+
+

‘ओलीले माडीलाई मणि बनाउँछु भन्थे मन्दिर ल्याएर आए’

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर ९ गते २१:१२

९ मंसिर, माडी (चितवन) । जहानियाँ राणा शासन विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दै थियो । जनता जति आन्दोलित हुँदै थिए, राज्य उति नै क्रुर । राणा शासन विरुद्धको आन्दोलन र राज्यको हस्तक्षेप काठमाडौंदेखि गाउँगाउँमा पनि विस्तार भइरहेको थियो । त्यसको असर चितवनको माडीमा पनि पर्यो, बघौडामा पनि पर्यो । उत्कर्षकालीन राणा शासनको निरकुंश यातनामा बघौडाकी सुभाग्य महतो पनि परिन् ।

००७ सालको मंसिर १२ गते शासकले बघौडा गाउँलाई चारैतिरबाट घेरा हालेर स्थानीयलाई लछारपछार गर्न थाले । ठ्याक्कै त्यहीबेला सुत्केरी व्यथाले च्यापेर आलतालस भएकी सुभाग्यले बल्लबल्ल सन्तान त जन्माइन् तर बच्चाको सालनाल काट्न नपाउँदै भागेर अर्काे गाउँमा जानुपर्यो, भाग्दाभाग्दै सालनाल काट्नुपर्यो । निरंकुशतालाई मन नपराउनु सुभाग्यको ठूलो कसुर थियो, व्यथा लागेका बेला समेत धर नपाउनु त्यसको परिणाम ।

‘आमाको कथन अनुसार राणाको फौज आएर बघौडा गाउँ घेरा हालिहाल्यो । मान्छेहरुको गाउँबाट भागाभाग भयो आमा पनि भाग्नुभयो,’ ७१ वर्षीय रामलखन महतो अहिले सम्भिmन्छन्, ‘सुडेनीले खेतमा लगेर साल काटिदिइन्, मलाई इनारबरुवा गाउँमा पुर्याएर बचाए ।’

आमाको कथा सुन्दासुन्दै कम्युनिष्ट

सुभाग्यले त्यसरी जन्माएर बचाएका रामलखन महतो, उनै आमाका कुरा सुनेर क्रान्तिकारी बने, उनै आमाका कथा सुनेर कम्युनिष्ट । माडीमा कम्युनिष्ट पार्टीको जग खने, माडीलाई कम्युनिष्टहरुको ‘हब’ बनाउन एक-एक इँटा थपे । ‘म ३/४ वर्षको हुँदा सधैं आमाको काखमा सुत्थें । आमालाई कथा सुनाउनुस् न भन्थें,’ महतोले अनलाइनखबरसँग भने, ‘आमाले मलाई राणाले गरेको अत्याचार, जमिनदारहरुले हलि गोठालोलाई गरेको शोषणको कथा सुनाउनुहुन्थ्यो । त्यो सुनेर सामान्तवादीहरुसित मलाई रिस उठ्दै गयो । आमाको कथा सुन्दासुन्दै म त कम्युनिष्ट पो भइसकेछु ।’

उनी जन्मिँदा मुलुकमा कम्युनिष्टहरु त थिए तर संस्थागत भइसकेका थिएनन् । २००६ सालमा पुष्पलालसहितका पाँच नेताले नेकपा गठन गरे । तर २०१४ सालमा पुगिनसक्दै कम्युनिष्टहरुमा तिक्तता सुरु भइसकेको थियो । दोस्रो महाधिवेशनमा नेकपा दुई धारमा बाँडियो, विस्तारै विभक्त भयो । यता हुर्किंदै गरेका रामलखनको विद्रोही चेत पनि बढ्दै थियो । बढ्दै थियो, राजा महेन्द्रको अर्काे निरंकुशतन्त्र र पञ्चायतको जर्जर शासन पनि । त्यसैले जनताको पक्षमा काम गर्छौं र जनताका लागि काम गर्छौं भन्नेहरुका लागि त्यो समय जटिल थियो ।

भूमिगत आन्दोलन चलाइरहेका राजनीतिक दलहरुलाई महतोजस्ता मान्छेहरुको आवश्यकता थियो, चेतनाले भरिंदै आएका महतोलाई संगठित हुन पार्टी चाहिएको थियो । यी दुबै आकांक्षाको संयोजनकै कारण हो उनले रुपलाल विश्वकर्माले नेतृत्व गरिरहेको पार्टी सर्वहारावादी श्रमिक संगठनको सदस्यता लिए । उनलाई विश्वकर्माले पार्टी सदस्य बनाए । ‘कम्युनिष्ट विचारका किताबहरु पढेपछि २० सालमा म पार्टीमा प्रवेश गरें, २१ सालमा सदस्यता पाएँ,’ महतो भन्छन् ।

त्यसबेला माडीमा कम्युनिष्टहरु कम थिए, उनी संगठन विस्तारका लागि यता उता दौडिन थाले । पार्टीमा नयाँ सदस्यहरु थप्दै गए । उनैले सदस्यता दिएका नेताहरु कम्युनिष्ट पार्टीका माथिल्लो तहसम्म पुगे । ‘पुष्पलालको विचारधारा बोक्ने मान्छे हुँ म, अहिलेसम्म उनकै सिद्धान्तमा अडिग छु, मेरो सिद्धान्त मार्क्सवाद लेनिनवाद हो,’ ७१ वषर्ीय महतो जोशिला सुनिन्छन् ।

यद्यपि उनी सशस्त्र संघर्षको भने विरोध गर्थे । कम्युनिष्टहरुले गराएको जुगेडी काण्ड, झापा काण्डजस्ता हिंसात्मक गतिविधिमा उनको जहिले पनि असहमति थियो, फरक मत रह्यो । ‘मेरो सोंच क्रान्ति गर्ने हो, लडाइ गर्ने हो । तर नेपालमा कुनै देशको उपनिवेश छैन । नेपालीलाई जोगाउनुपर्छ भन्ने थियो, अहिले पनि त्यही छ,’ महतो भन्छन्, ‘त्यसैले मैले पार्टीले लिएको सशस्त्र गतिविधिलाई भने सघाउन सकिन ।’

अझै सुकुमबासी

संभवतः यसैकारण ०२८ सालको झापा काण्डपछि महतो राजनीतिमा निष्क्रिय बने । आफ्नो पुस्तैनी पेशा ज्यालामजदुरीलाई थप मजबुत बनाउँदै गए । ऐलानी जमिनमा बनेको घर सिंगार्न थाले । आज पनि यी पुराना कम्युनिष्ट सुकमबासी हुन् । यिनै मात्रै होइन यिनले जन्माएका चार छोराको पनि आफ्नो भन्नु केही छैन । पेट अधियाँबाट आएको अन्नले धानिएको छ । ओत ऐलानी जग्गामा बनाएको झुपडीमा पाएका छन् ।

‘म तिमीहरुको नोकर हैन भनेर कुनै पनि हिंसामा आबद्ध भइनँ । हतियार उठाएर गर्ने काम क्रान्ति होइन भन्ने भयो मलाई,’ महतो भन्छन्, ‘कुनै सत्तालाई ‘डाउन’ गर्नुछ भने हतियार त चाहिन्छ तर नेपालमा हतियार नै नभइ सत्ता पल्टियो नि हैन ? हामीले यो इतिहास देख्यौं नि । १० वर्षसम्म जनयुद्ध गरेर त केही भएन, १९ दिनको जनआन्दोलनले राजाको शासन नै गयो ।’

२०२७ सालमा दरभंगा पुगीवरी पुष्पलाललाई भेटेर फर्किएपछि यिनी पार्टीमा सक्रिय हुँदैथिए । ‘पार्टीले मलाई दरभंगा पठायो । राजनीतिक शिक्षा दिइयो, क्रान्ति गर्ने हो तर क्रान्तिकारीले पहिले ठाउँ बनाएपछि मात्रै क्रान्ति संभव हुन्छ, नत्र सकिन्न,’ त्यसबेला पुष्पलालले भनेको कुरा यसबेला महतो सम्झिन्छन्, ‘जनताको बीचमा नै लुकेर क्रान्ति गर्नुपर्ने भएकाले सबैभन्दा पहिले जनताको मन जित्नुपर्छ ।’

०२८ सालमा झापा काण्ड भयो, महतोलाई कम्युनिष्टहरुले पनि सही गर्दै छैनन् कि क्या हो भन्ने लाग्यो, मनमा चिसो पस्दै गयो । झण्डै-झण्डै १० वर्षजति पार्टी काममा सक्रिय भए । पछि ३० सालदेखि त्यति मन लागेर काम गरेनन् । पार्टीका नीतिप्रति असहमति जनाउँदै ०३६ सालको जनमतसंग्रहमा पनि चुप बसे ।

महतो भन्छन् – नेताहरु म कम्युनिष्ट हुँ भन्छन्, तर काम कुनै नेताको कम्युनिष्टको जस्तो छैन । अहिले जति खर्च राममन्दिर र मूर्ति बनाउनमा लाग्छ, त्यो रकमलाई माडीका प्रत्येक सुकमबासीको पक्की घर बन्न सक्थ्यो, गल्ली गल्ली पिच रोड बन्थ्यो ।

‘म गरिब, ज्याला मजदुरी गरेर खाने मान्छे, दिनभरी काम गरेर बेलुका ल्याएपछि मात्रै खान सकिने स्थिति छ,’ महतो भन्छन्, ‘अनि राजनीति गरेर कहीं हुन्छ त ? नत्र म पनि केन्द्रीय नेता हुन्थें नि । तर गरिब भएर अघि जान सकिनँ ।’ राजनीतिक चेतना बोकेदेखि कम्युनिष्ट पार्टीमा लागेका इमान्दार कार्यकर्ताले समयक्रमसँगै गरिबीका कारण राजनीतिमा टिक्न सकिन भन्नु नै संभवतः कम्युनिष्ट विचारधारामा विचलनको सुरुवात हो । ०४६ मा समकालीन सहकर्मीहरु परिवर्तनको झण्डा बोकेर दौडधुप गर्दा यी हलो काँधमा हालेर खेततिर गए । ‘४६ सालको परिवर्तनले मान्छेलाई बोल्ने स्वतन्त्रता त दियो, तर गरिबमारा राज्यको नीति बदलिएन,’ महतो भन्छन् ।

तर गर्दागर्दैको राजनीति छोडेर बसेँ भन्ने कुराले उनलाई कता कता नबिझाएको भने होइन । त्यही बेला श्रीमती मेधियाले फेरि पार्टीको सदस्यता लिन महतोलाई आग्रह गरिन् । ‘मेरो बुढीले तिमीले त पार्टी छोड्यौ कुनै पार्टीमा प्रवेश गर न भनिन्, तर रामलखन महतो भनेर चिनेकै छ म कुनै पार्टीमा जान्नँ भनें । तर उनले पार्टीमा लागेर अझै काम गर्नुपर्छ भनेर सम्झाइन्,’ महतो भन्छन्, ‘कम्युनिष्ट छोडेर अन्त जान्न भनेपछि एमाले पनि कम्युनिष्ट हो नि त भन्ने कुरा आयो । म ५२ सालमा एमालेमा सांगठनिक सदस्य भएर प्रवेश गरें ।’ योसँगै महतोको राजनीतिक इच्छाशक्ति झण्डै-झण्डै १७ वर्षपछि पुनः बौरियो । आमाको कारण कम्युनिष्ट बनेका महतो श्रीमतीका कारण राजनीतिमा फर्किए ।

उनी मजदुरीसँगै कम्युनिष्ट विस्तारका लागि गाउँमा फेरि सक्रिय हुन थाले । तर ५२ पछि राजनीतिक दलहरुमा देखिएको खिचातानीले उनको मन पटक्कै बुझेको थिएन, जस्तो अहिले भइरहेको छ । ०६२/०६३ को जनआन्दोलनमा भने उनी दिनदिनै हिंडे । राजाले जनतालाई नै सत्ता फिर्ता नगर्दासम्म उनको सक्रियता कायम रह्यो । ‘जब ज्ञानेन्द्रले निरंकुश शासन गर्न थाले, मलाई बहुत रिस उठ्यो, वीरेन्द्रको वंश खत्तम भएपछि नेपाल त रावणको राज्यजस्तो पो भयो । जनताको दुःखमा जनता सबै साथमा हुनै पर्यो नि, त्यसपछि त चलो भाइ,’ महतोले स्मरण गरे, ‘जनआन्दोलनका बेला म खुब सक्रिय भएँ । नारा लगाएँ, जुलुसमा गएँ, पुलिसहरु बन्दुक डन्ठा लिएर आउथे तर मैले निर्धक्क भएर काम गरेँ ।’

०६२/६३ को जनआन्दोलनले मुलुकमा लोकतन्त्र पुनर्स्थापित गर्यो, गणतन्त्र स्थापित भयो । त्यसले रामलखन महतोलाई खुसी नमिल्ने कुरै भएन । तर मुलुकमा आएको गणतन्त्र रामलखन महतोहरुका लागि काम लाग्दो भएन । उनी नेताहरुले आ-आफ्नो स्वार्थकेन्द्रित राजनीति गरेको देखेर दिक्दार हुन थाले । तर एक पेट अन्नका निमित्त ज्यालामजदुरी र दुखजिलो गर्नुपर्ने उनको वाध्यता यथावत् थियो । आजपर्यन्त महतो मजदुरी गर्नै दौडिन्छन् र घण्टाका हिसाबले ज्याला बुझेर घर व्यवहार चलाउँछन् । यति धेरै परिवर्तन देखेका महतोको जीवन ७१ वर्षदेखि उही लयमा चल्नु कम्युनिष्ट राजनीतिको असफलता मध्येको एक उदाहरण हो ।

तै, मुलुकका ठूला दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा र पार्टी एकीकरण गर्दा महतो भयंकर खुसी भए । ‘त्यो बेला दुई दलको झण्डा एकै ठाउँमा देखें मलाई बहुत खुसी लाग्यो । एकचोटी नेपालमा वामपन्थी सरकार हेरेरै छोड्छु भन्ने अठोट थियो, पूरा पनि भयो । तर बीचमै नेताहरुले हाम्रो खुसीमाथि कुठाराघात गरे । म नेताहरुलाई प्रश्न गर्न चाहन्छु- फेरि नेपालमा वाम सरकार बन्न सक्छ त ?’ महतो झोक्किन्छन् ।

वाम पार्टीको एकल सरकार बनाउने र कम्युनिष्टलाई सबैभन्दा ठूलो दल भएको हेर्ने महतोको चाहना त पूरा भयो तर सरकार र कम्युनिष्ट एकता भने अधुरै रह्यो । नेकपा एक भएपछि माडीमा नेताहरु आउँदा जसरी भए पनि भाषण सुन्न जाने उनले पछिल्लो पटक एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाँदा भने र्फकेर पनि हेरेनन् ।

‘नेताहरु म कम्युनिष्ट हुँ भन्छन्, तर काम कुनै नेताको कम्युनिष्टको जस्तो छैन । अहिले जति खर्च राममन्दिर र मूर्ति बनाउनमा लाग्छ, त्यो रकमलाई माडीका प्रत्येक सुकमबासीको पक्की घर बन्न सक्थ्यो, गल्ली गल्ली पिच रोड बन्थ्यो,’ महतो भन्छन्, ‘प्रचण्ड र ओली आएका बेला माडीलाई मणि बनाउछु भनेका थिए । अहिले बनाए राममन्दिर, रामममन्दिर बनाएर बन्छ त मणि ?’

तस्वीरहरू : शंकर गिरी 

लेखकको बारेमा
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment