
३० कात्तिक, काठमाडौं । मंगलबार मध्यान्ह १२ बजे न्यूरोड गेटअगाडि टेम्पो रोकेर हट केसबाट खाना खाइरहेका भेटिए, राजु गौतम । बिहानैदेखि यात्रु ओसारपसार गरेर फुर्सद नपाएका उनले टेम्पोभित्रै बसेर खाना खाइरहेको देख्दा वरिपरिका यात्रुहरू समेत दंग परे ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि राजधानीको सवारी प्रभावित थियो । बस, माइक्रो तथा मिनिबस नचलेको अवस्थामा बिहान ८ बजेदेपिख नै टेम्पो चालकहरू भने सडकमा निस्किए । आफ्नो रुट परेको स्थानबाट यात्रु चढाउन र ओराल्न थाले ।
मध्यान्हदेखि मात्र साझा बसले यात्रु ओसार पसार सुरु गर्यो । यतिबेलासम्म ट्याम्पु चालकहरूले भने तीनपटक ओहोरदोहोर गरेर रत्नपार्कमा आई एकअर्कासँग बात मार्न भ्याइसकेका थिए ।
टेम्पुभित्रै खाना खाइरहेका राजु गौतमले टेम्पो चलाउन थालेको १५ वर्ष भयो । लकडाउनका कारण किस्ता तिर्न नसकेकाले अहिले एकदिन पनि घर नबस्ने उनले सुनाए ।
‘लकडाउनले गर्दा टेम्पोको किस्ता तिर्न सकेको छैन’ ५० वर्षीय गौतमले अनलाइनखबरसँग भने ‘नेपाल बन्द भनेर घर बसेर के काम ! बरु टेम्पो चलायो भने आफूलाई पनि सजिलो यात्रुलाई पनि सजिलो भनेर बिहानैदेखि चलाउन थालेँ ।’
बन्दको परवाह नगरी काम गर्नेमा टेम्पो चालक महिलाहरु पनि देखिए । बिहान ७ बजे नै टेम्पो लिएर निस्केकी कल्पना तामाङलाई कतिले किन चलाएको भनेरसमेत सोधे । तर उनले ‘चढ्ने मान्छे छन् किन नचलाउने’ भन्दै टेम्पो अगाडि बढाइन् ।
कल्पना भन्छिन्, ‘मास्क लगाएका केही मान्छेले किन चलाउनुभएको दिदी भनेर सोधखोज गरे । मैले पेट पाल्नै पर्यो भनेर उनीहरूलाई बताइदिएँ ।’
कल्पनाजस्तै साबित्री राना पनि बिहान घरबाट खाना खाएर टेम्पो लिएर निस्किइन् । चाबहिल–रत्नपार्क रुटमा टेम्पो चलाउने उनलाई बन्दको कुनै परवाह थिएन ।
‘बन्द भनेर काम नगरी बसेर खान पाइने होइन’ साबित्री भन्छिन्, ‘घरमै बस्न थाल्यो भने साहुलाई बुझाउने पैसा पनि उठ्न गाह्रो पर्छ । बरु थोरै मान्छे चढे भनेपनि चार्जिङको पैसा तिर्न पुग्छ ।’
कल्पना र साबित्रीले यसअघि पनि बन्दको बेला टेम्पो रोकेर घरमा बसेनन् । नाकाबन्दी, संविधान निर्माणपछि भएका आन्दोलन तथा बन्दका बेला पनि उनीहरूले टेम्पो चलाएको अनुभव छ ।
कल्पना भन्छिन्, ‘पहिलाको बन्दमा बिहान ढिला गरी चलाउन सुरु गरेर बेलुका चाँडै घर जान्थ्यौं । टायर बाल्ने, ढुंगामुढा हुने बेलामा सडकछेउमा टेम्पो रोकेर बस्थ्यौं ।’
अर्का टेम्पो चालक सुवास केसीको पनि यसअघिका बन्दमा टेम्पो चलाएको अनुभव छ । ट्याक्सी र बसलाई बन्दकर्ताले बढी निशाना बनाउने तर रिक्सा, ट्याम्पुमा हत्तपत्त तोडफोड नगर्ने उनी सुनाउँछन् ।
‘आज पनि बसमा ढुंगाले हाने तर हामीलाई केही गरेका छैनन्’ उनले भने, ‘पुलिस नभएको ठाउँमा अलि डर हुन्छ । पुलिस हुँदा बन्दकर्ताहरूले सिधै तोडफोड गर्न सक्दैनन् ।’
२०६२-६३ को जनआन्दोलनपछि गरिएका नेपाल बन्दका बेला बन्दकर्ता नै टेम्पो चढेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेको सुवास बताउँछन् । त्यतिबेला अहिलेजस्तो सबैसँग मोटरसाइकल नहुँदा नेपाल बन्द गर्ने कार्यकर्ताहरूले टेम्पोमा नै चढेर पर्चा छर्दै हिँडेको उनको अनुभव छ ।
खुसी छन् यात्रुहरू
छोरीलाई वीर अस्पताल लिएर आएका हर्क चौधरी पनि टेम्पो नै चढेर आएका थिए । ट्याक्सीले महंगो भाडा भनेकाले उनी गौशालाबाट बिहान टेम्पो चढेर अस्पताल आए । त्यहाँ जचाएपछि महांकाल मन्दिरनिर रहेको टेम्पो स्ट्याण्डमै आएर घर फर्किए ।
उनीजस्तै विभिन्न गन्तव्यमा जान लागेका यात्रुहरू टेम्पो चलेकोमा खुसी थिए । पठाओ र ट्याक्सीले मनपरी भाडा लिने गरोकले पनि यात्रुहरूको रोजाइमा टेम्पु छिटो–छरितो सवारीमा पर्छ ।
राजधानी भित्री सडक तथा बस नजाने ठाउँमा पनि टेम्पोको रुट पर्छ । न्यूनतम भाडादर १८ रुपैयाँ तथा अधितकम ४० रुपैयाँसम्मको रुटमा टेम्पो चल्ने गर्छ । टेम्पो चालकमध्ये पचास प्रतिशत महिला चालक रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
तस्वीरहरू : शंकर गिरी
प्रतिक्रिया 4