
६ मंसिर, काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको द हण्ड्रेड ग्रुपले नेपाल बार एशोसिएसनका तीन पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको छ ।
हण्ड्रेड ग्रुपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।
गत शुक्रबार ०७८-सी४–१००७ नम्बरमा सो गाली बेइज्जती मुद्दा दर्ता गर्ने बब्लु गुप्ता संलग्न हन्ड्रेड ग्रुप कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका बेलामा विपन्नहरुलाई सडकमा खाना खुवाएका कारण चर्चित छ ।
मुद्दा दर्ता भएको विषयमा काठमाडौं जिल्ला अदालतका कर्मचारीहरु सामान्य प्रतिक्रिया समेत दिन मान्दैनन् । स्रेस्तेदार लगायतका कर्मचारी सम्पर्कमा आउन चाहेनन् । जिल्ला अदालतका एक कर्मचारीले सर्वोच्च अदालतबाट आएको विशेष निर्देशनमा मुद्दा दर्ता भएको बताए ।
‘माथिबाट नै फोन आएपछि मुद्दा दर्ता गर्नुपर्ने बाध्यता भयो’ जिल्ला अदालत स्रोतले भन्यो, ‘यसमा प्रधानन्यायाधीशज्यूकै विशेष चासो र रुची छ भनेर फोन आयो ।’ मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले मातहतका उच्च र जिल्ला अदालतहरु आफ्नो कार्यविधि अनुसार काम गर्न स्वतन्त्र हुने भन्दै कुनै दवाव र निर्देशन नभएको बताए ।
जिल्ला अदालतका एक कर्मचारीका अनुसार, बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने विरुद्ध गरेको भाषणलाई लिएर गाली बेइज्जतीको मुद्दा दर्ता भएको हो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरेको आन्दोलनका क्रममा बार अध्यक्ष श्रेष्ठले जबरालाई विचौलियाको नाइकेलगायतका आरोप लगाएका थिए ।
बार पदाधिकारीहरुले ‘प्रधानन्यायाधीश जबराले सडकमा भिजिलान्ते र भाडाका व्यक्तिहरु प्रयोग गरेर आफूहरु विरुद्ध उचालेको’ आरोप लगाएका थिए । ‘आफूहरुलाई बार पदाधिकारीहरुले भाडाका टट्टु र भिलिजान्ते भनेकोमा उहाँहरुको आपत्ति रहेछ, त्यसैले मुद्दा दर्ता गर्नुभएको हो’ जिल्ला अदालतका ती कर्मचारीले भने ।
प्रतिक्रिया 4