+
+

अन्ततः विराटनगर कारागार आए गुन्डानाइके गिरी

हरि अधिकारी हरि अधिकारी
२०७८ मंसिर ९ गते १०:१९

९ मंसिर, विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैदी भुक्तान गरिरहेका गुन्डानाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङको विराटनगर ल्याइएको छ । कांग्रेस नेताहरुको दबावमा गिरीलाई बिहीबार बिहान करिब चार बजे कारागार ल्याइएको हो । मोरङ आएलगत्तै उनलाई कारागार भित्र प्रवेश गराइएको कारागार स्रोतले जानकारी दिएको छ ।

गत भदौं १७ गते डिल्लीबजार कारागारबाट मोरङ सरुवाको निर्णय भएपछि गिरीलाई कात्तिक १६ गते विहान विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रदर्शन गर्दै प्रवेश गर्न दिएनन् । कैदीबन्दीले प्रवेश नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार सरुवा गर्याे । सप्तरी सरुवा भएको १७ दिनपछि कांग्रेस नेताहरुको दबावमा उनलाई पुनः मोरङ नै ल्याइएको छ ।

मंसिर ४ गते सरुवाको निर्णयपछि कारगारका कैदीबन्दीहरु गिरीको विपक्षमा उभिए । गिरीलाई मोरङ ल्याउनु हुँदैन भन्ने पक्षमा देखिएका कारागारका चौकिदार कात्तिक कामतसहित ८ जनालाई बुधबार अन्यत्र सरुवाको निर्णय भयो । उनीहरुलाई सरुवाको निर्णय भएको २४ घण्टा बवित्दै गिरीलाई मोरङ ल्याइएको हो ।

बुधबार बेलुका मोरङ कारागारका चौकीदार कात्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित जेल प्रशासनमा रहेका मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलको सिन्धुली सरुवाको निर्णय भएको थियो । तीमध्ये कामत र परियारलाई मात्रै सिन्धुली लगिएको छ ।

शक्तीको दुरुपयोग

गिरी यसअघि मोरङ कारागारमा चौकीदार थिए । चौकीदारको रुपमा रहँदा बजार क्षेत्रमा गुण्डागर्दी र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने लगतै उनलाई विराटनगर पठाउने निर्णय भयो । गिरीलाई विराटनगर ल्याउन कांग्रेसका केही नेताहरुले लविङ गरेका थिए । गिरीको सरुवामा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको नाम जोडिएको छ ।

‘कारागार भित्रको व्यापारबाट राम्रो आम्दानी हुन्छ, बजार मूल्य भन्दा चार गुणा बढी शुल्क लिइन्छ,’ कारागार स्रोतले भन्यो, ‘नौ सय कैदीबन्दी भएको कारागारमा दैनिक मुनाफा डेढ लाख भन्दा बढी हुन्छ, त्यसैले यहाँ गिरी पावर शो गर्दै आउन सफल भएका छन् ।’

कारागारमा रहेका कैदीका अनुसार टेलिफोन गरेको एक मिनेट ९ रुपैयाँ तिर्नुपर्छ । ‘कारागारले दिने खाना खान सकिंदैन,’ स्रोतले भन्यो, ‘खानामा राम्रो व्यापार हुन्छ ।’ गिरीलाई विराटनगर ल्याउँदा आगामी चुनावमा खर्च व्यवस्थापन गर्न सहज हुने भएकाले कांग्रेस नेताहरु लागेको स्रोत बताउँछन् ।

गिरीका लागि डेढ महिनामा तीन चौकीदार फेरिए

गिरीलाई मोरङ ल्याएर चौकिदार बनाउन असोज १८ गते चौकिदार नविन राईलाई झुम्का कारागार स्थानान्तरण गरिएको थियो । राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई चौकिदारको जिम्मेवारी दिइएको थियो । गत कात्तिक १६ गते गिरीलाई विराटनगर ल्याइयो । तर गुरुङले प्रवेश गर्न दिएनन् । कात्तिक २४ गते गिरीकै योजनामा कारागार भित्र झडप भयो । झडपमा चौकिदार गुरुङसहित ६ जना घाइते भए । झडपपछि चौकिदार गुरुङसहित १४ जना कैदीको सरुवा भयो ।

गुरुङको सरुवापछि गिरीकै पक्षमा रहेका कात्तिक कामतले चौकिदारको जिम्मेवारी पाए । तर चौकीदारको जिम्मेवारी पाएपछि कामत गिरीको विपक्षमा उभिए । आफ्नो विपक्षमा उभिएपछि गिरीकै योजनामा चौकिदार कामतसहित आठ जनाको बुधबार सरुवा भएको स्रोतले जनाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?