+
+

ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा धक्का पुग्ने विचार नराखौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १८:४३

११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएका हुन् ।

दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भने, हामीसँग विचार छ, नीति छ, सिद्धान्त छ । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाददेखि समृद्ध नेपाल सुखी नेपालीसम्मको विचार बोकेर अगाडि बढेका छौं ।’

दशौं महाधिवेशनको उद्घाटन समारोहअघि सार्वजनिक सञ्चार माध्यममा लेख लेखेर र अपील जारी गरेर उपमहासचिव घनश्याम भुसालले कता जाने हो टुंगो नभएको बताएका थिए ।

उनको नाम नलिई अध्यक्ष ओलीले पार्टी विचार, नीति, कार्यक्रममा प्रष्ट रहेको बताए । उनले अघि भने, ‘पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि कमरेडले नगरौं । पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडले नराखौं ।’

ओलीले एमालेसँग नभए कोसँग छ त सिद्धान्त भनेर प्रश्न गरे । ‘यत्रो उपलब्धी हासिल गरेका छौं, हरेक क्षेत्रमा उपलब्धी हासिल गरेका छौं, जनताले बुझ्दै नबुझी साथ दिएका छन् त ? जनताले हामीमाथि यत्तिकै भरोसा गरेका छन् ?’ उनले प्रश्न गरे ।

ओलीले एउटा मात्र नभई समग्र राष्ट्र निर्माणको विचारमा एमाले प्रष्ट रहेको बताए । ‘हामीसँग विचार छैन होइन, नीति छैन होइन, नीतिका आधारमा कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्न योजनाहरु छन् । चाहे आन्तरिक होस् चाहे बाह्य होस्’ ओलीले भने, ‘हामीले कुनै कुण्ठाग्रस्त हुनुपर्ने आवश्यकता छैन ।’

नेता कार्यकर्ताले बुझेर वा नबुझेर नीति र विचार छैन भने पनि अब त्यसो नगर्न उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?