+
+

एमाले महाधिवेशनका लागि सौराहाका ३५ सय कोठा बुक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते २०:२३
सौराहा

८ मंसिर, चितवन । नेकपा एमालेको चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिलाई ९ समूहमा बाँडेर आवास व्यवस्थापन गरिएको छ ।

चितवनको सौराहामा हुने बन्दसत्रमा सहभागी हुने प्रतिनिधिहरुलाई विभिन्न होटलमा सकभर सहज हुने गरी व्यवस्थापन गरिएको आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए ।

उनले ७ वटा प्रदेश, केन्द्रीय समिति र आयोग तथा जनसंगठन र प्रवास कमिटी गरी ९ क्लष्टरमा प्रतिनिधिहरुलाई विभाजन गरी राखिने बताए । कुन होटलमा कति प्रतिनिधि राख्ने, महिला र पुरुषहरुको व्यवस्थापन कसरी गर्ने भन्ने काम सकिएको संयोजक पोखरेलले बताए ।

‘एकै जिल्लाबाट आउने प्रतिनिधिहरुलाई सकभर एउटै होटलमा राख्नेछौं, नअटाएर नजिकैको अर्को होटलमा मिलाएका छौं’, संयोजक पोखरेलले भने ।

सौराहामा आवास व्यवस्थापन निकै चूनौतीपूर्ण बनेको छ । महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुनेमा बुधबार मात्रै १०६ जना प्रतिनिधि थप मनोनित गरिएका छन् । ती प्रतिनिधीहरुको व्यवस्थापनसमेत गर्नुपर्ने काममा लागिरहेको संयोजक पोखरेलले बताए ।

एमालेले सौराहाका ३५ सय बेड प्रतिनिधिका लागि बुक गरेको जनाएको छ । तर, प्रतिनिधिका लागि भन्दा अघि नै पार्टी नेता कार्यकर्ताले होटलहरू बुक गरेकोले व्यवसायीहरूले तोकेको जति कोठा सहज रूपमा उपलब्ध गराउन सकिरहेका छैनन् ।

सौराहामा एक रातमा बढीमा ६ हजार ५ सय जना बास बस्न सक्छन् । सौराहामा ११० होटल छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहाका व्यवसायीले अब कोठा थप गर्न नसक्ने अवस्था रहेको बताए । ‘हामीसँग भएका जति एमालेलाई दिइ नै सक्यौं, अब थप व्यवस्थापन गर्न सक्ने अवस्था नै छैन’, अध्यक्ष भट्टराईले भने, ‘सौराहाभन्दा अलि परका होटल भए सम्भव होला ।’

एमालेले सौराहाका व्यवसायीसँग आवास तथा खानपिन व्यवस्थापनका लागि १ करोड ६० लाख ७४ हजार ५ सय रकम तिर्ने सम्झौता गरेको छ । त्यसको ५० प्रतिशत रकम पेश्की स्वरुप दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?