
९ मंसिर, जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरी धर्ना बसेका १२ जना करारका शिक्षक पक्राउ परेका छन् ।
विश्वविद्यालयको डिनको कार्यालयमा तालाबन्दी गरी बिहीबार बिहान धर्ना बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर पछि छाडेको छ ।
शिक्षक भर्नाका लागि आएको बजेट अन्य शीर्षकमा खर्च गरी शिक्षक भर्ना नगरेको भन्दै शिक्षकहरुले केही महिनाअघि पनि डिन कार्यालयमा ताला लगाएका थिए । तर, ताला तोडिएको थियो ।
ताला तोडेपछि शिक्षकहरु बिहीबार पुनः ताला लगाएर धर्ना बसेका थिए । त्यही क्रममा जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनीहरुलाई भने दुई घण्टापछि प्रहरीले छाडेको हो । करारमा नियुक्त शिक्षक दिलिप यादवले शिक्षक भर्नाकै लागि आएको बजेट अन्य शीर्षकमा खर्च गरिरहेकाले आफूहरु आन्दोलित भएको बताए । उनले बजेटको सदुपयोग गर्दै शिक्षक भर्ना नगरिए आफूहरुको आन्दोलन जारी रहने बताए ।
प्रतिक्रिया 4