+
+

पठाओमा पनि ट्याक्सीमा जस्तै डेढी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ मंसिर १२ गते २१:१२

१२ मंसिर, काठमाडौं । मिटरमा चल्न नमान्ने ट्याक्सी र भीडभाडयुक्त सार्वजनिक बसबाट वाक्क-दिक्क भएर लगनखेलकी सजना शर्माले दुई वर्षअघिबाट पठाओको प्रयोग थालिन् । शुरुमा सेवाबाट सन्तुष्ट रहेकी उनलाई आजभोलि ‘राइड सेयरिङ’ सेवा पनि ठगिनु परिरहेको महसुस हुन थालेको छ ।

उनका अनुसार साँझको समयमा बसको भिडभाड छल्न रत्नर्पाकबाट पठाओ बुक गर्छिन् । तर ५० प्रतिशतसम्म अतिरिक्त शुल्क तिनुपर्दा उनी ठगिएको महशुस गर्छिन् । ‘विहान ८ बजे त्यही रुटमा लाग्ने शुल्क भन्दा साँझमा झण्डै ५० प्रतिशत बढी शुल्क लिन थलिएको छ,’ उनले भनिन्, ‘जुन समयमा यात्रुलाई सेवा चाहिएको हुन्छ, त्यही समयमा यति धेरै शुल्क किन ?’

शर्मा मात्र होइन, सर्ज चार्ज (अतिरिक्त शुल्क) का नाममा मनपरी शुल्क दिन थालेपछि पठाओ चालकहरुले ठगिएको गुनासो गरेका छन् । मुख्य शहरी तथा बजार क्षेत्रबाट राइड लिँदा विहान कार्यालय लाग्ने र बेलुकी कार्यालय छुट्ने समयमा धेरै अतिरिक्त शुल्क लिने गरिएको पठाओ प्रयोगकर्ताहरुको गुनासो छ ।

‘सर्ज’का नाममा चर्को अतिरिक्त शुल्क लिएको प्रयोगकर्ताको गुनासो

नियमित पठाओ प्रयोग गर्ने टोखाका सुनिल सापकोटा भन्छन्, सार्ज लगाएर ट्याक्सीकै बराबरकै भाडा उठाउन थालिएपछि राइड सेयरिङ सेवा लिनुको के अर्थ ?’

सर्ज चार्ज कति ? कसरी ? कुन आधारमा लाग्छ ? भन्ने समेत एप प्रयोगकर्तालाई कम्पनीले जानकारी दिने गरेको छैन । ‘चढ्ने भए चढ, नत्र पैसा तिर्न सक्ने अर्को मान्छे जान्छ भन्ने ढंगबाट यस्तो शुल्क लगाउनु गलत छ,’ सापकोटा भन्छन्, ‘रातिको समयमा सेवा दिँदा बढी शुल्क लिनु एकहदसम्म ठीकै होला, तर यात्रुलाई सेवा चाहिएकै समयमा बढी भाडा असुल्नु ठगी हो ।’

यो लुट नै हो, यसरी सर्वसाधारणलाई सेवा दिँदा नानाथरी नामका अतिरिक्त शुल्क थोपार्न पाइन्न- सरकार

लुट हो, उजुरी गर्नुस्- विभाग

सरकार पनि राइड सेयरिङ सेवा हालको यातायात व्यवस्था ऐनअनुसार अवैध भएकाले सर्ज चार्ज पनि स्वतः अवैध हुने बताउँछ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे सार्वननिक सवारीसरहकै सेवा सुविधा दिइरहेका कम्पनीले आफूखुसी भाडा तय गर्दै अतिरिक्त शुल्क सेमत लगाउने काम गैरकानुनी भएको बताउँछन् ।

‘यो लुट नै हो, यसरी सर्वसाधारणलाई सेवा दिँदा नानाथरी नामका अतिरिक्त शुल्क थोपार्न पाइन्न,’ भन्छन्,’सरकारले पैसा धेरै तिर्न सक्नेले मात्रै सेवा लिने खालको अवस्थालाई समर्थन गर्न सक्दैन ।’

यसबारे उजुरी आए त्यस्ता अतिरिक्त सेवा लिने कम्पनीलाई कारवाही गरिने बताउँछन् । बाटोमा बसेर अनुगमन गर्दा राइड सेयर गर्नेहरुलाई चिन्न नसकिने भन्दै महानिर्देशक घिमिरेले यसबारे उजुरी आए विभागले आवश्यक कदम चमल्ने बताए ।

‘टुटल-पठाओ जस्ता सेवालाई नयाँ ऐनमार्फत यस्ता सेवालाई व्यवस्थित गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘त्यसमा केही ढिलाइ हुँदा यस्ता सेवाबारे विभिन्न सवालहरु उब्जिए पनि समाधान दिन सकिएको छैन ।’

कम्पनी भन्छ : विश्वव्यापी अभ्यास

पठाओले भने सर्ज ‘विश्वव्यापी’ अभ्यास भएको दाबी गरेको छ । पठाओका कन्ट्री निर्देशक अशिममान सिंह बस्नेत माग र आपूर्तिको व्यवस्थापन गर्न सर्ज चार्ज लगाउने गरिएको बताउँछन् । ‘हतार छैन भने सर्ज लागेका बेला राइड बुक गर्नु हुँदैन,’ बस्नेतले भने, ‘किनकी जब बुक कम हुन थाल्छ, मूल्य आफैं घट्छ ।’

उनका अनुसार चाप बढेपछि ‘राइडर’को एपमा कुन कुन ठाउँमा सर्ज चार्ज कति प्रतिशत लागेको जानकारी पठाउने गरिएको छ। ‘सर्ज चार्ज लागेको देखेपछि अन्य क्षेत्रमा रहनुभएका राइडरहरु पनि त्यस क्षेत्रमा पुग्नुहुन्छ,’ उनले भने, ‘त्यसका कारणबाट त्यहाँ माग र आपूर्ति सुन्तुलित हुन्छ र सर्ज चार्ज हट्छ ।’

माग र आपूर्तिबीच सन्तुलन नराखे राइड सेयरिङ नचल्ने बस्नेतको तर्क छ । ‘राति ९ बजेपछि ट्याक्सीमा ‘डेढी’ लगाउँछ, त्यो पनि एक खालको सर्ज हो,’ भन्छन्, ‘त्यो समयमअनुसारको सर्ज हो भने हाम्रो माग र आपूर्तिको सन्तुलन मिलाउन लगाएको शुल्क हो ।’

यो अटोमेटिक सिस्टम हुने भन्दै १५ देखि २० प्रतिशतसम्म मात्रै सर्ज लगाउने गरिएको दावी गरे । दशैंको समयमा अधिकतम् २५ प्रतिशतसम्म सर्ज लगाइएको उनले बताए । उनले पेट्रोलको यसअघिको भाडा दर पेट्रोलको भाउ ९८ रुपैयाँ प्रतिलिटर हुँदाको भएकाले अहिले १३३ रुपैयाँ प्रतिलिटरको आधारमा लगाएकाले पनि कतिपय यात्रुले भाडा धेरै उठाएको महसुस गरेको हुनसक्ने बताए ।

उबरमा ७०० प्रतिशतसम्म सर्ज चार्ज लागेको दाबी गर्दै उनी भन्छन्, ‘हाम्रो कल सेन्टरमा बरु बढी पैसा तिर्छु मलाई राइड मिलाइदिनुस् भन्दै फोनहरु धेरै आएपछि पनि यो निर्णय लिएका हौं । हतार हुँदा २०-३० रुपैयाँ बढी तिरेरै जान्छु भन्नेलाई यसले सजिलो गरेको छ ।’ उनले परीक्षणमार्फत अधिकतम् २० प्रतिशतको क्याप लगाएको भन्दै यसले ग्राहकलाई धेरै मार नपर्ने दावी गरे ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment