+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल–भारत रुटमा दैनिक ८ उडानको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:१५
फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच दैनिक ८ उडान हुने गरी भारत सरकारले नेपालसँग प्रस्ताव गरेको छ । भारतीय दूतावासमार्फत आएको यस्तो प्रस्तावको जवाफमा नेपाल सरकारले उडान संख्या स्वीकृत गरी गन्तव्य बढाउने प्रस्ताव गर्ने भएको छ । अहिले हरेक दिन काठमाडौं–दिल्ली रुटमा दुई वटा उडान भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार अहिले नेपाल एयरलाइन्सले दैनिक एक र एयर इण्डियाले दैनिक एक गरी दैनिक दुई उडान भइरहेको छ । यसअनुसार सातामा १४ उडान हुन्छ । नेपाली कम्पनीले दैनिक चार र भारतीय कम्पनीले दैनिक चार गरी ८ उडानको प्रस्ताव गरेको छ ।

यसअनुसार नेपाल र भारतबीच सातामा ५६ वटा उडान हुनेछन् । नेपाल र भारतबीच एयर बबल स्किम अनुसार मात्र उडान भइरहेको छ । यस स्किम अनुसार दुवै मुलुकका नागरिक र तेस्रो मुलुकका कुटनीतिज्ञ तथा अनुमति प्राप्त नागरिकले मात्र यात्रा गर्न सक्छन् । नयाँ प्रस्ताव एयर बबल स्किम भित्रै रहने र उडान संख्या मात्र बढ्ने लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

गन्तव्य बढाउन नेपालको प्रस्ताव

यस्तो उडान अहिले काठमाडा/नयाँ दिल्ली रुटमा मात्र सीमित छ । नेपालले भने अब मुम्बई र बैंग्लोर समेत उडान विस्तारका प्रस्ताव गर्ने भएको छ । यी रुटमा विगतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो । केही साता अगाडि उचाइ चलचित्रको छायांकनमा आएको बलिउड कलाकारहरुको टोली मुम्बईबाट जहाज चार्टर्ड गरी काठमाडौं आएको थियो ।

‘यो रुटमा नियमित उडान भएको भए उहाँहरुलाई पनि सहज हुने थियो,’ लामिछानेले भने, ‘त्यसकारण हाम्रो प्रस्ताव नयाँ दिल्लीसहित अन्य गन्तव्यमा पनि उडान बढाउने हुनेछ ।’ नेपालले आफ्नो प्रस्ताव भारतलाई पठाएपछि यसबारे निर्णय हुने उनले जानकारी दिए । कोरोना भाइरसको महामारीपछि नेपाल र भारतबीच सिधा हवाई सम्पर्क टुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?