+
+
Shares

अभिषेक गिरीलाई अदालतले छाडेलगत्तै सीआईबीले किन समात्यो ?

निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई गिरीले विभिन्न व्यक्तिसँग चिनजान तथा पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १८:०६

२३ असार, काठमाडौं । गुण्डा नाइकेका रुपमा परिचित मोरङका अभिषेक गिरी अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा छन् ।

मोरङस्थित उनको घर समेत खानतलासी गरेर प्रहरीले उनलाई पक्राउ गरेको थियो । कारागार बाहिर रहँदा पनि मोरङका कैदीबन्दीबाट रकम असुल्ने गरेको आरोपमा पक्राउ परेका उनी अदालतबाट छुटे ।

तर अदालतबाट छुटे लगत्तै सीआईबीले पक्राउ गरेर गिरीलाई काठमाडौं ल्याएको छ । गिरी पक्राउ गर्नुको कारण ठगी तथा आपराधिक विश्वासघातको कसुर रहेको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले बताए । निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई गिरीले विभिन्न व्यक्तिसँग चिनजान तथा पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ ।

यसका साथै श्रेष्ठलाई परेको ठेक्का आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै ठगी गरेको आरोप छ । पीडित श्रेष्ठका निर्माणमा प्रयोग हुने सवारी साधानहरु समेत गिरीले कब्जामा लिएको बताइएको छ ।

श्रेष्ठका सवारीहरुर कब्जामा लिएर धनीलाई समेत जानकारी नदिई कवाडीमा समेत बेचेको पाइएको प्रवक्ता जबराले बताए । केही सवारी सधानहरु भने कब्जामा लिई, काठमाडौंको घरजग्गा समेत राजीनामा पास गरी लिएको, चेक काट्न लगाएको आरोप रहेको प्रहरीले बताएको छ ।

गिरी नेपाली कांग्रेसको राजनीति गरेको आवरणमा आपराधिक धन्दामा लागेका व्यक्ति हुन् ।

शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए । कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।

कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप छ । कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता असुल गरेको गुनासो आउने गरेको थियो ।

अपहरण तथा शरिर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी दुई वर्षअघि कारागारबाट छुटेका थिए । कारागारबाट छुटेपछि उनी आफ्नै नेतृत्वमा गिरी फाउन्डेशन स्थापना गरेर सामाजिक कार्य गर्ने भन्दै सक्रिय भए । फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?