+
+

जसको मोबाइलमा ४६ युवतीको नग्न तस्वीर भेटियो

गौरव पोखरेल गौरव पोखरेल
२०७८ मंसिर ७ गते १४:५६
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । काठमाडौंको भोटेबहालका २० वर्षीय लव खड्गीलाई प्रहरीले एक किशोरीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ गरेको थियो । साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइराख्छन्, त्यसैले प्रहरीले यस घटना पनि सामान्य केशहरुमा झैँ छानविन गरिरहेको थियो ।

तर ब्यूरोमा रहेको फरेन्सिक प्रयोगशालामा खड्गीको मोबाइल जाँच गर्दा अनुसन्धान अधिकृतले जे देखे, त्यसले प्रहरीलाई नै चकित बनाइदिएको छ । अहिले प्रहरीले यसलाई गम्भीर घटनाको रुपमा लिएर छानविन गरिरहेको छ । प्रहरीलाई सुरुमा लागेको थियो, ‘खड्गीले फोटोसपबाट नक्कली तस्वीर बनाएर एक जना किशोरीलाई धम्क्याएका होलान् ।’

तर फरेन्सिक जाँचमा एक वा दुई मात्र होइन, ४६ जना किशोरी र युवतीको नग्न फोटो र भिडियो बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ । ब्यूरोका एक अधिकृत अनलाइनखबरसँग भन्छन्, ‘साइबर अपराधका मैले कयौं केशहरु हेरेँ, अहिलेसम्म यस्तो थाहा पाएको थिइन ।’

उनका अनुसार ती भिडियो तथा तस्वीरलाई तुरुन्तै जाँच गरेर वास्तविक भए नभएको पनि परीक्षण गरियो । त्यसक्रममा सबै भिडियो खड्गीलाई सामाजिक सञ्जालबाट तिनै किशोरी तथा युवतीहरुले पठाएको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

अधिकृतहरुका अनुसार ४५ जनाको फोटो भिडियो कसरी उनको मोबाइलमा भयो भनेर खड्गीसँग सोधपुछ गर्दा उनले केही आफ्नो पूर्वप्रेमिका भएको र केहीले इन्स्टाग्राममा पठाएको स्वीकारेका छन् ।

यसरी फसे किशोरी र युवती

खड्गी पक्राउ गरेको १५ वर्षीया किशोरीको जाहेरीको आधारमा हो । यो घटनामा इन्स्टाग्राममा उनले पीडितलाई फलो गरेका छन् । सुरुमा फलोब्याक नगरेपछि उनले गाली गरेका छन्, युवतीले जवाफ फर्काउँदै गएपछि बुबाआमालाई ‘छाडा बोलेको’ स्क्रिनसट पठाइदिने भनेर धम्की दिएका छन् ।

परिवारसँग डराएर किशोरीले विस्तारै नग्न तस्वीरहरु पठाउन थालेको  पीडितको जोहरीमा उल्लेखित विवरणमा खुलाइएको छ । ‘सुरुमा घाँटीभन्दा तल शरीरको निश्चित भागको फोटो पठाए कसैलाई नभनिदिने भनेर धम्क्याएको थियो’ जाहेरीमा भनिएको छ, ‘पछि भिडियो पनि पठाउन लगाएको थियो ।’ पटकपटक पठाउँदा पनि खड्गीले दुःख दिन नछाडेपछि किशोरीले परिवारका एक सदस्यलाई यो विषय सुनाइन् । त्यसपछि यो घटना प्रहरीसम्म पुगेको थियो ।

प्रहरीले उनकै जाहेरीका आधारमा अनुसन्धान गरिरहेको छ । तर घटनाको गम्भीरता अनुसार थप व्यक्तिहरुको पनि जाहेरी आए अनुसन्धानमा सहज हुने अधिकृतहरु बताउँछन् ।

पोर्न साइटमा अपलोड गर्ने धम्की

अनुसन्धान अधिकृतहरुका अनुसार खड्गीले पीडितलाई पोर्न साइटमा भिडियो हालिदिने धम्की दिएको पनि पाइएको छ । ‘उनले पोर्न साइटमा भिडियो पठाएजस्तो गरेर नक्कली स्क्रीनसट पनि तयार गरेको देखिएको छ’ एक अधिकृत भन्छन्, ‘तर उनले भिडियो चाहिँ पठाएका थिएनन् ।’

प्रहरीका अनुसार खड्गी ‘ट्याटु आर्टिस्ट’ हुन्, वसन्तपुरमा उनको पसल छ । ‘ट्याटु खोप्न आउने युवतीहरुको पनि नग्न तस्वीर र भिडियो मोबाइलमा बरामद भएको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उनीहरुको खोजी गरिरहेका छौं ।’

पीडितमध्ये अधिकांश खड्गीको डरका कारण प्रहरी कहाँ नआएको हुनसक्ने अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी नविन्द अर्याल भन्छन्, ‘कोही उहाँबाट पीडित हुनुहुन्छ भने डर नमानी निर्धक्क साथ साइबर ब्यूरोमा खबर गरिदिनु होला ।’

के भन्छन् खड्गी ?

प्रहरी सोधपुछका क्रममा उनले आफूले गल्ती गरेको स्वीकारेका छन् ।

उनले भनेका छन्, ‘मलाई जतिसक्दो धेरै जनाको न्यूड फोटो हेर्ने लत नै लागिसकेको थियो ।’ त्यही कारण उनले फरकफरक युवती र किशोरीहरुलाई पीडित बनाउने गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

अधिकृतहरु भन्छन्, ‘यो पनि एक किसिमको मानसिक रोग नै हुनसक्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?