+
+

निधिको सकस : न टीम छोड्न सक्छन्, न बनाउन

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर ३ गते २०:३७
फाइल तस्वीर

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन समूहभित्र सभापति शेरबहादुर देउवापछि दोस्रो वरियताका नेता हुन्, उपसभापति विमलेन्द्र निधि । पार्टीमा पनि देउवाले आफू देशबाहिर जाँदा निधिलाई नै कार्यवाहक बनाउने गरेका छन् । तर झण्डै पाँच दशक लामो राजनीतिक सहयात्रा र पछिल्ला अढाई दशकदेखि गुटगत सहकार्यमा रहेका दुई नेताको सम्बन्ध १४औं महाधिवेशनमा भने प्रतिस्पर्धामा परिणत हुने सम्भावना छ । किनकी दुवैले सभापतिको उम्मेदवार बन्न चाहेका छन् ।

दुई नेताले एक अर्काको साथको आश भने मारिसकेका छैनन् । अघिल्लो बिहीबार प्रधानमन्त्री समेत रहेका देउवाले आफूनिकट पदाधिकारीलाई बालुवाटार बोलाउँदा उपसभापति निधिलाई छुटाएनन् । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न भन्दै नेताहरु बोलाइएको थियो, तर देउवाले शुरुमै भने, ‘अब म सभापतिमा अगाडि बढेँ, तपाईंहरु सबैको साथ चाहियो ।’

संस्थापन समूहमै रहेर सभापतिका लागि तयारी गरेका उपसभापति निधिले देउवाको आग्रह ठाडै इन्कार गरे । ‘म त सभापतिमा तयारी गरिरहेको छु । १३ औं महाधिवेशनमै अर्काे पटक तपाईं नै हो भनेर भन्नुभएको हो । त्यहीअनुसार तयारी गरिरहेको छु,’ निधिले भने, ‘मलाई तपाईंको समर्थन र आर्शिवाद चाहिन्छ ।’

नेताहरुका अनुसार देउवा र निधिबीच हुने हरेक गुटगत छलफलमा यस्तै सम्वाद दोहोरिने गरेको छ र एकले अर्कालाई समर्थन गर्ने परिस्थिति बनेको पनि छैन ।

एकअर्काको अप्ठ्यारो

संस्थापन समूहका नेताहरुका अनुसार तुलनात्मक रुपमा देउवा सहज अवस्थामा छन् भने निधि दबावमा ।

सरकारको नेतृत्व गरेको, संस्थापन इतर समूहमा साझा उम्मेदवार बन्ने सम्भावना टर्दै गएका बेला देउवाले फेरि सभापति हुने सुनिश्चित जस्तै देखेका छन् । यद्यपि राजनीतिमा असम्भव केही हुन्न । रातारात संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार बन्दा देउवाले चुनाव हार्ने सम्भावना प्रबल हुन्छ । र, निधिको रिक्तता पूर्ति गर्ने अर्को नेता पनि उनीसँग छैन । त्यसैले उनी पनि उपसभापति निधिलाई गुमाउन चाहँदैनन् । उनले ‘अर्काे पटक तपाईँलाई सहयोग गर्छु’ भनेर आश्वासन दिएका छन् भने आफूनिकट नेताहरुमार्फत् पनि निधिलाई फकाउने प्रयास पनि गरेका छन् ।

निधिले पनि देउवाले आफू रोकिएर संस्थापन समूहबाट सभापति उम्मेदवार बनाउँदैनन् भन्ने बुझेका छन् । तर देउवासँग अलग भएर अघि बढ्न पनि सकेका छैनन् । किनकी संस्थापन समूह छोड्दा आफू एक्लिने हो कि भन्ने चिन्ता छ ।

निधिले नयाँ समिकरणको प्रयास नगरेका भने होइनन् । उनले कांग्रेस संस्थापक नेतात्रय वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरु मिलेर नयाँ गठबन्धन बनाएर देउवालाई दबाव दिने रणनीति बनाए । वीपी पुत्र डा. शशांक, गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण पुत्र विमलेन्द्रबीच दुई चरणमा तीन नेताकै घरमा लञ्च बैठक बसे । सहमतिमा नेतृत्व चयनका लागि छलफल पनि भए, तर त्यसले कुनै आकार लिन सकेन । बरु यसले देउवालाई थप रुष्ट बनायो निधिसँग । ‘उहाँ देउवालाई देखाइदिन्छु भन्ने तरिकाले बाहिर अर्कै समिकरण बनाउन थाल्नुभयो, जुन उहाँकै लागि प्रत्युत्पादक भयो,’ देउवानिकट एक नेता भन्छन्, ‘तीन नेतापुत्रबीच लञ्च मिटिङ गर्नुको साटो पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारसँग निधिजीले लञ्च बैठक गर्नुपर्थ्यो ।’

एक्लिँदै निधि

सभापतिमा उम्मेदवारी दिने बताएका निधिले ११ भदौमा तामझामका साथ सम्पर्क कार्यालय खोले । सभापतिका अरु आकांक्षीलाई उछिन्दै उनले आफू अगाडि बढिसकेको सन्देश दिन खोजेका थिए । तर महाधिवेशन आउन तीन साता मात्रै बाँकी रहँदा पनि उनले न टीम बनाउन सकेका छन्, न टीम छोड्न नै ।

निकटवर्तीहरुका अनुसार निधि काठमाडौंमा बसेर घोषणापत्र लेखनमा व्यस्त छन् । जिल्ला अधिवेशन लगत्तै घोषणापत्र सार्वजनिक गर्ने उनको तयारी छ । तर टिम भने बनेको छैन । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म हुने भएपनि उम्मेदवारी दर्ता मंसिर २१ बाटै सुरु हुने निर्वाचन कार्यतालिका छ । अहिलेसम्म निधिसँग एक जना पनि केन्द्रीय नेताहरु जोडिएका छैनन् ।

संस्थापन समूहका असन्तुष्ट नेताहरु उनको पहिलो प्राथमिकतामा पर्ने निश्चित छ । उनले संस्थापन इतर समूहका नेताहरुसँग पनि संवाद गर्दै आएका छन्, तर कसैले पनि उनको समूहबाट उम्मेदवारी दिने गरी बचन दिइनसकेको बताइन्छ ।

‘निधिको नजर संस्थापन समूहतिरै छ । पदाधिकारीका आकांक्षी नेताहरुको संख्या त्यहाँ धेरै छ । तर सबैले पद पाउने अवस्था भने देखिन्न,’ देउवा निकट एक नेताले भने, ‘गठबन्धनमा स्थान नपाएका असन्तुष्टहरु उहाँको समूहमा अटाउलान् । तर आजसम्म कोही पनि केन्द्रीय नेताहरु उहाँसँग छैनन् ।’

निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा समेत अवस्था बदलिएको नेताहरुको दाबी छ ।

हुन पनि प्रदेश दुईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताले नै निधिलाई साथ दिएका छैनन् । निधिकै गृहजिल्ला धनुषाका संस्थापन समूहका केन्द्रीय सदस्यहरु महेन्द्र यादव र आनन्द ढुंगानाको साथ देउवालाई छ भने अर्का नेता रामकृष्ण यादव संस्थापनइतर समूहमा छन् । प्रदेश दुईकै केन्द्रीय सदस्यहरु रमेश रिजाल, चित्रलेखा यादव, फरमुल्लाह मन्सुर, अजयकुमार चौरासिया पनि देउवाकै पक्षमा छन् भने केन्द्रीय सदस्यहरु किरण यादव नेता पौडेल समूहसँग नजिक छन् भने उमाकान्त चौधरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट छन् । हाल उपचारका लागि भारतमा रहेका प्रदीप गिरी पनि कतै खुलेका छैनन् ।

प्रदेश दुईका आठ जिल्ला सभापतिमध्ये पर्साका अजयकुमार द्विवेदी र धनुषाका महेशशंकर गिरी मात्रै निधिको पक्षमा छन् । सभापति देउवाले भने केन्द्रीय सदस्य महेन्द्र यादवमार्फत् प्रदेश २ का जिल्ला नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन् । जबकी विगतमा प्रदेश दुईमा खटनपटन गर्ने जिम्मा निधिलाई नै दिएका थिए । यो पटक सभापति देउवाले प्रदेश २ मा आफ्नो छुट्टै समूह तयार गरेको एक नेताले बताए ।

निधिले लिएको जोखिमको बाटो

संस्थापन समूहका नेताहरु निधिलाई यसपटक धैर्य गर्न सुझाउने गरेका छन् । देउवाले दोस्रो पटक पार्टी नेतृत्व गर्ने चाहना राखेकाले सबैले सहयोग गर्नुपर्ने धेरै नेताहरुको जोड छ । तर निधि भने अर्काे महाधिवेशन कुर्ने पक्षमा छैनन् । ‘मैले आफ्नो राजनीतिक निर्णय गर्ने कुरा हो । शेरबहादुरजी सँगकुनै गुनासो वा असन्तुष्टि होइन । यसलाई अस्वभाविक रुपमालिने कुरा त अराजनीतिक हो,’ निधिले आफूलाई भेट्ने नेताहरुसँग बताउने गरेका छन् ।

निधि किन जसरी पनि सभापति लड्ने तयारीमा हुनुहुन्छ भन्ने प्रश्नमा उनी निकट एक नेताले अनलाइनखबरसँग भने, ‘सभापति हार्छु भन्ने उहाँ जस्तो नेताले नबुझेको होला र ? सभापतिमा हार्दै गर्दा पनि उहाँको राजनीति समाप्त हुने होइन । उहाँको राजनीतिक अस्तित्व, पहिचान र उपस्थितिलाई कसैले नकार्न सक्दैन ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?