१ मंसिर, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले दशौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्विकल्प रहेको बताएका छन् ।
प्रेस चौतारी कैलालीले बुधबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा थापाले केपी ओली अध्यक्षमा सर्वसम्मत चयन हुने बताए । ‘अध्यक्षमा केपी ओली निर्विकल्प हुनुहुन्छ । उहाँ नै सर्वसम्मत बन्नुहुनेछ,’ थापाले भने, ‘पदाधिकारीसहितका अन्य पदका विषयमा अहिले यस्तै हुन्छ भन्ने सकिने अवस्था छैन ।’
थापाले सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको जानकारी दिए ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचन प्रक्रिया तथा अन्य सबै ठाउँमा सर्वसम्मत रुपले प्रतिनिधि चयन गरिएको थापाले बताए ।
९ जिल्लाबाट एक सय 64 जना महाधिवेशन प्रतिनिधि छनोट भएपनि प्रमाणीकरण गर्न र केही प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले नामावली अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले जनाए ।
कैलालीमा उपाध्यक्ष भीम रावल पक्षले महाधिवेशनमा समानान्तर प्रतिनिधि पठाउने तयारी गरिरहेको विषयमा बोल्दै थापाले त्यसले वैधता नपाउने प्रतिक्रिया दिए ।
पार्टी विभाजनका बेला भीम रावल पक्षले एकलौटी रुपमा कब्जा गरेको नगद तथा अन्य भौतिक सम्पत्ति पनि फिर्ता गर्ने प्रतिवद्धता एकीकृत समाजवादी पार्टीले गरेको थापाले जानकारी दिए ।
‘हाम्रो पार्टीको खातामा रहेको ३७ लाखमध्ये तीन लाखबाहेक सबै रकम कब्जा गरेर लगिएको थियो,’ थापाले भने, ‘अहिले उहाँहरुले हामी फिर्ता गर्छौं भन्नुुभएको छ । तत्काल २४ लाख र अन्य रकम पछि दिने कुरा छ । फर्निचर लगायतका भौतिक सम्पत्ति भने फिर्ता भइसकेको छ ।’
प्रतिक्रिया 4