिको, मोरक्को, म्यान्मार, नेदरल्याण्ड, न्युजिल्याण्ड, नाइजेरिया, नर्वे, पाकिस्तान, प्यालेस्टाइन, पोल्यान्ड, पोर्चुगल र रोमानियाका पनि सीमित कामदार नेपालमा आउँछन् । रसिया, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीडेन, स्वीट्जरल्यान्ड, ताजिकिस्तान, थाइल्याण्ड, ट्रिनिडाड एन्ड टोबागो, टर्की, युगाण्डा, युक्रेन, उज्वेकिस्तान, भेनेजुयला, भियतनाम, यमन र जिम्बावेबाट पनि कामदारहरु नेपाल आएका छन् ।

नेपालमा बढीजसो युरोपियन कामदार गैरसरकारी संघसंस्थामा आवद्ध छन् । संख्या ठूलो नभए पनि उच्च दक्ष जनशक्ति भएकाले उनीहरुले यहाँ काम गरेर लैजाने रेमिट्यान्सको हिस्सा ठूलो छ ।

नेपाली कामदारले मलेसिया र खाडीमा सस्तोमा श्रम बेचिरहँदा नेपाल आउने दक्षतायुक्त जनशक्तिले राम्रो आर्जन गरिरहेका छन् । विदेशी श्रमिकले पटक–पटक श्रम इजाजत नवीकरण गर्नुले पनि उनीहरु नेपालमा खुशी रहेको देखाउँछ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?