 
																			केही फुर्सदमा छु यतिबेला । दशैंको तेस्रो दिन खुट्टामा चोट लागेर प्लाष्टर गरेपछि हिंडडुल बन्द भएको छ । यो समय खासै पढ्न-लेख्नमा रुचि बढेन । अधिकांश समय सामाजिक सञ्जालमा बितिरहेको छ । पछिल्लो समय टिकटकप्रतिको क्रेजले पनि मेरो समय सजिलै बितेको छ । केही पात्रहरूको दैनिकी टिकटकमा गज्जबकै देखिन्छ ।
मैले गर्भावस्थादेखि बच्चा जन्मिसकेपछि पनि नायिका प्रियंका कार्की र आयुष्मान जोशीको गतिविधिलाई निकै रुचिका साथ नियालिरहेको छु । रमाइलो र खुशी दुवै लाग्छ । संकुचित समाजको सोचलाई बेवास्ता गरी आफ्नै दुनियाँमा रमाएका यो जोडीलाई देख्दा । आफू गर्भावस्थामा पछ्यौरीले पेट छोपेर बसेको र बच्चा जन्मनु अघि कपडा किन्नुहुन्न भनेर सल्लाह दिनेको अर्ति-उपदेशलाई बडो ज्ञानी भएर मानेको त्यो पल स्मृतिमा ताजै छ । तर यही समाजमा आज बच्चा जन्मनु अघि छोरीको नाम आयङ्का राखेर लत्ता कपडा सहितका शयन कक्ष तयार गर्नु रुढिवाढी समाजको लागि प्रियंकाको कदम दरिलो रूपमा उभिएको छ ।
प्रियंकाले पोष्ट गरेका भिडियो प्रति लक्षित गर्दै कतिले ‘सेलिब्रेटीको स्वाङ’ भन्दै हेर्नै नसकिने कमेन्ट गरेर पोखिएका छन् तर ‘कुकुर भुक्दै गर्छ हात्ती लम्किंदै गर्छ’ भन्ने भनाइसँगै प्रिका अघि बढेकी छन् । जेहोस् गर्भवती महिलाप्रतिको साँघुरो सोचलाई तोडेर आफ्ना मातृत्वको त्यो पललाई विशेष उत्सव मनाउन प्रियंका सफल भइन् भने अहिले मातृवात्सल्यको आनन्दमा उनको आफ्नै संसार छ । समाज बदलिन समय होइन, मानिसको सोच आवश्यक रहेछ भन्ने यसले प्रष्ट पार्दछ ।
 भिडियो हेर्दै र आफैंभित्र अनेक तर्कना गरेर समय व्यतीत गरिरहेकै समयमा मोबाइलमा घण्टी बज्यो । दिदी नमस्ते म सविना (नाम परिवर्तन) अस्ति नै पनि कल गरेको थिएँ । झट्ट सम्झें । असोज २१ गते एउटी बहिनीको फोन आएको थियो । पत्रकार हुनुको नाताले उनको समस्या के रहेछ भनेर बुझेकी थिएँ ।
भिडियो हेर्दै र आफैंभित्र अनेक तर्कना गरेर समय व्यतीत गरिरहेकै समयमा मोबाइलमा घण्टी बज्यो । दिदी नमस्ते म सविना (नाम परिवर्तन) अस्ति नै पनि कल गरेको थिएँ । झट्ट सम्झें । असोज २१ गते एउटी बहिनीको फोन आएको थियो । पत्रकार हुनुको नाताले उनको समस्या के रहेछ भनेर बुझेकी थिएँ ।
“दिदी म गर्भवती छु, आज नै डाक्टरले दिएको डेट हो तर श्रीमान् भने अर्की केटीसँग लागेर घर नै आउँदैनन्, म के गरुँ ?” उनी निकै तनावमा रहेको बोलीबाट प्रष्ट हुन्थ्यो । उनले श्रीमान्बाट पटक-पटक शारीरिक र मानसिक यातना पाएको भन्दै न्यायको लागि याचना गरेकी थिइन् । कुराकानीकै क्रममा उनले म्याग्दी घर भएको बताइन् । २२ वर्षीय सविना आफू किसान थरको र श्रीमान् सिरपाली थरका भएकाले उसको परिवारले अन्तरजातीय विवाह भनेर नस्वीकारेको पनि बताइन् ।
आठ वर्षअघि प्रेमविवाह गरेकी उनलाई आजसम्म श्रीमान्ले घर लगेका छैनन् । दशैं-तिहार सकियो । उनले विवाह पछि घरपरिवारको साथ चाडपर्व समेत मनाउन नपाएको गुनासो गरिन् । “माइत जान पनि दिंदैन, आफन्तसँग कुरा गर्न पनि दिंदैन । हरेकचोटि मोबाइल चेक गर्ने र अनेक आरोप लगाउने गर्दा सहन गाह्रो भयो”, उनले रुँदै भनिन् । पहिलो सन्तान छोरा पाँच वर्षका रहेछन् । पोखरामा ठेक्कापट्टाको काम गर्ने उनका श्रीमान् चार छोराछोरीकी आमासँग लागेर उनलाई चरम शारीरिक र मानसिक यातना दिंदै आएका रहेछन् ।
“पहिला त यस्तो थिएनन्, जब अर्की आइमाईसँग लागे, मेरो जिन्दगी नै अन्धकार बनाए” आफू सम्बन्धविच्छेद गरेर बस्न चाहे पनि तँलाई छोड्न दिन्न, तेरै अघि केटीहरू लिएर हिंड्छु भन्दै तनाव दिने गरेको सुनाइन् । ११ कक्षा पढेकी उनले श्रीमान्लाई अर्की महिलासँग आपत्तिजनक अवस्थामा पटक-पटक देखेपछि प्रहरीमा उजुरी पनि गरेको र त्यहाँ पनि पटक-पटक माफ माग्ने घर आएपछि झनै कुटपिट गर्ने गरेको बताइन् ।
यतिबेला उनलाई विचरा र बरा भनेर भन्दा पनि आत्मबल बढाएर बच्चा जन्माउन मानसिक रूपमा सहज वातावरणमा तयार गर्नु प्रमुख कुरा थियो । त्यसैले उनलाई आर्थिकदेखि कुनै समस्या परे तुरुन्त फोन गर्न र अहिले आफ्नो स्वास्थ्य अवस्थामा बढी चासो दिन भन्दै फोन राखें ।
त्यसपछि लामो समय फोन आएन, सोचें श्रीमान् आए होलान्, मन फर्कियो कि सुत्केरी श्रीमतीलाई देखेर भन्ने लाग्यो । यत्तिकैमा एक महीना चार दिनपछि फेरि उही नम्बरबाट फोन आयो । दिदी, चिन्नुभयो म ‘सविना’ ।
मैले हत्तपत्त उनको सुत्केरी अवस्था र बच्चाको बारेमा जानकारी लिएँ । उनलेे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नर्मल डेलिभरीमा छोरा जन्माएको र १९ दिन भएको जानकारी दिइन् । आमा-छोराको स्वास्थ्य अवस्था पनि राम्रो भएको बताइन् । श्रीमान्को अवस्थाको बारेमा सोधें । उनी केही दिन घरमा आएका रहेछन् । त्यसपछि फेरि उस्तै हिंसात्मक व्यवहार देखाउने र उही महिलासँग जान थालेपछि उनी आत्तिएर फोन गरेकी रहिछन् ।
“दिदी हेर्नु न मैले इमर्जेन्सी अस्पताल जानु पर्यो भने भनेर ट्याक्सी ड्राइभरको नम्बर सेभ गरेकी थिएँ उसले त्यही ड्राइभरसँग लागिस् भन्दै पोे कुट्छ । मुखमा जे आयो त्यो बोल्छ । मलाई त पिट्थ्यो नै सधैं, अब त बच्चा पनि मारिदिन्छु भन्छ ।”
उनले सुत्केरी ज्यानमा पिटाइ खानुको पीडा र नवजात शिशुलाई रक्सीको नशामा आउने लोग्नेबाट जोगाउन निकै कठिन भएको बताइन् । उनले यो ठाउँबाट कतै सुरक्षित ठाउँमा व्यवस्था गर्न आग्रह गरिन् । “म तङ्गि्रए पछि आफैं काम गरेर पालिन्छु अहिले जोगिन गाह्रो भयो ।” उनको कुरा सुनेपछि हिंसापीडित र बेसहारा महिलाको लागि सहारा दिंदै आएको कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल दिदीलाई फोन गरें ।
उहाँले एउटा निवेदन दिए पश्चात आफूहरूले सहयोग गर्ने वचन दिनुभयो । उनीहरू बीच कुराकानी गराएँ । फेरि एक घण्टा पछि
फोन आयो, “दिदी माइतबाट आमा लिन आउँछु भन्नुभयो, अहिले सुत्केरी अवस्थामा अन्त जान भन्दा माइतीमा नै जाँदा बेश होला ।”
मैले आफूलाई जे सहज हुन्छ त्यही निर्णय गर्न भनें । उनले आमा आएपछि फोन गर्छु भन्दै फोन राखिन् । फोन आएन । भोलिपल्ट मैले उनको अवस्था बुझ्न फोन गरें तर उनको फोन उठेन । कि उनी माइत छिन्, कि त श्रीमान्को डरले फोन उठाउन सकेकी छैनन् । उनी शायद यस्तै कुनै द्विविधामा छिन् या समस्यामा थप कुरा थाहा भएन । श्रीमान्ले अरूलाई फोन गरेको थाहा पाए धम्क्याउने गरेको पनि उनले सुनाएकी थिइन् ।
अहिले उनी जहाँ छिन् सुरक्षित नै छिन् होला भन्ने विश्वास छ । एउटी महिला जो सृष्टिचक्रलाई चलाइरहेकी छे, जीवनमरणको दोसाँधमा रहेर सन्तान जन्माउने एउटा कठिन अवस्थामा श्रीमान्को कुटाइ खाएर पनि मातृत्व जोगाउन पछि पर्दिनँ । सन्तानलाई सकुशल राख्नका लागि आफू जस्तोसुकै अग्निकुण्डमा हामफाल्न पनि तयार हुन्छे । तर, पुरुष कति कठोर बन्दै पशुवत् व्यवहार गर्न पुग्छ । कहाँ जान्छ मानवीयता ?
एकछिन अघिसम्म प्रियंकाको पेट मुसारेर र जन्मेपछि पनि कसरी स्याहारसुसार गर्ने लगायत विषयमा पोष्ट भएका भिडियो हेरिरहेकी मैले त्यस्तै अवस्थाकी अर्की महिला पेटमा बच्चा हुँदा र जन्मिसकेपछि पनि आफू र बच्चालाई कसरी सुरक्षित राख्ने भन्ने पीडामा छट्पटाइरहेको देख्दा निकै दुःख लाग्यो ।
‘राम’ नाम गरेका ‘कंस’ स्वभावका सविनाका लोग्ने जस्ता धेरै पात्रबाट महिलाहरू आज पनि प्रताडित बनेका छन् । हामी समाजलाई कसरी सुसंस्कृत, सुसभ्य हिंसारहित बनाउने भन्नेमा बहस गर्न रुचाउँदैनौं तर एक महिलाको चरित्रदेखि अनेक विषयमा खोट भेटिन्छ कि भनेर खोजी-खोजी रमाउँछौं । ‘यो समाज म बस्ने घर पनि हो’ भन्ने सोच नआएसम्म परपीडक मानसिकताको असर भुसको आगो झैं सल्किनेछ ।
समाज कुनै राजनीतिक चेतबाट होइन मानिसको सामाजिक संस्कारबाट परिवर्तन हुन्छ । गर्भावस्था एवम् मातृत्व एउटा सुखद र उत्सवमय क्षण हो यस्तो अवस्थामा कुनै पनि महिला निरीह बनेर मातृत्वको बचाउमा रुँदै सडकमा आउनु नपरोस् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4