+
+

कोरोनापछि फस्टाए तयारी पोशाक उद्योग, वर्षमा १६ अर्बको कारोबार

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर १४ गते ८:१०

१४ मंसिर, काठमाडौं । नेपालमा तयारी पोशाक उत्पादन गर्ने उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब रुपैयाँ नाघेको छ । कोरोना महामारीको समयमा विदेशबाट तयारी पोशाक नआएका बेला फस्टाएका यी उद्योगको कारोबार बढ्दै गएको नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघले जनाएको छ ।

स्वदेशी मागको ठूलो हिस्सा नेपाली तयारी पोशाकले नै धानेको संघका अध्यक्ष किशोर नेपालले बताए । नेपाली ब्राण्डका तयारी पोशाक उत्पादन गर्ने करिब चार सय उद्योग सञ्चालनमा रहेको उनले बताए । यस्ता उद्योगमा एक करोडदेखि अर्बसम्म लगानी भएको संघको दावी छ ।

‘तीन वर्ष अघिसम्म हात मुख जोड्न धौ धौ पर्ने उद्योगहरु अहिले कर्मचारी थपेर क्षमता विस्तारमा लागेका छन्, समग्र यस क्षेत्रका उद्योगहरुको वार्षिक कारोबार १६ अर्ब नाघेको छ,’ अध्यक्ष नेपालले भने । नेपाली तयारी पोशाक उत्पादकले कच्चा पदार्थ भने विदेशबाटै ल्याउने गरेका छन् ।

एउटा उद्योगको सरदर ४ करोडको कारोबार

पछिल्लो एक वर्षमा एउटा उद्योगले औसतमा ४ करोड रुपैयाँको कारोबार गरेको अध्यक्ष नेपालले बताए ।

२०७६ चैतमा कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन ग¥यो र सीमा नाकाहरु पनि बन्द गर्‍यो । यातायातका साधन नचलेको र सीमा नाका बन्द भएको कारण चीन, भारत, बंगलादेश, थाइल्याण्डबाट तयारी पोशाक आयात रोकिएको थियो ।

त्यही बेला स्वदेशी तयारी पोशाकको उत्पादनले बजार पाएको हो । पहिले गर्मीयाम र विवाह समारोहका लागि लक्षित गरी तयारी पोशाक उत्पादन गर्ने नेपाली उद्योगले यो दुई वर्षमा भने सबै सिजनका लागि आवश्यक कपडा उत्पादन गरेका छन् ।

काठमाडौंमा जग्गा खोज्दै उद्योगी

देशभर चार सयको संख्यामा रहेको तयारी पोशाक उद्योगको ८० प्रतिशत काठमाडौं उपत्यकामै छन् । सुरुमा जीविकोपार्जनका लागि सानो लगानीमा सुरु भएका यस्ता उद्योग अहिले फैलिन चाहेको तर काठमाडौंमा जग्गा पाउन मुश्किल भएको संघले बताएको छ ।

घर, फ्याल्ट र सटर भाडामा लिएर सञ्चालन भएका स्वदेशी तयारी पोशाकलाई अहिले ठूलो क्षेत्र चाहिएको अध्यक्ष नेपाल बताउँछन् । उद्योगीहरुले काठमाडौं नजिक विशेष औद्योगिक क्षेत्र उपलब्ध गराइदिन सरकारसंग मागसमेत गरेका छन् ।

काठमाडौंमा घर भाडा महँगो भएको र कपडा बुन्ने थान राख्नसमेत ठाउँ अभाव भएपछि सरकारसँग जग्गा उपलब्ध गराइदिन माग गरेको संघका अध्यक्ष किशोर नेपालले बताए ।

‘काठमाडौंमा साँघुरा घर र महँगो भाडाका साथै जमिनसमेत अभाव भएको गुनासो अर्थमन्त्री र अर्थसचिवलाई राखेका छौं, हामीलाई यो अति जरुरी भइसकेको छ’ उनले भने ।

काठमाडौं नजिक कतै विशेष औद्योगिक क्षेत्रको विकास गरेर तयारी पोशाक उद्योग सञचालन र कच्चा पदार्थ आयातमा भन्सार छुट गरिदिन संघले सरकारसँग आग्रह गरेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?