+
+

‘चपली हाइट ३’ निर्माता र स्वस्तिमाबीच सम्बन्ध बिग्रिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ११:५९

१ मंसिर, काठमाडौं । पुस २ गतेबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । यो चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् भने निकेश खड्का निर्देशक छन् ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक भएसँगै चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक, मिडियाकर्मीले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमा यसको पोष्टर शेयर गरे । निर्माता अर्जुन कुमारले हिम्मत गरेको भन्दै प्रशंसा पनि भयो ।

तर, चलचित्रका मुख्य कलाकारले नै यसमा खुशी व्यक्त गर्न सकेनन् । चलचित्रकी मुख्य नायिका स्वस्तिमा खड्काले नै चलचित्रको प्रदर्शन मिति सार्वजनिक भएको जानकारी सामाजिक सञ्जालमार्फत आफ्ना शुभेच्छुकलाई दिन आवश्यक ठानिनन् ।

केही समय अगाडि चलचित्र ‘डाँडाको वर पीपल’ चलचित्रको प्रिमियरमा पुगेकी स्वस्तिमाले भनेकी थिइन्, ‘यो समय एक चलचित्रकर्मीले अर्को चलचित्रकर्मीलाई सहयोग गर्ने समय हो । यसैले, म यो चलचित्रलाई साथ दिन आएकी हुँ । चलचित्र क्षेत्र चलायमान बनाउनका लागि सबैले एकअर्कालाई साथ दिनुपर्छ ।’

चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैले साथ दिनुपर्छ भनेकी स्वस्तिमाले आफ्नै चलचित्रलाई भने किन साथ दिन आनाकानी गरेकी होलिन् त ?

स्वस्तिमा भन्छिन्, ‘यो बेलामा अरुको चलचित्रलाई त साथ दिनुपर्छ भने मैले आफ्नै चलचित्रलाई महत्व नदिने भन्ने त कुरै आउँदैन । तर, निर्माणपक्षसँग केही असन्तुष्टि छन् । अर्को कुरा म भर्खरै मात्र नेपाल बाहिर गएर फर्किएकी हुँ । अब गर्छु ।’

स्वस्तिमाका अनुसार निर्माताले उनको पूर्ण पारिश्रमिक दुई दिनअघि मात्र दिएका छन् । अनलाइनखबरसँग स्वस्तिमाले भनिन्, ‘हुन त, पारिश्रमिक पूरा नपाएरै चलचित्रको प्रचार नै नगर्ने भन्ने त होइन । तर, तपाईंले अन्य कलाकारलाई पनि सोध्न सक्नुहुनेछ । सबैका असन्तुष्टि होलान् । अब शुक्रबार चलचित्रको ट्रेलर रिलिज हुन्छ । म ट्रेलर शेयर गर्छु र प्रचारमा पनि हिँड्छु ।’

निर्माता अर्जुन कुमारले भने कलाकारले चलचित्रको प्रचारप्रसारमा किन साथ नदिएका हुन् भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘हामीले सम्झौता गर्दा नै सामाजिक सञ्जालमा शेयर गर्ने, प्रचारमा हिँड्ने भनेका छौं । पारिश्रमिक पनि कुनै कलाकारको बाँकी छैन । भोलिका दिनमा कलाकारले साथ दिएनन् भने म सम्झौतापत्र मिडियालाई उपलब्ध गराउन तयार छु ।’

चलचित्रमा स्वस्तिमाको साथमा सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?