
४ मंसिर, विराटनगर । जिल्ला कारागार मोरङबाट सरुवा भएको १७ दिनपछि गुन्डानाइके अभिषेक गिरीको पुनः विराटनगर सरुवा भएको छ ।
चार वर्षअघि विराटनगरबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएका गिरीलाई गत कात्तिक १६ गते विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रवेश गर्न नदिएपछि सोही दिन जिल्ला कारागार सप्तरी पठाइएको थियो । सप्तरी सरुवाको १७ दिनपछि उनलाई पुनः विराटनगर सरुवा गरिएको हो ।
सप्तरीबाट विराटनगर पठाउने निर्णय भएको पत्र शुक्रबार बेलुका जिल्ला कारागार मोरङ आइपुगेको छ । जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलले गिरीलाई मोरङ पठाउने निर्णय भएको पत्र आइपुगेको जानकारी दिए । उनका अनुसार शुक्रबार बेलुका कारागार व्यवस्था विभागले गिरीलाई विराटनगर स्थानान्तरणको निर्णय गरेको पत्र पठाएको हो । गिरीलाई तत्कालै ल्याउने तयारी छ ।
गिरीलाई प्रवेश गर्न नदिने चेतावनी
कारागार विभागले गिरीलाई पुनः विराटनगर नै पठाउने निर्णय गरेपछि कैदीबन्दीले रोक्ने तयारी गरेका छन् । गिरीलाई प्रवेश गर्न नदिने कैदीबन्दीले जानकारी दिए । ‘हिजो पनि रोकेका थियौं, अब पनि प्रवेश गर्न दिन्नौं,’ टेलिफोन सम्पर्कमा एक कैदीले भने, ‘कारागारमा रहेका ९ सय कैदीबन्दी गिरीको विपक्षमा छन् ।’
गत भदौ १७ गते गिरीलाई विराटनगर पठाउने निर्णय भएको थियो । तर विरोधका बावजुत गत कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइयो । कारागार भित्र कैदीबन्दी र कारागार बाहिर कैदीबन्दीका आफन्तले प्रदर्शन गरेपछि ९ घण्टा कारागार प्रशासनमा राखिएका गिरीलाई सप्तरी सरुवा गरिएको थियो । सप्तरी पठाएको १७ दिनपछि कारागार व्यवस्था विभागले विराटनगर पठाउने निर्णय गरे पनि पठाउने कारण भने खुलाएको छैन ।
नेतालाई चन्दाको आश
नेपाली कांग्रेसका नेताहरुको संरक्षणमा गुण्डागर्दी गर्दै आएका गिरीलाई कांग्रेस नेताहरुकै दबावमा तेस्रो पटक विराटनगर पठाउने निर्णय भएको थियो । मोरङमा रहेका बेला उनलाई एमाले नेताहरुको दबाबमा काठमाडौं लगिएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि उनको विराटनगर स्थानान्तरणको निर्णय भएको थियो । ‘विरोध हुन्छ भन्ने जान्दाजान्दै केही नेताहरु गरीलाई विराटनगर ल्याउन लागि परेका छन्,’ जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ, ‘कारागार राम्रो आम्दानीको स्रोत हो, गिरी यहाँ हुँदा नेताहरुलाई चुनाव खर्च जुटाउन सजिलो हुन्छ ।’
गिरीको सरुवाका लागि कांग्रेस संस्थापन पक्षका नेताहरु लागेका छन् । २५० क्षमता रहेको कारागारमा ९ सय ५३ कैदीबन्दी छन् । कारागार भित्र व्यापार राम्रो हुने भएकाले गिरीले आउन जोडबल गरेको स्रोत बताउँछ । विराटनगर आएपछि पुनः चौकीदार बन्ने गिरीको दाउ छ । गिरी विराटनगर आए कांग्रेसका नेताहरुलाई चन्दा संकलन गर्न पनि सजिलो हुने आश छ । तर कैदीबन्दी भने उनलाई जसरी पनि रोक्ने तयारीमा छन् ।
‘गिरीलाई नपठाउनु भनेर नौं सय कैदीबन्दीको हस्ताक्षरसहित कारागार व्यवस्था विभागलाई निवेदन दिएका थियौं, तर उनलाई यहीँ पठाउने निर्णय भयो,’ कैदीबन्दी स्रोतले भन्यो, ‘गिरी आउँदा हामी असुरक्षित हुन्छौं, प्रवेश गर्न दिदैनौं ।’
गिरीलाई आफ्नैबाट धोका !
गिरीलाई गत कात्तिक १६ गते विहान सुटुक्क विराटनगर ल्याइयो । तर कारागार भित्र कैदीबन्दी र बाहिर ती कैदीबन्दीका आफन्तले विरोध प्रदर्शन गरेपछि विराटनगर आएको नौ घण्टापछि गिरीलाई सप्तरी पठाइयो । सप्तरीमा रहेका गिरीकै इसारामा कात्तिक २४ गते कारागार भित्र झडप भएको स्रोतको दाबी छ । गिरीको पक्षमा रहेका कैदीबन्दीले आक्रमण गर्दा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भए । झडपपछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइकेको सरुवा भयो ।
सरुवापछि गिरीको पक्षमा रहेका कात्र्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो । गिरीको सहयोगमा चौकीदार बनेका कामत पछिल्लो समय उनको विपक्षमा उभिएका छन् । चौकीदार बनेपछि उनी पनि गिरीलाई रोक्ने पक्षमा रहेको एक कैदीबन्दीले बताए । ‘चौकीदार कामत पनि गिरीलाई ल्याउन नहुने पक्षमा छन्,’ कारागार स्रोतले भन्यो, ‘जबरजस्ती गरे झडप हुनसक्छ ।’
यसअघि गिरी विराटनगर कारागारमा चौकीदार थिए । कारागार भित्रबाट गुण्डागर्दी गरेको गुनासो आएपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार स्थानान्तरण गरिएको थियो ।
उनको सरुवापछि नवीन राईलाई चौकीदारको जिम्मेवारी दिइयो । पुनः गिरीलाई मोरङ ल्याइने भएपछि राईलाई गत असोज १८ गते झुम्का कारागार पठाइयो । राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा अर्काे व्यवस्था नभएसम्मका लागि चौकीदारको जिम्मेवारी दिइएको थियो । उनको पनि सरुवा भएपछि कात्र्तिक कामतलाई जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया 4