+
+
पुस्तकांश :

नेपाली कांग्रेसको अबको बाटो

डा. डिला संग्रौला डा. डिला संग्रौला
२०७८ मंसिर ९ गते १२:५७

राणाशासनको बेलादेखि निरन्तर जनताका हकअधिकार र लोकतान्त्रिक मूल्य-मान्यताका लागि टाउकोमा कफन बाँधेर राजतन्त्रको अन्त्य एवं लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन व्यवस्था ल्याउनका लागि नेतृत्व गर्दै आएको नेपाली कांग्रेस नेपालको राजनीति र सामाजिक परिवर्तनको संवाहक शक्ति हो ।

सात दशकभन्दा लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसलाई अलग्गै राखेर नेपालको राजनीति र सामाजिक अध्ययन र इतिहास अपूरो हुन्छ । त्यसैले नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्यायवाची पनि भनिन्छ । एउटा जीवन्त पार्टीभित्र आफ्नै मूल्य-मान्यता, विधि-विधान र आन्तरिक जीवनमा अनेक उतारचढाव पनि आइरहन्छन् ।

निर्वाचनमा जाँदा कहिले जितिन्छ, कहिले हारिन्छ । बीपी कोइरालाले भने जस्तै हाम्रा लागि प्रजातन्त्र स्थापनापछिको सत्ता अपरिहार्य छैन । तर शासनमा पुग्नेले विधिपूर्वक चल्नैपर्छ र त्यहाँ जनताले चुनेका प्रतिनिधिहरू पुग्नैपर्छ भन्ने हो । आज तीनै चरणको निर्वाचनपछि नेकपा कम्युनिष्ट पार्टीको सरकार छ भने नेपाली कांग्रेस प्रतिपक्षमा छ तर कांग्रेसले अघि सारेका विचार जनताका प्रतिनिधिबाट बनेको संविधानसभा मार्फत संविधान बन्नुपर्दछ र संघीयताको माध्यमबाट सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्नुपर्दछ भन्ने नीतिले जित्यो तर सत्तामा पुगेका दुई तिहाइको नेतृत्व गर्ने सरकार त्यस दिशातर्फ मुखरित नभई संविधानको भावना विपरीत एवं समृद्धि र विकास जनताको घरदैलोमा पुर्‍याउन नसक्नु नै आजको चिन्ता र चासो हो ।

जनतामा राजनीतिक चेतना वृद्धि गरी प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ वि.सं. २००३ मा स्थापित कांग्रेस २०७७ सम्म आइपुग्दा तत्कालीन र दीर्घकालीन रणनीति, कार्यनीति र अजेन्डाका आधारमा विजय र पराजयको भागीदार भएको छ ।

स्थापनाकालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाको उद्देश्य भए पनि वि.सं. २०१२ मा प्रजातान्त्रिक समाजवाद कांग्रेसको सैद्धान्तिक आधार तय भयो । वि.सं. २०१५ को प्रतिनिधिसभाको निर्वाचनमा १०९ स्थानमा ७४ स्थान हासिल गरी ३७.२२ प्रतिशत मत कांग्रेसले प्राप्त गर्‍यो भने कम्युनिष्टको मत ७.२ प्रतिशत मात्र थियो । यसबेला कांग्रेसले जित्नुको मूल कारण राणाशासन विरुद्धको स्पष्ट नीतिगत व्यवस्था एवं बीपीको सफल नेतृत्व नै थियो ।

बीपी कोइरालाले नेतृत्व गरेको सरकारले क्रान्तिकारी भूमिसुधार योजना लागू गरी प्रजातान्त्रिक समाजवादको प्रयोगको पहिलो मोडलको अभ्यास गरेका थिए । वि.सं. २०४८ मा प्रतिनिधिसभाको निर्वाचनमा २०५ सिटमध्ये ११४ सिट कांग्रेसले पायो अर्थात् ३७.७५ प्रतिशत मत कांग्रेस र ३४.०६ प्रतिशत मत कम्युनिष्टको रहृयो ।

कांग्रेस विजयी हुनुको मूल कारण गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सफल नेतृत्व र २०४६ सालको परिवर्तनमा ३० वर्षीय पञ्चायत व्यवस्थाको अन्त्य एवं प्रजातान्त्रिक पुनर्बहालीको अग्रिम नेतृत्व कांग्रेसले लिनु नै थियो ।

सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले शिक्षा र स्वास्थ्यमा राम्रा उल्लेखनीय कार्य पनि गरे तर कांग्रेस निजीकरणतर्फ लाग्यो भन्ने प्रचारप्रसार पनि भयो । पार्टीको सैद्धान्तिक आधारमा भन्दा व्यक्तिगत विचारधाराका आधारमा मन्त्रालयको नीति बन्यो । अर्थतन्त्रमा ढुकुटी जम्मा भयो तर प्रयोग कम भयो ।

वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा २०५ सिटमध्ये जम्मा ८३ सिट कांग्रेसले प्राप्त गरी कांग्रेस कम्युनिष्टको बराबरी ३३ प्रतिशत मत भयो । कांग्रेसले बहुमत ल्याउन सकेन । पार्टीभित्र आन्तरिक खटपटी शुरू भइसकेको थियो, त्यसैले नेकपाको अल्पमतको सरकार बन्यो तर यसले जनताको भावना अनुसार राम्रो काम गर्न सकेन ।

वि.सं. २०५६ को निर्वाचनमा २०५ सिटमा १११ सिट कांग्रेसले हासिल गर्‍यो अर्थात् ३७.२९ प्रतिशत मत प्राप्त गर्‍यो तत्कालीन एमालेले ३१.६६ प्रतिशत मत प्राप्त गरेको थियो ।

वि.सं. २०६४ को निर्वाचनमा तत्कालीन माओवादीको मुद्दालाई जनताले समर्थन गरे फलस्वरुप इतिहासमा सबभन्दा कम मत कांग्रेसले २२.६९ प्रतिशत र माओवादीले ३०.५२ प्रतिशत प्राप्त गर्‍यो । तर दुई ठूला कम्युनिष्ट पार्टीले ६ वर्षसम्म पनि संविधानसभाबाट संविधान दिन सकेनन् ।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेसले ५७५ मध्ये ११६ सिट अर्थात् २९.८० प्रतिशत मत ल्याई सरकारको नेतृत्व गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान दिन सफल भयो भने २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ३३ प्रतिशत मत प्राप्त गर्‍यो भने ४९ प्रतिशत मत प्राप्त गरी कम्युनिष्टले सरकार गठन गरे ।

नेपाली जनताले नेकपाको मूल नारा स्थिर, स्थायित्व, शान्ति र समृद्धिको मुद्दालाई मत दिए भने १६५ सिटमध्ये कांग्रेस २३ सिटमा मात्र खुम्चिन पुगेको छ । नेपाली कांग्रेस हार्नुका पछाडि थुप्रै कारण छन् । उच्च नेतृत्व तहमा रहेको पारस्परिक अविश्वास, स्वार्थी प्रवृत्ति, लोभ मोलाहिजा, गुटपरस्त मनोभाव आदि प्रमुख कारणले जनताबाट बहुमत प्राप्त गरे पनि तोकिएको समयसम्म शासन चलाउन कांग्रेसले सकेन ।

नेपाली कांग्रेसभित्र गणेश र कुमार प्रवृत्ति हावी भएको पाइन्छ । संगठन गर्नुभन्दा नेताको वरिपरि चाकरी र चाप्लुसी गर्नेलाई पुरस्कृत गर्दा काम गर्ने कार्यकर्तामा निराशा उत्पन्न भएको छ । त्यसैले नेताको चाकरी र चाप्लुसी वरिपरि घुम्नेबाट मुक्त कांग्रेस बनाउन अत्यन्त जरूरी छ

७१ प्रतिशत बजेट गाउँमा लैजान्छु भनेर घोषणा-पत्रमा भनियो तर गाउँ/नगरमा कतै पनि रोजगारीमूलक कार्यक्रम लागू गरिएन । तल्लो तहका जनताको आर्थिक स्तर उठाउने खालका कुनै खास कार्यक्रम सञ्चालन गरिएन । पाएको अवसरलाई आफ्नै पार्टीभित्रकै सहयोद्धाहरू सिध्याउने र आफू मात्रै कसरी बलियो हुने ? भन्नेमै केन्द्रदेखि तल्लो कमिटी स्तरसम्म कांग्रेसका नेतादेखि कार्यकर्ता परिचालित भए । यसै त कांग्रेस सांगठनिक रूपमा कमजोर थियो । आपसी झगडाको कारणले विरोधीसँग भिड्न नसक्ने भयो ।

आर्थिक प्रलोभनको कारणले वैचारिक ओज घटेर गयो । जनतालाई आकर्षण भन्दा विकर्षण गराउने काम नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताले अहिलेसम्म पनि गरिरहेका छौं । यी समग्र दुराग्रह ‘मै खाऊँ, मै लाऊँ’ भन्ने प्रवृत्ति, विचार र दर्शनको अध्ययनमा कमी भएका कुरालाई नसुधार्ने हो भने, सुकेको रूख फेरि नपलाए झैं कांग्रेस फेरि पनि जनताको प्रिय दल बन्न अप्ठ्यारो छ ।

कांग्रेस जस्तो ऐतिहासिक गौरव र गरिमा भएको, समाज रूपान्तरण र राष्ट्रिय स्वाधीनता प्राप्तिका लागि लामो संघर्ष गरेर आएका कारणले विश्वले चिन्ने, विश्वास गर्ने राजनीतिक दल आज कसैले नचिन्ने र कसैले विश्वास नगर्ने परिस्थितितर्फ त गइरहेको छैन ? हामीहरूले सोच्ने बेला आएको छ । यसबाट नेपाली कांग्रेसलाई पहिलेकै गौरव र गरिमामा पुर्‍याउने हो भने वैचारिक प्रष्टता, अवाञ्छित र अप्राकृतिक साँठगाँठलाई परित्याग गरी प्रत्येक क्रियाशील सदस्यले निःस्वार्थ भावले पार्टी बिगि्रयो भने म बिग्रन्छु भन्ने भाव राखेर नेताको सोझो हैन, पार्टीको हित गर्ने गरी लेख्ने, पढ्ने र काम गर्ने बानी बसाल्नुपर्दछ ।

अहिले साँचो कुरा भन्ने हो भने नेपाली कांग्रेसभित्र जति ‘ठूला’ नेता छन्, त्यत्ति नै धेरै गुट छन्, त्यत्ति नै उपगुट पनि छन् । यस्ता घृणायोग्य कारणहरू नै हुन्, जसले गर्दा नेपाली कांग्रेस २३ सिटमा खुम्चिनुपरेको छ ।

अब पनि बुद्धिमा लागेको बिर्को नखोल्ने हो भने कांग्रेसको रक्षार्थ पशुपतिनाथ पुकार्नु बाहेक अर्काे विकल्प देखिंदैन । हामीले देशको विकास र जनताको नेतृत्व गर्ने हाम्रा इच्छाहरू दिवास्वप्न हुन सक्छन् ।

यिनै कारणले आज मैले पनि छातीमा हात राखेर नेपाली कांग्रेसका आदरणीय नेतादेखि कार्यकर्तासम्मलाई भन्नुपरेको छ कि, हामी गलत मार्गतिर हिंड्न थाल्यौं, हामी सुमार्गतिर फर्काैं, हामीलाई रिंगटा लागेर दुनियाँ घुमेको देखे पनि हामी जहाँको त्यहीं छौं । भ्रान्ति र भ्रमबाट मुक्त भएर ‘संघे शक्ति कलौै युगेे’ भन्ने मन्त्र जप्न शुरू गरौं ।

नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउने हो भने यसले गर्ने नीतिगत निर्णय समय सान्दर्भिक एजेण्डा र अबको नयाँ गन्तव्य बोकेर जनता जनार्दनलाई केन्द्रविन्दु बनाई जनताको घरदैलोमा पुग्नैपर्छ । त्यसैले लोकतन्त्रको स्वरुप कांग्रेस अब आफंैभित्रै मौलाएको मतमतान्तरलाई परित्याग गरी अझ सशक्त एकताबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय हुन अति आवश्यक छ ।

नेपाली कांग्रेसभित्र गणेश र कुमार प्रवृत्ति हावी भएको पाइन्छ । संगठन गर्नुभन्दा नेताको वरिपरि चाकरी र चाप्लुसी गर्नेलाई पुरस्कृत गर्दा काम गर्ने कार्यकर्तामा निराशा उत्पन्न भएको छ । त्यसैले नेताको चाकरी र चाप्लुसी वरिपरि घुम्नेबाट मुक्त कांग्रेस बनाउन अत्यन्त जरूरी छ ।

पार्टीको नेतृत्व कसले गर्ने यो महाधिवेशनले टुङ्याउने विषय हो । पार्टीको सञ्चालनको सन्दर्भमा सिद्धान्त आत्मा, संगठन शरीर अनि नेतृत्व मस्तिष्क हो । नेतृत्वको चयन एजेण्डाको आधारमा हुनुपर्दछ । तर एजेण्डा विचार र क्षमताको कदर नगरी नेतृत्वको चयन गरिनाले पार्टीभित्र ऊर्जाशील नेतृत्व प्रवेश हुनसकेको छैन । पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका कोर्नुको साथै नीति र विधिमा पार्टी चलाउनुपर्दछ । शिथिल नेतृत्व र यथास्थितिवादी सोच बोक्नेले नेतृत्व गरेमा संगठनमा गतिशीलता आउन सक्दैन । त्यसैले नीति एकातर्फ नेताको नेतृत्व अर्कोतर्फ हँुदा तालमेल हुन सकिरहेको छैन । त्यसैले नीति, नेता र नेतृत्वबीच तालमेल हुनुपर्दछ ।

नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि नै एउटा निश्चित सोच, विचार उद्देश्यका साथ चलेको पार्टी हो । त्यो उद्देश्यले केही हदसम्म आफ्नो गोरेटोबाट राजमार्ग पहिल्याइसकेको छ । कांग्रेसको लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको विचारधारा र सो अन्तर्गतको आन्दोलन स्वयं अन्त्य होइन । अझ अब आउने नेतृत्वले पार्टीभित्र रक्तसञ्चार गर्न अत्यन्त जरूरी छ ।

नयाँ गन्तव्य एवं मार्गचित्र सहित इतिहास र भविष्यप्रति कर्तव्य निर्वाह गर्दै बदलिंदो परिवेश अनुसार पार्टी सञ्चालन गरिनुपर्दछ । राजनीति जितेर कांग्रेसले चुनाव हारेको छ । अब आगामी निर्वाचनमा चुनाव पनि जित्नुछ । त्यसैले इतिहासलाई सम्मान गर्दै भविष्य कोर्ने अभिभारा सम्पूर्ण होनहार कांग्रेसको काँधमा छ ।

देशैभरिका पार्टीका इमानदार प्रतिबद्ध साथीहरूले निरंकुशता र हिंसाको चपेटमा परी सबैथोक गुमाउन पुगे तर स्वतन्त्रता र स्वाभिमानको आन्दोलनलाई कहिल्यै झुक्न दिएनन् । अब फेरि एकपटक विना स्वार्थ पार्टी र समाजका लागि क्रियाशील पंक्ति फेरि एउटा नयाँ सोच, शैली र नयाँ बाटो पहिल्याएर अगाडि बढ्नैपर्छ ।

नीतिले नेतृत्वको क्षमता प्रदर्शन गराउँदछ । कति गम्भीर किसिमले नीति नेताले बुझेको छ भन्ने कुरो उसको बोली, व्यवहार तथा आचरणबाट पुष्टिन्छ । उच्च बौद्धिक क्षमता भएको राष्ट्रिय जनजीवनलाई बुझेको, राष्ट्रिय संस्कार र संस्कृतिलाई आत्मसात् गरेको दल बिगि्रंदा आफू मात्र होइन सिङ्गो देश र जनता बिग्रन्छ भन्ने भावनाबाट अभिपे्ररित भएर सादा जीवन उच्च विचारको तहमा जान अभ्यास गर्दै गरेका मानिसहरू नेतृत्व तहमा पुगे भने बीपी, नेहरू, चर्चिल जस्ता नेता बन्न सक्दछन् ।

मुआब्जा उठाई खाने र ताक परे तिवारी प्रवृत्ति प्राविधिक रूपमा नेतृत्वमा पुग्लान् यिनीहरूले सांगठनिक जीवनमा प्राण फुक्न सक्दैनन् भन्ने कुरो संसारको राजनीतिक इतिहासले देखाएको छ । यसो हुनुको एउटा प्रमुख कारण के हो भने परिवर्तित सन्दर्भमा आएको नेताले नीति, नेतृत्व र कार्यक्रमको बीचमा तालमेल मिलाउन नसक्दा पार्टी उन्नतिको सट्टा अधोगतितिर जान्छ । यसो भएकाले अबका नेपाली कांग्रेसका कार्यकर्ताले यो मर्मलाई बुझेर पार्टीलाई उन्नतिको बाटोमा लैजाने कि विसर्जनतिर अग्रसर गर्ने ? भन्ने निर्णय चौधौं महाधिवेशनमा हुनुपर्दछ ।

(नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ पुस्तकांश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?