२२ असार, विराटनगर । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएको छ । तर, उनीसँगै पक्राउ परेका तीन जनाको हकमा भने सात दिनको म्याद थप गरेको छ ।
जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई बाँडेको भत्ता कारागार भित्रबाटै गायब भएपछि गिरी गत असार १३ गते पक्राउ परेका थिए । प्रहरीले उनलाई आपराधिक लाभ सम्बन्धी कसुरको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।
१८ असारमा उच्च अदालत विराटनगरले गिरीविरुद्धको अनुसन्धान ५ दिन भित्र सक्न निर्देशनात्मक आदेश जारी गरेको थियो । सोमबार प्रहरीले थप दुई वटा अभियोगमा म्याद थपका लागि गिरीलाई जिल्ला अदालतमा उपस्थित गराएका थियो ।
जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले हाजिरी जमानीमा राखेर अनुसन्धान प्रक्रियाअघि बढाउन आदेश दिएको हो । गिरीसँगै पक्राउ परेका उनका सहयोगी विनोदकुमार सिंह, विजय कामत र सञ्जयकुमार मण्डलको हकमा भने सात दिन म्याद थप भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
यसअघि उच्च अदालत विराटनगरले असार १८ गते ‘पाँच दिन भित्र आपराधिक लाभ सम्बन्धी कसुरको अनुसन्धान पुरा गरी मुद्दा चल्ने वा नचल्ने निर्णय भए सोही बमोजिम गर्नु’ भनी आदेश दिएको दिएको थियो ।
अनुसन्धान पुरा नभए हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न भनेको थियो । जिल्ला अदालतले उच्चको आदेश बमोजिम गर्नु भन्ने आदेश दिएको बुढाथोकीले बताए ।
मोरङ प्रहरी प्रमुख कबित कटवालका अनुसार सोमबार प्रहरीले म्याद थपका लागि थप दुई वटा ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरण’को अभियोग पनि लिएर गएको थियो । जिल्ला अदालतले भने आपराधिक लाभ सम्बन्धी कसुरका विषयमै संलग्न रहेको भनी दुई कसुरमा म्याद थप गर्न मानेन ।
जिल्ला अदालतले हाजिरी जमानीमा छाड्ने आदेश दिए पनि गिरी भने छुट्ने छैनन् । जिल्ला प्रहरी कार्यालयले उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौं पठाउने तयारी गरेको छ ।
मोरङका प्रहरी उपरीक्षक कटवालका अनुसार सीआईबीले पक्राउ अनुमति लिइसकेका कारण गिरीलाई काठमाडौं पठाउन लागिएको हो । ‘अभिषेक गिरीको हकमा आपराधिक विश्वासघात र ठगीमा सीआईबीले पक्राउ अनुमति लिइसकेको छ,’ उनले भने, ‘अब सीआईबीलाई पठाउँछौं ।’ उनका अनुसार गिरीमाथि अब सीआईबीले थप अनुसन्धान गर्नेछ ।
१८ असारमा उच्च अदालत विराटनगरले गिरीको पक्षबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै ५ दिन भित्र मुद्दाको प्रक्रिया टुङ्गोमा पुर्याउन आदेश दिएको थियो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी ५ चैत २०७९ मा कारागारबाट बाहिरिएका गिरीले कारागार भित्र रजगज गर्दै आएका थिए ।
कैदी बन्दीले बनाएको मुढा र गलैँचाको पैसा आफै बुझ्ने उनले असार १२ गते शुक्रबार कैदीबन्दीलाई बाडेको १३ लाख ४० हजार रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि कैदी बन्दीले बनाएर बिग्री गर्ने गलैँचा र मुढाको पैसा पनि उनले नै लैजाने गरेको विषय बाहिर आएको थियो । प्रहरीले उनको घरबाट पैसा गन्ने मेसिन पनि बरामद गरेको थियो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय काटेका गिरी जेलमा रहँदा मोरङ कारागारको ‘चौकीदार’ थिए । जेलबाट निस्किए पनि उनले आफू अनुकूलका व्यक्तिलाई चौकीदार बनाएर कारागारभित्र आफ्नो समानान्तर शासन चलाइरहेका थिए ।
मेस (भान्सा) मा हुने खाद्यान्न र तरकारी आपूर्तिमा समेत उनको सिन्डिकेट चल्ने गरेको र आफ्ना सहयोगी मार्फत रकम बाहिर निकाल्ने गरेको प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया 4