+
+

जनकपुरको रुपैठामा दुई पक्षबीच ७ बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते २०:२१

२९ कात्तिक, जनकपुरधाम । जनकपुरको रुपैठामा दुई समुदायबीच देखिएको विवाद समाधानका लगि सोमबार ७ बुँदे सहमति भएको छ ।

हिन्दु तथा मुसलमान समुदायले एक अर्काको धर्म/कर्म, रितिरिवाज, परम्पराको उच्च सम्मान गर्नेसहितका ७ बुँदे सहमति भएपछि जनकपुरधाम उपमहानगरपालिका– २० रुपैठामा एक सतादेखि देखिएको तनाव साम्य भएको छ ।
उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, रुपैठाका स्थानीय अगुवाबीचको छलफलपछि ७ बुँदे सहमति भएको हो ।

रुपैठाको तेलिया पोखरी पोखरीको स्वामित्व उपमहानगरपालिकाको रहने र संरक्षण पनि उसैले गर्ने, हिन्दुहरुले छठ पर्व र मुसलमानले दाहाजस्ता पर्वमा सुरक्षा निकायलाई पूर्वजानकारी दिई पोखरीमा माटो नझारी मनाउने सहमति भएको छ ।

त्यस्तै पोखरीमा झण्डा लगायतका कुनै पनि संकेत चिह्नहरु नराख्ने, मुसलमान समुदायले त्यहाँ राखेको झण्डा अन्तै व्यवस्थापन गर्ने पनि सहमति भएको छ ।

अबदेखि दुबै पक्षले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट धार्मिक/सम्प्रदायिक सद्भाव बिगार्ने गरी भनाइ या विचार नराख्ने र पोखरीको विवाद समाधान गरी धार्मिक सम्प्रदायिक सद्भाव कायम गर्ने सहमति भएको छ ।

सद्भाव कायम राख्न र त्यस क्षेत्रको विकास निर्माणमा सहयोग पुर्‍याउन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा दुबै पक्षका ४/४ जना प्रतिनिधि रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ ।

सोमबारको सहमतिपछि पनि रुपैठामा निषेधाज्ञा भने कायमै राखिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार राति १० बजेसम्म निषेधाज्ञा लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दुबै पक्षबीच सहमति भएपछि आधा सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए । ‘सहमति भएपछि कडा रुपको निषेधाज्ञा रहँदैन’ उनले भने ।

हिन्दू समुदायले पोखरीमा छठ मनाउने क्रममा मुश्लिम समुदायसँग विवाद भएको थियो । त्यहीं विवादले शनिबार उग्र रुप लिएको थियो । दुबै पक्षबीच भएको झडपलाई रोक्न पुगेको ५ जना सुरक्षाकर्मी र एक महिला घाइते भएका थिए । त्यही घटनापछि स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?