
१० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।
डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन् । बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए ।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए ।
जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकहरुले अब योभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।
काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताएका छन् ।
कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका थिए ।
नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए । यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निकै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो ।
प्रतिक्रिया 4