
८ मंसिर, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा छुट्टै मिसिल व्यवस्थापन तथा सबुत भण्डारण कक्ष स्थापना गरिएको छ । सखुवाप्रसौनी गाउँपालिकाले १२ लाख रुपैयाँको लागतमा मुद्दा शाखा माथि भण्डारण कक्ष तयार गरिदिएको हो ।
भण्डारण कक्षको मंगलबार सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, निम्बस ग्रुपका जगदिश अग्रवाल र प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे ।
नव निर्मित कक्षमा तीन वटा आर्थिक वर्षका मिसिल, असीमित हद म्याद भएका फाइल र सबुत प्रमाणलाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । छुट्टै कक्ष निर्माणले मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिए ।
मुद्दा शाखाका फाइल व्यवस्थित राख्न समस्या भएको जानकारी पाएपछि भवनमा तला थप्न सहयोग गरेको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जयसवालले जानकारी दिए ।
भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक दराज लगायत सामाग्रीको बन्दोबस्त भने विन्दबासिनी गाउँपालिका र निम्बस ग्रुपले गरेको छ । गाउँपालिकाले ३ लाख र निम्बस ग्रुपले ५ लाख ७० हजार रुपैयाँको सामग्री सहयोग गरेका छन् ।
प्रतिक्रिया 4