+
+

अमेरिकामा महंगा सामान चोर्ने चोरको बिगबिगी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:१६

८ मंसिर, काठमाडौं । अमेरिकाका प्रमुख शहरमा राति पसल फोरेर महंगा सामान चोर्ने चोरहरूको बिगबिगी बढ्‍न थालेको छ ।

सोमबार लस एन्जेल्सस्थित नर्डस्ट्रम डिपार्टमेन्ट स्टोरमा चोरी भएको थियो । चोरहरूले राति उक्त स्टोरमा पसेर हजारौं डलर बराबरका सामान चोरेको शहरका प्रहरी प्रमुखले बताएका छन् ।

हालै सानफ्रान्सिस्को बे एरियामा समेत यस्तै प्रकृतिको चोरी भएको छ । आइतबार राति हेवार्डस्थित साउथल्याण्ड मलमा चोरहरूको एक समूहले चोरी गरेको थियो । उक्त समूहले हथौडाले पसलको बाकस फोरेर महँगा गहना लिएर भागेको सीएनएनले जनाएको छ ।

घटनालगत्तै प्रहरीले शनिबार राति ३ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो । नर्डस्ट्रम डिपार्टमेन्ट स्टोरमा भएको चोरीमा ८० जना संलग्न रहेको र उनीहरू कम्तिमा १० वटा सवारी साधनमा गहनासहित भागेको प्रहरीको भनाइ छ।

शुक्रबार राति मात्रै चोरहरूले सान फ्रान्सिस्कोको युनियन स्क्वायरस्थित लुइस भुइटन, बर्बेरी एण्ड ब्लुमिङडेल स्टोर र गाँजा पसललाई लक्षित गरेका थिए।

पसल फोडेर महंगा सामान चोरी हुने घटना क्यालिफोर्निया मात्रै भएका छैनन् अन्य शहरले समेत यो समस्या भोगिरहेका छन् । गत हप्ता शिकागोको बाहिरी क्षेत्रमा अवस्थित एक पसलभित्र एक समूहले जबर्जस्त पसेर १ लाख डलरभन्दा बढी मूल्यका ह्यान्ड ब्याग र अन्य सामान चोरेर भागेको थियो ।

पछिल्लो समय चोरीका घटना बढ्नुका पछाडि कोभिड-१९ महामारीको कुनै हात नरहेको पूर्वसुरक्षा अधिकारी पेटे इलियाडिसले बताए । ‘महामारीसँग यसको कुनै सम्बन्ध छैन’, उनले भने । तर सुरक्षा विज्ञहरूले चोरी हुनुका मिश्रित कारण रहेको बताउँछन् ।

महामारीबीच खुला गरिए पछि सान फ्रान्सिस्कोमा अपराध बढ्न थालेको छ । सान फ्रान्सिस्कोको मध्य जिल्लामा गतवर्षको तुलनामा लुटपाट र चोरीका घटना ८८ प्रतिशतले बढेको छ । त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार समग्र अपराधमा झण्डै ५२ प्रतिशतले वृद्धि भएको छ ।

लस एन्जेलेस र सान फ्रान्सिस्कोका प्रहरीले केहीलाई पक्राउ समेत गरेका छन् । तर चोरलाई थोरै सजायँ दिइने गरिएको इलियाडिसको भनाइ छ । उनका अनुसार यसको एउटा कारण कानून पालना गराउने निकायमा स्रोत-साधनको अभावले गर्दा कहिलेकाहीँ चोरीका मुद्दापछि धकेलिनु वा स्थगित हुनु हो ।

त्यस्तै प्रहरीको बजेट अन्य क्षेत्रमा पुनर्विनियोजन हुँदा केही प्रहरी अधिकृतको मनोबल घट्न पुगेको पनि इलियाडिसले सुनाए। ‘हालको अवस्थामा मानिसलाई अभियोजन लगाउने राजनीतिक इच्छाशक्ति देखिँदैन’, उनले भने, ‘जेल भरिभराउ भएको र अभियोजनकर्ताले मुद्दालाई प्राथमिकतामा नराख्ने अवस्थामा प्रहरी अधिकृतले वादविवादमा फँसेर आफ्नो समय खेर फाल्छन् त ?’

कुनै-कुनै राज्यमा सामान्य प्रकृतिका घटनालाई अपराध नठानिने अवस्थालका कारण अपराधीले आफू अनुकूल प्रणाली प्रयोग गर्ने मौका पाएको ओहाओस्थित सेक्युरिटी फर्म एसआरएमसीका अध्यक्ष लिन्डा बुएलको बुझाइ छ ।

जस्तै क्यालिफोर्नियामा केही अपराधमा सजायँ कटौती गरी जेलमाथि पर्ने चाप कम गर्न भन्दै सन् २०१४ मा पारित गरिएको एक कानुनी व्यवस्थापछि चोरी रकमको न्यूनतम ‘थ्रेसहोल्ड’ ५ सयबाट बढाएर ९५० डलर पुर्‍याइएको थियो । ९५० डलरसम्म चोरी गरेको घटनालाई सामान्य दुष्कर्म मान्दा चोरीका घटना थप बढेको बुएलले बताइन् ।

क्रिसमसका बेला पसल फोरेर चोरी हुने घटना सामान्य बन्दै गएको पनि बुएलको भनाइ छ किनभने चाडपर्वमा सामानले पसल भरिभराउ हुने र चोरेर भाग्न सजिलो हुन्छ । तर संगठित गिरोहले अन्य समयमा समेत चोरी गर्छन् ।

लुटपाट र चोरीबाट देशभरका बिक्रेताले हरेक वर्ष ४५ बिलियन डलर गुमाउनु परेको भन्दै इलिनोइसका महान्यायाधिवक्ता क्वामे राओलले संगठित अपराध नियन्त्रण गर्न भन्दै सेप्टेम्बरमा एउटा कार्य टोली नै गठन गरेका थिए ।

कानून पालना गराउने निकायको कमजोर नियमन र निगरानीसँगै चोरेका सामान सजिलै बेच्न सकिने हुँदा पनि चोरीका घटना बढेका हुन् । अनलाइन र फुटपाथ दुबै माध्यमबाट सजिलै चोरेका सामान बिक्री भइरहेको भन्दै इलियाडिसले भने, ‘इ-कमर्शका प्ल्याटफर्ममार्फत् चोरेका सामान सजिलै बेच्न सकिन्छ ।’ सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?