+
+

ए डिभिजन लिगमा कुन क्लबको लक्ष्य कस्तो ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ मंसिर ३ गते १३:३०

३ मंसिर, काठमाडौं । ‘शहिद स्मारक ए डिभिजन लिग २०७८’ शुक्रबारदेखि सुरु हुँदैछ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाउँदैछ । जसमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब उदघाटन खेलमा भिड्दैछन् । उदघाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।

लिग सुरु हुनुअघि बिहीबार प्रि–लिग कन्फ्रेन्स आयोजना भएको थियो । जसमा १३ क्लबका प्रशिक्षक र कप्तानले तयारीबारे बोलेका थिए । हिमालयन शेर्पा क्लब भने प्राविधिक कारणले उपस्थित नभएको एन्फाले जनाएको छ ।

साविक विजेता मछिन्द्र फुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी उपाधिको मुख्य दाबेदारको रुपमा देखिएका छन् । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ ।

यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ ।

नेपाल पुलिस क्लब र संकटा क्लब र एनआरटीले पनि राम्रो स्थानमा लिग सकाउने लक्ष्य राखेको जनाएका छन् ।

उपाधि जित्ने लक्ष्य छ : राजेन्द्र तामाङ, प्रशिक्षक, मनाङ मर्स्याङ्दी क्लब

पहिले खेलाडी थिएँ । अहिले प्रशिक्षक भएर आएको छु । चाडपर्वले गर्दा कात्तिक ३ गतेबाट तयारी थालेका थियौं । धेरै कुराहरु कन्सिडर गर्नुपर्छ । मनाङ मर्स्याङ्दी बलियो टिम हो । सर्वाधिक ८ पटक उपाधि जितेको छ । प्रेसर पनि हुन्छ । टिम बलियो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनुभव भएका खेलाडी छन् । नवौं पटक लिग जित्ने गरी तयारी गरेका छौं ।

विमल राना, कप्तान, मनाङ मर्स्याङ्दी क्लब

पहिला फुजा हुनुहुन्थ्यो । यसपाली पनि आउनुहुनुछ । उस्तै उस्तै छ । यो टिम राम्रो छ । नयाँ भाइहरु पनि आएका छन् । उपाधिका लागि भाग्यले पनि साथ दिनुपर्छ जस्तो लाग्छ । लास्ट सिजन गरेन । अनुभवी खेलाडीले पनि छाडेर जानुभयो । सबै युवा थियौं । सानो मिस्टेकले गर्दा चुक्यौं । यो पटक त्यसमा सुधार गरेर खेल्ने हो । यो सिजन उपाधि जित्ने लक्ष्य छ ।

उपाधि रक्षा गर्ने योजना : प्रवेश कटुवाल, प्रशिक्षक, मछिन्द्र फुटबल क्लब

पक्कै पनि डिफेन्डिङ च्याम्पियन भएकाले टिम बलियो छ । युवा खेलाडीहरु थपेकाले टिम बलियो देखिएको हो । उपाधि जोगाउन गाह्रै हुन्छ । यही भएर फरवार्ड धेरै राखेका छौं । प्रशिक्षक भएपछि चुनौती त हुन्छ नै । तर खेलाडीलाई सम्झाएर बुझाएर राख्दा लास्ट सिजन सकारात्मक नतिजा आयो । च्याम्पियन हुन राम्रा प्लेअरहरु धेरै राख्नुपर्छ ।

सुजल श्रेष्ठ, कप्तान, मछिन्द्र फुटबल क्लब

मनाङ र मछिन्द्रमा गरेर लगातार तीन पटक लिग जितेको छु । यसपालि पनि जित्ने चुनौती छ । लिग जित्न भन्दा अझ जोगाउन गाह्रो हुन्छ । जुन जोशले खेलिराछौं त्यसै अनुसार खेलेर उपाधि रक्षा गर्ने योजना छ । म धेरै पोजिसनमा खेल्दा प्रशिक्षकलाई सहयोग पुग्छ ।

आर्मीको अन्तिम लक्ष्य च्याम्पियनः राजु तामाङ, सहायक प्रशिक्षक

हाम्रो तयारी राम्रो छ । सधैं जस्तै लक्ष्य उपाधि नै हो । नवयुगको चोटले स्कोरिङमा अलि समस्या होला जस्तो छ । तर हामीसँग उति नै क्षमता भएका खेलाडीहरु छन् । जर्ज प्रिन्स छ, सुदिल राई, जगजित श्रेष्ठ पनि छन् । ट्रेनिङ हेरेर उनीहरुलाई कसरी खेलाउने भन्ने हो ।

भरत खवास, कप्तान, नेपाल आर्मी क्लब

तयारी एकदम राम्रो छ । नवयुग नहुँदा समस्या त हुन्छ जस्तो लाग्छ मलाई । उसलाई फुलफिल गर्ने अरु खेलाडी पनि छन् । अरु खेलाडीलाई पनि मौका छ जस्तो लाग्छ ।

हाम्रो अन्तिम लक्ष्य च्याम्पियन बन्ने नै हो । टिमको कमीकमजोरी सुधार गरेर अघि बढ्नेछौं । हाम्रो पुरानै टिम छ । कोच पुरानै छ । एकजुट भएर खेलिराछौं । सबै टिम राम्रो छ । अब खेल्दै जाँदा थाहा हुन्छ ।

मृगेन्द्र प्रसाद मिश्र, प्रशिक्षक, फ्रेण्ड्स क्लब

हामीले ४० दिनको तयारी गरेका छौं । फुटबलमा पहिलो कुरा पोजिसन भन्दा पनि सुरक्षित हुने हो । पहिलो टार्गेट रेलिगेसनबाट बच्ने हो । त्यसपछि दोस्रो फेजको टार्गेट बनाउने हो । सुरुमा आफू सेभ भएर खेल्नुपर्छ अनि ठिकै पोजिसनमा आउने लक्ष्य छ । बढीमा छैटौं÷सातौंमा पर्ने लक्ष्य छ ।

फुटबलमा विपक्षी सधैं राम्रो हुन्छ । पहिलो खेल सातदोबाटो युथ क्लबसँग छ । सातदोबाटो राम्रो टिम हो ।

सुरज विक, कप्तान, फ्रेण्ड्स क्लब

कप्तान भएपछि जिम्मेवारी हुन्छ । दबाब पनि हुन्छ । केही कुरा आफूले सम्हाल्नु पर्छ । समग्रमा दबाब भएपनि मैदान उत्रेर खेल्नुपर्छ । हाम्रो टिभ एभरेज छ । तयारी पनि राम्रै भएको छ । पहिलो खेलमा विपक्षीलाई राम्रै रुपमा लिएर खेल्ने हो । हामी ३ अंक लिने तयारीका साथ खेल्नेछौँ ।

मेघराज केसी, प्रशिक्षक, सातदोबाटो युथ क्लब

सातदोबाटो युथ क्लब पहिलो पटक ए डिभिजन लिग खेल्दैछ । ए डिभिजन लिगको धेरै ज्ञान छैन । तर क्लबमा ए डिभिजनको अनुभव भएका खेलाडी र प्रशिक्षक छ । अन्य क्लब जसरी हामीलाई हेरे गाह्रो पर्छ । हामीले करिब ४ महिनाको तयारी गरेका छौं ।

प्रि–सिजनलाई सदुपयोग गरेका छौं । सबैले मिहिनेत गरेका छन् । क्लब पनि उत्साहित छ । लिगमा ठूलो सानो क्लब भन्ने हुँदैन । सबै बराबर हो । १३ वटा टिमसँग खेल्नुपर्छ । विपक्षी सबै एउटै लेभलका छन् । राम्रो नतिजाका लागि बढी मिहिनेत गर्नुपर्छ । सुरुको एक-दुई म्याच हेर्नुपर्छ, कस्तो हुन्छ ।

मान बहादुर तामाङ, कप्तान, सातदोबाटो युथ क्लब

नयाँ क्लबमा आएको छु । चुनौती र अवसर दुवै छ । ९–१० वर्षदेखि ए डिभजन लिग खेलिराको हो । आफूले आफैंलाई प्रमाणित गर्ने अवसर छ । क्लब नयाँ भएकाले पहिलो पटक खेल्न लागेको छ । सकेसम्म माथि पुर्‍याउने चाहना छ । मेरो अनुभव सेयर गर्ने हो । विदेशी खेलाडीहरु पनि अनुभवी छन् । युवा खेलाडीलाई मोटिभेट गर्ने हो ।

चौथो हुने टार्गेट छ : किशोर केसी, प्रशिक्षक, जावलाखेल युथ क्लब

तयारी राम्रै छ । हाम्रो टार्गेट चौथो पोजिसनमा पुग्ने हो । अझ सकेसम्म राम्रो गर्ने हो । विदेशी खेलाडी छन्, भारतीय पनि छन् । टिम समायोजन राम्रो छ ।

कुलदीप कार्की, कप्तान, जावलाखेल युथ क्लब

तयारी राम्रो भएको छ । मानसिक र शारिरीक रुपमा हामी तयार छौं । त्यही अनुसार नै खेल्ने हो । पहिलो खेल मनाङसँग छ । मनाङसँग खेल्न उत्साहित छौं । मनाङसंग जहिले भएपनि खेल्नुपर्छ । सुरुमै खेल्नुपर्दा हामी प्रेसरमा छैनौं । कडा टक्कर दिन्छौं ।

अनन्त थापा, प्रशिक्षक, नेपाल पुलिस क्लब

हाम्रो जहिले पनि तयारी भइरहेको हुन्छ । लिगका लागि तीन महिना तयारी गरेका छौं । विभागीय टोली भएकाले निश्चय नै विजेता बन्ने नै टार्गेट हुन्छ । युथ टिम छ । सरप्राइज नतिजा दिने पक्षमा छौं । हामी यस पटक रिजल्टकै लागि खेल्छौं ।

राम्रो फुटबल खेल्ने र रिजल्ट पनि राम्रो ल्याउने लक्ष्य छ । प्लेअर कम्बिनेसन राम्रो छ । बाहिर क्लबमा विदेशी खेलाडीहरु छन् । हाम्रो आफ्नै मैदान र रेगुलर तयारी छ । राम्रो खेल्ने हो । उपाधि टार्गेट शीर्ष तीन भित्र पर्ने हो । सबै टिम उस्तै छन् । मछिन्द्रले राम्रो प्लेअर कलेक्ट गरेकाले हावी छ । क्लोज फिनिस हुन्छ ।

राजु काजी शाक्य, प्रशिक्षक, एनआरटी

तयारी राम्रो भएको छ । ग्राउण्ड लेभल नमिलेकाले प्रशिक्षणमा अलिकति समस्या भयो । दशैंतिहारले गर्दा अलि समय पुगेन । मैत्रीपूर्ण खेलहरु राम्रो भएको छ । राम्रो रिजल्ट दिने छौं । एनएसएलमा राम्रो गरेका दुई खेलाडी छन् । उनीहरुलाई सपोर्ट गर्न युवा खेलाडीहरु दर्शन र एरिक छन् । त्यसमा हामी सफल भयौं भने बेस्ट रिजल्ट दिन्छौं ।

सक्दो त टाइटल नै हो । हाम्रो लक्ष्य शीर्ष चारमा पर्ने हो । अब टिम लिएपछि प्रेसर त हुन्छ नै । क्लबले पनि अपेक्षा गर्छ । मिहिनेत गरिरहेका छौं । फुटबल अलि परिवर्तन भइरहेको छ । त्यसमा खेलाडीलाई बुझ्न अलि गाह्रो पर्छ ।

अजित प्रजापति, कप्तान, एनआरटी

टिम पहिलेभन्दा राम्रो भाछ । युवा खेलाडीहरु छन् । विदेशी राम्रा छन् । पहिलो खेल मछिन्द्रसँग छ । पेपरमा मछिन्द्र बलियो छ । यो पाली टक्कर दिन्छौं ।

उर्जन श्रेष्ठ, प्रशिक्षक, थ्री स्टार क्लब

तयारी राम्रो भएको छ । हाम्रो अपेक्षा भनेको च्याम्पियन बन्नकै लागि फाइट गर्छौं । सबै टिम राम्रो छ ।

विक्रम लामा, कप्तान, थ्री स्टार क्लब

तयारी राम्रो भाछ । योजना अनुसार नै खेल्ने हो । कन्डिसनिङ र टेक्निकलल्ली राम्रो तयारी भाछ सन्तुष्ट छौँ । राम्रो प्रदर्शन गर्न तयार छौँ ।

ठूलो अपेक्षा छैन : कुमार थापा, प्रशिक्षक, नेपाल एपीएफ क्लब

हाम्रो धेरै चेन्ज भाको होइन । हामीले रिजल्ट राम्रो बनाउन खोजेको हो । लास्ट सिजन १२ औं भाथ्यौं अब आठौंसम्म हुने लक्ष्य हो । नतिजा चेन्ज गर्ने हो । दुई खेलाडी डेब्यु गर्दैछन् । हाम्रो ठूलो अपेक्षा छैन । अलि स्टाइल र फर्म्याट चेन्ज गर्ने हो । राजेन्द्र तामाङले बनाएको टिम नै ठीक छ । रिजल्ट चाहिं राम्रो थिएन ।

टोप बहादुर विष्ट, कप्तान, नेपाल एपीएफ क्लब

समग्रमा तयारी राम्रो छ । अपेक्षा धेरै छैन । तीन महिना तयारी भाछ । प्रदर्शनको कुरा गर्दा माथि पुग्ने लक्ष्य हो । सकेसम्म चौथो नभए आठौंसम्म रहने हो । अर्को वर्ष अझ राम्रो गर्ने हो । लास्ट सिजन गाह्रो भाथ्यो । यसपटक टुर्नामेन्ट पनि खेल्यौं । युवा र अनुभवी खेलाडीहरु छन् । त्यसले पनि सहयोग गर्छ ।

राम्रो प्रदर्शन गर्नेछौं : विष्णु गुरुङ, प्रशिक्षक, संकटा क्लब

समग्रमा भन्दा सबै टिमले राम्रो तयारी गरेको छ । हाम्रो पनि राम्रो तयारी भाछ । त्यही हामीले गरेको ट्रेनिङको आधारमा लक्ष्य बनाउने हो । मसँगै खेलेका खेलाडी हुँदा कम्युनिकेसन गर्न सहज हुन्छ । राम्रो नतिजा आउने आशा छ ।

रवि सिलवाल, कप्तान, संकटा क्लब

छोटो समय भएपनि राम्रो तयारी छ । अपेक्षा राम्रो प्रदर्शन गर्ने हो । आफ्नै मैदान भएकाले प्रशिक्षण गर्न सहज छ । प्रशिक्षक पनि राम्रो हुनुहुन्छ ।

टप हाफमा पर्ने अपेक्षा : बालगोपाल साहुखल, प्रशिक्षक, च्यासल युथ क्लब

टिममा युवा खेलाडीहरु छन् । इनर्जेटिक टिम छ । फिलोसोफी अनुसार टिम बनाइरहेका छौं । मोरल हाई छ । रिजल्ट राम्रो आउँछ । युवा खेलाडी भएकाले अपेक्षा धेरै छैन । टप हाफमा पर्ने अपेक्षा राखेका छौं ।

विदेशी खेलाडीहरु दुई जना (अफ्रिकन र इटलीका) छन् । विकास अनप्रेडिक्टेबल छ । उ यहाँ एडजस्ट गर्दैछ । युवा खेलाडी भएकाले एडजस्ट गर्नुपर्छ । टप लेभलमा खेलेको अनुभव छैन । सन्तोष साहुखल पनि आउँछ तर कुन समयमा आउने फिक्स्ड छैन ।

शीर्ष चारसम्म पर्ने अपेक्षा छ : विराज महर्जन, कप्तान, च्यासल युथ क्लब

लिगको लागि तयारी राम्रो भएको छ । यो पटक च्यासलको एभरेज टिम छ । युवा खेलाडीहरु धेरै छन् । क्लबले राम्रो अप्रोच गरेकाले म आएको हुँ । टिमसँग काम गर्ने हो । चुनौती पनि छ । हामी टप फाइट दिनेछौं । शीर्ष चारसम्म पर्ने अपेक्षा छ ।

अघिल्लो सिजनभन्दा राम्रो गर्नेछौं : सनोज श्रेष्ठ, प्रशिक्षक, ब्रिगेड ब्वाइज

यस पटक लास्ट सिजन भन्दा सुधार गर्दै राम्रो नतिजा ल्याउने योजनामा छौं । लक्ष्य राम्रो नतिजा ल्याउने हो । युवा टिम छ । राम्रो खेलेर राम्रो नतिजा ल्याउने प्रयास हो ।

अनिल गुरुङ, कप्तान, ब्रिगेड ब्वाइज

टिमको कुरा गर्दा पहिला भन्दा राम्रो छ । उमेर समूहको राष्ट्रिय टिममा खेलेका खेलाडीहरु छन् । विदेशी खेलाडी पनि यस पटक राम्रो छ । यसले गर्दा राम्रो नतिजा आउने अपेक्षा छ । युवा खेलाडीलाई लामो समय खेल्दा लिगमा प्रेसर हुन्छ जस्तो लाग्छ । मोटिभेट गर्दै लानुपर्छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?