२२ साउन, विराटनगर । जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो ।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गिरीलाई पक्राउ परेको मितिदेखि लागु हुनेगरी चार दिनको म्याद थप भएको हो । गिरी गत असार १३ गतेदेखि प्रहरी नियन्त्रणमा छन् ।
मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरेको गर्मी भत्ताबापतको रकम गिरीले लगेको खुलेपछी प्रहरीले उनलाई गत १३ असारमा पक्राउ गरेको थियो ।
२३ असारमा जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोहीदिन ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गिरीलाई पक्राउ गरेको थियो ।
केहीदिनअघि उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा दिलीपकुमार चौधरीले पेट्रोल पम्प खरिद गर्दा ठगी गरेको दाबीसहित जोहरी दिएका थिए । सोही जाहेरीका आधारलाई पक्राउ गरी गिरीविरुद्ध प्रहरीले अनुसन्धान चलाएको हो ।
सीआईबीको अनुसन्धानका आधारमा गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको दाबीसहित साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो ।
उजुरीकर्ता निर्माण व्यवसायी सुभाष श्रेष्ठसँग गिरी कारागारबाट छुटेका थिए ।
प्रतिक्रिया 4